18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शनैशनै रेगिस्तानहरू माथि कवितामय आलेख

कृति/समीक्षा पेशल आचार्य October 21, 2014, 4:54 pm
पेशल आचार्य
पेशल आचार्य

कविता सबैले लेख्छन् तर दिल छुने खालका कालजयी कविताहरू भने कमैले मात्र लेख्छन् । कविता हृदयको आवाज हो । यो शाश्वत भनाइ हो । तर अहिलेको हाइटेक युगमा कविताको व्यापार सबैभन्दा बढी भैरहेको छ । सबैथोक र वस्तु व्यापारका चिजविज भएका छन् । त्यसैले कविताको पनि व्यापार बढेको हो ।

जीवन आभूषणले ढाकिएको क्रियाशील नदी ।

नदीमा जीवन चेतना प्रवाहमय ।

प्रवाहभित्र उज्यालोको खोजी गर्ने प्रकाश ।

चेतनाको सन्धिसर्पन पर्ने जीवन सृष्टिको उषादेखि ‘सुपर कम्प्युटर’ युगसम्म कहिल्यै थकित र गलित देखिएन । तथाकथित समस्याहरू साँध सिमानामा रौसे भएर बसेका छन् । किञ्चित दर्दको कमि हुँदा जीवन दलीय वनस्पतिको वीज फ्याक्क फुटेर दुई भाग भएझैँ ‘रूप र सार’ मा विभजित छ ।

जीवन र मृत्यु

प्रेम र पीडा

धरा र व्योम

जलचर र खेचर सबै जीवन समाधिमाथि सम्भोगको अन्त्यहीन ध्यान मुद्रामा योगाभ्यास गर्दैछन् । झोक्काका प्रेमिल प्रवाहले मरूभूमिमा स्थापित रेखाहरू खल्बलिन सक्छन् । नयाँ बन्न सक्छन् ।

यहाँ खतरामा जीवन छ ।

हामी ऐलान मात्र गर्दैनौं । मानव जीवन खतरामा छ ।

यो कतिलाई थाहा छ ?

...

कविता सृष्टिको धरोहर

सनातन व्याप्त सांस्कृतिकताको परिधान ।

लज्जानुभूति मिश्रित भयको भीमकाय कन्दरा

जीवनकै ज्योत्स्नामय वन्दना

या अप्रतिम सौन्दर्यको प्राप्ति ।

कवितामा जीवन टुकुटुकु हिँड्छ

अबोध बालक भएर,

कवितामा जीवनको नौका तौरिन्छ

तर्पिनतर्पिन भएर,

र अन्त्यमा

कवितामै जीवनको पूर्णाहुति हुन्छ ।

...

कविता लेख्नुभन्दा

कविताको प्लट निखन्नु जटिल कर्म हो

कविता बुझ्नु, बुझाउनुभन्दा

यसलाई जीवनमा उतार्नु बोझिल धर्म हो ।

सृष्टिको नाद्मा कविता

कविता कविको उत्कृष्ट कर्म ।

दुःख–सुख, हर्ष–विस्मात, प्रेम–पीडा, सुकर्म–दुष्कर्म आदित्यादि जीवनका सबै रङ्गमा अनेकानेक भावानुभूति रहेका छन् । तत् भावानुभूतिले जीवनरङ्गका सबै व्योमका अन्तरकुन्तरलाई छुन सकेका छैनन् । र, काव्यका शाखा, प्रशाखाहरूको गौरवमय जन्म भएको हो ।

जीवनहरूमा मानव जीवन सर्वोत्तम । मानव जीवनमा पनि कवि जीवन सर्वोत्तम । सबै किसिमका भाव र रसहरूले सिँचित गरेको जीवनमा नवरसले मिश्रित भावोद्गारहरू पढ्न पाए को खुसी नहोला ?

...

शालीनता र भव्यता वर्तमान जिन्दगीको परिचय । जीवनका सोह्र कलाहरूमध्ये शब्द कलाको अत्युत्तम् माध्यम कविता कर्म । प्राचीनतम् समयमा राजा भोजले कालिदासजस्ता महाकविलाई आफ्नो दरबारमा आश्रय र सम्मान दुवै आदर दिएबाट हामी थाहा पाउँछौं आगत्मा भन्दा विगत्मा कवि मनिषिहरूको नमन हुँदो रहेछ ।

यद्यपि वर्तमानमा सबैभन्दा बढी निराश धर्तीकै सफल प्राणी मानिएको मानिस देखिएको छ ।

चराहरू कहाँ हतास छन् ?

माछाहरू कहाँ भयाक्रान्त छन् ?

के जयन्तीको झीनो लहराले कसैलाई अविश्वास प्रस्ताव राखेको थाहा छ ?

पहाडहरू कसका बाधक बनेका छन् ?

नदीले रजोनिवृत्त नभएर सृष्टिलाई रोककी छिन् र ?

वाह ! वृक्षहरू अब कसैका वादीप्रतिवादी नै भएका छन् !

खैर ! यी त भए कल्पनातीत छटाहरू । अलिकति वास्तविकताको रणभूमिमा आएर भन्ने हो भने कम्प्युटरकृत नानानौरङ्गी प्रवृत्तिभन्दा मानवोचित शौष्ठव वाङ्मयी भावभङ्गीमाहरू नै मानवताका पक्षपोषणमा तल्लीन छन् ।

प्रज्ञा चक्षु मानवमा झुसी छ यद्यपि लेस बुद्धि सबै प्राणीमा सन्निहित छ । स्थित प्रज्ञामा मानिसले बाजी मारे पनि ऊभित्र मुसो, बिरालो, कुकुर, चितुवा, बाघ र सिंह अटेसमटेस भएर उभिएका छन् ।

र, ती मौका पर्नसाथ आफूभन्दा निम्छरो प्राणीमा हावी भएर विरत हुन्छन् ।

प्रसिद्ध नेपाली चित्रकार मनुजबाबु मिश्रले मानिसमा ‘गार्गान्तुवा’ को आरोप गर्नुभएको छ । मानिसको सिङ्, जुरो र पशु आकारमा भएको रूपाकृति नै चित्रकारिताको ‘गार्गान्तुवा’ हो ।

सभ्यताकोे सिँढी चढेर मानिस यहाँ आइपुगेको हो तर एक्काइसौं शताब्दीमा मानिस गार्गान्तुवा प्रमाणित भइसकेको छ । पक्का हो यो । रूप र सारमा पनि, हलौं र भारमा पनि । सांसारिक सबै मिमांशा पढेपढाए पनि मानिसले मानिसालाई चिन्न सकेन । ऊ नानीझैं नाटकको अभिनय किन नगरोस् तर हाडे ओखरझैं जटिल छ । रूखो छ । अबुझ छ । ढिट छ ।

कविता शब्दकलाको फोटोग्राफी हो ।

जीवन वक्ररेखाको चित्राकृति हो ।

मानिस यी दुवैको फ्युजन हो ।

...

यात्रारत महेश अब कविवर महेशतर्फ उन्मुख चिन्मय प्रतिभाप्रसून साधारण मानव हुन् तर उनको विश्वजनीन चेत जुन कविताको समाधिमा चालीस वर्षदेखि समागमरत छ त्यो भने चानचुने सन्धान र शोधको विषय रहेन । दर्जनौं कृतिमा फरकफरक विषयाभिमुख कवि महेश आज मानिसको मानवता पग्लिएको मनेझैं स्खलित देखेर बरू शालीन भद्दापनको महिला विम्बलाई नमन गर्छन् । सिंहशमशरेको गद्दी बैठकलाई ‘द्रौपदीको चिरहरण’ हुने आलोकमय स्वतन्त्र स्थान भन्ठान्छन् । उनलाई ठाँट देखाएको छाँट नमिलेको ‘मफलरको विद्रुप’ मन पर्दैन । उत्तर लेख्न नजानेको विश्वविद्यालयको बठ्याइँदार बूढो विद्यार्थीजस्तो, स्वतन्त्रताको परिभाषा पनि कीर्तेगर्ने कुनै अमौलिक विधवा दर्शनको पुजारीजस्तो, खल्लो संकथनमा बाँधिएको निबन्धात्मक उत्तरजस्तो जीवनका हिमायती कवि महेश पक्कै पनि होइनन् ।

सन्दर्भहरूमा अहिले हामी कवि महेश प्रसाईंकृत ‘शनैशनै रेगिस्तानहरू’ कविता कृतिमा घोत्लिरहेका छौं । यो कृति साझा प्रकाशनले यही वर्ष प्रकशनमा ल्याएको हो । जसमा कविका एकाउन्न थान छोटा कविताहरू उनिएका छन् । सङ्ग्रहमा एकसेएक उम्दा कविता पुष्पहारहरू त छँदै छन् अझ त्यसमध्ये पनि निषेधको जंगलमा, हृदयको जोखिम, चपरीमा आगो, नसोध्नु वसन्तले वसन्तसित, मनुष्यको विघटनमाथि, मफलरको विद्रुप, शनैशने रेगिस्तानहरू, शब्दको हिंसा, छायाको अस्वीकृति, भाइरसमा बोधिसत्व, ऋत्विज, बज्यै र इल्युजन, अचानक एकदिन सेक्सपियर, चरा र धर्म, लज्जावरण र एकादेशमा जलपर्व जस्ता कविताहरू कालजयी सन्देश छर्न सक्षम छन् ।

भारतवर्षका सकसे एक दिग्गज मनिषिहरू आफ्ना क्षेत्रोपक्षेत्रमा माहिर छन् । सन्त कवीर, महर्षि रमण स्वामी विवेकानन्द, ओशो रजनीश र सन्त युजीझैँ यिनले पनि नौलानौला मिथलाई कविताको आवरणमा नचाएका छन् ।

शब्दकलामा कवितालाई छम्छमी नचाउनु एक मेधावी प्रतिभाको सोदाहरण हो । त्यसो त शब्दले सिकारू र महक नचिनेका कविलाई कहाँ टेर्छन् र !

‘शव्द वश्त्रमा रूपको नदी’जस्तो अकन्टक भावनागाङ्गेयमा उनी शततः बग्न चाहन्छन् भने मिथकको दावानलमा दन्दनी बल्दै ‘उल्म कुसुमको गानाजस्तो’ अफ्रिकी जनजातीय कोरसमा छताछुल्ल भई कवितामै प्रकटीकरण हुन चाहन्छन् । सभ्यताको भारवहन गर्ने सरिताभन्दा, इतिहासको रक्षक भएर उभिइरहने हिमाच्छादित बूढो नगभन्दा, इच्छाझैँ दौडिरहेका अमरलत्तीका लहराभन्दा, शरद ऋतुमा पोटाएका मधुमिश्रित सुवासका महक छर्ने धानका बालाभन्दा, कुनै मासा तोलामा पनि कम आँक्न मिल्दैन –उनका कविता ।

जीवनलाई आँक्न सक्दैनन् – समालोचनाले ।

अझ प्राध्यापकीय समालोचना त झनै तलब पकाउनैका लागि लेखिएका कोठे प्रयत्न सम्म हुन् । प्राध्यापक यायावर भएर जबसम्म सांसारिक क्रियाकलापको रेफ्री भएर अकन्टक मनोलोकमा घुम्न सक्दैन । मनमिटरको दिमागी ट्याक्सी चढेर कल्पनालोकमा ब्राजाकी (यायावर) हुन् सक्दैन तबसम्म उसले स्रष्टाको वास्तविक कलारूपि क्रोचेलाई नजिकबाट पाश्र्ववर्तीझैँ पक्रन सक्दैन । यसरी ऊ ‘प्रोफेसर शर्माको थोत्रो डायरी’ का पानाहरूमा जीवनका चौसठ्ठी वर्षहरू कटाएर जब अवकाश लिन्छ तब सर्कसको बाघ हुन्छ ।

तीसको दशकमा उदाएका कविरूपि रविहरूमध्ये कविताकर्म मै आराधना गरेका सफल तर लेक नलागेका आरोहीकवि महेश ‘अग्निको प्राग्भूमि’ बाट शनैःशनैः पौँठेजोरी खेल्दै, ‘शब्दवश्त्रमा रूपको नदी’, ‘भूमिकापछि’, ‘केही चकमक र शिखाहरू’ हुँदै ‘शनैःशनैः रेगिस्तान’ मा आइपुग्दा कम्ति सरल, सरस, रसिक र जीवनवादी भएका छन् । यो उनीसँग संगत गरेका थोरै मात्र शब्दका पारखीहरूलाई थाहा छ ।

विम्बवादी, घनत्ववादी, प्रतीकवादी, अमूर्तवादी र यस्तोउस्तोवादी भन्दिने समीक्षक र समालोचकहरूले महेशजस्ता कविको ओज घटाउन खोजे पनि पछिल्लो कृतिमा आएर उनले आफूलाई सरल र सरस मानवतावादी कविरूपमा उभ्याएका छन् । सघन विचार ओढेका उनका सबैजसो कविताहरू वर्तमानलाई पढ्ने जोसुकैले सजिलै बुझ्न सक्छन् जसका लागि कुनै प्राध्यापकको कविताको कोचिङ कक्षामा बसिरहनु पर्दैन ।

जीवनको प्रतिछायाँ साहित्य हो ।

वाङ्मय बुझ्न केबल मासुको संवेदित मुटु भए पुग्छ ।

...

अतित सुरक्षित थियो बरू

वर्तमान सर्वत्र असुरक्षित छ ।

यतिखेर सबैभन्दा बढी जोखिममा स्रष्टाहरू छन् । तर स्रष्टाहरू जोखिममा भए पनि जोखिम मोलेरै भए पनि लेखिरहेछन् । कथिरहेछन् । रचिरहेछन् ।

किन ? थाहा छ –पाठक तपाईंहरूलाई ?

जोखिममा लेख्नुको र जोखिम मोलेर लेख्नुको छुट्टै मजा हुन्छ ।

अहिलेको जोखिम स्वतन्त्रताले ल्याएको हो । स्वतन्त्रतापछिको समाज जोखिमयुक्त हुन्छ । जोखिमयुक्त समाजमा लेखिएको साहित्य जोखिममुक्त हुनै सक्दैन ।

‘शनैःशनैः रेगिस्तान’ जोखिमयुक्त कृति होइन बरू जोखिमयुक्त कृति हो । यसले मानव, परिवार, राष्ट्र र सिङ्गो विश्व परिदृश्यलाई नै मानवताविहीन बन्दै गएको ऐलान गरेको छ ।

चुनौति दिएको छ ।

धावा बोलेको छ ।

र धारेहात लाएको छ । मानवताको ह्रास कट्टी भएकोमा । यत्रतत्रसर्वत्र मानव मानवबाटै त्रसित भएकोमा ।

पालिस लगाएको विचार ओढेर कुनै मानिस मौलिक मानिस बाँच्नै सक्दैन । उसको पालिस घामपानी झेल्दै, दुःखसुखसँग खेल्दै एकदिन सकिन्छ । निख्रिन्छ र बुख्याँचा बन्छ ।

विचार तुरिएपछि मानिस, मानिस रहँदैन । कवि, कवि रहँदैन ।

अहिले एउटै विचारको वर्गको पनि कित्ताबाट भइरहेछ । अब ससिम वर्ग रहेन (?) । ‘एउटा रोटी बेलिरहेछ । अर्को रोटी पकाइरहेछ । तेस्रो न रोटी बेलिरहछ, न त रोटी पकाइरहेछ मात्र रोटी खाइरहेछ ।’ यस्तो परिस्थितिमा एउटा वर्गभित्र अरू उपवर्ग हावी भएको छ ।

यक्ष प्रश्न छ ।

महाशय, परीक्षाका प्रश्नले थकित पारेका बेला यक्षप्रश्न छाडौं । भैगो ।

...

कविता सृष्टिको प्रथम कार्य । वेदवाणी अर्थात् देववाणी । शुक्राचार्य–अग्निपुराण, आदिकवि आदिकविता । ‘कविकर्मणे इति कविता ।’ कविको कर्म नै कविता । ‘कवि काव्यानी लिखति, रस जानाति पण्डित’ कवि कविता लेख्छन् रस पण्डितले जान्ने हो । सिर्जना गर्ने स्रष्टा र मीमांशा गर्ने द्रष्टा दुवै समाजमा रहेका छन् । ‘यस्तो रमणीय संसार वर्णन गर्नै भनी विधाताले कविको सृष्टि गरेका हुन्’ शास्त्र भन्छ ।

कविलाई वर्णनकलामा निपूणता प्राप्त छ । ‘शनैशनैः रेगिस्तान’ भित्रका एकाउन्न थान कविता पुष्पहारलाई नियाल्दा योकुरा थाहा हुन्छ ।

व्यक्ति–प्रवृत्ति

सङ्गत–विसङ्गत

व्यक्ति–परिवार

विकृति–विनाश

जीवन–मृत्यु

दर्शन–कुविचार

नायक–खलपात्र

प्रेम–यौन

रूप–सार

विग्रह–फ्युजन

आधुनिक–उत्तरआधुनिक

यी र यस्तै दृश्य–परिदृश्यहरू कवितासूची भएर हाम्रा भावनाको सोपान चढेका छन् । कतै दुःखलाई कविले मानवता मुल्तवी राख्ने साधनका रूपमा लिएका छन् कतै शासनलाई असल व्यवहारका रूपमा ।

जे जसरी अथ्र्याए पनि

जे जसरी व्यक्त्याए पनि

कविता सरिता सलललअ बगेको छ ।

रेगिस्तानको पाश्र्वभित्र ।

...

यो रेगिस्तानको काव्य हो । देश मूल्य र मान्यताको धरोहरमा क्रमशः आगो लगाउँदै खरानी दर्शनतिर उक्लँदो छ । रेगिस्तानमा क्याक्टस छ । ऊँट छ र छ ऊँटमा सवार खतैखत भएको जब्बर बादशाह पनि । बादशाह वर्तमान अरबका कुनै ताता, नैऋत्यिक मुलुकतर्फ अकूत धनराशिको सवार चढी आदेश फर्मान गरिरहेछ वा नेपालजस्ता पानीको आभूषणमा रमाएर दिगम्बर शैलीमा राजनीतिको नौटङ्की गर्ने दौरासुरुवालमा पश्चिमाकृत शैलीको गणतन्त्रलाई जीवनको अन्तिम र सुन्दरतम् व्यवहार भनी दासीपुत्रहरूबाट भजन गाउन लगाइरहेछन् । यस्तो परिदृश्यमा युगीन चेतनाको ज्वालामुखी अजश्र छातीमाथि बोकेर एउटा साबालक कवि कुनै आवरणमा शोभित शासकको अघि साष्टाङ्ग दण्डवत गर्न सक्दैन ।

कवि चेतनाको पारोले त्यही भन्छ ।

तेस्रो विश्वमा भोखमरी र भावना बढी छ । यो सही छ । विद्रोह र विसङ्गती बढी छ । यो पनि सही छ । तर यहाँका विद्रोह कबोल गर्ने बागी कसका लागि बागी भइरहेछन्, त्यसमा चाहिँ भ्रम व्याप्त छ । सङ्गति नै नबुझ्नेहरू विसङ्गतिका हिमायती बनेपछि, उज्यालो नै नचिन्ने उज्यालाका वारेस भनिएपछि अचेतनाको धापमा भासिनेहरू नै चेतनाको माला पहिरिएर मुसुमुसु गरिरहेपछि सबै मिथ्याहरूको पाखण्ड एकाएक खुस्किँदो रहेछ ।

वर्तमान पाखण्ड खुस्किएको मानिस हो ।

वर्तमान खण्डखण्डमा टुक्रिएको मानिस हो ।

कविहरू यतिखेर आफूलाई हार मानिरहेका छैनन् । आफूमा प्रहार ठानिरहेका छन् । समाजकै पहरेदार, सामाजिक समस्याको अभियन्ता कवि अरस्तुले भनेझैँ समाजबाट बहिष्कृत गर्न लायक छैन । बरू ऊ राजनेता भनाएँदोभन्दा अग्लो कदको छ । ऊ सत्यको पक्षपाती र सत्ताको स्थायी प्रतिपक्ष हो ।

राणाकालमा यसै भयो ।

पञ्चायतमा यस्तै देखियो ।

बहुदल अझ लोकतन्त्र र गणतन्त्रमा पनि

कृष्णलालदेखि कृष्ण सेनसम्म खै ! कसले वरण गरे सकसहीन मृत्यु ? जीवनलाई स्यालुट गर्दै ।

हिप्पोक्रेट नेपालीहरू

हिप्पोक्रेसी नेपाली समाज

बाँचुन्जेल भोक देख्दैन

मरेपछि फ्लेक्स प्रिन्ट टाँगेर

शोकसभा गर्छ

र गोहीका आँसु झार्छ

दुःखमा दुःखाश्रु खस्नु

आवश्यक हो

हर्षमा हर्षाश्रु बग्नु

अत्यावश्यक हो तर यहाँ

मानिस मरेपछि

गुणगान महिमापण्डित

झारा टार्ने अश्रु बगाइन्छ ।

...

संसारका सबै दुःखलाई पखाल्ने तागत आँसुमा हुन्छ । भनिन्छ– जति देखिने गरी नदी बगेकी छिन् त्यसभन्दा पनि नदेखिने गरी संसारमा आँसु बगेको छ ।

व्यक्ति निर्माणार्थ निःसतृ अश्रु भावना हो

समाज विकासका लागि निसृत अश्रु चाहना हो

विश्व विकसित गर्ने निश्रृत अश्रु उत्कट कामना हो ।

कविहरू सुन्दर, बेमिसाल औ अकन्टक विश्वजनीन मानवहरूको खोजीमा सधैँ यात्रारत हुन्छन् । कवि महेशभित्रको चेतन व्यक्तिसत्ता पनि चरैवेतीचरैवेती भन्दै कवि एक दर्जन काव्यरूपि सरितामा हेलिएर अझै सुदूर भावनाको कोलम्बस बन्दैछ । यस्तो माहोलमा एकपटक फेरि उनीभित्रको कविलाई हामीले हाम्रा समूल भावनाहरूको प्रतिनिधित्व गर्दै कवितामा वरण गर्ने मौका दिएकामा नमन गर्नुपर्छ ।

जीब्रो नचपाई म भन्छु– समयबोध गर्ने, कवि आधा शताब्दीदेखि कवितायज्ञमा निःस्वार्थ चरू होमिरहेका महर्षितुल्य शब्दकलाका पारखी यस्ता महेशजस्ता एकदर्जन कविहरूले सत्तालाई लल्कारेर एकदशक मात्रै कविता मिसायल प्रहार गर्ने हो भने देश वास्तवमै ‘देश’ बन्थ्यो ।

राजनीति बाँडिएझैँ यहाँ कविहरू बाँडिएका छन् । वर्ग, उपवर्ग, प्रवर्गमा ।

समकालीन अनुभूतिमा कविता लख्न जोकोहीले सक्ला तर सर्वकालीन आस्थाभिव्यक्तिमा कविता लेखेर खरो उत्रने कवि कति छन्– नेपालमा ?

एक.. दुई... तीन...

औंलामा गन्न सकिन्छ । बस् ।

...

सन्दर्भ सङ्गहभित्रको पानीयुद्ध शीर्षक कविताको समग्र दक्षिण एसिया पानीको राजनीति र पानी युद्धबाट ताडित–प्रताडित छ । यहाँका छोटेबडे सबै आकारका शासकहरू पानी राजनीतिबाट लपक्कै भिजेका छन् । दाउ हेरेर दाउ राखेझैं जूवाको खालमा राजनीतिका जुवाडेहरू पानीबाटै एकर्कालाई पानीमाथि पछारेर पानीपानी बनाउन उद्यत छन् । फलतः यस संग्रहमा समेत कविले सो सूक्ष्म कुरालाई अनुभूत गर्दै पानीयुद्ध नामक कविता नै संरचना गरेका छन् ।

हिउँदमा चिसा रातहरूमा पानीपानी भनेर कोहराम मच्चाउने जनजनहरू बर्खामा पानीबाटै त्राहीमाम भएका पाइन्छन् । पानी जीवन र मृत्युको कारक पनि ।

पानी दर्शन पूर्वको हो ।

अर्घ देऊ भन्छ– सूर्यलाई ।

अर्घदेऊ भन्छ– चन्द्रलाई ।

कामाग्निमा तातिरहेका सूर्यचन्द्रहरू किन सधैँ दहीकै–दुग्धकै मात्र अर्ध खाइरहेछन् ? किन ?

शास्त्र मौन छ ।

मौनता नै शास्त्रको योग्यता बनाइएको छ ।

शाब्दिक विलासिताको श्रीपेच

अझै कति पहिरिन्छौं शासक ?

उत्तर चाहिएको छ ।

...

क्रमागत भएर निस्केका कविताकुसुम कतै अजटिल भएर जीवन दर्शन व्याख्या गर्न सक्षम छन् भने कतै सांख्य योग, कतै मीमांशा र कतै पूर्वीय रसवाददेखि पश्चिमका अरस्तुसम्म एकफेर नछिचोलेकाहरूलाई यी कविता हाडे ओखरझै जँच्छन् ।

यी र यस्ता प्रसंगहरू धेरै छन् । व्यतिरेक लाग्छन् जीवनका भावनाहरू पनि । गणितझैं फटाफट कविता हल हुने भए जीवनलाई केवल गणितले मात्रै नियन्त्रित गथ्र्याे ।

सांसारिकताभित्र कोमलता र कोमलताभित्र संसार रमणीय छ, त्यसको परिभ्रमणपश्चात् वर्णन गर्न पनि असमर्थ छन् –यात्रा वृत्तान्तकारहरू ।

अनुभूतिको अर्को नाम कविता । यो स्पर्शीय विम्बहरूका माध्यमबाट मानव हृदयको बास बस्छ । जुन कविता हृदयग्राही, कोमल, सुन्दर भावभङ्गीमामा विरचित हुन्छ त्यो भावकका मनमा प्रभाव पारेर स्थायी रूपमै हृदयको समकक्षी हुन्छ ।

अब यसो भन्न सकिन्छ । कविताको विकल्प छैन । या कविताको विकल्प कविता नै हो । जसरी यो जीवनसँग जोडिएपछि कालजयी कृति बन्छ । त्यसैगरी समाजको सम्पत्ति । त्यसैले पश्चिमाहरू कवितालाई कुलीन अलङ्कार भन्ठान्छन् र जीवनकै हिस्सा बनाएर अविभाज्य मान्छन् ।

जीवनरूपि कालजयी कविता

कथ्यमा नवीनता

विन्यस्त भाषाशैली

र तादाम्यता

खोजी गर्दा

समग्रतामै वास्तविक

कविता भेटिन्छ ।

...

कवि महेशले कविता लेखेरै घरजम जोडे । कविता लेख्दालेख्दै घरजम तोडे । जित–हार । हार–जित । सबै व्यहोरे कवितामा । यो निर्लज्ज सहरमा उनी आफू एकथान कवि र उनीभित्रको भावना बोकेर आएका थिए र आज पनि समवेदनाको त्यही तिजोरीबाट ज्योत्स्नामय कविता पस्केर बहिरो बन्दै गएको यो सहरको कानमा क्रमशः प्रहार गरिरहेछन् । वाङ्मयका वस्तीका छिमेकी यी यायावरीय कवि कवितालाई सन्धिसर्पन पर्ने इष्टमित्र मान्दै घामपानी, दुःख–सुख, हर्ष–विस्मात केही नभनी कथिरहेका छन् । लेखिरहेका छन् ।

झुन्ड विरोधी यिनी एक्लै छन् ।

एकलव्य पनि होइनन्, बेग्लै छन् ।

लेखन, सम्पादन, भूमिका र समालोचनामा बाँडिएका छन् । लेखनभन्दा पनि कलात्मक लेखनका हिमयती कवि महेशको लेखनीमा अबका दिनमा काव्यान्तर हुँदै आख्यानका परिसीमाभित्र विविधतामय हुँदै जाओस् । जसरी यिनी कवितामा व्यष्टिभन्दा अनुच्छेद गुच्छी र समष्टि कवितामै अर्थिन चाहन्छन् त्यो उनको नितान्त निजी पहिचान हो । यही चिनारीमा उनको बहुमुखी व्यक्तित्व झल्किएको छ ।

बहुमुखी कलाका प्रखरहस्ती महेशका आगामी लेखनका योजनाहरू अझ ऊर्जावान् बन्नेछन् जसका तुमुल प्रकाश–ज्योतिहरूबाट भावक र पाठकगण सततः प्रभावित नरही रहन सक्दैनन् भन्ने सुकामना गर्दै सद्य प्रकाशोन्मुख शनैशनै रेगिस्तानहरू समकालीन कवि र कवितालाई समेत एकमुष्ट पद्यात्मक परामर्श भएको सन्दर्भ यहाँ सगौरव राख्न चाहन्छु ।

एकाउन्न थान यहाँका कविताहरू यति निख्खर आवरणमा आउन सकेकामा अहिलेलाई कविलाई हार्दिक बधाइ दिन्छु । सत्तरीको दशकको पूर्वसन्ध्यामै प्रस्तुत कृतिले आफ्नो गर्विलो उपस्थिति राख्दै नेपाली आधुनिक कविताको पूर्वीय क्षितिजको आशुतोष बन्न पुगोस् भन्ने चाहना समेत व्यक्त गर्दछु ।

कृति ः शनै शनै रेगिस्तानहरू

विधा ः कवितासङ्ग्रह

कवि ः महेश प्रसाईं

प्रकाशक ः साझा प्रकाशन

मूल्य ः रू. २१५÷–

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।