18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इश्वरको रूप

कथा बद्री अधिकारी December 16, 2014, 12:39 am

एकहप्तादेखि मेरो पेट औधी दुःखिरहेको थियो । घरिघरि त सहनै नसक्ने गरी

दुख्दथ्यो । श्रीमती (शीला) डक्टरकोमा जान कर गरिरहेकी थिइन् । एउटै

छोरो, अमृत साइन्स क्याम्पसमा बी.एस्सी.को अन्तिम वर्षमा अध्ययन गरिरहेको

थियो । मैले बी.कम.गर्ने वित्तिकै नेपाल बैँङ्कमा मेनेजरको जागिर भेटेको

थिएँ । जागिर खान अहिलेको जस्तो प्रतिस्पर्धा थिएन । बेरोजगार पढन्तेको

जमात यस्तो हुँदैनथ्यो । काठमाण्डौँको रैथाने परिवारकी शीलालाई मैले मन

पराएको र उनले पनि । बुबाले मागी विवाह गरिदिनुभएको थियो, हामी दुईको ।

मैले आफ्नो जन्मस्थान मोरङको लक्ष्मीमार्ग छाडेको दुईदशक पुग्न लागेको

थियो । पैतृक सम्पत्ति बेचबिखन गरेर राजधानीमै सानो घर

बनाएर बस्न थालेको पनि एकदशक भइसकेको थियो । छोरा र श्रीमतीको आग्रहले

गर्दा केही दिन विचार गर्ने मन हुँदाहुँदै पनि जँचाउन डक्टरकोमा गएको

थिएँ । फिजिसियन नाम चलेको डक्टरले अल्ट्रासाउण्ड, रगत, दिसा, पिसाव,

जाँच गरेपछि पित्तमा पथरी भएकोले सर्जन सत्यजीत रायसँग अप्रेसन गराउने

सल्लाह दिएको थियो । म अर्को दिन डा. सत्यजीत रायकोमा नाम लेखाउन पुगेको

थिएँ, निकै भीड थियो । उसकोमा आउने बिरामीहरू उसलाई देवता नै ठानिरहेका

थिए । साह्रै राम्रो जाँच गर्छ, हत्तारिँदैन भनेर गुनगान गाइरहेका थिए ।

“डक्टर सा’ब नमस्कार ।” आफ्नो पालोमा कोठामा प्रवेश गर्दै मैले भनेको

थिएँ । म भन्दा निकै कान्छो देखिन्थ्यो सत्यजीत राय ।

“नमस्कार, बस्नुहोस् ।”

“.............” मैले सङ्केत गरेको टुलमा बस्दै कोठाको अवलोकन गरेँ ।

सत्यजीत राय स्पष्ट नेपाली बोलिरहेको थियो । अनुहार पनि नेपालीको जस्तै

देखिँदै थियो । कोठामा मानवशरीरका र मानव अङ्गका चित्रहरू झुन्डिरहेका

थिएँ ।

“तपाईंको नाम.........?”

“सरोज प्रधान ।” –मैले यति भन्दै अघिल्लो डक्टरले दिएको पुर्जीहरू

अगाडिको टेबलमाथि राखिदिएँ । उसले रिपोर्ट उठाएर राम्रोसँग हे¥यो ।

“रिपोर्टअनुसार तपाईंको अप्रेशन गर्नुपर्छ र डाक्टर साहवले पनि त्यही

सल्लाह दिनुभएको रहेछ । ड्रिल गर्ने प्रविधि पनि छ तर त्योभन्दा अपे्रशन

नै पूर्ण सक्सेसफुल हुन्छ, आत्तिनु पर्दैन ।” उसले मलाई सान्त्वना दिँदै

भन्यो ।

“कहिलेतिर गर्नु त डक्टर सा’ब ?”

“चाडै गरेको राम्रो, ल्याबमा गएर रगत जाँच र अल्ट्रा साउण्ड र इ.सी.जी.

गराउनुहोस्, भोलि नर्सिङहोममा भर्ना हुनुहोस्, पर्सि तपाईंको म अप्रेशन

गरिदिन्छु, चिन्ता गर्नुपर्दैन ।”

“राम्रोसँग गरिदिनुहोला !”

“भैहाल्छ, तपाईंको वी.पी. पनि ठीक छ ।” ब्लडप्रेसर नाप्ने यन्त्र

नाडीबाट फुकाउँदै उसले भन्यो – “तपाईंको घर यहीँ हो ?”

“जन्म घर त मोरङको लक्ष्मीमार्गमा थियो ।"

“लक्ष्मीमार्ग ! लक्ष्मीमार्गमा त एकजना केशरमान प्रधान हुनुहुन्थ्यो,

सायद तपाईं उहाँलाई चिन्नुहुन्छ होला ?” उसले आश्चर्य मान्दै प्रश्न ग¥यो

“उहाँ मेरो पिताजी हुनुहुन्थ्यो; डाक्टर सा’बले उहाँलाई कसरी चिन्नुभयो

?” मैले अचम्म मान्दै ऊसँग प्रश्न गरेँ ।

“मेरो जन्म पनि त्यही गाउँमा भएको थियो । त्यसो भए तपाईं उहाँको छोरो ।

सानामा म तपाईँलाई ठूलो दादा भन्दथेँ । हाम्रो घर तपाईंकै घरनजिक थियो ।

तपाईं सानामा मलाई पित्ले भन्नुहुन्थ्यो ।”

“ओह ! पित्ले भाइ तिमी ! मैले त तिमीसँग यो जुनीमा साक्षत्कार होला भनेर

कल्पनासम्म गरेको थिइनँ । तिमीले आफ्नो नाम कसरी सत्यजीत राय राख्यौ त

!?”

“ठूलो दादा, यसको लामो कथा छ । भोलि शनिबार मेरो फुर्सद हुन्छ ।

भाउजूलाई लिएर भोलि मेरोमा आउनुहोस्, सबै कुरा त्यहीँ गरौँला । अहिले

बिरामीहरू थुप्रै छन् ।”

उसले टेबलबाट एउटा भिजिटिङ्ग कार्ड उठाएर मतिर बढायो । कार्ड बोकेर म मन

नलागी–नलागी कोठाबाट बाहिर निस्किएँ, उसको र आफ्नो अतीतका पानाहरू

पल्टाउँदै ।



आज जुन मानिससँग मेरो साक्षत्कार भयो, म अचम्मित भएँ । आजभन्दा २५

वर्षअगाडि मैले लेखेको ‘पागल !’ कथाको नायकसँग मेरो जम्काभेट भएको थियो ।

मैले कल्पना नै गरेको थिइनँ कि मेरो कथाको पात्रलाई यो जीवनमा देख्न

पाउँला भनेर ! कल्पना नगरेको कुरा यथार्थ हुँदा सबकोही छक्क पर्दछन् ।

कोही खुसी हुन्छन् कोही दुःखी । पित्ले टुहुरो केटो मेरो कथाको नायक ।

मेरो ऊसँग अन्तिमपटक विराटनगरको रङ्गशालामा भेट भएको थियो । त्यहाँ

राष्ट्र सञ्चालकको सवारी थियो । म दीपक सरसँग सवारी हेर्न गएको थिएँ ।

लाखौँलाख रूपैया कलात्मक ढङ्गको सजिसजाउमा खर्च गरिएको थियो । त्यस्तो

लाखौँलाख रूपैयाँ पित्लेजस्तो टुहुराहरूको जीवन निर्माणको व्यवस्थापनमा

खर्च गरिएको भए ? त्यस बखत मेरो दिमागमा यो कुरा निकै समयसम्म उब्जेको

थियो । मैले राष्ट्र सञ्चालकहरूलाई मनमनै सरापेको थिएँ । गरीब दुःखीहरूका

छोराछोरी राष्ट्र सञ्चालक भए पो ! गरिबहरूको मर्म बुझ्दछन् । पूँजिपति र

निम्न पूँजिपति वर्गका मानिसहरूले गरिबीलाई भोगेका हुँदैनन् कसरी गरीबको

मर्म बुझ्न सक्दछन् र ? गरीबको मनमा राष्ट्र र राष्ट्रियता हुन्छ,

नेताको मुखबाट ओकलीने भाषणमा मात्र राष्ट्रवाद हुन्छ । गरीबहरू नेपालको

मानचित्र साँघुरिँदा आँखाबाट आँसु झार्दछन् । राष्ट्र सञ्चालक र

पार्टीका नेताहरू सीमा अवलोकन गर्ने निहुँमा त्यहाँ नपुगी भत्ता पचाउन

बन्द कोठामा बसेर पूर्ण अवलोकनको प्रतिवेदन तयार पार्दछन् र पारिरहेका

छन् । अब भन्नुहोस् त राष्ट्रियता कहाँ हुन्छ ? अध्ययन आर्र्जन गर्ने

मानिसभन्दा व्यवहारमा भोग्ने मानिस स्पस्ट वक्ता हुन्छ । ताली रूचाउने

नेता जाली हुँदारहेछन् । ‘मुखमा रामराम बगलीमा छुरा ।’ मानवीय व्यवहार

नबुझ्ने मानिस, मानव लुट, बलात्कार, डकैति र मान्छे मारेको प्रमाणित भएर

भागेको मानिस सांसद । राष्ट्रिय पोशाक लगाउन लाज मान्नेहरू राष्ट्रियताको

धक्कु लगाउछन् । अपराधीलाई संमरक्षण प्रदान गर्ने सरकार जनताको हक हितको

कुरा गर्छ । देख्नेहरू आँखा चिम्लन्छन् । बुझ्नेहरू अबुझ हौँ भन्छन् ।

अबुझहरू बुझ्ने हौँ भन्छन् । आँखा हुँदाहुँदै अन्धा भएकाहरू हामीले भन्दा

अरूले देख्न सक्दैन भन्छन् । खोइ ! के सत्य, के असत्य !? जनताहरू नेताको

रवैया देख्दा र भोग्दा झुसिलढकार गरिरहेछन् । खोइ ! कसरी नअघाएका भन्ने !

लेख्न नजान्नेहरूले लेखिरहेछन् । खोइ, यहाँ त सबै उल्टै–उल्टो । उल्टो

हिँडाइले गन्तव्यमा पुगिन्छ त !

ए म त पित्लेको कुरा गर्दै थिएँ । पित्लेकी दिदी नेपीको मृत्युलाई

आत्माहत्याको सङ्ज्ञा मिलेको भए पनि मेरो अन्तर्मनले त्यसलाई स्विकार्न

सकेको थिएन । विक्रम फटाहामाथि मेरो मस्तिष्कले आरोप लगाइरहेको थियो ।

मैले शंका गरेर केही हुनेवाला थिएन । अरूको नजरमा म फुच्चे थिएँ ।

पित्लेकी आमा धनुष्टङ्कार भएर मरेकी थिइन । बाबु टाइफाइडको सिकार भएको

थियो । लगातारको बज्रपात पित्लेमाथि नै परेको थियो । वास्तवमा पित्ले

नितान्त एक्लो र टुहुरो भएको थियो । प्रायः मेरी आमाले उसलाई खाना खाने

बेलामा नजिकै भए खान बोलाउनुहुन्थ्यो । प्रायः ऊ घरमा बस्दैनथ्यो ।

बरालिएर हिँड्न थालेको थियो । मैले उच्च शिक्षाका लागि राजधानी जानु

परेको थियो । मलाई पित्लेको सम्झना भइरहन्थ्यो । तर म टाढा थिएँ ।

शैक्षिक हड्तालको बेला घर आउँदा मैले पित्लेलाई अन्तिमपटक विराटनगरको

रङ्गशालामा भेटेको थिएँ । “दादा म जान्न ! जान्न ! नाई, गाँउमा मलाई

सबैले पागल भनेर कुट्छन् । के तपाईं पनि मलाई कुट्ने हो ?” मैले बोलाउँदा

यति भन्दै पित्ले भींड छिचोल्दै मुख्य प्रवेशद्वारतिर दगुरेको थियो । म

पनि उसकोपछि उसलाई भेट्न दगुरेथेँ । त्यो राष्ट्र सञ्चालकको सवारीको

भीडमा हामी दुईको दौडले कसैलाई आकर्षित गर्न सकेको थिएन । सबै राष्ट्र

सञ्चालकलाई हेर्नका लागि तँ छाड र म छाड गरिरहेका थिए । पित्ले आफ्नो

सानो शरीरलाई सहजै भीडमा छिराएर मभन्दा टाढिन सफल भएको थियो । दशएघार

वर्षको ख्याउटे शरीर भएको पित्लेलाई मैले भेट्न सकिनँ । मैले जित्न

लाग्दा–लाग्दै हारेको थिएँ । उसले हार्न लाग्दा–लाग्दै मलाई जितेको थियो

। मेरो उसलाई भेट्ने चाहना त पूरा भएको थियो । तर प्राप्त गर्ने अभिलाषा

अधुरै रहेको थियो । पित्लेले भनेको अन्तिम वाक्यले निकै समयसम्म

पिरोलिरहेको थियो । खिन्न मन लिएर अध्ययनका लागि म पुनः काठमाडौँ फर्केको

थिएँ । पलङ्गमा पल्टेर म त अतीतमा पो डुबेको रहेछु । मेरो नजिक श्रीमती

मस्त निदाइरहेकी थिइन् । मैले घडीमा नजर दौडाएँ, बिहानको चार बज्न

लागिसकेछ । मेरो मन पित्लेसँग भेट गर्न हत्तारिदै थियो । पित्लेजस्तो

टुहुरो केटो कसरी सत्यजीत राय भयो होला ! जिज्ञाशाले भोक, तिर्खा, पीडा

कम भए पनि छट्पटी बढ्ददो रहेछ । श्रीमतीले पनि पित्लेकोमा जान उत्सुकता

देखाएकी थिइन्, तर उनको उत्सुकता मेरोजस्तो छट्पटिपूर्ण थिएन ।

सत्यजीत राय, उर्फ पित्ले; बैठक कोठामा फूलको ताजा माला लगाएर राखिएको

फोटोतिर देखाएर भन्न थाल्यो—“ठूलो दादा उहाँ तिनै धर्मात्मा हुन जसले

मजस्तो सबैले तिरस्कार गरेको मान्छेलाई यो अवस्थामा ल्याउनुभयो । म जुन

अवस्थामा तपाईंहरूको सामू छु यो अवस्थामा मलाई ल्याइपु¥याउन उहाँले ठूलै

कसरत गर्नु भएको थियो । अहिले उहाँ यस धरतीमा हुनुहुन्न । उहाँको नाम

धर्मजीत राय हो । उहाँले नामलाई जित्ने खालको धर्म गर्नुभएको म ठान्दछु ।

सायद तपाईं पनि मेरो जीवनकथा सुनेपछि त्यसै भन्नुहुन्छ होला । तपाईं र

मेरो अन्तिम भेट विराटनगरको रंगशालामा भएको थियो । तपाईं मलाई

बोलाइरहनुभएको थियो तर म त्यसबखत तपाईंबाट पनि अरूहरूको व्यवहार दोहोरिने

हो कि भनेर भागेको थिएँ । मैले कैयौँ दिनदेखि पेटभरि खाएको थिइनँ । भोको

पेट र कुदाइको तासेरले गर्दा मेरो शरीरले सही सन्तुलन कायम गर्न सकिरहेको

थिएन । भाग्दा–भाग्दै म सडकमा कुदिरहेको कारसँग ठोकिन पुगेछु । म कर्म

दिने बुबाको कारमा ठोकिएछु । उहाँले मेरो राम्रोसँग उपचार गराउनुभयो ।

उहाँ दिल्लीबाट विराटनगरमा भइरहेको मनोरोग विशेषज्ञहरूको सेमिनारमा मुख्य

अतिथीको रूपमा भाग लिन आउनुभएको रहेछ । विराटनगरको तीन दिनको बसाइपछि

उहाँले आफूसँगै मलाई दिल्ली लानुभयो । पढ्नका लागि राम्रो स्कुलमा भर्ना

गराइदिनुभयो । उहाँले विवाह गर्नु भएको थिएन । विवाह नगरेको कारण मसँग

कहिल्यै खोल्नुभएन । उहाँकी बहिनीको कथन अनुसार उहाँसँग पढ्ने एउटी

डाक्टरसँग उहाँको प्रेम थियो रे पछि दिल्लीबाट लण्डन जाँदा प्लेन

दुर्घटनामा उनको मृत्यु भएको थियो रे । त्यसपछि उहाँले विवाहमा चासो

राख्नु भएन रे । साँच्चै दादा उहाँको व्यवहार र काम गराइलाई हेर्दा

उहाँमा ईश्वरको रूप थियो भन्दा पाप लाग्दैन । जातजाति, देशिविदेशी,

धनीगरीब, आफ्नोअर्काको भनेर उहाँले विभेद गरेको मलाई थाहा भएन ।” यति

भन्दा–भन्दै पित्ले सुक्सुकाउन थाल्यो, आँखाको आँसुलाई गोजीबाट रुमाल

निकालेर पुछ्दै । सायद उसलाई ईश्वरको रूपमा भएको महामानवको सम्झनाले

पिरोलिरहेको थियो । साँच्चै भन्नु पर्दा मेरो आँखामा पनि आँसु टिलपिल

गरिरहेको थियो । मेरो नजिक बसेकी मेरी श्रीमती साडीको सप्कोले आँसु

पुछिरहेकी थिइन् । सोही समयमा एउटा ठिटोले हातमा नास्ताको ट्रे लिएर

कोठामा प्रवेश ग¥यो । हामी सबै जना नास्ता खान थाल्यौँ ।

“नानी तपाईले विबाहगर्नुभएको छैन ?” नास्ताको गाँस मुखतिर बढाउँदै मेरी

श्रीमतीले उसलाई सोधिन् ।

“अहिलेसम्म गरेको छैन भाउजू ।”

“केटी हेर्नु भएको छ कि ?”

“उहाँले आफ्नै बहिनीकी छोरीसँग कुरा गरिदिनुभएको छ । उनले यही साल

एम.बी.बी.एस. सक्दै छिन् । अनि विवाह हुने निश्चित भएको छ ।”

“भाइ विवाहमा त बोलाउछौ होला नि ?” मैले हाँस्दै सोधेको थिएँ ।

“अब दादा र भाउजू नै त हो नि मेरो अभिभावक, नबोलाउने त

कुरै भएन ।”

“तिम्रो अभिभावक हुने सौभाग्य पाउँदा हामीलाई गर्व हुनेछ ।” गर्वले छाती

फुलाउँदै मैले भनेँ । श्रीमती पनि उसले आफ्नो पन देखाएकोमा हर्षित

भइरहेको थिइनँ । उसको मुहारमा पनि खुसीका रेखाहरू सलबलाइरहेझै लाग्दथ्यो

। ईश्वरको रूप भएको मानिसको फोटोसम्म हेर्ने अवसर प्राप्त भएकोले म

भित्रभित्रै आनन्दित भइरहेको थिएँ । हाम्रो मुलुकको शासन भार

सम्हाल्नेहरूको मन भावना सोच र कर्म गर्ने बानी पनि पित्लेको कर्म दिने

बाबुको जस्तो भएको भए ! आशा राख्दै प्रतीक्षा गरौँ, सायद.......।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।