तिम्रा प्रगतिशील पाइलाहरू
विकास लिएर हिँड्ने बाटोमा,
सयौंँ काँडेतार आएका थिए
तिम्रा स्वतन्त्र अभिव्यक्तिहरू
निकास दिएर बोल्ने अठोटमा,
हजाराँै माखे साङ्ला लागेका थिए
तर डग्मगाएनन्, तिम्रा पाइलाहरू,
अवरोध पन्छाउँदै हिँडिरह्यौ
डराएनन् तिम्रा तिखा कलमहरू,
अविचलित अविरल बगिरह्यो
त्यसैले त
अहिले गाउँ वस्ती काकाकुल हुनुपरेको छैन
स्वतन्त्र अभिव्यक्तिहरूले अकाल मृत्यु भोग्नु परेको छैन
तिमीलाई थाहा छ ?
कतिले तिम्रा ती योगदानहरूलाई
सानातिना काम भने ?
कतिले तिम्रा आग्रहलाई
व्यवहारका घमण्डी ठाने
लक्ष्मीप्रसादलाई पनि त दुनियाँले पागल नै भने,
तर अन्तमा
अहिले करैले भएपनि असल थिए भन्दैछन् ।
बलैले भए पनि देशप्रेमी र प्रष्टवक्ता भन्दैछन्
दुनियाँ यस्तै रहेछ,
असल र नवीन कामको थालनी गर्दा,
ईष्र्या पहिल्यै बोलेर ब्रेक लगाइदिने कोशिस गर्छन्
नूतन सोच र विसङ्गति बोलिदिँदा
विचारका सामन्त र व्यवहारका चाकडीहरू,
यसैयसै टाउको उठाउने आँट गर्छन्
भौतिकवादी जुम्राहरू समर्पणको
अवमूल्यन र अपमान गर्छन्
स्वार्थका भाँडाहरू कर्महरूमा निर्लज्ज अवरोध बन्छन्
यी सबका बाबजुद् पनि
तिमीले विजय प्राप्त गरी छोड्यौ
तिम्रो मिशनमा
काम, क्रोध,लोभको पर्खाल तोड्यौ
मैले र म जस्ताले पनि
सोच्ने र अनुकरण गर्ने पनि यही थियो र हो, होइन र ?
सत्य, प्रगति र नवीन सोचका पाइलाहरूले
तिखा काडाँहरू नसहेको कहाँ छ र ?
त्याग र वलिदानका सुनौला इतिहासहरूले
कष्ट र पीडा नभोगेको कहिले छ र ?
त्यसैले हामी ढुक्क छौं
इृतिहास र विगत्को यो भोगाइ र अनुभवले
सत्य, न्याय र त्यागका मिसनमा
सानातिना अवरोधहरू वर्षाका खहरेहरू हुन्
एक छिनका श्रावण भाद्र हुन्
प्राप्तीको मोहमा खहरेहरू
विलीन हुनेछन्, बेनीमा, कोसीमा
त्यसैले आग्रह,
खहरेहरू,
छेक्न नखोज,
सत्य, त्याग र योगदानहरूलाई
तामाकोसीहरू विचलित नहोऊ
तिम्रा प्रगति, सोच र समस्याका निकासहरूबाट
आँट, जाँगर, लगनशीलता र कर्मप्राप्तीहरूबाट
अनुभव र विचारले त्यही भन्छ,
लिएर कसैले जाँदैनन्, घाटमा केही पनि
लगाएको कपडा समेत पनि खोलीदिनेछन्
असल कर्म र त्याग नै असल मित्रहरू हुनेछन्
अन्त्यमा,
छोडेर जाने र सँगै हिँड्ने त्यही मित्रहरू रहनेछन्
त्यसैले हिँडीरहू, तामाकोसीहरू अविचलित त्यही मार्गमा
बगाइरहू जीवनधारा, असल कर्म र योगदानहरूमा ।
तामाकोसी अस्पताल, मन्थली, रामेछाप ।