19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्राे अागमन

कविता भुवन थापा October 31, 2014, 8:03 pm

खै तिमी कहिले आउँछौ

तिमी आउने बाटो भरी

दियो बालेर पर्खी रहेछु म

सुनाउँदै छोराछोरी लाई

गाउँ खाने कथाहरु

निरासाका ब्यथाहरु

अनि

बिछोडका पीडाहरु

हिजै मात्र छोरीले

फुक्लिएको दाँतलाइ तकियाले थिच्दै

बाबा आउने पुकार गर्थी

छोराले पनि आफ्नाे झरेको परेला हातमा राख्दै

बाबा आउनुहोस् भन्दै फू गरेथ्यो

म पनि दियोमा तेल थप्दै

तिमी आउने आश गर्दै

दियो कुरेरै बसेको छु

खै तिमी कहिले आउछौ ?

पोहर पनि तिमी आए पछि टिप्छु भन्दा भन्दै

घिरौलाहरु घोकृएका थिए

भिन्डीहरु छिप्पेका थिए

खैर

घिरौलाहरु फेरि फलाउँदैछु

सयपत्री फूल फूल्दै छ वारि भरी

राती गार्इ पनि

फेरि बच्चा जन्माउदै छे

बिन्ती मेरो

तिमी फर्की आउ

मेरो यो तीस बर्से उमेर

फेरि फर्केर आउने छैन

तिम्रो लागि भनेर

खै तिमी कहिले आउछौ ?

सिंगारिने रहर पनि त्यसै त्यसै मर्न थाल्यो

गाजल र टीकाले नि गिज्याए झैँ लाग्न थाल्यो

तिम्रै लागि साचेको छु

सिन्दुरको बट्टा पनि

एक दिन तिमी अाएर

भर्छौ मेरो सिउँदो भनी

कोहि हस्या सुन्दा पनि

खिस्याए झै लाग्न थाल्यो

आँखा फर फर गर्दा पनि

ढुक ढुकी यो बढ्न थाल्यो

आशै आशमा बर्ष बिते

बित्न लाग्यो जवानी पनि

खै तिमी कहिले आउँछौ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।