14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

क्यानाडाको काव्यसुसेलीभित्रको काव्यात्मक विशेषताहरु

विचार गोबिन्दसिंह रावत, पीएचडी October 31, 2014, 3:37 pm

विषय प्रवेश

नेपाली कविताको इतिहासमा सुवानन्द बाँडाको पृथ्वीनारायण शाहको वीरताको महिमा भएको कवितालाई अहिलेसम्मको पहिलो कविता मानिएको छ । अनुसन्धानको कुनै सीमा हुदैन भनिन्छ त्यसैले यसैमा पूर्णविराम लगाउनु जरुरी मानिदैन । अर्कोतिर नेपाल बाहिर अर्थात प्रवासमा छापिएको कविताका बारेमा कुरा गर्दा भारतबाट यो परम्परा शुरुभएको देखिन्छ । अब भने दक्षिण एशियाबाहेक सात समुद्रपारीको इतिहासलाई खोतल्ने हो भने विदेशमा गएर नेपाली भाषामा पहिलो कविता कोरेर त्यहीकै पत्रिकामा प्रकाशित गर्ने कविको खोजी गर्ने बेला आईसकेको छ । विश्व रंगमञ्चमा नेपाली साहित्यको इतिहास खोतल्दैजादा भारतबाहेक नेपालबाहिर पहिलोपटक हङ्गेरीको बुखारिष्टमा सन् १९५३ मा पूर्ण बहादुर एम।ए।को नेतृत्वमा नेपाली काव्य साहित्यका तीन स्तम्भहरु बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ विश्व युवा सम्मेलनमा भाग लिन पुगेका थिए । त्यहाँ नेपाली साहित्यका यी तीन प्रतिष्ठाहरु ९नाट्य सम्राट, महाकवि, युवा कवि० ले साहित्यिक प्रस्तुतिहरु गरकै हुनु पर्छ । त्यसैको प्रभावबाट बाटोमा पर्ने रुसको मास्को पुगेर समले मेरो मन बुखारेष्टतिर उड्छ कविता लेखेको पाइन्छ । सिद्धिचरणले सन् १९५७ मा रुसको भ्रमणपछि भोलीको नेपाल कविता लेखेको पाइन्छ । त्यस्तै देवकोटाले पनि हिमालमाथि जेट हवाई जहाज कविता लेखेका थिए भने उनका कविताहरु रुसी भाषामा समेत प्रकाशित भएका छन् । सन् १९५८ को ताशकान्दमा भएको एफ्रो एशियाली लेखक सम्मेलनमा महाकवि देवकोटा र राष्ट्रकवि माधव घिमिरेको सहभागितापछि विश्व साहित्यिक मञ्चमा नेपाली साहित्यको सहभागिता बढ्दै जानथाल्यो । सन् १९६१ मा रुसबाट कृष्णप्रकाश श्रेष्ठले किरण हस्तलिखित पत्रिका प्रकाशित गराएर नेपाली साहित्यको विश्वव्यापीकरणका लागि ऊर्जा प्रदान गरेका थिए । त्यसैले अब हामीले नेपाल र भारतबाहिरको नेपाली साहित्यको इतिहास खोज्ने र लेख्ने बेला आएको छ ।

संग्रहपूर्व काव्य साहित्यमा क्यानाडाको स्थान

त्यस्तै सात समुद्रपारी पहिलो कविता संग्रह प्रकाशित भएको इतिहास पनि खोजतलास गर्ने बेला आएको छ । नेपाली भाषा साहित्यका लागि लगानी गरेका पहिलो कवि र कविता संग्रहबाट हामी विदेशमा बस्ने नेपाली अझभनौं आप्रवासी नेपालीहरुको भाषा–साहित्यप्रतिको लगाउको थालनी पत्ता लगाउनु जरुरी भएको छ । प्रवासी नेपालीभनेर चिनिने हामीहरुले प्रायः आफ्नै रचनालाई प्राथमिकताका साथ प्रकाशित गर्ने गरेका छौं । त्यसैले अहिलेसम्म व्यक्ति कविका प्रशस्तै कविता सङ्ग्रहहरू छापिएको पाइन्छ भने बेलाबेलामा केही मात्रामा समूह कविका कविताहरूको संगालो पनि प्रकाशित भएका छन् । खास कालखण्डका विभिन्न कविहरूका कविता सङ्कलन गरी एकीकृत रूपमा प्रकाशित गर्नु अत्यन्त महत्वपूर्ण कार्य हो । यस्ता सङ्कलनले त्यस कालखण्डका कवि र कविताबारे प्रतिनिधिमूलक जानकारी लिन पर्याप्त सहयोग पु¥याउछ । नेपालबाट यस्ता नेपाली कविताको सङ्ग्रह थुप्रै छापिएको पाइए तापनि विदेशबाट कमै छापिएका देखिन्छन् । क्यानाडाका कविहरुका कविताहरु फाट्टफुट्ट क्यानाडाबाहिरका पत्रपत्रिकाहरुमा (नेपाल बाहेकको सन्दर्भमा) प्रकाशित भए तापनि सामुहिक सङ्कलनमा भने त्यति देखिएका छैनन् । पछिल्लो पटक देखापरेको सामुहिक कविता संग्रहमा उत्तर अमेरिकाका नेपाली कवि र कविताू शीर्षकको कविता सङ्ग्रहले उत्तर अमेरिकामा बसोबास गर्दै आएका नेपाली कविहरुका कविताहरु सामुहिक संग्रह प्रकाशिन गरेको थियो । तारानाथ शर्माको प्रधान सम्पादन र यस लेखकको सहसंपादनमा ९संयुक्त० प्रकाशित यस संग्रहमा क्यानाडाका मानकाजी, गोबिन्दसिंह रावत, गोपीकृष्ण काफ्ले, मुक्ती गौतम र डा। तुलसी धरेल गरी पाँचजनाका कविताहरु पनि संग्रहित भएका छन् । यसअघि रुसबाट प्रकाशित नेपालबाहिरको नेपाली साहित्य संग्रहमा क्यानाडाबाट गोबिन्दसिंह रावत र डा।विनोद बरालको प्रतिनिधित्व रहेको थियो भने अनेसासको अनेक डायस्पोराका कवितामा पनि क्यानाडाका कविहरुको सहभागिता रहेको देखिन्छ । तर क्यानाडाका कविहरुलाई पहिलोपटक एकै संग्रहमा समेट्ने काम पहिलोपटक नेपाली साहित्य समाज क्यानाडाले गरेको छ । यही संग्रहमा सङ्कलन गरिएका क्यानाडाभरीका कविहरुका काव्यात्मक अनुभूति र विचारलाई यस लेखमा समेट्ने प्रयास गरेको छु । आजको मितिमा नेपालभन्दा बढी नेपालबाहिरबाट व्यक्ती कविका काव्य संग्रहहरु बढी संख्यामा प्रकाशित हुँदै आएको पाइन्छ । केही संस्थाहरुले एकीकृत रुपमा समूह कविका कविताहरुको सँगालो पनि प्रकाशित गरेको देखिन्छ । खास कालखण्डका विभिन्न कविहरुका अभिव्यक्तीलाई सङ्कलन गरेर प्रकाशित गर्नु महत्वपूर्ण कार्य हो । यसले भोलीका दिनमा नेपाली साहित्यको विभिन्न कालखण्डाको जानकारी दिन सक्ने विश्वास लिन सकिन्छ । यस्तै प्रयासका रुपमा यो संग्रह अगाडि आएको छ ।

क्यानाडामा नेपाली साहित्यको थालनी

क्यानाडामा नेपाली भाषासाहित्यका बारेमा कुरा गनु पर्दा पहिलो नेपाली संस्थाको रुपमा सन् १९९१ मा नेपाली एशोसिएसन इन क्यानाडा (एन.ए.सी.) स्थापना भएको थियो । मातृभूमी छोडेर क्यानाडा पुगेका नेपालीहरुमा भाषा साहित्यप्रति रुचि जगाउन यही संस्था मार्फत किरण ढुंगाना ले "न्यूज लेटर" प्रकाशित गराएर क्यानाडामा नेपाली पत्रिकाको इतिहास शुरुगराएका थिए । यसैक्रममा उनको संपादनमा सन् १९९३ मा "दियालो" को प्रकाशन सँगसंगै क्यानाडामा नेपाली साहित्यले पनि मञ्च पाउन थाल्छ । न्यूज लेटर पत्रिकाको पहिलो अङ्कमा प्रा। कुमुद देवकोटाको नेपाली भाषामा लेखिएको लेख "बाहिर बस्नेहरुलाई शंका छ" क्यानाडामा प्रकाशित नेपाली भाषामा लेखिएको पहिलो रचना भएको थियो । यही न्यूज लेटर पछि "लाली गुराँस" हुँदै १९९३ बाट ूदियालोस् को नामबाट प्रकाशित हुँदै आएको छ ।

दियालोको दोस्रो अङ्क ९१:२ गृष्म १९९४ मा पहिलोपटक क्यानाडामा बस्ने क्यानाडियाली नेपाली कवि क्युबेक प्रान्तको मोन्ट्रियलका उही शसुको “टुक्रहरु विवशताको” दुईवटा साना कविताहरु प्रकाशित हुन्छन् । उही शसुको नामबाट कलम चलाउने शरद सुब्बाको यही काव्य अभिव्यक्तीलाई क्यानाडाको पहिलो नेपाली काव्य रचनाका रुपमा लिनसकिन्छ । यसरी शुरुभएको क्यानाडाको काव्यात्मक गतिविधिमा आज काव्यका अनेक स्वरुपहरु हेर्न पाइन्छ ।

संग्रहभित्रका काव्यात्मक संरचना

क्यानाडाका काव्य सुसेलीहरु नामाकरण गरिएर प्रकाशित पहिलो काव्य संग्रहमा नेपालका विभिन्न स्थानबाट विभिन्न समयमा क्यानाडामा आएर बसोबास गर्दै आएका ५९ जना कविहरुका ८६ वटा साना ठूला काव्यात्मक अभिव्यक्तीहरु पढ्न सकिन्छ । संग्रहमा समेटिएका काव्यहरुले मूख्य रुपमा तीनवटा भावहरु मुखारित गरेको पाइन्छ – महिलाका विभिन्न स्वरुपको वयान, राष्ट्रिय भावहरुसँगै मुलुकको विसङ्गतिपूर्ण परिस्थिति तथा बढ्दै गएको विष्तिष्णता र धार्मिक एवम् प्रेमाभिव्यक्तहरु । यसकै आधारमा संग्रहमा भाषा साहित्यप्रतिको आस्था, सांस्कृतिक चेतना, विदेशिनु परेको पीडा, आप्रवासी जीवन पद्धतिका अभिव्यक्तीहरु, प्रेमप्रतिको स्वच्छन्द विचार, प्रकृति प्रेम, विसङ्गति पूर्ण अवस्थामाथि व्यङ्यात्मक असहमतीका अभिव्यक्ती आदि भावहरु पाइन्छ । तर समष्टीमा भने राष्ट्रमा देखापरेको अव्यवस्थित र अनियन्त्रित अवस्थाले उब्जाएको असुरक्षाका कारणले विदेशिनु परेको राष्ट्रिय पीडा, आशावादी जीवन दृृष्टीकोणसँगै मानवीय जीवनमा देखापरेका भोगाई, पीडा, निरासा, अनुभुति, अस्तित्व र आत्मपहिचानको खोजि र युगबोधका सुस्केराहरु पाइन्छन् । राष्ट्रप्रेममा जन्मभूमि, कर्मभूमि, मातृभूमिका साथै प्रेमका मानवीय भावहरु पाइन्छन् भने पलायन पीडाभित्र राष्ट्रमा अन्त्यहीन बन्दै गएको राष्ट्रको अन्योल, अँध्यारो, अराजकता, आतङ्क, अभाव, अनिश्चितता, अस्थिरता, आक्रोस, अविकास, दुर्दशा, विदेशको कष्टकर जीवनशैलीका अभिव्यक्तीहरु पाइन्छन् । त्यस्तै सामाजिक र राजनीतिक क्षेत्रमा देखापरेका असहमति र असन्तुष्टी भावनाहरु पाइन्छ । यसका अतिरिक्त यस संग्रहमा सङ्कलित काव्य कोसेलीहरुमा नारी केन्द्री कवितामा नारी पीडा, आमाको ममता, नारी शोषणसँगै नारीप्रतिको स्वछन्दवादी धारणाहरु, युवा केन्द्री कवितामा राष्ट्रप्रति युवाको दायित्वमा उदासिनता, युवा वर्गको पलायननीति, पलायन हुनुको बाध्यता आदि भावहरु भरीएका सुसेलीहरु पाइन्छ । त्यस्तै यस संग्रहमा सङ्कलित काव्य सुसेलीहरुमा सुखाद र आनन्दायी वातावरणको चित्रण, युगीन विविध यथार्थताको प्रकटीकरण, विदेशिनु मानसिकताको चित्रण भने अर्कोतिर विज्ञानले बनाएको विभिन्न अविष्कार र अवस्थालाई मानवीकरण गरेर मानवले आफुलाई विज्ञानको युगानुकुल बनाउदै लगेको वास्तविकताहरू अभिव्यक्त भएका छन् । त्यस्तै प्रकृति प्रेमका भावहरुमा जन्मभूमि र कर्मभूमि दुवै तिरका भावहरु मुखारित भएका छन् । यहाँ शब्दमा अभिव्यक्त गरिएका काव्यात्मक सुसेलीहरुमा कतै राष्ट्रिय प्रेम छचल्किएको पाइन्छ भने कतै मेलमिलाप र विश्ववन्धुत्वको स्वर घन्किएको पाइन्छ । कतै राष्ट्रमा फैलिदै गएको व्याप्त विकृति र विसङ्गतिको दूर्गन्ध पाइन्छ भने कतै विदशी भूमीका पीडाहरुको अनुभूतिका सुस्केराहरु पाइन्छ । यथार्थतामा स्रष्टाले देखेका भोगेका र अनुभव गरेका विचारहरुले यहाँ काव्यात्मक अभिव्यक्तीका रुपमा प्रतिनिधित्व गरेको छ । यसका अतिरिक्त भाषा साहित्यप्रतिको आस्था र सांस्कृतिक चेतनाहरु प्रतिविम्वित भएका छन् ।

प्राप्तीका आधारमा यस संग्रहमा केही कविका एउटामात्र कविता राखिएको छ भने धेरैजसोका दुईवटा कविताहरु राखिएका छन् । सङ्कलित कविताहरुमा क्यानाडामा काव्या यात्राको थालनी गर्ने कविबाट लिएर उनको काव्ययात्रालाई पच्छ्उदै कविता कोर्नेहरुका कविताहरु संकलित छन् । अझ क्यानाडामा परिपक्क भईसकेका कविहरुबाट लिएर कवि बन्ने प्रयासमा रहेका अनि कतिपय देखासिकी कविता लेखेका कविहरुका कविता संकलित छन् । क्यानाडाबाट यहीका स्रष्टाबाट सिर्जिएका र सिचिंएका पहिलो कविता संग्रह भएकोले आव्हान गरेअनुसार प्राप्त भएका सबै काव्य अभिव्यक्तीहरु समेटिएका छन् । आयामका दृष्टिकोणले नियाल्दा कुनै कविता लामा छन् त कुनै छोटा आयामका कविताहरु पनि छन् । संग्रहमा समेटिएका काव्यहरुमा गीत र गजलबाहेक कविताको पंक्तीका आधारमा हेर्ने हो भने सबैभन्दा लामो ८७ पंक्तीको "कृष्णमान र छोराहरु" (डा. गोबिन्दसिंह रावत) कविता रहेको छ भने सबैभन्दा कम पंक्तीको कवितामा "धरान धनकुटा" (सुब्रत श्रेष्ठ) कविता १० पंक्तीका रहेका छन् । काव्यतात्मक सुसेली नामाकरण गरिएको यस सङ्कलनमा गीत, गजल, कविताहरुलाई स्थान दिइएको छ । कविता संगहका काव्यात्मक कोसेलीहरुको विचरण गर्दैजादा कविह्दयमा विभिन्न परिवेश, परिस्थिति, घटना र अवस्थाहरुमा उब्जिएका विचारहरु पोखिएका छन् । कतिपय कविहरुले अभिव्यक्तीहरुलाई रस र अलङ्कारमय बनाएका छन् भने धेरै कविताहरु गद्यमा लेखिएका छन् । यहाँ सामाजिक, राजनितिकसँगै सांस्कृतिक चेतना, आध्यात्मिक चिन्तन र परिवेशको चर्चा पनि भएको देखिन्छ ।

भाषा शैलीका दृष्टिकोणले प्रायः कविताहरुले सरल, सरस, सहज, सुबोध र स्वभाविक भाषाशैलीको प्रयोग गरेको पाइन्छ । तर कतै कतै जबरजस्ती कवितामा तुकबन्दी ल्याउने प्रयास गर्दै असफल लयात्मक अवधारण दिने प्रयास पनि गरिएको देखिन्छ । यसमा गद्य र पद्य दुवै विधाका कविताहरु पढ्न पाइन्छ । अझ यस संग्रहमा संकलित काव्यात्मक कोसेलीहरुले क्यानाडाका कवि प्रतीभाहरुको मात्र प्रतिनिधित्व नगरेर केही काव्य अभिव्यक्तीहरुले नेपाली काव्य साहित्यको प्रतिनिधित्व गर्ने क्षमता राख्दछन् । भोलीका दिनमा विश्व नेपाली काव्य साहित्यको सङ्कलन निकाल्नु परेको खण्डमा यस संग्रहबाट छुटाउनै नमिल्ने काव्य अभिव्यक्तीहरुले पनि स्थान पाएकोमा सङ्कलन कै गरिमा बढाउने छ भनेर ठोकुवा गर्न सकिन्छ ।

काव्य कोसेलीहरुमाथि घोत्लिदा

सन् १९९४ मा दियालोको दोस्रो अङ्कमा ९१: २ समर १९९४ (वि.सं. २०५१) पहिलोपटक क्यानाडामा बस्ने क्यानाडियाली कविको मौलिक कविता प्रकाशित हुन्छ । क्युबेक प्रान्तको मोन्ट्रियलका उही शसुको नामबाट “टुक्रहरु विवशताको” दुईवटा साना कविताहरु प्रकाशित भएको थियो । उनको दुवै कविताको विषयवस्तु प्रेम र सम्झनामा आधारित रहेका थिए भने दुवै काव्यात्मक अभिव्यक्तीहरु भाषा र संरचनागत रुपमा परिपक्क रहेका थिए । नेपालबाट नै छद्म नाम राखेर काव्य यात्रा थालेका कवि शसुको वास्तविक नाम शरद सुब्बा हो । शरदले आ्फनो लेखाईलाई रुचिका रुपमा अहिलेसम्म पनि निरन्तरता दिदै आउनु भएको छ । क्यानाडाको पहिलो नेपाली संस्थाका संस्थापक मध्येका एक शरद सुब्बाले दियालोको प्रकाशनताका साहित्यका विभिन्न विधामा कलम चलाएको पाइन्छ । क्यानाडालाई पहिलो नेपाली कविता दिने कवि शरद सुब्बाको यस संग्रहमा संकलित काव्यात्मक अभिव्यक्ती तीन टुक्राहरुको सम्बन्ध एकअर्कासँग गासिएको पाइन्छ । शीर्षकमा नै टुक्राहरुपछि दसवटा थोप्लाहरुका माध्यमबाट कविले मानवीय जीवनका उतरचढाँउलाई परिभाषित गर्न खोजेको पाइन्छ । उनले विभिन्न परिस्थितिमा पनि बाँच्नु पर्ने मानवीय बाध्यता र नियतिलाई आफ्ना कवितामा समेट्ने प्रयास गरेका छन् । उनका तीनवटै काव्यात्मक टुक्राहरुको अन्त्यमा आएका “ संघर्षको, परिक्षणको, आफ्नोपनको – के यहीनै अदृश्य रुप हो” आदि शब्दहरुले मानवीय जीवनका उतारचढाँउमा देखापर्ने संघर्ष, परिक्षण, आफ्नोपन आदि परिस्थितिको व्याख्या गरेका छन् । हामी विदेशिनुको बाध्यता संघर्ष हो, हामी विदेशमा स्थापित हुनुको प्रयास नवजीवनको परिक्षण हो र हामी विदेशिए पनि आफन्तहरुको चाहना पलाई रहनु आफ्नोपन हो । जीवनको त्रिकोणात्मक परिस्थितिको चित्रण कविले यी तीन टुक्राहरुमा गरेको पाइन्छ । शाब्दिक अर्थमा नियाल्दा कविका विम्वहरुले मानिसको विदेशिनुको वास्तविकतालाई मुखारित गरेको छ ।

कहिलेकाहीं म सत्यतासंग जुध्न पुग्छु,

वास्तविकतालाई हुङ्कार्न पुग्छु,

पलपलको घनिष्टतासँग धारे हात लाएर

बाझ्न बाध्य हुन्छु,

खुई ।।।।इ ।।।।य गर्दै सम्बन्धहरु बटुल्दै डोकोमा हालेर बोक्दा बोक्दै

आफै थिच्चीइन्छु,

र सोंच्छु ।।।।। के यहि नै अदृश्य रुप हो संघर्षको ।।।। ।

– तीन टुक्राहरु

क्यानाडामा आएर पहिलो नेपाली कविता जन्माउनु भएका कवि शरद सुब्बाको कविताबाट यस संग्रहमा संकलित काव्यात्मक अभिव्यक्तीहरुको यात्रा शुरुगर्दा यहाँ काव्यका विभिन्न भाव, विचार, शिल्प र सामाजित एवम् राजनीतिक परिस्थितिहरु प्रतिबिम्बित भएका छन् । यस संग्रहमा काव्यका विभिन्न भावहरु प्रकट भएका छन् । यी नै विभिन्न काव्यात्मक रसहरुको प्रवृति ठम्याउने प्रयास यस लेखमा गर्ने प्रयास गरेको छु ।

महिलाका विभिन्न स्वरुपको वयान भएका काव्यात्मक अभिव्यक्तीहरु

समाजमा रहेको महिलाका विभिन्न रुप र अवस्थालाई माध्यम बनाएर काव्य कोर्ने धेरैनै कविहरु यस संग्रहमा देखापरेका छन् । महिला शक्ती हो वा शौकको माध्यम हो । महिला ममता हो वा माया गर्ने वस्तु । महिलाको जननीबाट लिएर जन उपभोगको माध्यम आदि विभिन्न रुप–स्वरुपको अभिव्यक्ती आआफ्नै दृष्टीकोणबाट यस संग्रहमा अभिव्यक्त भएका छन् ।

क्यालगेरीका कवि अरुण श्रेष्ठले महिलाले दिनहुँ भोग्नु परेको समस्यालाई समेटेर उनीहरुको वेदनालाई काव्यवाणी दिएका छन् । उनको कथात्मक काव्यले एउटी महिलाको कारुणिक व्यथालाई उजगार गरीदिएको छ । मर्नुको कारण र मर्नुभन्दाअघि अतीतलाई सम्झेर विलौना गरेका क्षणहरुलाई कविले दृश्यात्मक अनुभूतिको आभाष दिदै यस कवितामा समेटेका छन् । ूरुबि तिम्रो नाममाू शर्षिकबाटै रुबीलाई मर्नुको कारण सोध्दै कवि अरुण प्रश्न गर्छन स्

तिम्रा ति निर्दोश आँखाहरुमा

तिम्रो मृत्युको खबर पढे पछि

म मृत्युको पारीभाशा खोजी रहेको छु

म जीवनको परिभाशा खोजी रहेको छु

र सोच्न वाध्य छु

किन तिमीले आँफै आफ्नो हत्या गर्यौ रुरु

– रुबि तिम्रो नाममा

प्रस्तुत कविताले नेपालको तराई क्षेत्रमा अहिले पनि विवाहपछि महिलाहरुले भोग्नु परेको यथार्थताप्रति ध्यानाकर्षण गराउन खोजेको आभाष हुन्छ । विहेपछि एउटी महिला दाईजोका कारण अनाहकमा आत्महत्या गर्नु पर्ने अतियथार्थवादी सत्यतालाई कविले काव्यात्मक वाणी दिएर यहाँ प्रस्तुत गरेका छन् । कविताले महिलाको अतीतका संझनाहरुसँगै उनको कारुणिक जीवनगाथालाई देखाएका छन् । सामाजिक विसङ्गतिलाई औल्याएर कविता सिर्जना गर्दै आएका कवि अरुणको प्रस्तुत कविताले सत्यतालाई समेटेको छ । कथात्मक प्रवृतिमा लेखिएको प्रस्तुत कवितामा उच्चकोटीको भावभूमि र विचार प्रष्फुटित भएकोबाट कवि अरुण काव्यात्मक गुण रहेको आभाष पाइन्छ ।

काव्यसँगै आख्व्यानमा पनि सक्रिय सहभागिता देखाउदै आउनु भएकी क्यालगरीकी शिलु घिमिरेका गीतहरुमा प्रेमोभाव र आस्था सँगसंगै नेपाली समाजमा एउटी विधुवाले भोग्नु परेको वास्तविकताको झझल्को देख्न पाइन्छ । उनले महिला अधिकारको प्रसङ्ग कोट्याउदै लोग्नेको मृत्युपछि महिला नरकीय जीवनका लागि कसुरवार रहेको समाजमाथि प्रश्न राख्दै रंगहीन बन्न बाध्य एउटी विधुवालाई रातो रङ्गको प्रतीक बनाएर कवितामा उभ्याउन सफल भएकी छिन् । साहित्यलाई सहयात्री बनाएर सिर्जनामा व्यस्त विशाल टोरोन्टोको सशक्त महिला हस्ताक्षरका रुपमा चिनिदै आएकी टोरोन्टो नेपाली साहित्य समाजकी उपाध्यक्ष राधिका खरेलको विछोडको अलापले परिस्थितिवस् विछुडिएका प्रेमीहरुको प्रेमगाथाका माध्यमबाट अविश्वासको वादल फैलन थालेपछि मायामा अडेको विश्वास भत्किन सक्छ भन्दै मायाको पक्षमा वकालात गरेको देखिन्छ । मायामा नै संसार अडेको अभिव्यक्ती रहेको उनको गीतले विछोडको पीडा पोखेको छ भने उनको अर्को शीर्षक बिनाको कवितामा उनले आमाबाट विछुडिएका बालकको बालचाहनाका माध्यमबाट आमाको ममतामय उपस्थितिको व्याख्या गरेको देखिन्छ ।

तिम्रो शाब्दिक ममतामा कति अल्झिउँ

म तिम्रो स्पर्श चहान्छु,

तिम्रो न्यानो काखमा लुट्पुटिदैं

म निर्धक्क भै निदौना चहान्छु,

एक्लोपनको त्रास मेटाउन चहान्छु

नमीठा सबै बिलाउन चहान्छु,

ओठमा मुस्कान खिलाउन चहान्छु

- आमा आउनुस्

साहित्यमा नै रमाउन खोज्ने टोरोन्टो नेपाली साहित्य समाजसँग आबद्ध रहदै आएकी अर्की महिला कवियत्री कल्पना अवस्थीले दानव कविताका माध्यमबाट पुरुषप्रतिको विष वमनगरेको देखिन्छ । पुरुषप्रधान समाजमा महिलाप्रति पुरुषको दृष्टीकोण र द्वेयचरित्रको पर्दाफास गर्ने जमर्को प्रस्तुत कविताका माध्यमबाट गरेको पाइन्छ ।

हो तिमी दानव नै हो

मानव को भेषमा लुकेको एउटा

डरलाग्दो पशु

जस्ले म जस्तो

कोमल कान्तिलाई नष्ट पार्यौ

नारीहरुको उत्थानको कुरा गर्दै

नारीको अस्मिता कुल्चेर हिड्न खोज्यौं

हो तिमी दानब नै हो

– दानव

उनले आफ्नो गीतमा पनि प्रेम प्रसङ्ग उजगार गरेर आफ्नो मायाको सम्झनामा कारुणिक भाव अभिव्यक्ती गर्दै पुरुषप्रति अविश्वासको प्रस्तावलाई निरन्तरता दिएकी छिन् । अर्का महिला हस्ताक्षर किचनरकी शाम्भवी नेपाल निरौंलाले आफ्ना गजलमा विछोडको अनुभूति पोख्दै परिवारबाट अलग्गिएर एक्लो बस्नुको पीडा र विवसतामाथि चर्चा गरेकी छिन् । उनका कविताले पनि विछोडको पीडालाई मुखारित गरेको पाइन्छ । विदेशमा भएकाहरुको आफन्तहरुप्रति लक्षित गर्दै विछोडका भावनात्मक अभिव्यक्तीलाई प्रश्नात्मक शैलीबाट मन बुझाउने उत्तरको खोजीमा बाध्यतावस् विदेशिनुको पीडा अभिव्यक्त भएको छ । क्यानाडाको अर्का महिला हस्ताक्षरका रुपमा परिचित कलमसेवी क्यालगरीकी भावना पोखरेलले आफ्ना अभिव्यक्तीहरुका माध्यमबाट महिलाको वास्तविक तस्विर उतार्ने प्रयास गरेको देखिन्छ । यस संग्रहमा उनले एकातिर भाउजु कविताका माध्यमबाट समाजमा महिलाको अवस्था एक्काईशौं शताब्दीमा आएर पनि भान्सा भाडाकुडाहरुबाट बाहिर निस्कन नसकेको र निरन्तर उही परम्परागत सामाजिक हेयका दृष्टीले हेरिने गरिएकोले महिलाहरुलाई अहिलेसम्म पनि उही नियति भोग्न बाध्यभएको वास्तविकताको वकालत गर्दै महिलाको पक्षमा आफ्ना अभिव्यक्ती मुखारित गरेकी छिन् । यस कवितामा उनले भाउजुलाई महिलाहरुको प्रतीकका रुपमा उपस्थित गराएर दाइलाई समाजको स्वरुप बनाएकी छिन् र समाजमा महिलाप्रति गरिने विभिन्न प्रकारका दिवसहरु एउटा आडम्बरमात्र भएको देखाउँदै हरदम प्रत्येक अवसरमा महिलाहरु समाजमा भाउजु जस्तै भोजनका रुपमा दाइहरुका लागि पस्किदै जाने सामाजिक अपिरिवर्तित मनस्थितिप्रति तिखो व्यंग्य यस कवितामा गरिएको छ ।

तरकारि बनेर भाउजु रेटिएकि छन् हजारौ पटक

आफ्नो वैशको भान्सामा

मसला बनेर पनि भाउजु पिसिएकै हुन् हजारौ पल्ट

दाइका अनेकौ परिकारहरुका लागि

भाउजु सेकुवा बनेर पनि पोलिएकै हुन् हजारौ पल्ट

चपाइएकै हुन् पटक पटक

मदिराको शालिन चुस्किहरु सङ्ग

– भाउजु

उनको घोडा कविता प्रतिकात्मक कविताका रुपमा आएको छ । यसमा राजनैतिक व्यंग्यलाई सजिवताका साथ प्रस्तुत गर्दै कर्मचारीलाई घोडाका रुपमा प्रस्तुत गरेर कसरी राजनैतिक दाऊपेचमा कर्मचारीहरु साधन बनेर पिल्सिने गर्दछन् भन्ने यथार्थवादी सामाजिक परिवेसलाई कवितामा सटिक र प्रतीकात्मक शब्दका माध्यमबाट प्रस्तुत गरिएको छ ।

टोरोन्टो नेपाली साहित्य समाजका अध्यक्ष तथा यस क्षेत्रमा नेपाली साहित्यलाई स्थायित्व प्रदान गर्ने कार्यमा अहम भूमिका निर्वाह गर्दै आउनु भएका कवि मुक्ती गौतमका कविताहरुमा कतै राष्ट्रियताको सुवास पाइन्छ भने कतै मातृत्वको वात्सल्यता पाइन्छ । यस संग्रहमा उनको आमा कविता एउटा सम्पूर्ण कविताको रुपमा आएको छ । उनले आमाको वास्तविक छविलाई शब्दमा उतार्ने प्रयास गरेका छन् । कविता पढ्दा मनमा नै आमाप्रति आस्था जाग्न थाल्छ र आमाको वात्सल्यता र सन्तानलाई सन्तान बनाउन खर्चेको योगदान महशुस हुन थाल्छ । यस कविताका प्रत्येक पंक्तीले आमाको कालिगडीको परिचय सुनाएको छ । हाम्रा अङ्ग–प्रत्यङ्ग, बोली–व्यवहार, हाम्रा चलन र संस्कार सबैमा आमा मिसिएरै होला हामीले आमाबाट धेरै कुराहरु सिख्न पायौं । तर आमा जस्तै परोपकारी भने कहिल्यै बन्न सकेनौं । संग्रहभित्र कै एउटा उत्कृष्ठ कविता मध्येको एक प्रस्तुत कविताबाटै कविको काव्यात्मक विशेषता ठम्याउन सकिन्छ । उनले कवितामा आमाको शाब्दिक तस्वीर उतारेर आमालाई ब्रमाण्डकै एकमात्र पूजनीय प्राणीका रुपमा अभिव्यक्त गरेका छन् ।

पग्लिएर गतिशील

जीवन थपिदियौ ममा तिमीले

तरङ्ग भरिदियौ ममा तिमीले

तिम्रो पोल्टामा लुकेर

मैले श्वास फेर्न सिके र

उज्यालो थपिदियौ आँखामा

तिम्रो आँखाबाट

मैले दुनियाँ देख्न सिकें,

रंगहरू भरेर आँखामा

हेर्न सिकायौ

तिम्रो आँखाबाट

मैले सपना देख्न सिकेंर

– आमा

उनको भगवान शीर्षकको कविताले मानव र भगवानबीचको सम्बन्धलाई ठम्याउन खोजेको छ । भगवानलाई एउटा प्रतीकका रुपमा उभ्याएर कविले संसारनै यही विश्वासमा अडेको यथार्थतालाई देखाउने प्रयास गरेका छन् । मानिस धर्मभीरु हुन्छन् र त्यसैले भगवानको आस्थामा बाँचेका हुन्छन् । यही आस्था देखाएर मानिस आस्थारुपि श्रमको पारिश्रमिक माग्ने गर्छ । कविले ईश्वर भक्तीमा पनि मानवीय स्वार्थ लुकेको वास्तविकताको उजगार यस कवितामा गर्न खोजेको देखिन्छ ।

हामी मन्दिर बनाउछौं

र मन्दिरभित्र

हाम्रो आस्था तिमीलाई

सुन्दर रुपमा ढालेर ( मूर्ति सजाउछौँ,

हामी मस्जिद बनाउछौं

र मस्जिदभित्र

तिमी हुनुको अनुभुती पालेर

तिम्रो अगाडी

निधार टेक्छौं,

हामी गुम्बा बनाउछौं

र गुम्बाभित्र

मुर्ति सजाएर

मुर्तिभित्र तिमी खोज्छौं,

अझ नपुगेर,

हामी खोपी बनाउछौं

खोपीभित्र लुकाएर

तिम्रो पूजा गर्छौं

टिका लगाउछौं र

– भगवान

क्यानाडाको पहिलो नेपाली राजदूत बनेर यहाँ आएर आफ्नो चार वर्षको कार्यकाल पुरागरेर फर्कनु भएका कवि साहित्यकार डा। भोजराज घिमिरे मूलतः गजलकारका रुपमा परिचित छन् । यस संग्रहमा संकलित उनका गजलहरुले एकातिर बाल शिक्षा र महिला शिक्षाको वकालात गरेको छ भने अर्कोतिर राष्ट्रप्रेमको भावनालाई पोखेको छ । महिला अधिकारको आवाजलाई बुलन्द गर्दै कोरिएका उनको पहिलो गजलले साक्षरताको कमीले गर्दा मुलुकमा देखापरेको महिलाप्रतिको दृष्टीकोणलाई जरैबाट उखेल्नु पर्ने र शिक्षाको अधिकार सबैमा बरोबर हुनु पर्ने मान्यताको वकालात गर्दै छोरीचेलीको पीडालाई शाब्दिक मलहम लगाउने प्रयास गरेका छन् । अनको अर्को गजल आमामा समर्पित छ । कविले आमाका माध्यमबाट जन्मभूमिप्रति वफादार रहन सबैमा अनुरोध गर्दै आमालाई विश्वकै सबैभन्दा अमूल्य वस्तुका रुपमा प्रस्तुत गरेका छन् । कविले आमाका माध्यमबाट राष्ट्रियप्रेमको भावनालाई प्रस्तुत गजलमा उतारेका छन् ।

फुर्सद मिलाई कैलेकाहीँ फर्कि आफ्नो घर जानू,

आमा रुँदै होलिन् तिम्री आँसु पुछ्ने रुमाल लानू ।

बेफुर्सदी छ जीवन तिम्रो प्रतिस्पर्धि दुनियाँमा,

सम्झ आमा सास फेर्दा, मिल्न सक्छ सकून सानु ।

आप्रवासी नेपाली साहित्यका एक शसक्त हस्ताक्षरका रुपमा परिचित तथा नई प्रकाशनले क्यानाडाको साहित्य दूतबाट सम्बोधन गरेको सपना गौतमका गीत र गजलहरु नियमित रुपमा विद्युतीय पत्रिकाहरुका हेर्न र सुन्न पाइन्छ । विश्व नेपाली साहित्य महासङ्घ, क्यानाडा शाखाकी अध्यक्षसमेत रहेकी सपनाको यस संग्रहमा संकलित पहिलो गजलले महिला शक्तीलाई आफ्नो जीवन शैलीका माध्यमबाट एक शसक्त नारीका रुपमा उपस्थित गराउदै स्वार्थी समाजको अगाडि निडर भएर अगाडि बढ्ने नारी सशक्तीकरणको प्रसङ्ग उठाएकी छिन् । उनले समाजमा नारीले आफ्नो पहिचान बनाई सकेको यथार्थतालाई अभिव्यक्त गर्दै आजको मिथ्या समाजप्रति व्यंग्यबाण प्रहार गरेको पाइन्छ । उनका गजलले सत्यको पक्षमा वकालात गर्दै न्यायका पक्षधारहरुले सफलता पाउने आशावादी चिन्तन अभिव्यक्त गरेको पाइन्छ

सबैले तप्दा रहेछन् ताप बलेकै आगोको

एक पल्ट जले तथापि फेरि बलिन कहिल्यै

आफन्त को पर्राई को चिनिन कसैलाई

डुबाए पनि नूनमा मलाई गलिन कहिल्यै ।

– ईष्र्शा गरेर अर्काको ।

त्यस्तै अर्को गजलमा उनको निराशावादी स्वर पाइन्छ । स्वार्थी समाज प्रतिको विष्तिष्णता पोख्दै कुसंस्कारको सामाजिक विषदी वातावरणले सबैलाई पिरोल्ने गरेको म र मेरोमात्र भन्ने प्रवृति रहेको सामाजिक संरचनामाथि व्यंग्य कसिएको छ । यस्ता निरासावादी स्वर सपना गौतमको गजलका अतिरिक्त शुसिला थापाको गजल, कुञ्जन रुपाखेतीको भारी, नवीन अन्योलको गीत र शब्दहरु, दीपक ढकालको नव जीवन आदि कविताहरुमा पनि देखिन्छ । शर्मीला पोखरेलको "सुखको खोजी" मा अभिव्यक्त भएका विचारबाट पनि हामीमा रहेका निराशावादी स्वरहरुलाई अनुभव गर्न सक्छौं ।

सुखको भ्रममा

बर्षौबर्ष

यो ठाउँ र त्यो ठाउँमा

भड्किदा भड्किदै

उमेरका रेखाहरु छोट्टिए पछि

अन्त्यमा,

जीवन,

पुनर्जन्मको सपनासँगै

बिलाउनु रहेछ कि

– सुखको खोजी

यस संग्रहमा आएका कविताहरुले नारीका विभिन्न रुपको वर्णन गरेको पाइन्छ । कतै आफ्नो प्रेमिकालाई ईश्वरसँग दाज्न खोजिएका छ ९डा।गोबिन्दसिंह रावत, तिमीलाई प्रेम गरु कि पूजा०, कतै प्रेमिकाको गुनगान गाइएको छ (चिरञ्जिवी घिमिरेको कविता), कतै शहरको प्रतीकका रुपमा महिलाको उपस्थिति गराइएको छ (राजिव नेपाल, मिस पोखरा) आदि । महिलाको मात्र नभएर महिला कवियत्रीहरुबाट पनि आफ्नो प्रेम प्रसङ्गलाई यस संग्रहमा कविताका माध्यमबाट अभिव्यक्त गरेका छन् । महिला अधिकार र समानताका लागि नारीलाई विभिन्न अवतारमा विभुषित गरी नारी मुक्तीका स्वरहरु अनि मातृत्वका भावनाहरुका साथै नारीको कारुणिक अवस्थाको वयान गर्दै नारी शिक्षाको बुलन्द आवाज उठाएर नारीमाथिको अन्याय अत्याचारका विरोधका साथै महिलाहरुले भोग्नु परेको यथार्थताप्रति ध्यानाकर्षण गराउन खोजेको आभाष हुन्छ । यसमा कल्पना अवस्थीको सम्झना, शिलु घिमिरे न्योपानेको प्रीतको रंग, राधीका खरेल, शाम्भवी नेपाल निरौंला नीता शर्मा दाहाल आदिका कवितामा यस्ता भावहरु पाइन्छन् । नारीको भावनालाई आफ्नो अभिव्यक्तीको माध्यम बनाएर नारीका विभिन्न रुपको चर्चा गर्दै नारीलाई समाजको बहुमूल्य रत्न र संसारका संरचना कर्ताका रुपमा गुनगान गाउनेहरु अन्य कविहरुमा बीना श्रेष्ठ, भावना पोखरेल, मुक्ती गौतम, कल्पना अवस्थी, डा। भोजराज घिमिरे, डा। गोबिन्दसिंह रावत, राधीका खरेल आदि रहेका छन् ।

राष्ट्रिय भावहरु मुखारित भएका काव्यात्मक अभिव्यक्तीहरु

संग्रहमा मुख्यतः राष्ट्रिय भावनालाई मुखारित गर्दै वर्तमान अवस्थामा देखापरेको राष्ट्रिय अस्थिरता र जनअन्योलताले जन्माएको मुलुकको रुग्न अवस्थाको चित्रण गरिएका कविताहरु बढी समावेश भएका छन् । धेरैले राष्ट्रमा विद्यमान अवस्थाप्रतिको चिन्तात्मक अवस्थाका बारेमा कविता कोरेको पाइन्छ । डा। किस्मत भण्डारीको "चित्त मेरो दुःखे जस्तो" कविताका माध्यमबाट मुलुकमा देखापरेका तमाम राजनीतिक विसङ्गतिहरुप्रति प्रहार गर्दै नेताहरुको मनोमानी प्रवृतिले गर्दा देश बिग्रदै गएको वास्तविकतामाथि प्रकाश पारेका छन् । उनले राष्ट्रियता राष्ट्रबाटै हराउँदै गएपछि नागरिकहरुमा पलायनवादी प्रवृति बढ्दै गएको देखाउदै सबैलाई राष्ट्रप्रति सचेतता कायम राख्न आव्हान गरेका छन् । यही राष्ट्र, राष्ट्रियता र राष्ट्रमा देखापरेको विसङ्गति माथि राष्ट्रवादी विचार भएका कविताहरुमा नवीन अन्योलको फेरी एकपटक, डा भोजराज घिमिरेको गजल, कुसुम ज्ञवालीको देशको अनुहार, मेनुका रिजालको कहिल्यै सकिन, एनपी खार्पालीको खाटा बस्न थाल्दै छ, रमेश थापाको प्रवास, केशव श्रेष्ठको यात्रा जीवनको, सुरेश थापाको नरुनु आमा नरुनु बाबा, गोकुल भण्डारीको सन्देश, भरतमान श्रेष्ठको "अन्तर्राष्ट्रिय प्रेम", मुरारी अधिकारीको "जहाँ जाँउ जहाँ रहौं", मन त नेपाली आदिका कविताहरुमा पाइन्छ । नेपाली साहित्य समाजका क्यानाडाका संस्थापक मध्येका एक डा नवीव वैद्य नवीन अन्योलको नामबाट साहित्य सिर्जना गर्दछन् । नियमित काव्यसाधना गर्ने कवि अन्योलका कवितामा राष्ट्रिय प्रेमका भावनाहरु बढी छचल्किएको पाइन्छ । फेरी एकपटक कविताका माध्यमबाट कविले राष्ट्रमा राष्ट्रिय मुस्कान ब्युताएर फेरी नेपाललाई बुद्ध र शान्तीको देश भनेर सम्बोधन गराउन चाहन्छन् । राष्ट्रियताको भावनाले ओतप्रोत भएका यस कवितामा कविले आजको राजनीतिक विसङ्गतिपूर्ण अवस्थाको चर्चा गर्दै भाइभाइका बीच उत्पन्न हुँदै गएको वैमनष्यता र विवादलाई अन्त्य गरी एकताका लागि आव्हान गरेका छन् । उनको गीत र शब्दहरु कवितामा पनि कविले मीठो विम्वहरुको प्रायेग गर्दै शब्दका माध्यमबाट राष्ट्रियताको खोजी गर्ने प्रयास गरेका छन् ।

देशले हाँस्न बिर्सिसक्यो

उसले निदाउन विर्सिसक्यो

भित्रभित्रै मडारिएको

हुण्डारले

– फेरी एकपटक

उनको अर्को कविता मानवीय पीडाले भरिएको छ । यसमा उनले जनयुद्धको नियति भोग्नु परेको वास्तविकतालाई मुखारित गर्दै स्वअस्तित्व र आत्मपहिचानको खोजि गरेका छन् । प्रस्तुत कविताले मानवीय ईच्छा आकक्षाका साथै मानवतावादी स्वर मुखारित गर्न खोजिएको देखिन्छ ।

मारिएको लोग्ने सेलाएर आएकी

स्वास्नीको पोतेमा

अल्झिएर खोज्दाजोज्दै चँुडिन

पुग्छन् ती शब्दहरु

– गीत र शब्दहरु

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, क्यानाडाका साहित्य संयोजक क्यालगरीका कुसुम ज्ञवाली नेपाली साहित्य पाठकका लागि एउटा परिचित नाम हो । उनको देशको अनुहार कविता देशमा देखापरेका विखण्डनवादी प्रवृतिको विरोधमा उभिएको कविता हो । सान्दर्भिक विम्वहरुको प्रयोगबाट देशको यथास्थिति परिवेशको चित्रण गर्ने राम्रो प्रयास कविले गरेका छन् ।

बेत्रावतीको तिरैतिर सिदेनुन जस्तै

ढाकरमा सपनाहरुको भारी खेपेर फर्कने

अधबैँसे ओठमाथि एउटा पनि रौ देखिएनन्

समयका बैशालु गाला

सूर्यास्तका रातो पसिना दलेका चिम्सा आँखाहरुमा

मैले पढेको सौदर्यशास्त्र नै देखिएन

– देशको अनुहार

अर्को कविता, सम्भव क्रान्तीले जनयुद्धपछि नेपाली जनतामा उब्जिएका क्रान्तीपछिको शान्ती र सुखसयल जिन्दगीको सपना चकनाचुर भएको र लालसेनाका संवाहक बनेका नेताहरु निजि स्वार्थमा लागेर राष्ट्रिय संरचना खलबलाई दिएकोप्रति रोष प्रकट गर्दै राष्ट्रप्रेमको भावहरु पोखेका छन् । कविले देशको प्रशासनिक व्यवस्थाको गलत प्रयोग भएको र फलस्वरुप कम्युनिजम्का सिद्धान्तहरु सोकेसहरुमा थन्किएकोले जनताको ईच्छानुसारको मुलुक निर्माणका लागि अर्को क्रान्तीको आवश्यकता अनिवार्य रहेको हुङ्कार अभिव्यक्त गरेका छन् ।

तराईको फाँटले सम्याउन नसकेको

आरोपित कालो राष्ट्रियता

मेरो कल्छ्याउँदो अनुहारसँग

आफै सोध्ने शाहस गर्दैछु

अचेल मेरो देशको अनुहार

किन सधै गहुँगोरो हुन्छ

– सम्भव क्रान्ती

टोरोन्टो नेपाली साहित्य समाजका महासचिव रमेश थापाले विशेष गीतमा नै बढी कलम चलाउने गरेको देखिन्छ । प्रस्तुत संग्रहमा संकलित उनका दुईवटा गीतहरुले बेग्लाबेग्लै धार प्रस्तुत गरेको छ । पहिलो गीत प्रवासमा प्रेमको विछोडात्मक भाव प्रस्फुटित भएको छ । प्रेममा विछोड भएर असफल प्रेमीको दोषारोपण, आरोप प्रत्यारोपका भावहरु मुखारित भएका छन् । यसलाई प्रेमको दुखद् अन्त्य समेटिएको गीत भन्न सकिन्छ । दोस्रो गीत राष्ट्रभक्तीले ओतप्रोत भएको छ । गीतका माध्यमबाट कविले देशमा भईरहेको विसङ्गति का प्रसङ्गहरुलाई उजगार गर्न खोजेका छन् । राष्ट्रप्रेम भन्दा माथि अरु कुनै पनि प्रकारका प्रेम हुँदैन भन्ने भाव यस गीतमा अभिव्यक्त भएको छ ।

केही गर्छु भन्नेहरु आउ अब केही गरौ

उजाड भा छन गाउ बस्ती उन्नतिको किरण छरौ

जहाँ पैला देश बन्छ भबिस्य नि त्यही हुन्छ

अनिमात्र स्वाभिमानले सधैं चन्द्र सुर्य छुन्छ ।

आफ्नो छाती दुखे पनि देशको कहिल्यै दुख्नु हुन्न

हिमाल झै अटल हाम्रो स्वाभिमान झुक्नु हुन्न ।

गतिकार थापाले गीतका माध्यमबाट राष्ट्र निर्माणका लागि एक हुन आव्हान गर्दै सबैलाई देश बनाउनका लागि अघि बढ्ने अनुरोध गरेका छन् । उनले देश रहेमा मात्र हामी र हाम्रो अस्तित्व रहन सक्ने वास्तविकताको उद्घाटन गीतका माध्यमबाट गर्दै एकतामा अनेकताको सन्देश दिने प्रयास गरेको पाइन्छ । त्यस्तै अर्का कवि क्यालगरीका सुरेश थापाले पनि आफ्ना गीतका माध्यमबाट राष्ट्रिय भावना मुखारित गरेका छन् । उनले नेपालको ग्रामिण जीवनको परम्परागत पीडाको बयान गर्दै ऋण लिएर खेतीपाती गर्नु पर्ने परम्परागत बाध्यता अहिलेसम्म निरन्तर चली रहेको र खोलोले खेत बगाएपछि ऋणको भारीले थिचिएका आमाबुवालाई साहुको ऋणबाट मुक्ती दिलाउन छोरो विदेशिनु पर्ने परम्परागत पीडा उनको गीतमा पाइन्छ । एउटा सुनौंलो बिहानीको सपना बोकेर विदेशिनु पर्ने परम्परागत बाध्यतालाई उनले गीतका माध्यमबाट अभिव्यक्त गरेका छन् ।

विण्डसोरबाट नियमित कलम चलाउने कवि गोकुल भण्डारी क्यानाडामा आएर साहित्यमा आफ्नो बेग्लै पहिचान बनाउनेहरु मध्येका एक हुनुहुन्छ । उनका उत्कृष्ठ अनुभूतिहरु विभिन्न समय र अवसरमा पढ्न र सुन्न पाइन्छ । यस संग्रहमा उनका दुईवटा कविताहरु संग्रहित भएका छन् । भान्छेको जात कविताको भावले मानवीयताको स्वर मुखारित गर्दै जातीयताका आधारमा मानिसलाई बाड्ने कामको विरोध गरेका छन् । उनले आफ्ना अभिव्यक्तीमा जीवनका दुईपाटाहरुको चर्चा गर्दै जन्मेपछि र कर्मभूमिमा लागेपछि मानिसको जीवन मानवीय रङ्गले जन्माएको मानिस मानिसबीचको भेदभावपूर्ण विसङ्गति लाई उदाङ्गो पारिदिएका छन् ।

मान्छेको जात

मेरा आँखाका गोलाई र नाकका उचाईहरुले

बाबुको बिंडो र आमाका जिब्रोहरुले

मेरो छालाका श्याम श्वेत रंगहरुले

बिन्ती छ मलाई फैलन देऊ ्र

पहिलोपल्ट मलाई नाप,

मान्छे हुनुको तराजुमा

मैले एक्लै हिंडेका गोरेटाहरुमा

आफैले कोरेका मेरा धर्सा हरुमा

त्यसपछि म मर्छु र निर्जात हुन्छु

कसैको याद र केहि संबाद हुन्छु

– मान्छेको जात

उनको अर्को कविता सन्देशका माध्यमबाट कविले राष्ट्रप्रेमको भावलाई मुखारित गरेका छन् । देशप्रतिको माया जहाँ रहे पनि कहिल्यै नमर्ने र कहिल्यै मर्नु पनि हुँदैन भन्ने सन्देश उनको यस कविताले बोकेकोले शीर्षकमा नै सार्थकता पाइन्छ । प्रस्तुत कविताले देशभित्रको विसङ्गति पूर्ण वास्तविकतालाई देखाउदै विदेशिनु परेको अतियथार्थतालाई स्वीकार्दै देश निर्माणमा फर्की जाने सन्देश दिन खोजेको छ ।

हामी जो परदेशी हौं तर पनि आखीर नेपाल नै

सम्झंछौ दिन रात भावुक हुदै प्यारो त्यही भूमि नै

यै माया बटुलेर गर्नु छ नयाँ नेपालको सिर्जना

आफ्नै देश र गाउँको प्रगतिको हाम्रो बनोस् चाहना

– सन्देश

नेपाली साहित्य समाज क्यानाडाका संस्थापक तथा क्यानाडामा सक्रिय साहित्य कर्म गर्ने व्यक्तीका रुपमा परिचित डा। तुलसी धरेलले आफ्ना दुवै कवितामा राष्ट्रिय भावनाहरु पोखेका छन् । परदेशबाट कवितामा अतीतको नवीकरण गर्न खोज्दै त्यहाँ छुटेका आँचलिकताका प्रतीकहरुको स्मरण गर्दै स्वदेश र विदेशका बीच फरक खोज्ने प्रयासमा आत्मियताको सुखसयल स्वदेशमा नै हुने गरेको वास्तविकताको पाटा उघारीदिएका छन् । आफ्ना कवितामा उनी बढी राष्ट्रवादी भएको देखिन्छ ।

खुबै रमाछु अरूबाट हेर्दा

आफु भन्दा माथि अरु छैन् लाग्छ

एक्लो ठान्छु आफु फर्की हेर्दा

बस्ति आफ्नो तेतै बिर्सी हिड्दा

भयो जिन्दगि एक्लो चेहरा

साथी संगी बस्ति तीरै छोड्दा

– परदेशबाट

उनको अर्को कविता जिन्दगीमा पनि त्यही भावहरु प्रष्फुटित भएकोले पहिलो कविताकै श्रृङ्खलाका रुपमा आएको आभाष हुन्छ । कवितामा देशप्रतिको सचेतता बढी मुखारिता भएको देखिन्छ ।

मुलुकको विसङ्गतिपूर्ण परिस्थिति तथा बढ्दै गएको विष्तिष्णतामाथिका भावहरु

यस संग्रहमा एकातिर राष्ट्रप्रति आफ्नो दायित्वको बोध भएका कविताहरु आएका छन् भने अर्कोतिर राष्ट्रमा निरन्तर बढ्दै गएको विष्तिष्णताप्रति आक्रोश व्यक्त गर्दै समाजमा बढ्दै गएको असमानताका भावनाहरु, मानवीय अहमले उब्जाएका कुविचारहरु, स्वार्थपूर्ण सामाजिक परिवेशसँगै राजनीतिक र सामाजिक विसङ्गति प्रति लक्षित कविताहरु पनि आएका छन् । गोकुल भण्डारीको मान्छेको जात, आशा ढकालको अचम्म नमान, मानकाजीको उन्नती, सुब्रत श्रेष्ठको धरान धनकुटा, डा। भोजराज घिमिरेको गजल, अनुप न्योपानेको धमीरा, ऋषी बस्ताकोटीको बादलका टुक्राहरु, डा। पुण्यसागर मरहट्टाको भाते, सुरेन उप्रेतीको गाई भेडा र कागहरु, नवीन अन्योलको गीत र शब्दहरु, भानुभक्त आचार्यको प्रेस स्वतन्त्रता जिन्दावाद, अनिल पौडेलको समीकरण, सृजना लम्सालको अस्थिर मन आदिलाई लिन सकिन्छ ।

यस संग्रहमा अभिव्यक्त भएका अभिकांश काव्यात्मक अभिव्यक्तीहरुमा राष्ट्रप्रेम, मातृभूमिप्रतिको आस्था र त्यसबाट उब्जिएका परिस्थिति तथा वर्तमान अवस्थामा मुलुकमा देखापरेका विभिन्न अनियन्त्रित विसङ्गतिहरु र त्यसबाट जन्मेका निरासावादी स्वरहरु, पलायन भएकाहरुको मनमस्तिष्कमा उब्जने यता की उताको अमन्जस्यतापूर्ण परिस्थिति आदिको वयान पाइन्छन् । क्यालगरीमा नेपाली साहित्यलाई निरन्तरता दिदै संस्थागत रुपमा स्थापित गर्दै आउनु भएका नेपाली साहित्यका सक्रिय हस्ताक्षर राजेन्द्रप्रसाद प्रसाईको समयको गीत कविताले आजको स्वार्थी समाजप्रति व्यंग्य प्रहार गर्दै सामाजिक व्यवहारमा समेत परिवर्तन बढ्दै गएको र समाजनै स्वार्थमा डुब्दै गएको आभाषमा वियोगका गीत सुनाउँदै भन्नु हुन्छ ः

चाटुकारी छम् छम् झ्याली, सिखन्डीको नाच हेर

आदी साजी, आदी बासी बहानाको भाग धेर

बिना बहार बसन्त यो, भ्रमर खोइे फूल सितरु

न्याउली झैं रुन्छ कोइली, गाँउनु थियो मीठो गीत

बारी भरी, खेत भरी रोप्नु थियो नयाँ रीत

हारहरू बटुलेर उन्नु थियो एउटा जीत

– समयको गीत

त्यस्तै क्यलगरीकै डा। पुण्यसागर मरहट्टाले ूभातेू कविताका माध्यमबाट मानवीय स्वार्थमाथि व्यंग्य कास्दै मानिसको बाच्नका लागि गरिने संघर्ष र पलायनका कारण भातनै रहेको वास्तविकता उजगार गर्दै मनोविनोदी भाव र व्यङ्ग्यात्मक शैलीमा अभिव्यक्त गरेका छन् । निरन्तर कलम चलाउने टोरोन्टोका कवि प्रदिपदेव पौडेलका कवितामा पनि राष्ट्रप्रेमका भावहरु देख्न पाइन्छ । उनले विदेशमा रहे पनि कविताका माध्यमबाट नेपालीपनको वकालात गर्दै विदेशमा भएका हिमाल, तराई, पहाड, मानिस र संस्कृतिलाई नेपालीपनमा रुपान्तरण गर्दै राष्ट्रियताको सुवास मिसाएर सुगन्ध लिदै जाने सल्लाह दिन्छन भने ूबाबा आउ नयाँ वर्षको साईत गरेरू कवितामा पनि प्रतीकात्मक रुपमा राष्ट्रियताको भावनाहरु मुखारित भएको पाइन्छ । प्रस्तुत आशावादी स्वर बोकेको कविताले देशको रुग्ण बन्दै गएको अवस्थाको चित्रण गर्दै भोलीको सुन्दर बिहानीको परिकल्पनामा बाँचेकाहरुलाई सान्त्वना दिने काम गरेको छ । टोरोन्टोका अनुप न्योपानेले आफ्नो लेखनको प्रारम्भिक चरणमा नै समाजका देखापरेको मानवीय कुसंस्कृतिमाथि व्यंग्यवाण छोडेका छन् । व्यंग्यात्मक शैलीमा लेखिएको उनको ूधमिराू कविता नेपालीहरु जहाँ पुगे पनि आफ्नो आडम्बरी आचरण लिएरै गएका हुन्छन् र धमिराको व्यवहारबाट समाजलाई निमिट्यान्न पार्न थाल्छन् भन्दै मानिसको मै खाउँ मै लाउँ स्वार्थीपनमाथि तीखो व्यंग्य कसेका छन् । क्यानाडाबाट पहिलोपटक कविता संग्रह प्रकाशित गरेर साहित्यिक सिर्जना तथा साहित्यिक गतिविधिलाई निरन्तरता दिदै साहित्य कर्म गर्दै आएका सशक्त साहित्य सेवी मानकाजीले पनि आफ्नो कविताका माध्यमबाट मानवीय प्रवृतिमाथि व्यंग्य कस्दै मानवीयतामा बढ्दै गएको खडेरीको चर्चा गरेका छन् । भ्यानकुभरमा साहित्यिक वातावरण बनाउदै आउनु भएका मानकाजीले "मर्द र नामर्द" कविताका माध्यमबाट सक्षमता र असक्षमताबीचको द्वन्द्वात्मक सम्बन्धमाथि प्रकाश पारेका छन् । उनले मानिसमा मानवीय संस्कारले नै नराम्रो प्रवृति जन्माउने गरेकोले दुई पक्षबीचको द्वन्द्वात्मक स्थितिको वर्णन यस कवितामा बोलीचालीको भाषामा अंग्रेजी शब्दको प्रयोग गर्दै नवशैलीको प्रयोग गरेर सकारात्मक र नकारात्मक प्रवृतिलाई सार्थकताका साथ उतारेका छन् ।

मर्द proactive त नामर्द reactive हुन्छ,

मर्दले गर्छ, नामर्द आह्रिसेले अरुलाइ विगार्छ वा टुलु —२ हेर्छ।

मर्द सकारात्मक र I m possible भन्छ,

नामर्द नकारात्मकले हर चिज Impossible देख्छ ।

– मर्द र नामर्द

उनको अर्को कविताले नेपालीपनमा बढ्दै गएको हसप्रति चिन्ता व्यक्त गर्दै नेपाल र नेपालीलाई राष्ट्रभित्र र बाहिर बेग्लाबेग्लै नामबाट सम्बोधन गर्ने प्रवृतिले नेपाली–नेपालीहरुका बीच सीमारेखा कोर्दै गएकोमा विरोधका शब्दहरु अभिव्यक्त गरेर अनेकतामा एकताको लागि आवहान गरेको पाइन्छ ।

नेपाल सरकारबाट राजदूत जस्तो गरिमामय पदमा बसेर आफ्नो दायित्व पुरा गर्नु भएका नेपालको बौद्धिक समुदायका एक अग्रजका रुपमा परिचित हर्षनारायण द्यौभडेलको ूक्षितिज भ्रमू कविताले वहाँको विचारलाई मुखारित गर्दै परोपकारी सन्देश दिदै समाजवादी चेतना अभिव्यक्त गरेको पाइन्छ ।

मजा छ बाँच्नुको जिन्दगी लिएर बाँच्नुमा

मजा छ हाँस्नुको हँसी दिएर हाँस्नुमा

सफल छ साधना

उनी समस्तलाई आफुमा अँगालिदेऊ छरछिमेकी

पाखुराको बाँधमा नै छात्तिभित्र विश्व खुल्छ

तर आकाशले छोएको जुन धरती हुन्छ

सँधै पन्छिदै गइरहन्छ

– क्षितिज भ्रम

संग्रहले एकातिर परम्परागत साहित्यिक प्रवृतिलाई पच्छ्याएर लेखिएका अभिव्यक्तीहरुलाई समेटेको छ भने अर्कोतिर परम्पराभन्दा बेग्लै नवीन काव्य प्रवृतिको पनि प्रतिनिधित्व गरेको देखिन्छ । यहाँ अटवाका राजिव नेपालको ूबिग ब्याङ्गू कविताले एउटा नौलो परिकल्पनाका माध्यमबाट समाजबाट अबहेलित भएर रुग्ण हुँदै गएको एउटा नागरिकको मानवीय भावनालाई बौद्धिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको छ । नबुभ्mनेहरुका लागि उनको शैलीमा क्लिष्टता पाइन्छ भने बुभ्mनेहरुका लागि त्यहाँ सरलता र सजिवता पाइन्छ । त्यस्तै शैलीमा लेखिएको उनको कवितामा आएको बिग ब्याङ्ग एउटा बैज्ञानिक सिद्धान्त हो जसका आधारमा ब्रह्माण्डको अविष्कारको समय र संरचनाको अध्ययन गरिन्छ । कविले काव्यमा बैज्ञानिक शिल्प र शैलीको प्रयोगका माध्यमबाट आज खस्कदै गएको माननीय व्यवहारमाथि व्यंग्य प्रहार गरेका छन् ।

हड्डिको फुटबल खेलाडीहरूको,

नियोजित र कोअर्डिनेटेड प्रहारले

भूतकालमा टाउको गाडेर

भविष्यको सपना बाँडिरहनेसँग,

झुत्रे, बिरामी र मैलो वर्तमानको

चिनापर्ची गराएको निहुँमा,

रक्तबीज महाराजको अवसानपछि

उत्पत्ति भएका नाङ्गा राजाहरूलाई

सुरुवाल उपहार दिएको आरोपमा,

– बिग ब्याङ्क

आफ्नो लेखनलाई साहित्यको एउटा बेग्लै धरातलमा राखेर बौद्धिक शैलीका माध्यमबाट आजको समाजको सामाजिक र राजनैतिक विसङ्गतिहरुमाथि सटिक व्यंग्य प्रहार गर्दै साहित्य कर्म गर्दै आउनु भएका अटवाका राजिव नेपालको ूमिस पोखराू कवितामा पनि उनले पोखराको प्रतीकात्मक अर्थको प्रयोगबाट बिग्रदै गएको सामाजिक वातावरणीय अवस्थामाथि व्यग्यं प्रहार गरेका छन् ।

जमे हिउँ बन्छ, उम्लिए बाफ बन्छ

पानीको जात त्यहि हो

हिउँदमा न्यानो हुन्छ, गर्मीमा पोल्छ

घामको धर्म त्यही हो

केवल गति र दिशा छ

हावाको इलम त्यहि हो।

म कलरलेश, अडरलेश, टेश्टलेश

हावा पानी र घाम जस्तै।

– मिस पोखरा

त्यस्तै नेपाली साहित्यमा नै आफ्नो एउटा बेग्लै पहिचान बनाइसकेका क्यालगरीमा नेपाली साहित्यकारहरुलाई समेट्दै साझा चौतारी प्रदान गर्दै आउनु भएका ऋषी बस्ताकोटीले आफ्ना दुवै अभिव्यक्तीहरुमा विम्वहरुको राम्रो प्रयोग गरेको देखिन्छ । उनको ूपागल प्रेमीको वकपत्र ू मा एउटा असफल प्रेमकथाको इमान्दारी पूर्वक गरिएको बयान पाइन्छ । यसमा उनले प्रेम प्रसङ्ग असफल भएपछि अलग्गिनुनै यथार्थ रहेको वास्तविकतामाथि चर्चा गरेको पाइन्छ । उनको ूबादलका बुट्टाहरुू कविताले समाजको वास्तविक यथार्थतालाई उज्गार गर्न खोजेको देखिन्छ । मिथकको राम्रो प्रयोगबाट कविताले मीठास पाएको छ । बादललाई समाजको प्रतीकका रुपमा प्रस्तुत गर्दै कविले बादलको गर्जने र वर्षने किम्वादन्तीलाई सामाजिकरण गरेर कवितामा सफलताका साथ समेटेको पाइन्छ । बादलमा कहिले दैत्य देखिने कहिले देव, कहिले रामायणकालको आभाष त कहिले महाभारत कालको अनुभव अर्थात बादललाई मानवीय जीवनको सबै कालको साक्षी रहेको अर्थमा प्रस्तुत गर्दै बादलले आकासमा गर्जेर जति रणसंग्राम मच्याए पनि अन्ततः पानीमा परिणत भएर वर्षिनु पर्ने वास्तविकता देखाएर मानिसलाई यसबाट शिक्षा लिनु पर्ने विचार प्रकट गरेका छन् । समाजमा बलको भरमा मानिसले जति घमण्ड गरे पनि अन्ततः त्यसको कुनै स्थायित्व नरहने भएकोले त्यो व्यर्थ हुने र यो संसारमा राम्रो नराम्रो दुवै पक्ष रहेकोले राम्रो पक्षका लागि काव्यात्मक वकालात यस कवितामा गरिएको छ । आफ्नो हजुरआमालाई पूर्खाहरुको प्रतीकका रुपमा प्रस्तुत गरेर प्रश्नोत्तर शैलीमा आजको समाजलाई शिक्षाबोध गराउने अभिव्यक्ती बस्ताकोटीले यसरी पोखेका छन् ।

कहिले टपक्क मिलेर एक ढिक्का हुन्थे

कहिले सरक्क फाटेर फिक्का–फिक्का हुन्थे

मिलेको बखत उनीहरु

ठूलै गर्जन गर्थे, प्रलयको हुँकार सुसाउँथे

तैपनि अगाडिको पहाड नाघ्न नसकेर

पानी – पानी रुन्थे

र भोलिपल्ट चकमन्न हुन्थे ।

– बादलका बुट्टाहरु

यस संग्रहमा कतै शान्तीको चाहनामा गीत गाइएको छ भने कतै क्रान्तीका लागि आव्हान गरिएको छ । कतै सामाजिक क्रान्तीको लागि एकता बटुल्ने प्रयास गरिएको छ भने कतै कृषि क्रान्ती गरेर मुलुकको मुहार फेर्ने जमर्को गरिएको पाइन्छ । टोरोन्टोका योगेन्द्र रेग्मीको कृषि क्रान्ती कविताले यस्तै भाव प्रकट गरेको छ । कविताका माध्यमबाट कविले कृषकको विकासका कुरा अगाडि सारेर त्यसलाई देश विकासको एकमात्र विकल्प रहेको देखाएका छन् ।

उठौं अब सारा किसान दाज्यूभाइ

सुन्नु होला सबले कृषकको सबाई

मानो खाई मुरी उब्जाउने वेला

जुटेका छन् सबजना खेतबारी मेला ।

सबैलाई खुबाउने अन्नदाता हामी

छोडौ अब कलराल बनौ असल दानी

हामी बने देश बन्छ देश बने सबै

शान्ति तब मात्र हुन्छ समान हुन्छौ तबै ।

– कृषि क्रान्ती

शान्तीको अपरिहार्यतामाथि प्रकाश पार्दै अर्का कवि गोपीकृष्ण काफ्लेले ूशान्तीू कविता प्रस्तुत गर्नु भएको छ । नेपाली साहित्यमा आफ्नो बेग्लै पहिचान बनाइसक्नु भएका तथा क्यानाडामा नेपाली भाषा साहित्यको सम्बद्र्धन एवम् प्रवद्र्धनका लागि प्रतिबद्ध रहदै आउनु भएका नेपाली साहित्य समाज क्यानाडाका सल्लाहकार गोपीकृष्ण काफ्लेका यस संग्रहमा संकलित कविताहरुले प्रतीकात्मक रुपमा आजको वास्तविकताको पाटा उघार्ने काम गरेको देखिन्छ । शान्ती कवितामा कविको राष्ट्रप्रेम र मातृभूमि प्रेमका भावनाहरु मुखारित भएका छन् । विम्ब र प्रतीकहरुका माध्ययमबाट प्रस्तुत कवितामा जनताको प्रतीकका रुपमा शब्दलाई उपस्थित गराएर कविले आफ्नो राष्ट्रप्रतिको भावनाहरुलाई शब्दात्मक अभिव्यक्ती दिएर राष्ट्रभक्ती देखाएका छन् । मुलुकमा देखापरेका अस्थिर र असुरक्षित वातावरणको चित्रण गर्दै समाज शान्तीको खोजिमा भौतारिरहेको वास्तविकताको शब्दात्मक वयान यस कवितामा पाइन्छ ।

कहिले बन्दुक देखाएर लग्यो

कहिले भोट छकाएर लग्यो

चक्कू को भर मा लग्यो

धक्कू को भर मा लग्यो

तर्साएर लग्यो

फकएर लग्यो

र त शब्द रिसायो

अनि भन्यो

एक स्वर

एक माग

शान्ति

– शान्ति

यस कविताका एकएक पंक्तीहरुले शान्तीको शंघनाद गरेको छ भने एकएक शब्दहरुले जनचाहनाका विचारहरु मुखारित भएका छन् र समष्टीमा भन्नु पर्दा प्रस्तुत कविताले राष्ट्रको अतियथार्थवादी तस्वीर उतारेको छ । उनको अर्को कविता ू तिम्रो मन ू ले मानवीय चाहना अनुसारका विचारहरुले स्थान पाउदै जानु पर्ने तर्क राख्दै मानवीय चाहनाका परिवर्तित ईच्छाहरुले ठाउँ पाउदै जानु पर्ने विचार अभिव्यक्त गरेका छन् । कविले एउटी प्रेमीकाको निष्ठुरीपनको वयान गर्दै प्रतीकात्मक रुपमा राष्ट्रको वस्तुस्थिति अनुरुप परिवर्तनको आवश्यकताका सम्भावनाहरु माथि प्रकास पारेका छन् । दुवै कविताले समाजको वर्तमान परिस्थितिको उत्कृष्ठ वकालत सफलता पूर्वक गरेको पाइन्छ । यी दुवै कविता यस संग्रहमा संकलित उत्कृष्ठ कविताहरुको रुपमा आएका छन् ।

यस संग्रहमा प्रकृतिवादी कविताले पनि स्थान पाएका छन् । राहितशुक्रको नामबाट काव्य सिर्जना गर्ने टोरोन्टोका विष्णुप्रसाद गौतमका "बादल" अनि "पूmलहरु" दुवै कविताले प्रकृतिको बयान गरेको पाइन्छ । बादललाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्दै कवि राहिणीशुक्रले मानवीय प्रवृतिमाथि प्रकाश पार्दै मानवीय सभ्यतामा राम्रो र नराम्रो प्रवृतिहरुको प्रभावलाई प्राकृतिक प्रतीकका माध्यमबाट बादलको विध्वङ्शकारी आचरण र आकाशको शान्त स्वभावलाई मानवीय व्यवहारसँग जोडेर अभिव्यक्त गरेका छन् । उनले प्रकृतिलाई मानवीकरण गरेर कवितामा सफलताका साथ उतारेका छन् ।

एउटाकी आमालाई बिहानै चाँदीले छपक्कै पार्ने

अर्काकी आमालाई सन्ध्यामा सुनले धपक्कै पार्ने

विभेदकारी सूर्यलाई कालोमोसो दली

प्रतिशोध लिन चाहन्छ बादल।

धन्य आकाश

उज्यालो, आकांक्षा र अखण्डताको बिम्ब बनेर

चिरिरहन्छ अन्धकार, निराशा र बिग्रहको प्रतिमूर्ति बादल।

– बादल

त्यस्तै पूmलहरु कवितामा उनले पूmललाई परोपकारीका रुपमा प्रस्तुत गर्दै सृष्टीको अनुपम उपहार मानेका छन् । प्रकृतिवादी कविताका रुपमा अटवाकी लीलावती न्योपानेको ूक्यानाडाकी परी अटवा नदीू लाई पनि लिन सकिन्छ । बाल मानोदशालाई विषयवस्तु बनाएर लेखिएको टोरोन्टोका विरेन्द्र लम्सालको ूबालापनू कविताले मानिसलाई बालापनको अबोधता र निश्चलताको आभाष दिन खोजिएको छ । बालापनका ती क्षणहरुको सम्झना गर्दै अतीत नियालेको यस कविताले बालमनोविज्ञानका माध्यमबाट मानिसलाई बालकहरु जस्तै मनमस्तिष्कमा स्वच्छता ल्याउने विचार पोखेका छन् ।

सुकोमल नयनहरु अविरल

छर्दछन निर्दोष प्रकाशहरु

देखिन्छन अमृत दिब्य रुपमा

सुस्वादले पान गरुँ गरुँ

कोकिल कण्ठ खुलेर बोलदा

दिब्यै वाणी गर्जने गगन

प्रफुल्लित आल्लादित हुने मातापिताका मन

– बालापन

यसका अतिरिक्त यस संग्रहमा यसका स्रष्टाहरुले समाजमा देखेका, भोगेका र अनुभव गरेका विभिन्न परिस्थितिहरुलाई काव्यात्मक अभिव्यक्तीका माध्यमबाट प्रस्तुत गरिएको पाइन्छ । क्यालगरीका मुरारी अधिकारीले ूबुद्ध र सीता जन्माउने देशू मा अहिले देखापरेको अस्थिर र अराजक अवस्थाको चित्रण गर्दै राष्ट्रप्रेमको भाव पोखेका छन् । जहाँ रहे पनि नेपाल र नेपाली रहीरहने नागरिक अठोट उनका कवितामा पाइन्छ । उनले गजलका माध्यमबाट मानवीय जीवनका कालो र सेतो दुईपाटाहरुको चर्चा गरेका छन् । त्यस्तै टोरान्टोका नवीन थपलियाले ूनलेखिने कविताू का माध्यमबाट गरीब–दुःखीको पीडालाई कविताको वाणी दिएका छन् । देवकोटाको ईश्वर, प्रकृति र मानवबीचको त्रिकोणात्मक सम्बन्धलाई कविले आफ्नो कवितामा देखाउने प्रयास गरेका छन् । गरीबहरुको सामिप्यतामा ईश्वरको अनुभव गर्न सकिन्छ भन्दै कविले गरीब दुःखीको सेवामा पाइने आनन्दको भनुभूति यस कविताबाट दिने प्रयास गरेका छन् । अर्को कविता ूसिद्धार्थले घर छोडेको रातू कविताका माध्यमबाट कविले विदेशिएका नेपालीहरुमाथि प्रश्न चिन्ह राखीदिएका छन् । बुद्धलाई प्रतीकका रुपमा प्रस्तुत गरिएको यस कविताले ज्ञान बुद्ध र धन बुद्धका आधारमा बुद्धको पलायन र आजका युवाहरुको पलायनका कारण पहिल्याउने प्रयास गरेको देखिन्छ । राष्ट्रमा देखापरेको अन्योलको स्थिति, आसातित उज्वल भविष्य, विकासको परिकल्पना, अन्योल र अमन्जस्यपूर्ण जिन्दगी ९नव जीवन०, निराशावादी स्वर ९आउँ बाबा, समयको गीत०, राजनीतिक अस्थिरतामाथि व्यंग्य ९चित्त मेरो दुखेको जस्तो, घोडा०, आदिका काव्य अभिव्यक्तीहरुमा पनि मुखारित भएका छन् । त्यस्तै ूटोपीू कविताका माध्यमबाट सुरेश ओलीले टोपीलाई राष्ट्रियतासँग जोडेर नेताहरुको आचरण प्रकट गर्ने प्रयास गरेका छन् । उनले देश संघीयतामा जानेबारे चलेको चर्चा जस्तै हाम्रो राष्ट्रियताको प्रतीक नेपाली टोपीलाई पनि सभा उपसभाहरुमा अनिवार्य पहिरनको कानून संविधानमा राख्ने काव्यचत्मक प्रस्ताव राखेका छन् । आजका नेताहरुमा देखापरेको देखावटी रास्ट्रियतामाथिको राम्रो ब्यङ्ग सुरेश ओलीको टोपी कबितामा देख्न पाईन्छ।

यसपालिको संबिधानमा दौरा सुरुवाल र गुन्युचोली संगै

राष्ट्रिय पोसाकको रुपमा धारा नत्र उपधारामा छिरिदीये हुन्थ्यो यो टोपी

धेरै कुरामा पछी छौ राष्ट्रियतामा पहिचान बनिदेये हुन्थ्यो यो टोपी

सभा, गोस्टी र भेलामा सके सबैले नत्र प्रमुख अतिथिले पहिरिदीये हुन्थ्यो यो टोपी

मेरो खुइलिएको कुरुप तालुको पाले बनिदेये हुन्थ्यो यो टोपी११ञ

– टोपी

धार्मिक एवम् प्रेमाभिव्यक्तहरु

यस संग्रहमा एकातिर राष्ट्र, राष्ट्रियता, मातृभूमी र महिलाका विभिन्न स्वरुपमा आधारित भावहरु अभिव्यक्त भएका छन् भने अर्कोतिर आफ्ना धार्मिक आस्थालाई पनि मनमस्तिष्कमा साँची रखेको र दुःखकष्टमा आफ्नो एकमात्र सहाराका रुपमा पुकार्ने गरेका अभिव्यक्तीहरुले पनि स्थान पाएको देखिन्छ । क्यानाडामा साहित्यले भर्खर बामे सर्दै गरेको अवस्थामा नेपाली साहित्यलाई आफ्नो अभिव्यक्तीका औंलाहरु दिएर बाँमे सराउँदै आजको हिडडुल गर्दै दौडने अवस्थासम्म पु¥याउने शारदा ढुङ्गानाका काव्यहरुमा धार्मिक चेतना मुखारित भएको पाइन्छ । घरगृहस्थी र रोजीरोटीको कामबाट दुईपल उबारेर साहित्य कर्म गर्दै आउनु भएकी शारदा ढुङ्गानाको कलमले दियालो पत्रिकामा काव्यात्मक प्रतिनिधित्व गर्दै आएको थियो । आफ्ना धार्मिक विचारहरुलाई काव्यवाणी दिदै आउनु भएकी शारदाले आजको सामाजिक विसङ्गति माथि व्यंग्य कस्दै आस्थाको प्रतीक मान्नै आएको ईश्वरप्रति नै मानिसको आस्था हराएर मानव दानवीय कुरीतिको संस्कृति तिर अग्रसर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । यस संग्रहमा परेको ू पुकारू कवितामा उनका यही विचारहरु अभिव्यक्त भएका छन । धार्मिक आस्थामा केन्द्रित प्रस्तुत कवितामा मानवीय शक्ती ईश्वरमा हुने तर आज मानवतानै हराएर गएपछि कविले मन्दिरमा ईश्वर देख्दिनन् । कलियुगमा मानिस नास्तिक बन्दै गएकोप्रति निरासावादी स्वर सुसेल्दै कवितामा ईश्वरलाई प्रतीकका रुपमा राखेर सामाजिक परिवर्तनका लागि कवितात्मक अनुरोध गर्नु भएको छ । त्यस्तै मुक्ती गौतमको ूभगवानू कवितामा ईश्वर हुनुको अस्तित्व खोजिएको छ । एकातिर ईश्वर पुकारका शब्दहरु यस संग्रहमा समेटिएका छन् भने अर्कोतिर प्रेमलाई आफ्नै प्रकारले परिभाषित गरेर प्रेमका भावहरु प्रकट गरिएका कविताहरु पनि समावेश भएका छन् । यस्ता कवितामा क्यालगरीकी विद्या बज्राचार्यको "वाचा गर्न मन लाग्यो" लाई लिन सकिन्छ । कविताका माध्यमबाट कविले प्रेमप्रतिको विश्वासलाई अझ बलियो पार्ने प्रयास गरेको देखिन्छ । उनले अनायासको चाहनामा कसैसँग बाँचा गर्ने मनभित्रका ईच्छालाई अक्षरमा पोखेकी छिन् । काव्य लेखनको पहिलो थालनीका रुपमा आएको यस कविताले कविको अभिव्यक्ती शक्ती र सिर्जनामा रहेको आत्मविश्वासलाई उजगार पारीदिएको छ । यस संग्रहमा काव्यका विभिन्न भाव र विचारहरुलाई शाब्दिक कुचिका माध्यमबाट उतारिएको छ । कविहरुले एकातिर राष्ट्रप्रेमको भाव प्रकट गरेका छन् भने अर्कोतिर मानवीय तथा ईश्वरीय प्रेमका भावहरु पनि प्रकट गर्दै त्यसलाई प्रतीक बनाएर राष्ट्रियवस्तुस्थितिमा आरोपित गराएर कविता सिर्जना गरेको पाइन्छ । सुशिला थापाको गीत, ऋषी बस्ताकोटीको ूपागल प्रेमीको बकपत्रू, रमेश थापाको गीत, चिरञ्जिवि घिमिरेको "आफ्नो मायालुको गुणगान", राजिव नेपालको "मिस पोखरा" आदि काव्यात्मक अभिव्यक्तीहरुमा एकातिर प्रेमालापका कुराहरु पाइन्छ भने अर्कोतिर प्रेमिका (नारी पात्र) का आधारमा देश–काल–परिस्थिति र अवस्थामाथि सामाजिक व्यङ्ग्य गरिएको पाइन्छ । संग्रहमा परेका अधिकांश काव्यात्मक अभिव्यक्तीहरुले विदेशिनुको पीडालाई विभिन्न दृष्टीकोणबाट प्रस्तुत गरेको छ ।

निष्कर्ष

पहिलोपटक नेपाली साहित्य समाज ाक्यानाडाको पहलमा प्रकाशित यस संग्रहले क्यानाडाभरीका नेपाली साहित्यकर्मीहरुसँगै साहित्यकार बन्ने अभियानमा लागेर साहित्यको बगैचामा काव्य बिउँ रोप्दै गरेकाहरु समेत समेटिएका छनु । एक वर्षको प्रयास र सूचनाको आदान प्रदानका माध्यमबाट यस संग्रहमा सङ्कलित काव्यहरुमा स्रष्टाहरुले विशेष गरेर प्रवासिनु परेको पीडा र आप्रवासी जीवन शैलीमा देखापरेका त्रासदी जीवनको यथार्थपरक चित्रण गर्दै विदेशी भूमीमा आफ्नो आत्मपहिचान बनाउन गरिएका संघर्ष तथा अस्तित्वको खोजिमा भौतारिनु परेको अवस्थाको चित्रण गरेका छन् । यसै क्रममा राष्ट्रिय चेतना र सांस्कृतिक चेतना मुखारित गर्दै विसङ्गतिपूर्ण अवस्थाप्रति शब्द शोक प्रकट गरेका छन् । विदेशिनु हाम्रो आवश्यकता हो वा बाध्यता, चाहना थियो वा मजबुरी भन्ने प्रश्नमा धेरै काव्याभिव्यक्तीहरु अल्झिएका छन् । यहाँ पनि हामी पहिचानको खोजीमा भौतारिरहेको आभाष प्रायः काव्य अभिव्यक्ती दिएको देखिन्छ ।

निष्कर्षमा भन्नु पर्दा यस संग्रहमा विशेष गरेर राष्ट्रिय चेतना र आप्रवासी जीवनप्रतिको दृष्टीकोण प्रष्फुटित भएका छन भने त्यस सँगसँगै निर्वासन जीवनको पीडानुभूतिको प्रकटीकरणसँगै विज्ञान प्रविधिमा अडेको आजको यान्त्रिक जीवनशैलीको व्याख्या गरिएको पाइन्छ । कसै कसैले प्रणयपरकताको आभाष दिएका छन् भने आस्तिकताप्रतिको आस्था पनि उजगार पारेका छन् तर धेरैले राष्ट्रिय चिन्ताले पीरोलिएको र त्यसभित्र सामाजिक एवम् राजनैतिक दुर्दशा तथा आडम्बरी समाजको चित्रण व्यङ्यात्मक शैलीमा गरेको देखिन्छ । कसैले एक्लोपन र विरोनोपनको अभिव्यक्ती अलापेका छन् भने धेरैले आप्रवासी जीवन शैलीप्रति आफ्ना धारण पोख्दै राष्ट्रबाट विदेशिनुको पीडामा विधमान सामाजिक र राजनैतिक विसङ्गतिलाई मूल कारण मान्नेहरुको बाहुल्यता देखिन्छ । समष्ठीमा भन्नु पर्दा यस संग्रहमा प्रवृतिगत दृष्टीले विविधता पाइन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।