14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मृत्यु माथिको विजय

कृति/समीक्षा निरञ्जन पौडेल December 15, 2014, 10:11 am

मृत्युसँग सम्झौता गरेर जीवन जित्नु नै मृत्युञ्जय हो । संसारमा कमै मानिस होलान् जसले मृत्युञ्जय प्राप्त गरेका छन् । ती मध्येका महापुरुष हुन गोविन्द पहाडी, भनिन्छ, समय नआए पछि मानिस केहि गरेपनि संसारबाट टाढिन सक्दैन । पर्वत जिल्ला, शिवालय गा.वि.समा वि. सं. २०३९ सालमा जन्मिएका पहाडी २०७० जेठ २ मा मुस्ताङ्मा भएको विमान दुर्घटनामा बाँच्न सफल अर्थात पूर्नजन्म प्राप्त गर्ने व्यक्ति हुन् । निश्चल, शान्त सुसाइरहेकी कालीगण्डकीको छातीमाथि विमान दुर्घटना भएपछि उनले खोलाको पानीसँग तरङ्गिदा तरङ्गिदै आफ्नो जीवन बचाउन गरेको संघर्ष यस पुस्तकका पानाभरि छरपस्ट छन् । उनले दुर्घटनाको सम्पुर्ण विवरण तथा दुर्घटना पर्दा विमानभित्र भएका क्रियाकलाप र बाहिर निस्किए पछिका अनुभव पुस्तकका माध्यमबाट साटेका छन् ।

विश्वमा हवाई मार्गलाई निकै महँगो यात्राको माध्यम मानिन्छ । छोटो समयान्तरमा लामो दुरी यात्रा गर्नका लागि सजिलो र अन्तर्राष्ट्रिय स्तरमा सुरक्षित मानिएको हवाई यात्रा नेपालको लागि भने खतरनाक साबित हुदै आएको छ । दुर्घटनाको समयमा भएका सबै घटनालाई ध्यान दिएर पढ्ने र मनन गर्ने हो भने सबैको आङ् सिरिङ हुन्छ । हाम्रो कोही आफन्त पनि विमान दुर्घटनामा परेको समयबारे हामी कल्पना पनि गर्न सक्दैनांै । लेखक पहाडी जो विमान दुर्घटनामा परेर पनि हामीमाझ फर्किए, उनका आफन्तको चिन्ताको बारेमा हामी कल्पना पनि गर्न सक्तैनौं । उनले पुस्तकमा विमान दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि आफन्त र घर–परिवारमा मच्चीएको कोलाहलपूर्ण अवस्था अक्षरका माध्यमबाट चित्रण गरेका छन् ।

उनीसँगै विमान दुर्घटनामा परेका अन्य यात्रुले दुर्घटनाबारे कुनै टिप्पणी वा लेख प्रकाशनमा ल्याएका छैनन्, सायद कालीगण्डकीको करेन्टजस्तै भावना भएका पहाडी र उनको साहित्य प्रतिको लगावले अनुभवलाई लिपीवद्ध गर्नका लागि प्रेरित ग¥यो । यस संस्मरणको बगाईलाई शब्दले निर्देशित गरेको छ, फरक यत्ति मात्रै छ की उनी चढेको विमान पाइलटको निर्देशनमा थियो तर पुस्तकका शब्दका पाइलट भने पहाडी स्वयं छन् । एक पटक मृत्युलाई परास्त गरेर फर्किएको मानिस आफ्नो जीवनभर कहिल्यै पनि त्यो दुर्घटना भएको ठाउँमा जाने इच्छा राख्दैन । तर उनले ती सबै डर र भयलाई पन्छाउँदै दुर्घटनामा परेको ठाउँ र पुर्नजन्म पाएको स्थानको अवलोकन गरि त्यहाँ पुगेर देखेका कुरालाई पुस्तकमा निसङ्कोच उल्लेख गर्नुले पनि उनको मनोवललाई अझ परिभाषित गरेको छ ।

उनको साहस र बहादुरीताले हामीलाई दुर्घटना स्थलै नपुगी दुर्घटना हुँदाको र पछिल्लो अवस्थाका बारेमा विस्तृत चित्र मस्तिष्कमा सजिलै बनाउन सक्छौं । यस संस्मरणले दुर्घटनाको समय मात्र नभई नेपालको भौगौलिक अवस्थाको बारेमा पनि जगाउनु पर्ने नेपालको चिनारी दिएको छ । कालीगण्डकी खोलामा राखिएका ग्याविनको संख्या केही घटाई त्यहाँ विदेशी पर्यटकलाई ¥याफ्टिङका लागि राम्रो स्थान दिन सक्छ भन्ने सम्भावनालाई पुस्तकमा दर्साइएको छ । विमान दुर्घटनामा भएको लामो समयसम्म पनि विमान दुर्घटना हुँदा भत्किएको काँडेतार नमिलाइएको कुराले नेपाली अल्छीपनलाई जिस्काईरहेको आभाष हुन्छ ।

मानिसको बाहिरी व्यवहार र बोलीचालीले उसको व्यक्तित्व वा स्वभावको बारेमा थाहा दिन्छ भनेझैं कालीगण्डकीे किनारका छरपस्ट काँडेतारले नेपालको राजनैतिक अवस्था लथालिङ्ग र भताभुङ्ग छ भन्ने प्रस्टाईरहेको छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्समा रहेको बेथितिले पनि यसलाई अझै प्रमाणित गरेको छ । सन्दर्भमै लेखकले दुर्घटनामा हराएका सामानको बिमा रकम लिनका लागि जाँदा उनले पाएको दुखले नै देखाउँछ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाईन्स सरकारी भए पनि कति पैसामुखी र व्यापारमुखी छन् भन्ने कुरा लेखकले आफ्नो विमा वापत पाउने क्षतिपुर्ति पाउनका लागि चार महिना सम्म पनि गरेको दौडधुप उपलब्धि शुन्य भएको अवस्थाले प्रस्ट्याउँछ । तर समस्याको उठान गर्दै त्यसलाई छोडिदिने भन्दा पनि पहाडीले यसका समाधानका लागि केही सुझाव पनि पुस्तकमा उल्लेख गरेका छन् । हामी दैनिक रूपमा आफ्नो घर आँगन र शरीरका बाहिरी अंग सफा राख्न तल्लीन रहन्छौं तर हामी आफ्नो दिमाग सफा गर्न भने सधैं बिर्सन्छौं । अहिले हामीले भोग्दै आउनु परेको पीडा र दुःखको कारण यही फोहोर भरिएको दिमाग हो भन्दै नेपालीलाई आफ्नो दिमाख पनि सफा गरि एक शानदार जीवन बिताउन लेखकले सुझाएका छन् । उनले यो कुरालाई दुर्घटना पछि विमान चढ्दा लागेको डर पाठकसँग साटेका हुन् ।

केवल व्यापारमा मात्र जोड दिने, नाफामा मात्र आँखा लगाउने निकाय सेवाग्राहीप्रति जवाफदेही नहुने, उनीहरूको आवश्यकता र भावनासँग खेलवाड गर्नु घोर अस्वीकार्य पक्ष हो । पुस्तकमा पहाडीले नेपालको राष्ट्रिय ध्वजावाहकमा रहेको बेथितिबारे प्रस्ट पारेका छन् । आफ्नो सामानको क्षतिपूर्ती लिन पनि नेपालीले कतिसम्म दुःख खेप्नु परेको छ भन्ने कुराको स्पष्टीकरण उनको पुस्तकको अध्ययनबाट जो कसैले पनि पाउँछन् । यसले नेपालका सरकारी कार्यालयमा चलि आएको भनाई सरकारी काम कहिले जाला घामलाई पनि चरितार्थ बनाईदिएको छ । यसले नेपालको मानव अधिकारको अवस्थाबारे पनि दर्शाउँछ । पहाडीले आफ्ना ती सामानको क्षतिपुर्तिको आशालाई मार्न सक्नु नै ठूलो कुरा हो भन्नु पर्छ किनभने मानिसको जीवन अमूल्य हुन्छ । त्यसैले पनि उनले बीमाको आश छाडेर आफ्नो जीवनलाई अघि बढाउनु पर्छ भन्ने मान्यताका साथ उनले आफू अघि बढ्ने प्रतिबद्धता पुस्तकको ७५ औं पृष्ठमा व्यक्त गरेका छन् ।

बिमाको पिछा कति र कहिलेसम्म गर्नु ? मलाई अब बिमा बारेमा प्रसङ्ग उठाउनै मन लाग्न छाडेको छ । बा“च्नुभन्दा ठूलो कुरा जिन्सी सामान होइन । नियमले मिल्छ भन्ने जानकारी पाएको भएर मात्र बिमाको कुरामा चासो दिएको हो । कार्यालयले बेवास्ता गरेपछि भैहाल्यो भन्नेमा पुगेको छु ।

हामी आफै पनि विचार गर्न सक्छौं के विमान कम्पनीबाट हराएका सामानको क्षतिपूर्ति रकम विमान कम्पनिको खाताबाट निकाशा हुँदैन होला र ? नेपालको एकमात्र सरकारी हवाई उडान सेवा प्रदायक नेपाल एयरलाईन्स दिनानुदिन घाटामा जानुले यसका काम कारबाहीमा पनि सुस्तता ल्याइदिएको छ । नेपाली वायुसेवा कम्पनीको लापरवाहीलाई व्यङ्ग्य गर्दै पहाडीले सांकेतिक रूपमा पुस्तककै ८९ पृष्ठमा लेखेका छन् ः “अब त जहाजको टिकट लिने बेलामा जहाजको उमेर पनि सोधपुछ गर्नुपर्ने भयो ।” नेपाली वायुसेवा प्रदायकको लापरवाही वढ्दै गयो भने यति पक्का छ की हवाई यात्रुहरूले विमानको टिकट काट्दाको समयमा यस्तो पनि सोध्नुपर्ने दिन आउन सक्छ एक्सक्युज मी – म चढ्न लागेको विमानमा के– के सामान छन् ? मैले केही लैजानुपर्छ की जहाजमा नभएको ? अथवा जहाजको उमेरको बारेमा सोध्नुपर्ने अवस्था आउनेछ । सामान्य रूपमा विचार गर्दा यो कुरा ठट्टा जस्तो लाग्न सक्छ तर वास्तविकता निकै तीतो हुन्छ भनेझैं नेपालीहरूले पछि विमान सेवा प्रदायकको भित्री स्वार्थ थाहा पाएपछि जहाजका अन्र्तवस्तुको अवस्थाका बारे पनि टिकट काउन्टर मै प्रश्न गर्न थाल्दछन् । भनिन्छ समय सधै एकनाश हु“दैन त्यसै गरि मानिसहरू सबै गोविन्द पहाडी जस्ता हुन सक्तैनन् जो मृत्युको मुखमा पुगि पुनः हामी माझ आइसकेका छन् ।

दुर्घटनाकाबारे अनुसन्धान गर्ने समितिका सदस्यको मिलोमतोका कारण दुर्घटनाको प्रमुख कारण पनि बाहिर नआउने कुराको खुलासा पुस्तकबाट गरेका छन् । उनको मृत्युञ्जय एक संस्मरणात्मक पुस्तक मात्रै नभइ एक खोजपूर्ण कुराका संग्रह वा खुलासाले भरिएको ग्रन्थकोे रूपमा पनि चित्रण गर्न सकिन्छ । पुस्तकमा विभिन्न समयमा भएका हवाइ दुर्घटना र यसका कारण र अनुसन्धान पछि बनाइएका प्रतिवेदनका बारेमा पनि उल्लेख गरेका छन् । नेपालमा भइरहने विमान दुर्घटनाका कारणबारे अनुसन्धान गर्न समिति बनाइएपनि ती समितिका प्रतिवेदन हात्तीको दाह्रा जस्तै हुने खुलासा गरेका छन् । पुस्तकको पृष्ठ ९० मा उल्लेख गरिएको छ ः

प्रत्येक हवाइ दुर्घटना पछि सरकारले छानबिन समिति गठन गर्दछ । रामेश्वर थापाका अनुसार छानबिन समितिले तयार पार्ने प्रतिवेदनहरू सार्वजनिक दस्तावेज बन्नु पर्ने हो तर अधिकांश प्रतिवेदनहरू गुपचुप हुने गर्दारहेछन् ।

यी संस्मरणका अंशबाट हामीले नेपालमा किन समय समयमा हवाइ दुर्घटना भइरहन्छन् भन्ने कुरा सजिलै बुझ्न सक्छौं । कुनै पनि हवाइ दुर्घटना पछि त्यसको कारणबारे विस्तृत रूपमा अध्ययन एवं अनुसन्धानका लागि समिति बनाइएपनि तथ्यगत कुरा कहिल्यै पनि सार्वजनिक हु“दैनन् । यसलाई नै हामी नेपालमा बेला–बेलामा हुने हवाइ दुर्घटनाको कारकको रूपमा लिन सक्छौं । यी दुर्घटना नियन्त्रणका लागि ती प्रतिवेदन अध्ययन हुनु जरूरी छ । यदी ती सबै प्रतिवेदनहरू लुकाइन्छ भने कसरी भावी दुर्घटनालाई हामीले टार्न सक्छौं र ? पहाडीले दुर्घटनाका प्रतिवेदनका अवस्थाका बारेमा पनि आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । विमान दुर्घटनाका प्रतिवेदन राख्ने नागरिक उड्ययन मन्त्रालयमा यसको खोजी गर्नु भनेको गहिराइमा पुगेर मोती टिप्नु सरह भएको उनको अनुभव छ । यस अनुभवले नेपालको विज्ञान–प्रविधिको क्षेत्रमा रहेको पछ्यौटेपनलाई स्पष्ट बनाइदिएको छ । विमान दुर्घटना प्रतिवेदन जस्तो महत्वपूर्ण कुरा पनि राम्रो सुरक्षित रूपमा नराख्नुले नेपाल सरकारको लाचारिपन पनि दर्साउँछ ।

पुस्तक अनुसन्धान, भोगाइ र तथ्यले पूर्ण छ । मृत्युञ्जयमा दुर्घटना पर्दाका घटनाबारे लेखिए पनि यसमा साहित्यदेखि मानिसले आफ्नो जीवनकाल भरि भोग्नुपर्ने तीता–मीठा घटना र कल्पनालाई समेटिएको छ । यसका जीवन उपयोगी सन्देशले मानिसलाई उर्जा दिन्छ । मृत्युञ्जयको अध्ययन पश्चात कसैले पनि आफ्नो जीवन र आफ्नो अस्तित्वको महत्वबारे थाहा पाउँछन् । शब्दको लहरासँग खेल्दै–खेल्दै पुस्तकमा नेपालमा हुने गरेका विमान दुर्घटनाका यथार्थको तीता कारणलाई समेट्न सफल पहाडीको संस्मरण साँच्चै जीवन उपयोगी छ । आगामी दिनहरूमा पनि समाज परिवर्तनमा सहयोग पु¥याउने खालका कृति पढ्न पाइयोस् भन्दै साधुवाद् ।

कृति ः मृत्युञ्जय

विधा ः संस्मरण

लेखक ः गोविन्द पहाडी

प्रकाशक ः पर्वत साहित्य संङ्म

पृष्ठ ः १२८

सेवा शुल्क ः १७०

प्रति ः १००१ थान

प्रथम संस्करण ः २०७०

कुश्मा, पर्वत

हालः काठमाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।