‘नेपाल’ शब्दका साथ विशाल शान्त सुन्दर,
कुनै बेला म आफैंले लेखेंथे छ मनोहर ।
कसरी कसरी आयो यस्तो भाव म जान्दिनँ
त्यो विशेषणको शब्द किन लेखें म भन्दिनँ ।
के भनौं म यहाँ ऐले यसमा के छ साधना
मेरै नेपालका लागि आयो त्यो किन भावना ?
यो भूमण्डलको नक्सा पल्टाएर नियालिए
एक बिन्दु भनेजस्तो लाग्छ यो परिमाणमा ।
त्यहाँ देखिन्छ यो देश कण झैं एक बिन्दुमा
हराएसरी झंै लाग्छ थोपो सागर सिन्धुमा ।
कसैले यसको नाम सुनेका हुन सक्तछन्
नसुन्ने यसको नाम धेरै नै हुन सक्तछन् ।
शान्तिका राजको धानी, हरियो धर्तीको कण
सानो छ तर प्यारो छ खिचिन्छ यसमै मन ।
बढेर गर्न सर्वाङ्ग चाहँदैन प्रदर्शन
यो देखाउनमा भन्दा लुक्नमा रुचि राख्तछ ।
घम्साघम्सी र घच्चाले ढाकेको दुनियाँसँग
काढेर पसिना हिस्सा खोज्दैन यो कसैसँग ।
एकान्त शान्त यो देश शान्तिमा अलमस्त छ
समाधिस्थ हुने योगी यसैमा आई बस्तछ ।
ध्यानमा ज्ञानगङ्गामा अथवा हिमशैलमा
देश यो हुन्छ आह्लाद आफ्नो आफ्नै तरङ्गमा ।
नयाँ सिर्जनमा आस्था राखे तापनि देश यो
हाम्रो प्राचीन आस्थाको हाम्रै देश पुजारी हो ।
हिजैको सपना देख्छ ताजा स्वर्ण प्रभातको
आजका युगमा खेली लुकामारी गरे पनि ।
भन्लान् यो देश सानो छ, सानो छ तर स्वर्ग छ
हेर्दा अल्प छ यो देश हाम्रै आँखा समान छ ।
यहाँ जन्मनु हो पुण्य, कुरा हो अझ गर्वको
मुटुकै केन्द्र हो मानौं हाम्रा भारतवर्षको ।
महत्ता यसको बुझ्ने छैनन् भन्न म सक्तिनँ
तथापि यसको मर्म बुझ्लान् भन्न म सक्तिनँ ।
पर्वतस्तनका भित्र यसको गहिराइ छ,
पार्वतीको क्रीडा क्षेत्र थियो भन्ने भनाइ छ ।
ममा शङ्कोच यो छैन आफ्नो सत्य म जान्दछु ।
आफ्नो आकारमा सानो मेरो देश छ मान्दछु ।
साना हुन्छन् हीरा मोती, सानो हुन्छ अझै मणि
सानैमा प्रिय मानिन्छ मिष्टभाषी कुनै शिशु ।
आँखाको नानी झन् हुन्छ सानो सानै भए पनि
त्यो अमूल्य अझै हुन्छ अझै सानो भए पनि ।
सानोको गणना भित्र मान्छेको मुटु पर्दछ
त्यसैको केन्द्रको झल्का सानोमा अझ पर्दछ ।
सानोको के कुरा गर्ने सानो आफैं अनन्त हो
सानो ठान्नु ठूलो ठान्नु सोचकै परिणाम हो ।
त्यसैले म यसैभित्र अनन्ताकार देख्तछु
शान्त सुन्दरको देश ठानेर अझ लेख्तछु ।
पृथ्वीका शिरको बिन्दु परमानन्दको छटा
यो हो आेंकारको बिन्दु अथवा शिवको जटा ।
सानो भन्ने कुरा के हो अनि के हो ठुलो कुरा ?
मात्रै यो भ्रम हो हाम्रो सानो ठूलो हुने कुरा ।
यहाँ ताराहरुलाई ठूला हुन्छन् भनूँ भने
लाग्छन् जूनकीरी जस्ता व्योमका गहिराइमा ।
सूक्ष्मदर्शी लगाएर हेरेमा बालुवा कण
देखिन्छ त्यसको रुप अपूर्व र अजङ्गम ।
नयाँ विज्ञानले आज पारेको छ झिलीमिली
त्यसका जादूमा मान्छे स्वप्न देख्तछ झल्छली ।
सानो भन्नु ठूलो भन्नु दृष्टिको भेद मात्र हो ।
एक भौतिक हो त्यस्तै अर्काे अध्यात्म ज्ञान हो ।
कसैले चीनका साथ यसको तुलना गरी
देश यो सानु हो भन्दा हाँसो उठ्छ मलाई ता ।
त्यस्ता क्षुद्र कुरा भित्र महत्ता कति हुन्छ र ?
मान्छे भन्दा ठूलो हात्ती हुन्छ भन्नु बराबर ।
कुनै खेत ठूलो हुन्छ माटाका परिमाणले
यस्तो भन्नु वृथा हुन्छ यस्तो मान्न म सक्तिनँ ।
ठूलो ता गुणले हुन्छ अथवा परिणामले
उब्जनी आदि पो हुन्छन् माटो जाँच्ने नयाँ कसी ।
बाहिरी रुप वा छाँट हेरी अन्तर तौलने–
मान्छेको धर्म के भन्ने त्यस्ता हुन् डेढ अक्कली ।
सङ्ग्रहालयका सारा किरो झंै भई पुस्तक
पढेथ्यो एक खैरेले एकएक गरी कन
निलेका त्यसले लाखौं कृति भन्दा कता कता
माथि धेरै गुणा लाग्छ हाम्रो आफ्नै शकुन्तला ।
अङ्ग्रेजीवाजले भन्छन् चस्मा ढल्काई व्यङ्ग्यले
नेपाली पढी के हुन्छ ? अङ्ग्रेजी पढ्नुपर्दछ ।
दया लाग्छ सुनी यस्ता सोझा पाखण्डीका कुरा
अवकास यहाँ छैन रुनाको तर त्यो सुनी ।
अङ्ग्रेजी वाणीले विश्व ढाकेको छ म जान्दछु
तथापि मातृभाषामै किन हो जादू पाउँछु ।
आफ्नै भाषा ठूलो हुन्छ आफ्नै हुन्छ पवित्रता
अर्काको मातृभाषामा कहाँ पाइनु स्वच्छता ?
भत्भती ग्रीष्मको गर्मी सहेर घर फर्कंने
यात्रीले रुखको छाया पाएझैं हुन्छ शीतल ।
को हो को हो भनेजस्तो क्वैलीले स्वर गाउँछ
नेपाली मातृभाषामा नयाँ सौन्दर्य आउँछ ।
पश्चिमी पनमा मेरा आस्था छैन कतै पनि
मेरै नेपालमा रम्छु सानो सानै भए पनि ।
नाट्य संसारका राजा गेटे मिल्टन आदिका
रचनाहरुमा मैले पाएको छु विभिन्नता ।
तिनका रचनाभित्र छैन आत्मीयता कतै
हाम्रो पर्वतको जस्तो स्वच्छ भाव निनादिनी ।
उनका रचना भन्दा च्याङ्बाको गीत उच्च छ
यहाँ छन् भावना लाखौं त्यहाँको भाव तुच्छ छ ।
आफ्ना भावहरु तोडी अर्काको भई नक्कली
त्यस्तो बन्न म चाहन्न त्यस्ता हुन् डेढ अक्कली ।
‘बाल्ज’ सुन्न म चाहन्न चाहन्न धुन पश्चिमी
लोकगीतहरु मेरै आनन्दी मनमोहनी ।
आन्द्रा झर्लान् भनेजस्तो गरेर गीत गाउने
झ्याम्लेका गीत चाहन्न आत्मालाई रुवाउने ।
तोडफोड गरी काव्य अथवा गरी नक्कल,
लेघ्रो तान्नेहरु देख्ता मानौं रुन्छ नभस्थल ।
अङ्ग्रेजी धुनले मेरो कान पोल्दछ भत्भती
अङ्ग्रेजी धूनमै मस्त बन्छन् देख्छु कठैबरी !
झूटो रवाफले गर्दा सक्कलीपन ह्रास भो
घरको घाटको जस्तो भई हाम्रो विनास भो ।
मिठा लवजले हाम्रो भाषाको आँत शून्य भो,
अर्काेकै भाव बोक्नाले सक्कलीपन नास भो ।
हाम्रा लवजमा हाम्रै झर्नाका कण झर्दछन्
आलाकाँचाहरु व्यर्थै अर्काको बोली भर्दछन् ।
रवाफीपन खोज्दैमा आफ्नो भाव हराउँछ
अरुको बोली बोल्नाले आफ्नो भाषा बिलाउँछ ।
बङ्गाली हिन्दी वा अर्कै भाषाका शब्द भर्दछन्
आफ्नो भाषा बिगारेर अर्काकै पछि पर्दछन् ।
रवाफीपनमा मस्त हुनाले आत्म गुम्दछ,
छोटा बोक्रेहरुलाई त्यसैमा विश्व घुम्दछ ।
हााम्रै प्रकृतिको हावा हाम्रै संस्कारको बल
भिजेको वाणी हो हाम्रो हाम्रै वाणी छ निर्मल ।
भाषा हो सभ्यता हाम्रो पछौटे नै भए पनि
त्यसैमा सभ्यता हुन्छ फैलेकै नभए पनि ।
यहाँ इन्द्रेणीका जस्ता सप्तरङ्गी तरङ्ग छन्
पहाडी उच्च झर्ना झैं स्वच्छ छन् परिपूर्ण छन् ।
नेपाली पनि के पढ्नु भनेर ठुस्किनेसँग
के बुझेर त्यसो भन्छन् ? सोध्ने हो अब कोसँग ?
गर्विलो बन्न चाहन्छन् आफूले अफूमै छली
तोडेर मातृभाषाका शब्द वाक्य पदावली ।
कोही बोक्रेहरु आफ्नो आत्माको भाव भुल्दछन्
अर्काको आड पाएर अर्काकै बोली बोल्दछन् ।
सानो शान्त तथा रम्य सुगन्धी स्वस्थ सुन्दर
मेरै नेपालमा हुन्छ प्रीतिको भाव निर्मल ।
उन्नति छैन यो मान्छु हाम्रा गाउँ र बस्तीको
तथापि यसमा केही छैन भन्ने म मान्दिनँ ।
गाउँमा ठाउँमा खोज्दा जे खोज्यो त्यहीं मिल्दछ
के छैन यसमा खोज्दा खोज्न पो सक्नुपर्दछ ।
कोदालो खन्नमा मस्त होलान् वाग्नर गाउँमा
अङ्ग्रेजी नाट्यका राजा हलो जोत्तै कतै हुनन् ।
सुकरात गुफाभित्र अथवा गाउँबस्तीमा
भेटिन्छन् खेत पाखामा आफ्नै मोज र मस्तीमा ।
खाजा खाई रमाएका होलान् होमर गाउमा
उता टर्नरले हाम्रै भेडी गोठ चराउनन् ।
असारे गीतमा मस्त कालीदास यतै हुनन्
धाराप्रवाहमा गाना गाउँदै मस्तीमा हुनन् ।
लेखको नागीमा हुन् कि बेंसीका फाँट फाँटमा
भेडि गोठ चराएका कालीदास यतै हुनन् ।
तिप्लिङ्गीहरुका साथ जिस्कन्छन् वाल्मीकि बूढा ।
लेखको बारीमा आलु खेती गर्छिन् शकुन्तला ।
टिसियन् अथवा अर्का नामी टर्नर पश्चिमी
भेडीगोठ चराएर बस्ता हुन् नागीनागीमा ।
सान्ड्रोला भारी बोकेर मानौं हिंड्छन् यतैतिर
गाउलान् लोकका भाका यहीं केलरले गीत ।
यहाँ सावित्री छन् धेरै विश्वले यिनका कथा
बुझेकै छैन के बुझ्थ्यो विश्वले यिनको कथा ?
यहाँ साहित्यका खानी पाइन्छन् कति हो कति
लेखिएको छँदै छैन नलेखेकै भए पनि ।
नाला खोल्साहरु भित्र वेदका वाणी गुँज्दछन्
त्यसको सार बिर्सेर तिलस्मीसँग भुल्दछन् ।
यो कान्तिपुरीको दृश्य यो सूर्याेदयको नभ
सुनौलो दृश्यको आभा कसले बुझ्न सक्तछ ?
हृदयाकाशका साना चराको ध्वनि मर्मर
बेलीकुञ्जहरुबाट बोलिँदैन र उन्नत ?
व्यासजी घाँस काट्ता हुन् हाम्रै खेत र बारीमा
पश्चिमी नाट्यका राजा खेत जोत्लान् कतैतिर ।
बिहानै पूmलका माझ टल्कने शितबिन्दुमा
देखिन्छन् मोतीका दाना हेरेमा श्वेत सिन्धुमा ।
सच्चा छन् आर्यका भाव लृुकेका यस धर्तीमा
चोखो मानवतावाद फुल्दछन् यही धर्तीमा ।।
मुटुमा देव संस्कार उम्रन्छन् यही धर्तीमा
नयाँ जागृतिका राग गाइन्छन् यही धर्तीमा ।।
यहीं निर्मल गङ्गाको छालमा चन्द्र खेल्दछन्
त्यसैका ध्वनिमा मानौ देवका स्वर गुँज्दछन् ।।
यहीं निर्मल गङ्गाका छालको हुन्छ कल्कल
त्यही कल्कलमा मानौं गाएझैं लाग्छ कोकिल ।।
दुनियाँभरमा शान्त स्वच्छ शीलतका कथा
खोज्नेले फर्किए हुन्छ भेटिनेछन् यता उता ।।
चोखो भोजनले गर्दा चोखो रक्त प्रवाह छ
चोखो संस्कारका भित्र चोखो आर्यत्व भाव छ ।।
सानो शैशवमै मानौं ज्ञानका रङ्ग झुल्दछन्
नेपाली मुटुमा मानौं सिर्जनाहरु खुल्दछन् ।।
बाहिरी देशमा मैले देखेको छै्रन यो कुरा
आर्यको सपना हाम्रै देश भित्र सजीव छ ।।
सजिलो पनमा हाम्रो नेपालीत्व छ झल्मल
सफा छन् भावना हाम्रा सिर्जनाहरु निर्मल ।।
अर्काकै रुपमा हामी देख्तछौं निजको रुप
अर्काको रुपमा आफ्नो कस्ले देख्तछ त्यो रुप ?
यहाँ मानवले देख्छन् आफूझैं अरुमा पन ि
बोक्रे मानवता हुन्छ भित्रको घोर बैगुनी ।।
सभ्य हुँ भनिने देशभित्रका केही मानव
मान्छेमा राख्तछन् दृष्टि जस्तो राख्थे ती दानव ।।
साँचो नेपाली त्यो हुन्न जसमा हुन्न शिष्टता
नक्कलीपनमा जोड्नु व्यर्थको हुन्छ मित्रता ।।
नेपाली त्यो कहाँ हुन्थ्यो नेपालीत्व गुमाउने
नक्कली पनमा भुल्ने अथवा देश बिर्सने ?
नराम्रो मान्दछन् त्यस्ता नक्कलेहरुले सधैं
साँचो सत्य कुराभित्र असन्तुष्ट हुने सधैं ।।
मैदानीहरुको मानौं गिदी उम्लन्छ भत्भत
पहाडी शिशुमा हुन्छ ताजा सन्तुष्टि निर्मल ।।
पूर्वाग्रही भए दृष्टि कहाँ देखिन्छ इश्वर
नेपाली दृष्टिले हेरे सर्वत्र जगदीश्व ।।
भित्री दृष्टि सफा राखे यहाँ दुर्लभ के छ र ?
देवताहरु नै हुन्छन् ढुङ्गामा दृष्टिगोचर ।।
विदेशीहरुले मान्लान् हाम्रो भूमि छ जर्जर
यसैमा हामी देख्तैछौं यसै भित्र छ इश्वर ।।
साँघुरो गरी हेर्नाले देख्लान् यो अन्धकार छ
हाम्रा गम्भीर आँखाले हेरेमा यो अपार छ ।।
यहाँ ईश्वरका झल्का झल्की मिल्छन् जताततै
ज्ञानका चक्षुले हेरे नहेरे छैन त्यो कतै ।।
साँच्चै न मूल्यवान् हुन्छ ज्ञान विज्ञानका अघि
मैलो चस्मा लगाएर हेरे देखिन्छ नक्क्ली ।।
आज विज्ञानले गर्दा मान्छे यन्त्र भएछ कि
हाम्रा गौरव गाथाको मूल्य ह्रास भएछ कि !
आजका युगको मान्छे झुटो विज्ञान चुम्दछ
अन्धविश्वासको चस्मा लाएर यहीं घुम्दछ ।।
यस्ता बोक्रे कुराबाट मेरो देश अलग्ग छ
यो भन्दा शान्तिको देश कहाँको हुन सक्तछ ?
यो भन्दा शान्तिको ठाउँ भेटिएला कहाँ अब
मलाई लाग्छ यो देश भित्र शान्ति छ वैभव ।।
मैले धेरै यहाँ पाएँ यहाँ पाएँ सबै कुरा
यहीं उन्नतिका फाँट पाएँ आत्मीय पाखुरा ।।
जादुका नेत्रले हेरें देखें सौन्दर्यका कण
मैले प्राप्त गरें जैले यहाँ मानवजीवन ।।
मैले नेपालको जादू अन्यत्र काँहीं पाइनँ
पाए तापनि सौन्दर्य तिनको गीत गाइनँ ।।
मेरो नेपालको भाका हालेर गीत गाउँछु
मेरै नेपालको जादू आफूभित्रै म पाउँछु ।।
भनोस् जे जसले मेरै यो नेपाल पवित्र छ
शान्ति खोज्न कता जाऊँ त्यो मेरै घरभित्र छ ।।
जसले स्वर्गको झिल्का पाएर लिन्छ जीवन
त्यस्ता मनुष्यले गर्छन् देशको अभिनन्दन ।।
गोठालाहरुका साथ वाल्मीकि गीत गाउँछन्
व्यासबाजेहरु आई मेलामा प्रीत लाउँछन् ।।
स्रसारीहरुले थाकी यहाँ विश्रान्ति पाउँछन्
यहीं किन्नर ओर्लन्छन् अप्सार गीत गाउँछन् ।।
पृथ्वीमण्डलमा जे छ त्यो यहीं हुन सक्तछ
सूक्ष्मदृष्टि लगाएर हेरे सर्वश्व युक्त छ ।।
उत्तरी ध्रुवका दृश्य देखिन्छन् शीत कालमा
देखिएलान् यता दृश्य दक्षिणी ग्रीष्मकालमा ।।
पाइन्छन् बेविकालोन ह्याङ्गिङ गार्डेनका झुल
अथवा विश्वकै अग्लो झर्ना झर्दछ झर्झर ।।
पर्दैन विश्वमा डुल्नु हेर्न आश्चर्यका कुरा
नेपाली दृष्टिले हेरे यसैभित्र अनेक छन् ।।
गौरी शङ्करमा हाम्रै टल्केको दरबार छ
नेपाली दृष्टिले हेरे शिवको घरबार छ ।।े
यहाँ के छैन हे मित्र यहाँ जे पनि मिल्दछ
छैन भन्नेहरु देखी म ता आश्चर्य लाग्दछ ।।
हाम्रै पर्णकुटीभित्र परमेश्वर बस्तछन्
आत्माका रुपमा हाम्रा गौरीशङ्कर मस्त छन् ।।
देवको खोजीमा हाम्रा मान्छे डुल्छन् कहाँ कहाँ ?
मान्छेकै रुपमा हाम्रा परमेश्वर छन् यहाँ ।।
माटोमा पानीमा यद्वा हावामा हुन्छ दर्शन
रातमा दिनमा डुल्छन् यहाँ ईश्वरका गण ।।
ठुला नक्षत्रका गोला अनन्ताकाश ढाक्तछन्
देख्छौं हामी यहाँबाट झिल्काको रुपमा तर ।।
यस्तै नक्षत्रले गर्छन् मेरै देश सुरक्षित
मेरै नेपालमा बस्तै बारै काल अहर्निष ।।
पृथ्वीका तलको पूर्ण चमत्कार छ स्वर्गीय
दोहो¥याई अझै भन्छु के छैन यस देशमा ?
मैदानी देशमा हुन्न यहाँ झैं शान्ति शितल
हावा तातो त्यहाँ बग्छ हुन्छ नाना कचिङ्गल ।।
मैदानी देशमा हुन्छ तातो हावा जताततै
कहाँ शितलता हुन्थ्यो यहाँ झैं त्यस ठाउँमा ?
सुनौला चित्रका रंग मनोहारी कलाकृति
झल्झलाकारका दाना प्रकृति माझका कृति
हाम्रो पर्वतको उच्च शिखा यो मुस्कुराउँछ
कहाँ मैदानमा हुन्थ्यो त्यहाँ हुन्छ बनावट ।।
मिर्मिरे निलिमाभित्र लुकेको हुन्छ मोहनी
शैलको छविमा छाया पर्दा टल्कन्छ जीवनी ।।
पहाडी नदीको चाल प्रकति सप्त रङ्गिमा
चुलिंदै चुलिंदै स्वर्ग छोएझैं हुन्छ भङ्गिमा ।।
चिडियाहरुको गाना मधुरो मनमोहनी
सुनौला चित्र झैं लाग्छन् नवभावप्रदर्शनी ।।
कलाको स्वर्ग हो मेरो देश नेपाल चम्किदै
अघि लागि रहेको छ उन्नति गर्न लम्किदै ।।
बोधो बोधो हुने गर्छ मैदानी आत्मजीवन
त्यसको तुलना गर्दा यहाँको चुस्त जीवन ।।
साँचो वस्तु हटाएर नक्कली वस्तु चित्रित
गरेछन् भने जस्तो लाग्छ त्यो चित्रकारले ।।
पहाडी देशको दृश्यभित्र हुन्छन् विभिन्नता
यहाँ कृत्रिमता हुन्न यहाँ हुन्छ सजीवता ।।
रातो दारिमका दाना जस्ता स्वस्छ सुभाल छन्
आत्माको गीत गाएका कलिला स्वच्छ बाल छन् ।।
गीत संगीतले हुन्छ यहाँको काव्य झङ्कृत
साँघुरो जिन्दगी हुन्न हुन्छ जीवन विस्तृत ।।
पहाडी टाकुरा हिंड्दा ओर्लने उक्लने मजा
यहाँको झैं कहाँ होला फुर्कन्छु म त सम्झदा ।।
सुनका टल्कने दाना झुल्दछन् खेतबारीमा
प्रीतिको पुष्पका हार फुल्दछन् पूmलबारीमा ।।
एक छाक लियो खायो रुखासुख्खा भए पनि
छैन सञ्चितिको रोग पेट रित्तै भए पनि ।।
डुलाई दृष्टिको कोण एकै ठाउँ बसी बसी
हेर्न सक्ता यहाँ मिल्छन् लाखौं सौन्दर्यका कसी ।।
असन्तुष्टि यहाँ छैन माटोमा हुन्छ उब्जनी
यहाँकी धर्ती हुन् मेरी साँच्चैकी शश्यशालिनी ।।
गहिरो गरी हेर्नाले एकभित्र अनेकता
पाइन्छन् यही धर्तीमा देश सानै भए पनि ।।
यसका माझ सौन्दर्य रंगदार अनेकन
हुन्छन् सौन्दर्यका आभा नवनित्य प्रतिक्षण ।।
पहाडी स्थलमा भिन्न भिन्न विश्व सजीव छ
पशुपक्षिहरु खेल्ने तिनैको घरबार छ ।।
मृग शावक उफ्रन्छन् अर्नाका हुल चर्दछन्
हामी मान्छेहरुलाई नौलो पाठ सिकाउँछन् ।।
झर्नामा गीत गुन्जन्छन् बारीमा मोती फल्दछन्
हावाको स्पर्शमा मानौं नाच्छन् सारा वनस्पति ।।
यहाँ पत्थरमा हुन्छ चाँदीकै रङ्ग टल्कने
वृक्षका पत्रमा हुन्छ नौलो सोनर्द झल्कने ।।
गुफाभित्रै बसे जस्ता लाग्छन् किन्नर किन्नरी
गौरी शङ्कर हुन् मानौं हाम्रा शङ्कर पार्वती ।।
भान हुन्छ सधैं हाम्रा पाखामा देव खेल्दछन्
हाम्रा शंकट बाधाका क्षणलाई धकेल्दछन् ।।
हावाका सारमा झुल्दै कलिला लहराहरु
मानौं फर्फरिए छन् कि चन्द्रसूर्य ध्वजाहरु ।।
अनेकौं रङका रङ्ग दृश्य चित्र रची रची
कला कौशलको भान प्रकृति गर्दछिन् बसी ।।
हाम्रो उत्तरमा अग्ला हिमशैल खडा भई
रेखदेख सधैं गर्छन् अभिभावक झैं भई ।।
मलाई हुन्छ यो भान विशाल हिमशैलले
हाम्रा अन्तरको आत्मा लाई गर्छन् सुशिक्षित ।।
हाम्रा गौरव गासिन्छन् हिमाली उच्चतासँग
हाम्रो मस्तिष्क गाँसिन्छ यहाँको आढ्यतासँग ।।
कला साधक जन्मन्छन् नजिकै फूलबारीमा
महामानव जन्मन्छन् चिसो स्वच्छ पहाडमा ।।
देखी बालकका स्वच्छ अनुहार मनोहर
दुष्टको दुष्टता भाव फर्कंदै बन्छ निर्मल ।।
मुटुमै टाँसिनै गर्छन् यहाँका ललनाहरु
यहाँको स्नेह सम्मान यहाँका रमणीहरु ।।
डर त्रास यहाँ छैन यहाँ छैन कुभावना
बाघका डम्मरु लाई घाँसको हुन्न याचना ।।
चराका स्वरमा गँुज्छन् काव्यका स्वर माधुरी
माटोमा उम्रने गर्छ लोकगान थरी थरी ।।
आफ्नो जन्मभूमिजस्तो ठूलो केही रहेनछ
हाम्रो हृदयको केन्द्रबिन्दु सानो भएनछ ।।
जति फैलन्छ त्यो क्षेत्र मुटुमा देशप्रेमको
प्रवृत्ति प्रेमको हुन्छ फैलने अझ फैलने ।।
मुटुमा देशको प्रेम भित्रभित्रै पलाउँछ
प्रवृत्ति प्रेमको त्यै हो आफैं भित्र टुसाउँछ ।।
म मातृभूमिमै सिक्छु विश्वप्रेम निरन्तर
अन्यत्रबाट यो प्रेम सिकेर के सिकिन्छ र ?
मेरा मगजका गिर्खा गिर्खाले देश प्रेम यो
अनुभूत गरेका छन् साँच्चैको देशप्रेम त्यो ।।
आमा नेपाल यो मेरा मुटुका केन्द्रमा तिमी
चम्किएर सधैं बस्नू अनकन्टारमै पनि ।।
अनकन्टारको टाढा अज्ञातस्थल विश्वमा
कुनै गन्दर्भले विश्व गर्दा गर्दै परिक्रमा—
तँ को होस् भनी सोधेमा हुन्छ मेरो सगौरव
म नेपाली हुँ नेपाली मेरो यो हुन्छ उत्तर ।।
ओर्लंदाओर्लंदै गर्दा स्वर्गबाट कुनै दिन
“कता जान हिंडेका हौ छाड्दछौ स्वर्ग यो किन ?”
भनेर जब सोध्नेछन् स्वर्गका अप्सराहरु
तिनलाई म यो दिन्छु छाती खोलेर उत्तर
“म चाहन्न म चाहन्न स्वर्गको सुखसम्पदा
नेपालैको भलाईमा लागें है लौ उतै म ता ।।
मेरो गौरव हो मेरै देशको सुखसम्पदा
स्वर्गमा जोसुकै जाऊन् जान्छु नेपालमै म ता ।।”
अर्काको भूमिमा कस्ले ठाडो सिर लगाउला ?
आफ्नो गौरवको देश भित्रै प्रेम रसाउला ।
चाहे गौरव होस् देश रौरवै किन त्यो नहोस् !
यो मातृभूमिका मेरो छल्कन्छ आर्यसम्यता
लाखौं वर्ष दिंदै आयो जस्ले अध्यात्म सम्पदा ।।
मेरो गौरव ता यै हो देशको सुखसम्पदा
दौडियून् स्वर्गमा कोही बस्छु नेपालमै म ता ।।
म कतै सुन्न चाहन्न अरुका देशको गीत
चाहे रौरव होस् मेरो देशैमा छु म मोहित ।।
हिराको मूल्य के हुन्छ मेरो हृदय जान्दछ
अमूल्य देशको मूल्य मेरो अन्तर मान्दछ ।।
मेरा भावहरु हल्का बोक्रेले के समाउलान्
निन्दाको बोलीमा खोक्तै हाँसीहाँसी उडाउलान् ।।
निन्दा गर्नेहरु त्यस्ता हाँस्लान् मेरा विचारमा
तथापि म सधैं बस्छु दृढ मेरै विचारमा ।।
यस्ता बोक्रेहरुदेखि दया लाग्छ मलाई ता
बिचराहरुमा कस्तो बुद्धिको छ दरिद्रता ।।
अध्यात्म ज्ञानको गंगा यसैबाट छ उद्भव
सारा संसारकै लागि यै हो पोषक वैभव ।।
अरुले देशको ताज शिरमाथि चढाउलान्
हामी ता देशको ताज मुटुभित्रै सजाउँछौं ।।
जे छ जस्तो छ नेपाल आँखाकै नानी ठान्छु म
अर्काका देशको गान सपना सरी मान्छु म ।।
तारामण्डलकै अद्र्धगोलाको भित्र बाहिर
अर्काे के दुनियाँ होला भन्लान् केही अबुझले ।।
साँच्चैको यो कुरा ठान्छन् साधारण मनुष्यले
आफूमाथि जति देख्छन् त्यत्ति नै पूर्ण ठान्दछन् ।।
तिनले जे कुरा देख्छन् त्यसैमा पूर्ण ठान्दछन्
अनन्ताकाशको अंश मात्रै हो भनी के बुझुन्् ?
जे जान्यो जे बुझ्यो जस्ले उसको त्यही पूर्ण हो
उस्लाई अरु के खाँचो पूर्णात् पूर्णमिदम् जगत् ।।
मलाई छैन क्यै खाँचो बाहिरी विश्व बुझ्नमा
बुझ्दैमा पनि त्यो विश्व लाभ के पाउनू छ र ?
अनन्त विश्व देख्नेका आँखाले हेर्नु हो भने
विशाल सूर्यको गोला कनिका सरी लाग्दछ ।।
तर यो पृथिवी वासी हामी मान्छौं सरासर
तिनै ईश्वर हुन् हाम्रा तिनै हुन् जगदीश्वर ।।
हाम्रो अज्ञानको कालो सूर्यले नास गर्दछन्
हामंो जीवनका दाता तिनै हुन् ज्ञान छर्दछन् ।
आगाको गोल हो सूर्य कसैको यै प्रचार छ
सूर्य हुन् देवता हाम्रो हाम्रो यस्तै विचार छ ।।
छैन जिन्दगीको अर्थ अर्काेको देशमा बसी
जिन्दगी गर्विलो हुन्छ आफ्नै देश पसेपछि ।।
चलचित्र सरी हुन्छ अर्काको देशको रङ
कुनै नाटक झैं लाग्छ अथवा लाग्छ त्यो भ्रम ।।
विदेश स्वर्ग जस्तै होस् स्वप्न संसार मात्र हो
जहाँ जन्म्यो जहाँ हुक्र्याे त्यही नै देश स्वर्ग हो ।।
देशप्रेमीहरुभित्र साँगुरो पन देख्तछन्
त्यहाँ वाक्क हुँदै कोही बेर्थैमा केही लेख्तछन् ।।
रवीन्द्रनाथको देखासेखी गर्ने कठैबरा,
सिकारु केही लेखन्ते भुल्दछन् विश्वप्रेम यो—
तिनमा देशको प्रेम तिनैभित्रै टुसाउँछ
पछि मात्र तिनै भित्र विश्वप्रेम सुसाउँछ ।।
एकातर्फ यी चाहन्छन् विश्वप्रेम खुलाउँन
भुल्दछन् यी उता अर्का तर्फ त्यो विश्वप्रेम ता—
स्वदेशैभित्र जन्मन्छ झाँगिदै अघि बढ्दछ
निजी संस्कृतिका साथै भाषाको बढ्छ इज्जत
सबै जाति सबै वर्ग जहाँ हुन्छ समुच्चय
मान्नुहोस् त्यहीं नै हुन्छ राष्ट्रप्रेम समुन्नत ।।
राष्ट्रको प्रेम सक्तैन गर्न जो विश्व प्रेम ता
त्यसले गर्न के सक्ला के बुझ्ला यो महानता ?
देशप्रेम नगर्नेले के गर्लान् विश्वप्रेम यो
ताती गर्न नसक्नेले त्यो ता कुद्नु समान भो ।।
देशभक्ति विना कोही विश्वप्रेम भयो भने
मान्नुहोस् त्यो बनेको हो बालुवा माथिको घर ।।
नेपाली पन छाडेर माथि माथि उड्यौं भने
विपनाको कुरै छाडौं सपना पनि बेर्थ भो ।।
कलाले सजिएको होस् आत्माको होस् प्रकाशन
कल्पना लोकका भाव पोखियून् शब्दशब्दमा ।।
त्यही नै हुन्छ साहित्य त्यसैमा हुन्छ भावना
कल्पना लोकको जादु त्यसैको गर्छु साधना ।।
सच्चा नेपाली जो छैन त्यस्ले के लेख्न सक्तछ ?
भित्री साहित्यको मर्म त्यस्ले के बुझ्न सक्तछ ?
ममा नेपालका लाखौं दृश्यका वस्तु झुल्छन्
मानौं जिवन्त भै मेरा काव्यभित्रै ती फुल्दछन् ।।
जे देखें जे बुझें मैले जे जाने ती सबै कुरा
आत्मानुभवमा ढाल्छु मेरो साहित्य बन्दछ ।।
अनेकौं भावका भुल्का सम्झनाको स्वरुपमा
कला कौशलको रङ्ग लिई हुन्छन् प्रकाशन ।।
लेख्ने ता कोही अर्कै छ म ता वारिस मात्र हुँ
खालि यो देशका लागि एक माध्यम पात्र हुँ ।।
मेरै मातृभूमि लेख्छिन् के नै पो लेख्न सक्छु म
म हुँ नेपालकै छोरो मात्र माध्यम बन्छु म ।।
जाति कल्याणका लागि अथवा विश्वसत्यको
नयाँ सम्बन्धको रुपरेखा कोर्न म लेख्तिनँ ।।
जोडले फेरि भन्दै छु म ता माध्यम मात्र हुँ
मुटुमा देशको भक्ति भाव बोक्ने म छात्र हुँ ।।
मेरै नेपाल हो लेख्ने आत्माभित्र बसी बसी
मेरै नेपाल हो बोल्ने वाणीभित्र पसी पसी ।।
यसो गर्नु त्यसो गर्नू भनी अर्जापिने कुरा
जे अरायो त्यही गर्ने म ता मात्र निमित्त हुँ ।।
यहाँका शब्दमा मानौं देश प्रेमी विचार छन्
मेरो भाव त्यहाँ छैन नेपालैका विचार छन् ।।
म हुँ नेपालको माटो हावा पानी बतास हुँ
यहीं जन्मे यहीं हुर्कें देशकै म त सास हुँ ।।
ममा जे आउँछन् भाव भावना वा तरङ्ग ती
आमा नेपालै हुन्छन् नाना भाव र सङ्गति ।
लेख्दा नेपाल नै लेख्छिन् बोल्नेमा पनि हुन् उनै
धारणा भाव वा सोच मेरा छैनन् यहाँ कुनै ।।
देखे जति सबै लेख्ने त्यो सामथ्र्य ममा कहाँ ?
आमा नेपाल नै लेख्छिन् म ता माध्यम हुँ यहाँ ।
जे लेखें जे बुझें मैले त्यस्को माध्यम मात्र हुँ
श्रव्यदृश्य सबै पोख्ने म ता साधन मात्र हुँ ।।
बटुली केही सामग्री जोहोसम्म गरें यहाँ
तिनैं सामग्रीका केही प्रभावै मात्र छन् यहाँ ।
तिनै वस्तुहरुद्वारा नौला नौला अनेकन
भावनाहरु उर्लन्छन् व्यक्त गर्नै म सक्तिनँ ।।
त्यस्ता अमृतका तत्व मभित्रै छङ्छगाउँछन्
नयाँ सन्देशका झिल्का आफूभित्रै पलाउँछन् ।
तिनै सन्दैश बोकेर सेवाको मार्गमा अब
अग्रगामी भई चल्छु सेवाको मार्गमा अब ।।
इति
सकियो अब । यो पालो माग्ने आयो क्षमा अब
हे महाकवि यो मेरो धृष्टता माथि माफ होस् ।
बीचैमा म हराएर भासिएँ भासिएँ भयो
सकिएन सबै झिक्न व्यर्थै थालेंछु झै भयो ।
पद्यमा बाँध्न सक्थें कि भन्ने सोच अघि थियो ।
धृष्टता गर्नु व्यर्थै हो भने झैं हुन पो गयो ।
जे थियो भावना तिम्रो लथालिङ्गै भयो यहाँ ।
कहाँ त्यो भावना तिम्रो मजस्तो क्षुद्रको कहाँ ?
नमन ।