19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दृश्य बेग्लै

कविता बाबु राम ज्ञवाली November 21, 2014, 8:17 pm

'अ' मै अलंकार पाउने, प्रशस्त छन् यहाँ

अर्थ कै अनर्थ गाउने, प्रशस्त छन् यहाँ ।।

मेरै गोरुको बाह्रै टका, यहि अडान बोकी

विचार बेची अघाउने, प्रशस्त छन् यहाँ ।।

उद्देश्य के लिनु उडी छूनु चन्द्र, भन्ने तर

भुई छाड्न डराउने, प्रशस्त छन् यहाँ ।।

ताक परे तिवारी नत्र गोतामे, जाप गर्दै

झिनो आशमा रमाउने, प्रशस्त छन् यहाँ ।।

मेहनतले पुग्दैन हिजोआज, अनि बुझ

गेडीले दुनो सोझाउने, प्रशस्त छन् यहाँ ।।

सीप र साधन पसिनाको भाउ, छैन र त

सित्तैमा भेटि चढाउने, प्रशस्त छन् यहाँ ।।

नगरी काम मात्र जोडी हात, जीवन बिते

मागेर काल बिताउने, प्रशस्त छन् यहाँ ।।

बल होइन बुद्धिले मात्र, पुग्ने भए हेर

बसी दिमाग चलाउने, प्रशस्त छन् यहाँ ।।

गुल्मी, हालः सेन्डाइ, जापान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।