भारतीय–नेपाली साहित्यकारका रुपमा परिचित होम क्षेत्री नेपाली साहित्यमा लेखन, सम्पादन, प्रकाशन र साहित्यिक संगठन गर्दै आएका स्थापित साहित्यकार हुन् । भारतमा जन्मेका, पढेका र पछि कुवेतको कम्पनीमा लामो समयदेखि कार्यरत विशिष्ट श्रेणीका कर्मचारी क्षेत्रीले डायोस्पोरामा बसेर नेपाली साहित्यलाई अनेक गुन लगाएका छन् । प्रकृतिको मात्र होइन नेपाली साहित्यको मरुभूमि कुवेतमा बसेर नेपाली साहित्यलाई ‘अभिजमान ट्रष्ट’ मार्फत मलजल गरिरहेका छन् ।
तीन वर्ष अगाडि प्रकाशित ‘मुक्ति’ लघुकथासंग्रहको ब्यापक चर्चा र सफलतापछि क्षेत्रीले दोस्रो लघुकथासंग्रह ‘सलार्इकाे काँटी’ प्रकाशनमा ल्याएका छन् । यी दुइ लघुकथासंग्रहको प्रकाशन र उनको लघुकथाको लेखनको शिप र शैलीले उनलाई नेपाली साहित्यको राम्रा लघुकथाकारको रुपमा स्थापित गराएको छ ।
लघुकथा सूत्रात्मक हुन्छन् । छिटो, छरितो र तिक्ष्ण स्वादका हुन्छन् । छोटो समयमा पढ्न सकिने, पढेपछि तिव्रगामी प्रभाव छाड्ने र कथाको अन्त्य प्रभावकारी हुने भएकोले पाठकमा यसको प्रभाव पछिसम्म रहिरहन्छ । लघुकथामा विचार एवम् दृष्टिकोणलाई सांकेतिकरुपमा प्रस्तुत गरिन्छ । समाजमा ब्याप्त विकृति एवम् विसङ्गतिप्रति सटिक प्रहार वा ब्यङ्ग्य गरेर पाठकका मन उथलपुथल वा तरङ्गीत पार्न सक्ने कथालाई सफल लघुकथा मानिन्छ ।
प्रस्तुत संग्रहका अधिकांश लघुकथाहरु लघुकथाको परिभाषा र मान्यता भित्र अटाएका छन् । समाजका विभिन्न घटनालाई कथामा ढालरे कलात्मकरुपमा प्रस्तुत गर्न क्षेत्री सफल भएका छन् । प्रस्तुत संग्रहका लघुकथाहरु समसामयीक छन् । लघुकथा लेख्ने उनको शिप र शैली सुन्दर छ । केही नविन विषयका लघुकथा यस संग्रहमा छन् ।
संग्रहका ‘सर्प’, ‘पूजापाठ’, ‘भित्र चियाउने फुर्सत’, ‘नारायण नारायण’, ‘डर’, ‘प्रार्थनाः पूजा’, ‘भूत’ र ‘सेठजीको ब्यववसाय’ जस्ता कथामा धार्मिक प्रसंग, त्यसमा रहेका विकृति, स्वार्थी मानिस र त्यसले भगवानसँग पनि फाईदा लिन खोजेको कुरालाई उठाएर बडो मजाले ब्यङ्ग्य हानेका छन् ।
आजको समय विज्ञान प्रविधिको समय हो । केही समय अगि शौखका रुपमा रहेका वस्तुहरु आजकल दैनिक आवश्यकता बनेका छन् । त्यस्ता वस्तु विना पनि चलेको जीवनमा त्यसको प्रवेशले मानिसको जीवनमा सुविधा र मनोरंजनका साथै समस्या थपिदिएको छ । संग्रहको ‘इ शिशु’ कथामा जन्मने बित्तिकै मोबाइल फोन, आइप्याड, ल्यापटप जस्ता वस्तुको माग गर्ने शिशुको भविष्यको बारे र प्रविधिले पुर्याएको नकारात्मक असरका बारेमा लेखेका छन् । ‘बैन’ कथामा भविष्यमा प्रविधिले पारिवारिक सम्बन्धमा ल्याउन सक्ने बिपत्तिका बारेमा कुरा उठाएर एउटा सम्भवावित घटनाको कल्पना गरेर कथाकारिताको शिप देखाएका छन् ।
संसारको सबै भन्दा ठूलो महामारीको रुपमा फैलिएको भ्रष्टचार, राजनैतिक दुरावस्था, नैतिक पतन जस्ता विषयमा कडा प्रहार गरेका लघुकथा यस संग्रहमा छन् । ‘पातालको राज’, ‘माया’, ‘भ्रष्टाचार’, ‘घूस’, ‘हेडलाईन’, ‘आमैको खोजी’, ‘त्रासदी’ जस्ता कथामा राजनैतिक नेताहरुको भ्रष्टपन, नैतिक पतन र बेइमानीका बारेमा बडो मार्मिक ब्यङ्ग्य र सटिक प्रहार गरेका छन् ।
समाजमा रहेका चोरहरु जसले चोरीलाई आफ्नो पेशा बनाएका छन् । त्यस्ता चोरहरुको उछित्तो काढेका छन् ‘चोरको बुद्धि’ र ‘चोर’ कथामा ।
संसारको सबै भन्दा पुरानो ब्यवसाय यौन ब्यापार, आधुनिक समाजमा यौन सम्बन्धमा आएको खुल्लापन र कामवासनामा लम्पटहरुका बारेमा रोचक कुरा पस्केका छन् । संग्रहका ‘क्याबरे’, ‘रण्डी’, ‘दश्य १, २, ३’ र ‘जस्ताको तस्तै’ जस्ता कथामा पैसा र मोजमस्तीको लागि जे पनि गर्ने मानिसहरुका कथा छन् । अवैध यौन सम्बन्ध, यौन ब्यापार र अवैध यौन सम्पर्कमा लागेर राजनीति र समाजमा सतिसावित्री भएर बसेकाहरुको मुखुण्डो उघारी दिएका छन् उक्त कथाहरुमा ।
साहित्य जस्तो कठोर साधनाको विद्यालाई सस्तोमा प्रयोग गर्नेहरु उपर ‘कवि सम्मेलन’ र ‘भूत’ कथा मार्फत दह्रो ब्यङ्य गरेका छन् । साहित्यमा मात्र लागेर वाहवाह खाने तर आर्थिक उपार्जनमा नलागेका हुस्सु साहित्यकारहरुलाई ‘मेरा दुइ साथी र म’ कथा मार्फत राम्रो सन्देश दिएका छन् ।
यीनका लघुकथामा पारिवारिक विघटन, नारीद्धारा पिडित पुरुषका कथा पनि छन् । ‘विबाह’ लघुकथा यसको उदाहरण हो ।
मानिसलाई कुनै न कुनै बन्धनले बाँधेको हुन्छ र त घरमा तानिरहेको हुन्छ । पहिले पैसा कमाउन बाहिर हिँडेको मानिस छोराछोरी सम्झेर घर आयो । पछि धन आर्जन र साहित्यिक नाम पश्चात जीवन प्रति बैराग्य चलेर घर छोडेर हिँडेको ब्यक्ति आफ्ना कृति र पुस्तक सम्झेर फर्केको कथाले लेखकहरु आफ्ना कृतिलाई पनि सन्तान जत्तिकै माया गर्दछन् भन्ने कुरा देखाएका छन् ।
समाजमा जातिय सदभाव विगारेर दंगा फैलाउनेहरुलाई ‘माया’ जस्तो कथाले राम्रो शिक्षा दिएको छ ।
‘कुकुर’ कथामा उनले इमान्दारिताको कुरा मात्र उठाएको छैन, आफन्त बियोग मान्छेले चाँडो बिर्सने तर कुकुरले बिर्सन नसकेको कुरा उठाएर प्रेम र दयामा मानिस कुकुर जतिको पनि नरहेको भन्दै ब्यङ्ग्य कसेका छन् ।
‘भूमण्डलीकरण’ कथामा विदेशबाट आफ्नो देश पुगेको ब्यक्तिलाई डलरमा घुस माग्ने कर्मचारीतन्त्रको नग्न चित्र प्रस्तुत गर्न सफल भएका छन् ।
कुनै न कुनै माध्यमबाट चर्चामा आउन चाहाने हुल्लडबाजका बारेमा ‘हेडलाईन’ लघुकथामा पढ्न पाईन्छ ।
भिखारीले अब दुइचार पैसा स्वीकार्न छाडे । उनीहरुको पनि स्तर बढेको छ । अलिक हुनेखाने ब्यक्तिले खाने पिजा जस्ता कुरा भिखारीले माग्न थालेको कुरा ‘पीजा–भिखारी’ कथामा बडो मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।
पस्तुत संग्रहका लघुकथाका विषयमा जसरी विविधता छ उसै गरी उनको प्रस्तुति र शैलीमा पनि विविधता पाईन्छ । भारत र कुवेतमा अधिकांश समय बिताएर संसारका धेरै मुलुकको भ्रमण गरेका क्षेत्रीका लघुकथामा भारतिय, अरबी र अंग्रेजी परिवेशको प्रभाव देख्न सकिन्छ । नेपाली साहित्यको भण्डारमा होम क्षेत्रीको यो लघुकथासंग्रह उत्कृष्ट कृतिको रुपमा स्थापित हुने आशा गर्न सकिन्छ ।
लन्डन, बेलायत