19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ताराहरु झरी गए

कविता गोपीकृष्ण प्रसाईं May 4, 2008, 9:21 am

आशाका ताराहरु
आकाशबाट कतैतिर झरीसके
गन्दा गन्दै, हेर्दा हेर्दै
ति चम्किला ताराहरु  
ढुकढुकीको गहिराईमा
अँट्नै सकेनन्
मनमा रातो कार्पेट बिछ्रयाएकै थिंए
तर पस्नै मानेनन्
तरल गति बोकेर पनि टाउकोमा
नदी जस्तो बग्नै जानेनन्
अनि त मैले हेरिरहने ताराको संसार
क्षणँक्षणमा टुटिरहन्छ
तर पनि बाँच्ने ईच्छा र सुन्दर संसार सजाउन
एउटा जुगुप्सा आफैमा जुटिरहन्छ
जुट्नु र टुट्नुको नियित
आखिर मृत ईच्छाहरु जागेपिछ
आखिर मस्तिष्कका प्रान्जल भावहरु भागेपिछ
काँपेको शरिर
अवरुद्ध श्वासँप्रश्वास
मनको चिडचिडा
र धड्कनको आरोहँअवरोह
आशा उमारेर हेर्दै थिंए ताराहरु
आफ्नै अगाडि काँच सरि फुटीगए
आँखाहरु आशा गर्दै थिए
फोक्सोमा रक्तबिजहरु श्वास फेर्दै थिए
मैले सोंचे यी मेरै रक्तबिजहरु हुन्
तर मझेरीमा महिषासुरको चर्तिकला  
उन्मत्त यौन क्रिडा र उसको अन्धोपन
लछारेर मेरा जिजीविषाहरु
फेरि लाचार छायाँहरु जन्मिए
तरै पनि जिन्दगी कति प्यारो
बाहिर बसन्तको हरियाली छ
आँखामा ईच्छा हुनेहरुको खुशीयाली छ
रुखहरुमा जीवन छ
चरा चुरुंगीहरुको कति मिठो बोली
खोला र नदीहरुको आफ्नै भाव तरंग
हेर न साथी आज पृथ्वी साह्रै नवीन छ
युवा मन कोही रमाईरहेका  
बृद्ध मन कोही दुःख थमाईरहेका
आखिर यो ईश्वरको सृष्टि
म ईश्वरका भक्त
म ईश्वरको पुजारी
मनको एकाग्रतामा
ईश्वरको राज बढेको थियो
सम्पूर्ण ईच्छाहरुको प्रतिबिम्ब ईश्वर भक्तिमा गढेको थियो
यसरी म उमगंको आकाश हेर्दै थिए
बादल फाट्न सकेन
ताराहरु त दिउँसो हुँदैनन् नि
वर्षा भयो भलबाढी बग्यो
बाटाहरु सम्पूर्ण हिलाम्मे भए
हेर्दै गर्दा मेरो छेउमा रुखको हाँगै भाचियो
रुखहरु पनि ढल्दै गए
चराका गुँडहरु पनि भुईंमा अलपत्र
मनका बगैचाहरु मझेरीमा छरपष्ट
यो निशाचर यात्रा दिनको
यो पापीष्ट जात्रा रातको
आज मैले खोजेका ताराहरु छैनन्
एउटा तारा रातमा आई मलाई गिज्याउँदै थियो
भष्मासुरे गिज्याई
यसरी मेरा रहरहरु त्यसै मरीगए
यस लोकबाट कही कतै डेरा सरी गए
आँखाबाट बग्ने आँसुहरु मुटुतिर डेरा सरी गए
मन्द मन्द न्यानो ताप आशाको
आगलागी हुँदा
सिंगो बस्ती भित्र डढि गए
ताराहरु झरी गए ।
लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।