19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देश र निद्रा

कविता ओमप्रसाद शर्मा घायल December 8, 2014, 7:53 am
ओमप्रसाद शर्मा घायल
ओमप्रसाद शर्मा घायल

देश व्यूँझने समय घर्किसकेको छ

देशवासीहरु

निद्रामा परेको देशलाई व्यूँझाउन

म यतिखेर गाउँशहरमा

जुलुश लिएर हिँडिरहेको छु

ज्ञापनपत्र बोकेर हिँडिरहेको छु

कतै प्रवचन, छलफल र अन्तरसंवाद....

नानाभाँती सन्दर्भ पारेर म दौडिरहेको छु....

निदाईरहेको देशलाई ब्यूँझाउन ।

मेरो देश तिमी निदाएको धेरै भयो

ध्वंस, अविस्वास र गतिरोधलाई तोडेर

हामीले निर्माणको यात्रा प्रारम्भ गरिसक्नुपर्ने थियो यतिखेर ।

तर मिर्मिरेको उज्यालो विहानदेखि

तिमीलाई पर्खेर बसेको बसै छौं हामीहरु

अब त घाम डुब्न लागिसक्यो मेरो देश

तिमी ब्यूँझ ।

कुन एजेण्डाको पखाईमा भूलिरहेको छौं तिमी

कुन सपनाका लागि सुतिरहेको छौ तिमी

मलाई थाह छैन

म केवल सडकदेखि सदनसम्म

रेडियोदेखि अखवारसम्म

फेसवुकदेखि ट्वीटरसम्म

निरन्तर निरन्तर....

तिमीलाई ब्यूँझाउन चिच्याइरहेछु

मेरो आवाजलाई पहिचान गर मेरो देश

तिमी ब्यूँझ ।

ढाँटनुको कुनै सीमा हुन्छ भने

बोल्नुको कुनै मूल्य हुन्छ भने

तिमी आफूले गरेको कवुलियत पत्रमा

प्रष्टैसँग लेखिएको थियो

एक शान्त भूगोलमा

लोकतन्त्रको सुन्दर बाटो हुँदै

हामीले तय गर्ने भनेको समृद्धिको यात्रा

तिम्रो कारण ढिला हुँदैछ आज ।

करोडौं जनतालाई साक्षी राखेर

तिमी आफै निर्धारण गरेको यो समयसीमा

तिमीले किन बिर्सिरहेका छौं †

आज मैले बुझेको छु

तिमी निदाएको होइनौं सायद

तिमी निदाएको अभिनय गरिरहेका छौ ।

कहिले पश्चिमको वायु

कहिले दक्षीणको हावामा कावा खाँदै

तिमी निदाएको अभिनय गरिरहेका छौं

त्यसैले तिमीलाई ब्यूँझाउन कठिन भइरहेको छ सायद †

मेरो देश तिमीलाई थाह छ

हामीले खोजेको शान्ति र समृद्धि हो

हामीलाई चाहिएको केवल अवसर र अधिकार हो

हामी धार्मिक सहिष्णुता र जातीय सौहार्दतामा

केवल नेपालीको पहिचान बोकेर बाँच्न चाहन्छौं ।

एक शान्त भूगोलमा

लोकतन्त्रको सुन्दर बाटो हुँदै

हामीले तय गर्ने भनेको समृद्धिको यात्रा

तिम्रो कारण ढिला हुँदैछ आज

तिमीलाई पर्खेर बसेको धेरै भयो

अब त घाम डुब्न लागिसक्यो मेरो देश

तिमी ब्यूँझ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।