लोग्नेबाट प्रताडित या लोग्ने मरेपछि घरकाले उठिवास लगाएका महिलाहरु छोराछोरीलाई काखीच्यापी न्यायखोज्न सदरमुकाम आउने गर्छन् ।
न्याय नेपालमा छिटो छरितो प्राप्त हुने गरेको छैन ।
प्रताडित बालबच्चा र आफ्नो पेटमा माड हाल्न, एउटा छानो तल बस्न र खरकै भएपनि छेकवारभित्र रहन काम खोज्न थाल्छन्— प्रत्येक शहर बजारमा सजिलोसँग पाइने काम हो भाँडा माझ्ने । जुनसुकै उमेरका जातिका भएपनि भाँडा माझ्ने महिलाहरु गैरमा पुरुषको कामवासनाको शिकार बनेको मलाई थाहा भएन । मलाई थाहा छ ६० को दशकताका हाम्रै टोलमै भाँडा माझेर जीविकोपार्जन गर्ने महिलाहरुमा एउटी मुस्लिम महिला, एउटी क्षेत्रीनी, एउटी कनुइन यस्तै यस्तै ७ जना जति रहे होलान् । अहिले त गौरमा धेरै परिवर्तन आइसकेको छ । अब त भाँडा माझ्ने पेशा अपनाउनेहरु पाउन पहिले जस्तो सजिलो छैन । यस कथाकी नायिका किस्मतियाको जन्म कहाँ भएको हो, धेरैलाई थाहा छैन ।
यो सत्य हो कि किस्मतियाले गौरमा भाँडा माझ्न थालेको करिब बीस बर्ष वित्यो होला । मलाई बताए जस्तो लाग्छ १२ बर्षको उमेरमा विवाह भएको कुरा । नजिकको गाउँबाट जन्ती आएको थियो र विवाह गच्छे अनुसार धुमधामसाथ सम्पन्न भएको थियो ।
उसको पिता साधारण स्थितिका गृहस्थ थिए ।
तर तराईभाषी समाजमा तिलक नामको राक्षसले १२ बर्षकी किस्मतियालाई ४२ बर्षे रोगीको पोल्टामा हालिदियो । विवाह, गौना, दोङाको बिधी एक बर्ष भित्रमै सम्पन्न गरियो ।
अनि उसको १३ बर्ष दमापीडित पतिको सेवामा बित्यो ।
तराईको गाउँभरमा अझै पनि विवाह बाल्यकालमै हुने गर्दछ, तर गौना भने तीन या पाँच बर्ष पछि हुने गर्दछ ।
गौनाभन्दा पहिले दुलही ससुराली जाँदिन ।
किस्मतियाको पति छपन्न बर्षको उमेरमा म¥यो, अनि त घरका मानिसले नावालख ५ बर्षे छोरा र १ बर्षकी छोरी सहित उसलाई घरबाट निकालिदिए ।
माइतिमा आमा बुवा पनि नभएको हुँदा शरण पाइन । हो साना तिनै दुइटा बच्चा काखी च्यापेर गौर आएकी थिई, बीस बर्ष अघी ।
प्रारम्भका त उसले घर घरमा गई भाँडा माझ्न गाह्रो लागेको थियो तर अब त पेशा नै बनिसक्यो, यही पेशा अपनाएर उसले छोरी र छोराको विवाह गरिसकेकी छ । छोरी घर गएको पाँच बर्ष भइसक्यो । छोरा र बुहारी पनि यही पेशामा लागेका छन् ।
दयामायाले दिइएको बस्तुप्रति उसको आकर्षण थिएन पहिलेदेखि नै । यसकारण उसले सबसँग राम्रो सम्बन्ध बनाएर श्रमलाई नै आफ्नो जीवन निर्वाह गर्ने साधन बनाइन् ।
बिहान चारबजे उठेर घरघरमा गएर ८ बजेसम्म १५ घरमा बुहार्तन गरी भ्याउँछिन् अहिले पनि । पारिश्रमीकबाट बाँच्न सिकेकी छिन् । कहिल्यै कामको अभाव भएन, किनभने एक त ऊ काममा स्वच्छता राख्छीन् साथै बुहार्तन गरेको घरबाट चम्चासम्म हराएको गुनासो छैन । म मर्निङवाक जाँदा छिमेकी मदन आलेको भाँडा माझ्दै भजन गुनगुनाएको किस्मतियाको आवाज मेरो कानमा ठोकिन्थ्यो, प्रत्येक दिन । दुःखगरी हुर्काएको छोरा भिन्नबस्दा ५८ बर्षको उमेरमा पनि उ अहिलेसम्म काममा घोटिनुपरेको छ ।
आइमाईको शत्रु आइमाई नै हुन्छन् । बुहारीको रुपमा, नन्दको रुपमा र सासुको रुपमा । यसबाट ऊ पनि बच्न सकेकी छैन । उसका आवश्यकताहरु थेरै छन् । भाँडा माझ्ने घरमा राखिदिनेगरेको खानेकुराबाट सामान्य जीवन निर्वाह भैरहेकै थियो । किस्मतियाको धेरै कमाउने सोच पनि थिएन । बुहार्तनगर्दा बचेको समय नन्दिरमा धुपबत्ती बाल्दै भजन किर्तन गर्दैमा बित्थ्यो । प्रायः आइमाईहरु फुर्सदको समयमा भेला भएर नाना भाँतिका गफ चुटने गर्छन् । यो रोग लागेको थिएन किस्मतियालाई ।
न त यताको कुरा उता लगाउने छुद्र बानी नै छ । बरु फुर्सदको समयमा नाती बोकेर गणेश मन्दिर आएको देखेको हुँ ।
नातीको लागि झगडा गर्न पनि पछाडि पर्दिन थी । बालकले पनि आफ्नी आमाभन्दा किस्मतियालाई पछ्याउने गरेको थियो । सङ्गीतको शिक्षा नपाए पनि उसलाई ताल र स्वरको राम्रो ज्ञान थियो । विधवा भएको हुँदा विवाह, पूजाको गीत त गाउँदिन, तर भजन किर्तनमा ऊ भइन भने खल्लो लाग्दथ्यो । मनको तार झङ्कृत पार्ने भजन उसको सुरिलो गलाबाट आउँने गथ्र्यो । अहिले त उ निकै बृद्ध पनि भइन होली । कहिले काहि सामान्य विरामी पनि पर्न थाली होलीन् ।
प्रत्येक बर्ष मध्ये तराईको प्रसिद्ध छठ माईको ब्रत पूजा पूर्ण निष्ठाको साथमा गर्ने गरेकी थिइन् ।
किस्मतियालाई केही मानिसले आग्रह गरे बैद्यनाथधाम जानको लागि तर उसको एउटै उत्तर रहथ्यो— “म गरीब र अभागीको खप्परमा तीर्थयात्रा लेखेकै छैन भाविले, यो पुण्य त भाग्यमानीलाई मात्र जुराउँछ ।”
गौर— ८, रौतहट, हाल, काठमाडौँ— ३४