थोपा थोपामा म गल्दैछु
शिखा झारेर म जल्दैछु
तिम्रो नश नशमा
चेतना प्रवाह गर्न
मैले आँधिलाई पनि झेल्दैछु ।
हो म तिम्रो प्रकाशकुञ्ज बनेर
थोपा थोपाहरुमा गल्दैछु
कहिँ जल्दैछु कहिँ बल्दैछु
शिखाहरुमा रुपान्तर भएर
साँच्चै हो मेरो जीवन
तिम्रो नाममा अनुवाद गर्दैछु ।
तिमीले चाँडै ढल भन्यौ
तिमीले चाँडै गल भन्यौ
तर अहँ, म चाँडै बल्न पनि सकिन
तिमीले भने जस्तै ढल्न पनि सकिन
जीवनको प्रक्रिया
आखिर यस्तै नै हुँदोरहेछ ।
म शनै-शनै जलिरहेको छु
म शनै-शनै बलिरहेको छु
ढल्नु मेरो स्वाभिमानको विरुद्ध हो
यसैले तिम्रै लागि म क्रमागतः बलिरहेको छु ।
(यो कविता विस्थापित जीवनमा अन्तर्भुक्त भएपछिका कहालिलाग्दा क्षणहरुको स्मरण गर्दै २०६३ माघ ३ गते प्रवासमा लेखिएको हो।)