14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाली भाषा, प्रविधी र विवादका कुरा

विचार हिमप्रसाद गौतम October 31, 2014, 3:28 pm

भाषाको सन्दर्भमा पढाई, गराई र कमाइको हिसाबले कालो अक्षर भैँसी बराबर जस्तै भए पनि नेपाली भाषी भएको र नेपाली विषयको स्कूले पाठ सम्म पढेको नाताले 'खैरो अक्षर गोरु बराबर' भनेर सम्बोधन गर्न अवश्य मिल्ने म जस्तोले यस विषयमा चर्चा गर्नु त मिल्दैन थियो होला । तै पनि केही लेख्ने जमर्को गरेँ ।

भाषा अझ खास गरी लिपी सित आबद्ध हुने प्रभावशाली र अत्याधिक रूपमा प्रयोग हुने आधुनिक लेखन पाटी भनेको कल्पयन्त्र (computer) को पर्दा हो । आज भोलिका प्रायः जसो छापिएका कागजे अक्षरहरू कल्पयन्त्रे पर्दाको गर्भबाटै जन्मेका हुन्छन् । यो कुराको मज्जाले ज्ञान भए पनि यस विषयमा आफूलाई भाषाका पण्डित हुँ भनेर ठान्ने हरू देखी भाषाको विद्यार्थी हुँ भन्न रुची राख्नेहरूले हेक्का राखेको सम्म पनि देखिँदैन । नेपालमा भाषा शास्त्रीहरूले जति कराए पनि म प्रमाण दिँदै ठोकेर भन्न सक्छु जसरी हाम्रा सांसदले कसलाई प्रधान मन्त्री बनाउने भनेर त्यो संसदे कोठामा कराए पनि साउथ ब्लकले निर्णय गरे अनुसार हुन्छ, त्यस्तै देवनागरी लिपिको सबै ताल्चा र चाबी दिल्ली स्थित हिन्दी विकास विभाग (ठ्याक्क नाम नमिल्न पनि सक्छ है!) नाम गरेको संस्था सित छ । यो संस्थाले अ लाई एकलखे दिएर ए लेख्ने भनेर निर्णय गर्यो भने सबै कल्पयन्त्र र मोबाइलमा त्यही हुन्छ । कल्पयन्त्रको सन्दर्भलाई नेपालीका पण्डितहरूले अहिलेको जस्तै गरी आँखा चिम्लि रहे भने उ को सट्टा अ लाई तल कुरे दिनु पर्छ भन्नेहरू वा हुँदैन उ नै लेख्नु पर्छ भनेर बहस गर्नेहरुको महान् बहस केवल सोम रसका पारखीहरूले भट्टीमा बसेर देश विकासको गफ चुटे जस्तै हुन्छ । ल्याप्चे छाप सांसदले सदनको शून्य समयमा बोल्नु जस्तै हो ।

के चुडामणी रेग्मीले चाहेर फेसबुकमा 'उ' वा 'इ' वा 'ए' लेख्नु भएको हो र? प्रविधिको मुसलधारे वर्षाको बाढीले लाएका सालीग्राम देखी पात पतिङ्गरहरू सम्मलाई देखेर हाम्रा कुनै भाषाशास्त्री झस्केका छन् र? प्रविधि सापेक्ष समायोजन गरिएन भने चुडामणी रेग्मीले धर्‌म वा कार्‍यालय लेख्नु पर्छ भनेर निकै दशक देखि हिडि रहेका भए पनि यही समूहमा दाह्रा किटेरै भए पनि धर्म वा कार्यालय (अर्थात् रेफ) लेख्न वाद्य भएको अवस्था सबै नेपाली भाषाका पण्डितहरूलाई आउने कुरा पक्का पक्की छ । दक्षिणका मानिसहरूले जे निर्णय गरेका छन् त्यो लुसुक्क हेर्दै नेपालीमा यस्तो हुनु पर्छ भनेर आफ्नो विचारको हवाला दिँदै हिन्दी-बाबुको धर्म-सेवक बने बेग्लै कुरा ।

अब मैले जानेको छिमेकी लिपिको कुरा गरौं ।

नेपालीमा के हुनु पर्छ भनेर म जस्तो गैह्र भाषा शास्त्रीले ठ्याक्क भन्न पनि मिल्दैन होला । मलाइ अर्काको कोठे बारीमा पसेर यो वा त्यो फलफूल लगाउनु पर्छ वा यो झारपातलाई उखेल्नु पर्छ भनेर दर्शन छाँट्नू पनि छैन । तर यदी कसैको बोट बिरुवाले मेरो कोठेबारी ढाक्छ भने हाँगा काट्न अह्राउनु मेरो अधिकार हो भन्ने कुरामा म सजग पनि छु । यो लेखाई यस्तै सानो अह्रोट जस्तै हो ।

एउटा लहड चलेर न देख्नेहरु लाई कल्पयन्त्र (computer) को माध्यमले सहयोग गर्नु पर्यो भनि यन्त्रप्राण (software)सम्बन्धी कार्य गर्ने क्रममा मैले बटुलेको अनुभव भने अलि फरक छ । मैले पुर्वमा म्यान्मार (बर्मा) देखि पश्चिममा पाकिस्तान सम्म, र उत्तरमा तिब्बत देखी दक्षिणमा माल्दिभ्स् सम्ममा प्रयोग हुने सबै लिपिको लेखन विधिमा गरेको अध्ययनले ममा केही फरक सोच जन्माएको पनि छ । म कहाँ ह्रस्व वा दीर्घ वा कुन चाही स लेख्ने भनेर जान्दिन वा जाने पनि भन्दिन ।

तर लेखन विधि सम्बन्धी जानेको केही कुरा गरौं कि?

१. मैले अध्ययन गरेको सबै लिपिमा म्यान्मार र देहेली बाहेक) तिन वटा स छन् ।

२. उर्दू बाहेक सबै लिपिमा (हाल अध्ययनगर्दै गरेको लाओसीमा समेत!) ह्रस्व र दीर्घ रूप छन् ।

३. दक्षिण भारतका चार र सिहला लिपिमा उ /ऊ (ु/ू) र इ/ई (ि/ी) को अतिरिक्त ए (े) र ओ (ो) मा पनि ह्रस्व र दीर्घ रूप छन् र दुबै चलनमा छन् । उदाहरणका लागि स्रीलङ्काली लिपि सिहलामा कोलम्बो लेख्दा 'को' मा दिइने ो चिन्ह ह्रश्व र 'म्बो' लेख्दा दिइने ो चिन्ह दीर्घ हुन्छ । हु न त हाम्रो देवनागरी, गुजराती र उडियामा पनि ए र ओ का दीर्घ रूप छन् तर चलनमा छैनन् ।

४. पन्जाबी (गुरुमुखी) लिपिमा झन्डै 'चुडामणी रेग्मी' ले भने जस्तै गरी आ, उ, ऊ, इ, ई, ए, ऐ, ओ, औ लेखिन्छ तर अलि फरक किसिमले ।

यसमा चुडामणी रेग्मी ले भने जस्तो 'अ' लाई नै मात्रा नदिएर विशेष अक्षर (चिन्ह)लाई सम्बन्धित मात्रा दिईन्छ, तर यो मात्रा दिएर स्वर वर्ण बनाइने चिन्हको भने मात्रा नभएको खण्डमा आफैमा कुनै अस्तित्व छैन । हाम्रो सन्दर्भमा हलन्त चिन्हको व्यञ्जन वर्ण बिना कुनै अस्तित्व नभए जस्तै ।

५. उर्दू बाहेक सबै लिपिमा शिरबिन्दु र विसर्ग छन् । उत्तर तिरका लिपिमा चन्द्र विन्दु छ भने दक्षिणमा पाइँदैन ।

६. उत्तर तिरका लिपिमा दुइटा 'ल' भए पनि चलनमा एउटा मात्रै छ तर दक्षिणका लिपिहरूमा दुइटा 'ल' चलनमा छन् । सिहलाको अन्तिम व्यञ्जन वर्ण नै दीर्घ ल हो ।

७. उत्तर तिरका लिपिमा राम् भनिन्छ तर राम लेखिन्छ । त्यस्तै लग्भग् भनिन्छ तर लगभग लेखिन्छ । दक्षिणका भाषामा यस्तो हुँदैन । खास गरि सिहला त जस्तो बोलिन्छ त्यस्तै लेखिन्छ । मैले मेरो नाम लेख्दा हिम् प्रसाद् गौतम् लेख्नै पर्छ हिम प्रसाद गौतम होइन ।

८. सबै भन्दा बोल्ने र लेख्ने कुरामा तादात्म्य नभएको लिपिमा उर्दू पर्छ । यसमा लेखेको हेरेर ठ्याक्क उच्चारण गर्न निकै कठिन पनि हुन सक्छ । अङ्ग्रेजीमा Future (फुटुरे) लेखेर फ्युचर भने जस्तै ।

९. उर्दू बाहेक प्राय सबैमा क्ष र ज्ञ छन् यीनैहरूलाई देवनागरीमा जस्तै गरी संयुक्त अक्षर नै मानेर 'ह' लाई नै अन्तिम मानिएको छ ।

१०. परम्परागत रूपमा अङ्ग, पङ्खा जस्ता शब्द लेख्दा एउटा अक्षरको मुनि अर्को अक्षर झुन्ड्याएर लेखिने जस्ता संयुक्त अक्षरहरू अरू लिपिमा पनि छन् । यो मामिलामा तेलुगु, तामिल र मलय आलम निकै माथि छन् । देवनागरी त्यस पछि पर्छ । मैले हाल सम्म देवनागरीका ३४४ वटा यस्ता जोल्टिएको रूप भएका अक्षरहरू सङ्कलन गरेको छु । मलय आलममा करिब ८०० जति यस्ता जोल्टिएर अर्कै आकृति लेखिने अक्षर भएको मानिन्छ । तर उता तिर भने यस्ता जोल्टिएका सबै अक्षरहरू दन्त्य कथाका वर्णहरू जस्तै भइ सकेको पनि झन्डै आधा शताब्दी बिति सकेको रहेछ । हामीले पनि यही प्रभृतिको नक्कल गरेको त्यस्तै एक दशक जति भयो होला। र्‍याल, पुर्‍याउनु जस्तो र् को अर्को रूप लेख्ने चलन भने त्यहाँ पनि छ । यस्तै रूप सिहलामा पनि छ ।मलयआलमका चिल्लु वर्ण यसका उदाहरण हुन् ।

११. नेपाली लेखनमा यस्तो वा त्यस्तो हुनु पर्छ भनेको सुन्दा मलाई पहिले यो यहाँको मौलिक बहस हो जस्तो लाग्थ्यो, तर छिमेकी लिपिका बाह्रखरी र तिनको ध्वनि बारे केही जाने पछि मलाई थाहा भयो कि निकै कुरा मूलतः दक्षिण कै हावाले ल्याएको रहेछ । म सित एउटा ठोस प्रमाण (उदाहरण) छ । “सुनेर कल्पयन्त्र चलाउने प्रविधिमा हामीले प्रस्ताव गरेको हिन्दी (देवनागरी) को पहुँच तामा यी परिवर्तनले के कस्तो प्रभाव पर्छ “भनेर मलाई देवनागरीको ताल्चा वाला त्यो दिल्ली स्थित संस्थाले नै भावी परिवर्तनका प्रस्तावहरूको प्रतिवेदन मलाई करीब दश महिना अघि पठाए पछि नेपाली यो वा त्यो रूपका लिपिबादिहरूको गुह्य कुरो राम्ररी नै आभास भयो । नैतिक बन्धनले आज त्यो प्रतिवेदन सार्वजनिक गर्न न मिले पनि समयमा इच्छुकलाई बाँडौला । यदी संयोगले दिल्लीका हिन्दी-बाबु र हाम्रा पण्डितहरूको विचार मिल्न पुगेको भए बेग्लै कुरा... के भगवान कै लिलाले हो त कतिपय कुरा ठ्याम्मै मिल्न पुगेको?

अब आफ्नै विचार पनि...

पहिले पहिले म दीर्घलाई र तिन वटा सलाई वाहियात ठान्थे तर झन्डै तीस वर्ष अघि उर्दू सिके पछि स को बारेमा मेरो धारणा बदलिएको थियो । उर्दूमा तीनवटा स, दुइटा क, दुइटा ख, चारवटा ज पढे पछि हरेक भाषाका आफ्नै विशेषताहरू हुँदा रहेछन् भन्ने कुरामा परिचित भएँ । हाल आएर मूलतः भारतीय मूलका लिपिहरूको अध्ययन पछि भने ह्रस्व र दीर्घ सम्बन्धी मेरो वाहियात ठान्ने विचार पनि बदलिएको छ । अरूले चार वटा (उ, इ, ए, ओ) का ह्रस्व र दीर्घ रूप गरि आठ वटा फरक अक्षर लाई समान रूपमा लेख्न सक्ने हामीले त्यसको आधा (उ र इ)को दुई रूपलाई मात्रै किन कठिन ठान्ने?

धेरैलाई अवश्य नै मन पर्दैन, तर मलाई प्राविधिक रूपमा (कल्पयन्त्र मैत्री भएको कारणले) चुडामणी रेग्मीको 'अ' लाई मात्रा दिएर अरू स्वर वर्ण बनाउने विचार एकदमै ठीक लाग्छ । अ लाई कान्दानी दिएर आ अथवा अ लाई लकानो दिएर ओ बनाउन हुने तर अ लाई तल कुरे दिएर उ भन्न मिल्दैन भन्ने तर्क गर्नु बेथितिको वकालत गर्नु हो । उ,ई वा ए लाई ठीक छैन भनेर मान्नेहरूले मुख खोलेर हामी बेथिति युक्त लेखनका पक्षपाती हौं भन्न सक्नु पर्छ । पाणिनी देखि आज सम्मका लिपी विज्ञले जे जे गरेका छन् हामीले त्यसको पछि लाग्नु पर्छ भन्ने पनि छैन । मैले माथि उल्लेख गरेका धेरै लिपिमा यो नियम लगाएको पनि देखिन्छ । चुडामणी रेग्मीको बाकी कुरामा भने म सहमत छैन ।

म भाषा शास्त्रीहरूलाई कोठे कल्पनाबाट नभएर स्थानीय/क्षेत्रीय परि दृश्य र आधुनिक प्रविधि समेत लाई ध्यान दिएर निष्कर्षमा पुग्न आह्वान गर्छु । हाम्रो विडम्बना के छ भने जो कल्पयन्त्र (computer) जान्दछ उ भाषाको जानकार छैन भने जो भाषामा निपुण छ उ कल्पयन्त्रको जानकार छैन । थप विडम्बना यी दुबै पक्ष एक अर्काको विषयमा उदार भएर समायोजित विचार राख्न चाहँदैनन् वा भनौं सक्दैनन् । एक पक्षलाई A for apple, B for Ball, C for cat भनेर रटाएको घमन्डले तताएको छ भने अर्को पक्षलाई अइउण, ऋलृक भनेर घोकेको कुण्ठाले सताएको छ । बीचको तेस्रो पक्ष समन्वय कारी नभएर उभय लिङ्गी जस्तो देखिन्छ ।

अन्तमा,

अहिलेको अवस्था कायम रहे सम्म मैले वा अरू कसैले जे ठाने वा माने पनि कल्पयन्त्र (computer) प्रविधिमा देवनागरी लिपिको स्वरूप ठ्याक्क त्यही हुन्छ जुन कुरा दिल्लीका हिन्दी साहेबले चाहन्छन् । चेतना भया....

जाँदा जाँदै,

मेरो यो लेखाइमा भएको ह्रस्व वा दीर्घ रूप एवम् पद समास/वियोग केवल कल्पयन्त्रे प्रविधिले निर्धारण गरे अनुसार छ । मेरो वैयक्तिकविचारको नियमले नभएर यन्त्रप्राणले जसलाई सही हिज्जे भनेर देखायो मैले त्यही लेखेको छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।