14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भ्रम र सत्यता बीच अल्झिएको हाम्रो भाषा शास्त्रीय समाज –१

विचार हिमप्रसाद गौतम November 11, 2014, 4:46 am

भाषा र प्रविधि सम्बद्ध मेरा केही लेखोटको सन्दर्भलाई लिएर मलाई 'तपाइले त पद जोड र तोड वादीलाई बेसरी प्रहार गर्नु भयो, आफू चाही के चाहनु हुन्छ?' भन्ने आशयको जिज्ञासा राखेको सन्दर्भ र म यथास्थिति वादी हुँ कि भन्ने भ्रम परेको छ कि भन्ने आभास भएकोले यो लेखोट पस्कँदै छु । मेरो विडम्बना के छ भने यहाँ नेपाली भाषा र कल्पयन्त्र(Computer) को प्रसङ्गलाई लिएर म जे चर्चा गर्दै छु यी दुबै विषयमा मेरो ज्ञान सिद्धान्ततः ‘कालो अक्षर भैँसी बराबर’ भन्न मिल्छ ।

*****

म नेपाली भाषाको सन्दर्भमा देखिने गरी केही परिवर्तन गर्न न सक्ने अवस्थाको निरीह व्यक्ति भए पनि नेपाली भाषामा सिर्जना वाद प्रयोग भएको हेर्न रुचाउँछु । म यथास्थितिवादी पटक्क होइन । मेरो अहिले सम्मका लेखोटमा यसको स्पष्ट सङ्केत पाइन्छ । पुरुष भए लक्ष्मि/दुर्गा र महिला भए लक्ष्मी /दूर्गा लेख्नु राम्रो हुन्छ भन्ने मेरो आग्रह यसका उदाहरण हुन् । मैले अहिले सम्म वर्ण तोड/जोडको बारेमा यस्तो हुनु पर्छ भनेर आफ्नो भनाई व्यक्त गरेको थिएन । म सित यस विषयमा आफ्नो अवधारणा नै नभएको भने चाही होइन । सारांशमा भन्दा कतै जोड्नु पर्छ, कतै तोड्नु पर्छ र कतै जे गरे पनि हुन्छ भन्ने मेरो मान्यता रहेको र त्यसो गर्ने स्थानको बारेमा विस्तृत रूपमा लेख्नु पर्ने भएकोले लेख्न बाकी थियो । फेरि म यो अन्त हीन बहसमा सहभागी हुन इच्छा पनि राख्दिन । मैले यो समूहमा मुख्यतः भाषा र कल्पयन्त्र बीचको सम्बन्ध र बेमेलको सन्दर्भमा फैलाएको गलत सूचना सच्याउन र यसले ल्याउने ‘सु’ र ‘कु’ प्रभाव बारे छलफल गरौं कि भनेर सामेल भएको हुँ । मलाई यस अघिको मेरो पछिल्लो लेखोट प्रेषण गरे पछि अब यो समूहमा सायद म फेरी लामो समय सम्म लेख्दिन होला जस्तो पनि लागेको थियो । म अनुमति भए पनि अरूको कोठे वारिमा भरिसक्य पस्नु न परे हुन्थ्यो भन्ने चाहन्छु । पद जोड/तोड र ह्रस्व/दीर्घको विवादको बारेमा केही लेख्ने इच्छा न भए पनि मेरो विचार जान्न चाहेको हो कि जस्तो लागेकोले 'कसैले सुन्ने वाला छैन, निश्चय नै समय, श्रम र श्रोतको बर् वादी हो' भन्ने ठान्दा ठान्दै पनि यो लेखोट लेख्ने जमर्को गरेको हुँ ।

*****

नेपाली भाषा शास्त्र सम्बद्ध समुदायमा मैले बुझेको विवादका मुद्दाहरू मोटा मोटी तिन वटा छन्

१. लिपिको आकृति जस्तै कार्‌कि कि कार्कि, उ कि 'अ' लाई तल्कुरे दिने आदी ।

२. ह्रस्व र दीर्घ , स/स/ष को प्रयोग र सिर विन्दु लेख्ने ठाउँ ।

३. पद तोड/जोड.... ।

*****

पहिलो बुँदाको सन्दर्भ:

यस बारे मेरो आफ्नै धारणा छ । धेरैलाई अवश्य नै मन पर्दैन । मलाई भने कल्पयन्त्र मैत्री भएको कारणले गर्दा 'अ' लाई मात्रा दिएर बाँकी स्वर वर्णहरू बनाउने विचार ठीक लाग्छ । अ लाई कान्दानी दिएर ‘आ’, अ लाई लकानो दिएर ‘ओ’ र 'अ' लाई दोलकान्नौ दिएर ‘औ’ बनाउन हुने तर ‘अ’ लाई तल्कुरे दिएर ‘उ’ वा एकलख्खे दिएर ‘ए’ लेख्न मिल्दैन भन्ने तर्क गर्नु सिद्धान्ततः बेथितिको समर्थन गर्नु हो । ई, उ, ए ऐ को सट्टा 'अ' लाई 'ि', 'ु', 'े' र 'ै' दिएर लेख्न मिल्दैन भनेर मान्नेहरूले मुख खोलेर हामी बेथिति युक्त लेखनका पक्षपाती हौं भन्न सक्नु पर्छ । पाणिनि देखि आज सम्मका भाषा विज्ञले जे जे गरेका छन् हामीले त्यसैको श्राद्ध मात्र गरेर बस्नु पर्छ भन्ने पनि छैन । तर ‘र' लाई तल्कुरे दिनै पर्छ भन्ने जरुरी छैन अथवा दिए पनि बेठीक हुन्छ भनेर न मान्दा पनि फरक पर्दैन । रेफको सन्दर्भमा खिचलो झिकि रहन आवश्यक छैन । यदि ‘मर्स्याङ्दी’ भन्ने शब्दमा ‘र्’ त ‘म’ एवम् ‘स्या’ को बीचमा बोलिन्छ तर 'या' एबम् 'दी' को बिचमा लेखिन्छ । यहाँ बोलिने स्थान र लेखिने स्थानको फरक भयो भन्ने तर्कका आधारमा ‘मर्‌स्याङ्दी’ लेख्नु पर्छ भनेको हो भने ‘उच्छ्रिङ्खल’ लेख्दा पनि ह्रस्व इकार त ‘उ’ एवम् ‘च्’ को बीचमा लेखिन्छ तर ‘र’ एवम् ‘ङ’ को बीचमा बोलिन्छ । त्यसो भए ह्रस्व इकारलाई पनि व्यञ्जन वर्णको अगाडि नलेखेर पछाडि लगेर लेख्नु पर्छ । लिपिको सन्दर्भमा पनि प्रविधिको दृष्टिकोणले हेर्नु पर्छ । यो 'अ+ु' कि 'उ' को विवाद र रेफ कि ‘र्’ को विवादमा प्रविधिको भूमिका वा समस्या छैन । तर मननीय कुरो के हो भने यस सम्बन्धी हामीले केही निर्णय गरे पनि त्यसलाई लागू गर्न सक्ने हाम्रो हैसियत बारे 'तितो सत्य बोले बापत यदा कदा वैरत्व कमाएको'मेरो पहिलो लेखोट स्मरणीय छ । समयले साथ दिए छ भने कल्पयन्त्रमा देवनागरी लिपिको रूप लागू गर्ने नेपालीको हैसियत बारे ठोस प्रमाण र उदाहरण सहित पछि लेखौंला ।

द्रष्टव्य: नेपाली भाषा शास्त्रीहरू समक्ष वर्णसम्बन्धी फरक मुद्दा लिएर पछि भाग २ मा केही लेखौंला ।

*****

दोस्रो बुँदाको सन्दर्भ:

ह्रस्व र दीर्घको बारेमा चर्चा गर्दा मलाई के लाग्छ भने विद्यमान स्थिति चरम डाँवाडोल छ । नेपाली भाषाका पण्डितहरू ह्रस्व र दीर्घ लाई 'सराद्धे वाद' बाट निर्देशित भएर व्याख्या गर्छन् भन्ने मेरो स्पष्ट मान्यता छ । ह्रस्व र दीर्घ त झ्वाट्ट कुनै शब्द हेरी सक्दा च्वाट्ट यसको अर्थ बुझ्ने साधन बनोस् । जस्तै: समिति भन्ने शब्द लिउ । म चाहन्छु: नेपालीमा यस्तो नियम होस् ...

'समिति'- सबै जना पुरुष सदस्य भएको एउटा समूह (दुबै ह्रस्व भएकोले)

'समीतीसबै जना महिला सदस्य भएको एउटा समूह (दुबै दीर्घ भएकोले)

'समिती'- प्रमुख पुरुष भएको दुबै लिङ्गका मानिसहरूको एउटा समूह पहिले ह्रस्व र अर्को दीर्घ भएकोले)

'समीति' महिला प्रमुख भएको दुबै लिङ्गका मानिसहरूको एउटा समूह पहिले दीर्घ र अर्को ह्रस्व भएकोले)

शमिति 'श' को प्रयोग यदी सदस्यको लिङ्ग बारे जानकारी छैन भने ।

त्यस्तै:

पानि- प्राकृतिक रूपमा पाइने गुणस्तररहित पानि ।

पानी- पिउन/धार्मिक कार्यमा चढाउन मिल्ने पवित्र पानी (जल भने जस्तो..)

यसरी नै, हाति, उँट, सुगुर, चितुवा, भालु, चिल, गिद्ध, फ्याउरो, लक्ष्मि, देवि, दुर्गा भन्दा पुलिङ्ग र हाती, ऊँट, सुँगुर, चीतुवा, भालू, चील, गीद्ध, फ्याऊरो, लक्ष्मी, दूर्गा, देवी भन्दा स्त्रिलिङ्ग भनेर च्वाट्ट बुझियोस्.... ।

अब तपाइ मलाई त्यसो भए राधा, परेवा, कौवा, हाँस लाइ चाही कसरी लिङ्ग पहिचान हुने गरी लेख्ने नि भनेर सोध्नु होला । यदी ठोस तर्कको आधार न पाए पछि बहाना गर्दै आग्लो हाल्ने अभिप्रायले नभएर ह्रस्व/दीर्घ नहुने शब्दमा पनि लैङ्गिक चिनारीको समाधान खोजौं न त भनेर सकारात्मक भावनाले जिज्ञासा राख्नु भएको भए म सित देवनागरी लिपिकै वर्ण प्रयोग गरेर छर्लङ्ग रूपमा लिङ्ग जनाउने अचुक उपाय छ । पहिले यी माथिका भनाइहरूलाई कम्तीमा नीतिगत रूपमा भए पनि स्विकार्नु होस् .... । ह्रस्व र दीर्घ रूप नहुने वर्णले लेखिएका शब्दको लैङ्गिक चिनारीको समाधान त चुड्की बजाएर गरि दिउँला ।

माथिका मेरा उदाहरणहरू केवल नमुना मात्रै हुन् । ठ्याक्क यही हुनु पर्छ भन्ने जिकिर होइन, अवधारणाको प्रारूप मात्रै हो । मेरो वास्तविक भनाई यदि ह्रस्व र दीर्घ फरक अर्थ बुझ्ने सटीक साधन हुन् भने यसको उच्चतम प्रयोग गरौं । विगतमा संस्कृतका पण्डितले जहाँ जुन रूप लेखे त्यतिकोमा सीमित भएर बस्न पर्छ भन्नु लाई म 'सराद्धेवाद' भन्न रुचाउँछु । अन्यथा ह्रस्व र दीर्घ लेख्नाको कारण (तर्क) अर्कै गर्नु पर्यो अथवा कारण दिने साहस छैन भने तर्क-सर्क गर्ने होइन यही लेख्नु पर्छ भनेर हवलदारी शैलीमा आफ्ना भनाइहरू राख्न सक्नु पर्यो । भाषाको विद्वान् भएको नाताले व्याख्या गर्ने भाषा शास्त्रीहरूको स्वतन्त्रता, भाषा शास्त्रीहरूले प्रतिपादन गरेको सिद्धान्त र व्याख्यामा नै बसेर उदाहरण थप्न पाउनु सबै नेपाली भाषीको नैसर्गिक अधिकार हो । त्यसैले यदि 'फुल' र फूल' हुनु पर्छ भनेर कसैले भन्छ भने म ट्याक्क उही कारण समाउँदै निम्न शब्दहरूको फरक रूप पनि मान्नु पर्छ भनेर उही सिद्धान्तको कट्टर समर्थक भएर उत्रन्छु । मैले ‘फुल’ र ‘फूल’ मान्यताका भाषा शास्त्रीहरूले बसाएको जगमा बसेर थप्न चाहेका केही इँटाहरू यस्ता छन् :

आरि = माथि तिर अलि ठूलो मुख भएको एक प्रकारको भाँडो, आरी = करौँती; कसि = जाँच गर्दा प्रयोग गरिने साधन, कसी = कस्ने काम गरी; कामि = एक जाति विशेष, कामी = काम्ने काम गरी; किन = किन्ने काम गर, कीन = के कारणले; कुटो = कुट्ने कार्य गर्यो, कूटो = खन्ने औजार; कुल = जम्मा, कूल = बंस; गाइ = गौमाता, गाई = गाउने काम गरी; चालु = धूर्त, चालू = प्रचलित; चुरो = गुह्य कुरो, चूरो = हातमा लगाइने वृताकारको गहना; जुन = जुनसुकै, जून = चन्द्रमाको किरण; जालि = फटाहा, जाली = प्वाल भएको वस्तु; झुल = झुल्ने कार्य, झूल = मच्छर रोक्ने जाली; ठेकि = काठको भाँडो, ठेकी = मुखियालाई बुझाउनु पर्ने तिरो;ठेलि = कागजको ठुलो पोको, ठेली = ठेल्ने काम गरी; तारि = निधारमा सेतो टाटो भएको, तारी = तार्ने काम गरि; तिर = त्यस तर्फ, तीर = वाणको टुप्पो; तिरो = मालपोत, तीरो = तिर्ने कार्य गर्यो; थालि = सानो थाल, थाली = थाल्ने कार्य गरि; धामि = थर विशेष, धामी = झाँक्रि; नेपालि = थर/जाति विशेष, नेपाली = नेपाल शब्दको विशेषण रूप; पालि = गाइ-वश्तु बाध्ने ठाउँ, पाली = पाल्ने काम गरी; पुरि = सन्यासी समुदायको थर विशेष, पुरी = पुर्ने कार्य गरी, पूरि = तेल/घिउमा पकाएको गहूँको रोटी; फालि = हलोको टुप्पोमा राखिने फलामे औजार, फाली = फ्याँक्ने काम गरी; बालि = खेति पाति, बाली = बाल्ने काम गरी; बोलि = बचनको शैली, बोली = बोल्ने काम गरी; मालि = टाटपाटे गाइ, माली = बगैचे; मुल = मुख्य, मूल = पानिको मुहान; लागु = कार्यान्वयन, लागू = नशा लाग्ने; लिन = पाउन, लीन = विलिन; सारि = फरियाँ, सारी = सार्ने काम गरी; सुन = सुन्ने काम गर, सून = महङ्गो धातु; आदी इत्यादी ।

निश्चय नै कतिपय भाषाशास्त्रीहरू फुल'र 'फूल' हुनु पर्छ भनेर जिकिर त गर्छन् तर मेरा यी माथिका शब्दहरू मान्न तयार हुने वाला छैनन् ।

अब सिक्काको अर्को पाटो:

यदि कोही ‘फुल’ र ‘फूल’ लेखि रहन आवश्यक छैन प्रसङ्गले बुझि हालिन्छ भन्छ भने म ‘पानि’ वा ‘पनी’ लाई प्रसङ्गले मज्जाले बुझि हालिन्छ किन ‘पानी’ वा ‘पनि’ लेख्नु पर्यो भनेर जिकिर गर्छु । यदि मैले ‘पीयाष् लाग्यो अनी मूईले पानि पीयें' भनेर लेखे भने यो संसारमा कुन यस्तो नेपाली भाषी होला जसले यो मेरो वाक्य बुझ्दैन? के मेरो यो लेखाइलाई मान्नु हुन्छ? यहाँ त्यस्तो कुन चाही शब्द छ जसले अर्थको प्रसङ्गलाई अर्कै तिर मोडि दिन्छ? त्यसो भए हामीले नेपालीमा ‘पीयाष्, अनी, मूईले, पानि, पीयें' जस्ता शब्दहरू लाई स्विकार्नु पर्यो ।

यति मात्र होइन ‘नेपालि’ भनेर लेख्दा के फरक अर्थ लाग्छ भनेर ‘नेपाली’ लेखिएको हो र? ?

के अब मेरो यो ‘नेपालि’, ‘अनी, पनी’, पानि’ आदीको प्रतिवादी प्रस्ताव स्वीकार्य छ त फुल/फूल = फुल बादी हरू हो?

यहाँ फुल/फूल = फुल वादीहरूले के तर्क गर्न सक्छन् भने कतै स्थापित मान्यता विपरीत लेखेको लाई पनि मान्न सकिन्छ र? नेपाली भाषा सामान्य रूपमा पढ्न-लेख्न सक्ने त्यस्तो को नेपाली होला जसले ‘पीयास्’, ‘मुइले’, ‘नेपालि’, ‘अनी’ वा ‘पीयें’ भनेर लेख्ला? ल भैगो मैले तपाइको यो तर्कलाई माने । यहाँ मैले बिगारेरै लेखे छु । त्यसो भए न बिगारी लेखेको तलको परिच्छेद पढेर ‘त्यो प्रसङ्ग वादले बुझ्ने सिद्धान्त’ लगाएर त्यसको मुनि सोधेका प्रश्नहरूको जबाफ दिनु होस् न त...

लक्ष्मि र दुर्गा तिन दशक अघि वैवाहिक सम्बन्धमा बाँधिएका थिए । यो दम्पतीले आफ्ना दुई सन्तान देवी र लिला सहित आफ्नो गाउँबाट भाग्नु परे पछि नजिकको सुन्दर बजारमा फुल र अर्कोले मासु बेचेर गुजारा टार्ने गरेका छन् । विगत दशकमा नेपालमा चलेको आन्तरिक युद्धले गर्दा पहिलो सन्तानलाई अहिले बेपत्ताको सूचीमा हेरेर बाच्न बाध्य यो दम्पती एक दिन शान्ति आउने कुरामा भने विश्वस्त छन् ।

प्रश्नहरू:

१. लक्ष्मी र दुर्गामा को श्रीमान् र को श्रीमती हुन्?

२. उनका दुबै सन्तान छोरी हुन् कि छोरा? एउटा छोरी र अर्को छोरा भए को छोरा र को छोरी हुन्?

३. उनिहरुले गर्ने गरेको व्यापारको एउटा वस्तु चराको अण्डा कि पुष्प गुच्छा हो?

४. यहाँ उनिहरू बस्ने गरेको बजार राम्रो (सुन्दर) छ भनेको कि सुन्दर नामको बजार भनेको हो?

५. उनीहरूले एक दिन आउने आशा गरेको 'सान्ति' त्यो बेपत्ता सन्तानको नाम हो कि युद्धले गुमाएको अमन हो?

यहाँ त मैले कुनै शब्द पनि बिगारेर लेखेको छैन क्यारे..., के छ जबाफ? प्रसङ्गले दिव्य ज्ञान दिने फुल/फूल = फुल वादले मुखमा बुजो लागेको अनुभूति गरायो कि?

विद्यमान दुई विपरीत तर्कमा अडिग ‘नेपाली भाषाशास्त्रका सिक्काका दुबै पाटाका’ हिमायतीहरूले अगि सारेको नियममा अडेर मैले प्रस्तुत गरेको उदाहरण लागू गर्ने प्रस्ताव विरुद्ध दुबै पक्षबाट अवश्य नै कुर्लेर विरोध हुन्छ । यही कुर्लाई नै हो मैले नामकरण गरेको नेपाली भाषा शास्त्रीय समाजको ‘सराद्धेवाद’ । ह्रस्व र दीर्घको अस्तित्व स्विकारी सके पछि यसलाई 'श्राद्धको बिरालो' बनाउनु हुँदैन भन्ने मेरो अडिग मान्यता छ। बिरालो पाल्ने भए श्राद्धका लागि न भएर मुसो मार्नका लागि पालौं । तर 'सेतो' कि 'कालो' रङ्गको बिरालो पाल्नु पर्छ भनेर ‘पट मूर्ख’ बहस गर्नको सट्टा मुसो मार्ने बिरालो पाल्नु पर्छ भन्ने तर्क गरेर विद्वता प्रदर्शन गरो ।

भाषा सा स्त्रीहरू भाषामा अपवादहरू हुन्छन्, यो हिसाब जस्तो सूत्र बद्ध हुँदैन भनेर दाबी गर्छन् । केही हद सम्म यो भनाई सहि पनि छ । सायद गणित शास्त्र रेल गाडी लिगमा मात्रै हिँडे जस्तो गरी चल्छ भने भाषा गोरेटो बाटोमा पैदल हिँड्ने मानिस जस्तो गरि हिँड्छ । हो मानिस सधैँ बाटोमा नै हिँड्छ भन्ने छैन । त्यस्तै भाषा पनि सबै स्थानमा ठ्याक्क सूत्रमा मात्रै बाँधिएर बस्न नसक्ला । तर मानिस त जताबाट पनि हिँड्न सक्छ भनेर गोरेटो बाटो चाहिदैं वा गोरेटो बाटोलाई फराकिलो र सजिलो बनाउनु हुँदैन भन्न मिल्दैन । “भाषा सूत्रमा सधैँ बाँधिएर बस्न न सक्ला” भनेर यहाँ मैले नै लेखेको वाक्यलाई देखाउँदै कतिपय भाषा शास्त्रीहरूले भन्नु होला- ‘के यो अभिव्यक्ति श्राद्ध होइन र?’ यो आफैमा विरोधाभास कुरा हो भनेर दाबी पनि गरिएला । तर यो पनि एक प्रकारको ‘सराद्धेवादीय’ सोच हो । म संस्कार र परम्परा जनाउने ‘श्राद्ध’ जस्तो पवित्र शब्दलाई अति नै सम्मान गर्छु । म भाषाको सन्दर्भमा संस्कार र परम्परा जीवन्त हुनु पर्छ निकृष्ट सूत्र होइन भन्ने दृढ मान्यता राख्छु । त्यति मात्रै होइन गौरवशाली र पहिचान दिने सभ्य स्वरूपको ‘श्राद्ध’ न गर्नु लाई पनि म उही प्रभृति तर भिन्न प्रकृतिको ‘सराद्धेवाद’ हो भन्न रुचाउँछु । यस प्रकृतिको ‘सराद्धेवाद’ बारे अर्को भागमा चर्चा गरौला ।

द्रष्टव्य: यो बुँदामा कल्पयन्त्र प्रविधि निरपेक्ष छ । यसमा लेखिएका मेरा भनाइहरूमा प्रविधिको कुनै सम्बन्ध छैन ।

*****

अब तेस्रो बुँदाको सन्दर्भ:

क) पद तोड वादीहरूले भन्ने गरेको कल्पयन्त्रमा पद तोड्दा हिज्जे जाँचकी सरल र बढी सक्षम हुन्छ भन्ने कुरा प्राविधिक र व्यवहारिक रूपमा पन्ध्र आना सही हो । यसमा पदजोडवादीको यन्त्रले भाषालाई होइन भाषाले यन्त्रलाई ठीक पार्नु पर्छ भन्दै गरेको पदजोडको दाबी एक आना सम्म सही हो ।

ख) कल्पयन्त्रको अर्को अति नै सम्बेदनशील र महत्त्वपूर्ण सुविधा भनेको अनुवाद पनि हो र यसमा पदजोडवादीको दाबी पन्ध्र आना सही र पद तोड वादी को दाबि एक आना सम्म ठीक छ ।

ग) म जस्तो सत्य बोल वादीको भनाई यस्तो छ:

कल्पयन्त्रे प्रविधिको दृष्टिकोणले हेर्दा बडो अ सामञ्जस्यको स्थिति देखिन्छ । जति पदलाई सानो सानो टुक्रामा विभाजन गर्न सकिन्छ, त्यति नै हिज्जे जाँचकी बढी सरल, सक्षम र पूर्ण हुन्छ भने यसको ठीक विपरीत पदलाई जति जति जोड्न सकिन्छ त्यति नै सहि अनुवाद हुने सम्भावना बढ्दै जान्छ ।

उदाहरणका लागि सूर्यबहादुर कि सूर्य बहादुर लेख्ने भन्ने विवादलाई लिउ । हेरौं जोड्दा के हुन्छ ।

यहाँ हामीले के बुझ्नु जरुरी छ भने सूर्य, बहादुर र सूर्यबहादुर सबै स्वतन्त्र अर्थ लाग्ने शब्द हुन् । त्यसैले हिज्जे जाँचकीको खोपडीमा निम्न शब्द राख्नु पर्छ ।

१. सुर्यले,सुर्यद्वारा, सूर्यको, सूर्यका, सूर्यदेखि, सूर्यकालागि, सूर्यकाअनुसार, सूर्यसित, सूर्यबाट, सूर्यलाई.......

२. बहादुरले, बहादुरद्वारा, बहादुरको, बहादुरका, बहादुरदेखि, बहादुरकालागि, बहादुरकाअनुसार, बहादुरसित, बहादुरबाट, बहादुरलाई.......

३. सूर्यबहादुरले, सूर्यबहादुरद्वारा, सूर्यबहादुरको, सूर्यबहादुरका, सूर्यबहादुरदेखि, सूर्यबहादुरकालागि, सूर्यबहादुरकाअनुसार, सूर्यबहादुरसित, सूर्यबहादुरबाट, सूर्यबहादुरलाई.......

यहाँ मैले दसवटा विभक्तिहरू र तीनवटा शब्दहरू लिएको छु । जसले गर्दा कल्पयन्त्रे खोपडीमा राख्नु पर्ने (भाषाविद्ले प्राविधिकलाई सङ्कलन गरेर उपलब्ध गराउनु पर्ने!) कूल शब्द १० गुणन ३ = ३० वटा भए ।

यदी पद तोड वादी ले भनेको मान्ने हो भने कल्पयन्त्रको खोपडीमा राख्नु पर्ने शब्द हुन्छन्: ले, द्वारा, का, को, देखि, लागि, अनुसार, सित, बाट, लाई, सूर्य, बहादुर । अर्थात् १० जोड २ = १२ वटा मात्र हुन्छ ।

अब मानि लिउ कि नेपाली भाषामा एक लाख शब्दहरू छन् रे र यस मद्धे २५ हजार शब्दहरू नाम र सर्वनाम छन् । माथिका दसवटा विभक्तिलाई मात्रै लिएर हिसाब गर्दा यस्तो नतिजा आउँछ ।

हेरौं पद जोड्दा के हुन्छ:

१० गुणन २५००० = २५०००० (दुई लाख पचास हजार) । यदि १५ वटा विभक्तिको हिसाब गर्यो भने १५ गुणन २५००० = ३७५००० (तिन लाख पच हतर हजार) । पाँच वटा विभक्ति थप्दा १२५००० वटा अतिरिक्त शब्दहरू थप्नु पर्छ ।

विभक्ति जोड्नु पर्छ एबम् सूर्यबाहादुर लेख्नु पर्छ भन्ने पदजोडवादि हो दिन सक्नु हुन्छ यो महा सागरको शब्द सूची? ल त मलाई दिनु होस् त्यो विशाल शब्द सूचि, म नि सुल्क नै बनाइ दिउँला ‘पदजोडवाद-नेपाली हिज्जे जाँचकी’ ।

अब हेरौं पद तोड वादीहरूले भने अनुसार गर्दा के हुँदो रहेछ:

१० जोड २५००० = २५०१० (पचिस् हजार दश) । यदि १५ वटा विभक्तिको हिसाब गर्यो भने १५ जोड २५००० = २५०१५ (पचिस् हजार पन्ध्र) । पाँच वटा विभक्ति थप्दा केवल पाँच वटा अतिरिक्त शब्द थप्नु पर्छ ।

विभक्ति अलग्ग र सुर्य बहादुर भनेर लेख्यो भने त चुड्की बजाएर यो जाबो पच्चीस हजार पन्ध्र शब्दको सूची बन्छ हो कि पदजोडवादीहरू हो?

*****

अब लागौं पद तोड वाद र कल्पयन्त्रे अनुवादको सन्दर्भ तिर:

हिज्जे जाँचकी मुख्यतः ‘म सुद्ध सित लेख्छु वा मैले ह्रस्व/दीर्घ र अन्य हिज्जे सुद्ध सित लेख्नु पर्छ’ भन्नेहरूका लागि मात्रै आवश्यक पर्ने कुरा हो । यो सुविधा नेपाली न जान्नेका लागि कुनै मतलबको विषय होइन । नेपाली लेख्ने हरू मद्धे पनि सबैलाई यसको मतलब पनि हुँदैन । तर यसको विपरीत कल्पयन्त्रे अनुवाद भने नेपाली भाषा पटक्क नजान्ने देखि नेपाली भाषाका पण्डितलाई पनि उतिकै आवश्यक पर्ने कुरा हो । फेरी हिज्जे जाँचकी केवल एक भाषा सित सम्बद्ध राख्ने स्थापित प्रविधि हो भने अनुवाद संसारको जुन सुकै भाषासित परोक्ष वा प्रत्यक्ष रूपमा सम्बन्ध राख्ने उदीयमान प्रविधि हो । अब त्यो दिन टाढा छैन जहाँ तपाइले आफ्नो मोबाइलमा नेपाली भाषामा बोल्नु हुन्छ तर तपाइ सित कुरा गर्दै गरेको विदेशी व्यक्तिलाई तपाइले बोलेको नेपालीलाई आकाशमै उल्था गरि उसकै भाषामा भनि दिनेछ । उसले आफ्नो भाषामा जबाफ दिएको कुरा तपाइको कानमा आइ पुग्दा नेपालीमा अनुवाद भइ सक्नेछ र तपाइले यसलाई नेपालीमा नै सुन्नु हुने छ । तपाइले भन्नु हुने छ: ओ हो रिचार्ड जि, सञ्चै हुनु हुन्छ?; रिचार्डको फोन सेटले भन्ने छ Hello Richard, how are you? रिचार्डले जबाफ दिने छ: All right. And what about you?तपाइको कानमा गुञ्जने छ: सबै ठीकठाक छ । तपाइलाई कस्तो छ नि? म परिकल्पनाको कुरा नगरेर माइक्रोसफ्टको परियोजना को कुरा गर्दै छु । यो अबको बढीमा एकाध दशक पछिको यथार्थता हो । छोटकरीमा भन्नु पर्दा हिज्जे जाँचकीको तुलनामा अनुवाद आउँदो दिनमा अति नै महत्त्वपूर्ण, अति धेरै व्यक्ति र बहु भाषी व्यक्तिको सरोकारको विषय बन्दैछ ।

अब केही पद तोड वादीका शब्द बनोटको उदाहरण लिउ ।

सामान्य रूपमा 'भोजपुर दिङ्ला निवासी हरेराम मनकामना आयो' भनेर लेख्नु पर्ने मा पद तोड्दा यस्तो लेख्नु पर्यो: 'भोज पुर दिङ् ला नि वासि हरे राम मन कामना आयो' ।

अब कल्पयन्त्रले त हरेक शब्दको पहिले उल्था गरेर वाक्य बनाउने हो क्यारे । यसले पहिले सोच्ने छ: भोज = feast, पुर let (you) bury, दिङ् = felt dirty, ला = take it, नि = (that of), वासी = stale, हरे = oh, राम = God (Ram) मन = mind, कामना = wish, आयो = came.

त्यस पछि यसको अङ्ग्रेजी उल्था सम्भवतः यस्तो हुने छ: Oh God (Ram)!, the feast is felt dirty and stale, a wish came in mind to take it and bury.

यो अनुवाद गराउने व्यक्तिले यस्तो सोच्ने छ, कल्पयन्त्र अनुवादित भाषा हो, ठ्याक्क त कहाँ मिल्छ र, सायद यसो लेखेको होला: हे भगवान मेरो मनमा यो दुर्गन्धी र बासि खानालाई जमिनमा गाड्ने विचार आयो ।

यसको सट्टा पद जोडेर लेख्दा कस्तो हुन्छ हेरौं: भोजपुर = (no meaning - proper noun) Bhojpur, दिङ्ला = (no meaning - proper noun) Dingla, निवासी = resident, हरेराम = (no meaning - proper noun) Hareram, मनकामना = (no meaning - proper noun) Manakamana, आयो = came. त्यस पछि यसको अङ्ग्रेजी उल्था सम्भवतः यस्तो हुने छ: Bhojpur Dingla resident hareram came Manakamana. निस्चय नै उल्थाको आदेश दिने ले अवश्य बुझ्ने छ: भोजपुर दिङ्ला बस्ने हरेराम भन्ने व्यक्ति मनकामना आएछ ।

एउटा अर्को उदाहरण:

लेख्नु थियो- विश्वविद्यालयका कुलपति पुरुषोतम निकै असल व्यक्ति हुन् । पद तोडेर लेख्दा लेख्नु पर्यो: विश्व विद्यालय का कुल पति पुरुष उतम निकै असल व्यक्ति हुन् । अब कल्पयन्त्रे अनुवादले कसो गर्ला त हेरौं । विश्व = world, विद्यालय = school, का = of, कुल = Total/all, पति = master/husband/owner, पुरुष = Male, उतम = Superior, निकै = very, व्यक्ति = person, असल = good, हुन् = are. निश्चय नै अनुवादित वाक्य यस्तो हुनेछ: All over the world, The school owner are male, superior and very good person. अर्थात् संसार भरीका विद्यालयका मालिकहरू पुरुष छन् जो सर्वश्रेष्ठ र निकै असल व्यक्ति हुन् ।

विचारणीय कुरा के हो भने जति जति वाक्यहरू र यसको उल्था कल्पयन्त्रे खोपडीमा राख्दै जान सकिन्छ, अनुवाद त्यति नै सुद्ध र सही हुने सम्भावना बढ्दै जान्छ । हिज्जे जाँचकीमा जस्तै यसमा पनि कल्पयन्त्रको खोपडीमा राखिएका वाक्यहरू नै अनुवादका निर्णायक तत्त्व हुन् । यदि पद तोड बादीहरूले संसार भरी नेपालीमा लेखिने सबै वाक्यहरूको सुची बनाउन सक्ने हो भने अनुवाद अवश्य ठ्याक्क हुन्छ । हिज्जे जाँचकीका लागि पद जोडवादिहरूले त करिब ८-१० लाख शब्दको सूची बनाए भने आफ्नो बाजी मार्न सक्छन्, तर पद तोड बादीहरूले त करिब ८-१० लाख वाक्यहरूको सूची बनाए पनि दाउ मार्न हम्मे पर्छ । सक्नु हुन्छ त पद तोड वादीहरू हो, यो भव सागरको सूची बनाउन?

अब चेत आयो त पद तोड वादीहरू हो, अनाहकमा पद तोडे परिणति के हुँदो रहेछ? कामधेनु गाईलाई ब्रह्माको उँट भन्दा पनि सयौं गुना कुरूप बनाएन तपाइको कल्पयन्त्र मैत्री भनिएको पद तोड उग्रवादले? भोलि कुनै विदेशीले कुनै नेपाली वाक्यको उल्था गर्दा के हालत हुने रहेछ? यो नेपाली भाषाको सेवा हो कि चरम हुर्मत लिने घृणित दुष्प्रयास?

द्रष्टव्य: यो बुँदामा कल्पयन्त्र प्रविधि पुरै सापेक्ष छ । यसमा लेखिएका मेरा भनाइहरूमा प्रविधिको पूर्ण सम्बन्ध छ ।

*****

माथिका उदाहरणहरू हेर्दा त कल्पयन्त्रको सन्दर्भमा ? एक दृष्टिकोणले पद तोड ठीक अर्को दृष्टिले पद जोड ठीक भन्ने देखिन आयो । त्यसो भए गर्ने के त?

१. दुबै पक्षले एक अर्काका सबल र दुर्बल पक्ष स हर्ष स्विकार्ने । कसैले पनि आफ्नो चाहना लाद्न समाधानको बहाना न गर्ने ।

२. हिज्जे जाँच र अनुवादको यस्तो सन्तुलित मार्ग पहिल्याउने, जसमा अधिकतम फाइदा र न्यूनतम बेफाइदा होस् ।

त्यो सन्तुलित मार्ग के हुन सक्ला?

भरिसक्य म भाषाविद्हरूको कोठे बारीमा न पसौं भन्ने सोचेको थिए । तर लेख्दा लेख्दै परिस्थितिले घिसारेर पर्खाल भित्र छिरायो । भित्रै पसे पछि साहसका साथ आफ्नै खुट्टोमा उभिएर प्रविधिले सम्भाव्य एवम् सीमित बनाएको परिप्रेक्ष्य अनुरूप आफ्नो कुरा साहसका साथ राख्ने जमर्को गर्दै छु । पाठकले ताली, छाली फाली वा गाली जे गरे पनि हुन्छ ।

१. पदजोडवादीले स्वीकार्ने:

१.१ विभक्ति अलग्ग लेख्ने । यो गर्नै पर्छ । यसले हिज्जे जाँचकीलाई अति नै सहज र पूर्ण बनाउँछ । अनुवादमा खास कुनै नकारात्मक प्रभाव पार्दैन । बरु सकारात्मक प्रभाव नै पर्ला ।

१.२. त्यो शब्द जसलाई जोड्दा वा तोड्दा पनि एकल वा हरेक टुक्राको अलग अलग अर्थ लगाउँदा पनि यदि उही अर्थ लाग्छ भने पद तोडेर लेख्ने । जस्तै आमाबाबु लाई आमा बाबु भन्दा अर्थमा फरक पर्दैन । , यसलाई तोडेर लेख्ने । तर शालिग्राम (पूजनीय पत्थर) लाई साली( = श्रीमतीकी बहिनी) ग्राम ( = गाउँ) न लेख्ने ।

२. पद तोड वादीले स्विकार्ने:

२.१ उपसर्गलाई जोडेर लेख्ने जस्तै सुकर्म, अनुसाशन ।

२.२ कुनै निर्दिष्ट वा खास वस्तु जनाउने शब्द जस्तै विश्वविद्यालय, महाविद्यालय, शब्दकोष, बिर्तामोड, ओखलढुङ्गा, कीर्तिपुर, नै लेख्ने ।

३. तोड/जोड वादी दुबैले स्विकार्ने:

व्यक्तिको नाम कसरी लेख्ने भनेर सम्बन्धित व्यक्तिले भन्ने कुनै भाषाका पण्डितले होइन । यसमा तोड/जोड बादी दुबै एक कदम पछि हट्ने र स्विकार्ने कि हामी भाषाका विद्वान् मात्रै हौं कसैको नाम यसरी नै लेख्नु पर्छ भनेर आदेश दिने हकदार होएनौं।

*****

मैले प्रस्तुत गरेका विकल्पहरूका अतिरिक्त भाषा र कल्पयन्त्र सापेक्ष अरू पनि सुन्दर र सटीक उपाय छन् । तर यसका लागि मैले यहाँ चर्चा गरेको एवम् नाम सम्म लिएको उही प्रवृति तर भिन्न प्रकृतिको ‘सराद्धेवाद’ बाट उन्मुक्त हुन नितान्त जरुरी छ । यदी भाषा शास्त्रीहरू ‘सराद्धेवादीय’ कुण्ठा बाट उन्मुक्त हुने हो भने नेपाली भाषामा हाल देखा परेका कल्पयन्त्र सम्बद्ध समस्याहरूको समाधान गरी यसलाई प्रविधि मैत्री बनाउने उपाय निकाल्ने मेरो जिम्मा...अस्तु

(लेखक वातावरण इन्जिनियर हुन्)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।