साहित्यका विभिन्न विधाहरूमध्ये समालोचना एक विशेष अन्यतम विधा हो। साहित्यकारले कुनै फलको आशा बिना नै समाजलाई डोहोर्यायउने काम गरिरहेको हुन्छ। समाजलाई मार्गदर्शन दिएर जीवनलाई सरल बनाइ रहेको हुन्छ। साहित्यको विधाहरूमध्ये समालोचना एउटा विशिष्ट विधा हो। समालोचना गर्नु नै महान र कठिन कार्य हो। किनकि ठिकलाई निष्पक्ष ठिक र बेठिकलाई निर्धक्क बेठिक भनिरहेको हुन्छ। उच्चकोटीका कतिपय नेपाली साहित्य सर्जकको स्तरीय कृतिको समालोचना नभएकाले ती ओझेल हुन लागेको छन्, जो एउटा चिन्ताको विषय हो। हाम्रो पूर्वाञ्चलको नेपाली साहित्यमा पनि समालोचना र अनि समालोचकको खाँचो भइरहेको देखा पर्छ। समालोचनालाई आत्मसात गर्दै "साहित्य अनुशीलन" नामको समालोचनात्मक पुस्तक लिएर नेपाली साहित्यमा देखा पर्ने एकजना उज्ज्वल समालोचक हुन् दार्जिलिङका प्रा नवीन पौड्याल। "साहित्य अनुशीलन" एउटा समालोचनात्मक लेखसङ्ग्रह हो जसमा मोठ बाह्रवटा समालोचनात्मक लेखहरू छन्। यो कृति प्रा. पौड्यालको दोस्रो समालोचनात्मक कृति हो।
प्रा पौड्यालले समालोचनाको पनि समालोचना गरी चहुँदिशा तथ्य आदिलाई केलाइ-कुलाइ गरी पाठकलाई तयार पारिदिएका छन् – पढ्न र मनन गर्नका लागि। उहाँले नेपाली मनोविश्लेषणात्मक परम्परा र प्रवृत्तिलाई अँग्रेजी साहित्यकारको तुलनाबाट लिएर समालोचनात्मक प्रवृत्ति, पद्धति र कृतिहरूलाई अँगाल्दै गीत, गजल र साहित्यिक मासिक गोष्ठीको सर्वेक्षणात्मक अध्ययन र नियात्रा कृतिको एकेकवटा गरी मिठो समालोचनात्मक रचना गरेका छन्। प्रा. पौड्यालको यस समालोचनात्मक संग्रह पुस्तकले पाठकको हृदयलाई छुने के छ भने – सरल भाषा, आकर्षित तुलनात्मक समालोचकीय लेखहरूका साथै प्रत्येक समालोचनाको अन्तिममा मूल्याङ्कन, निष्कर्ष र उपसंहार आदिबारे बहुत खुबीले गरेका छन्। उनको यस अहम् कार्यले हाम्रा साहित्यकारहरूको कृति जो प्रकाशमय भएका छैनन्, प्रकाशमा ल्याएर चिन्हारी दिने काम गर्ने छ। आशा गर्दछौं, प्रा. पौड्यालको यस कृतिलाई सफल बनाउन पाठकवर्गले पुस्तक पढ्ने छन् र मूल्याङ्कन गरिदिने छन्। भविष्यमा पनि यस्तै कृतिको आशा गर्दछौं, शुभकामना।
दुलियाजान, असम।