19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘सदनको मझेरीमा माटोको वास्ना’ कवितासङ्ग्रका कविताहरूमा राष्ट्रिय चेतना

कृति/समीक्षा सविता तामाङ December 25, 2014, 9:52 pm

१. विषयप्रवेश

राष्ट्रियको शाब्दिक अर्थ राष्ट्रसम्बन्धी, राष्ट्रको, देशको भन्ने हुन्छ। साहित्य तथा साहित्यकै कुनै विधाको सन्दर्भमा भन्नु पर्दा राष्ट्रिय भन्नाले देशप्रेम अथवा राष्ट्रप्रेमलाई अँगालेर लेखिएको रचना बुझिन्छ। देशप्रेम भएको कृतिहरूमा आफू जन्मेको,हुर्केको,स्थानप्रतिको माया,आदार,सम्मान,आफ्नो देशको माटोको गन्ध,हावाको स्पर्शको अनुभव र देशको सम्पूर्ण नागरिकको हितको भावना अभिव्यक्त भएको हुन्छ।राष्ट्रप्रेमी कविहरूमा भने आफ्नो देशप्रतिको क्ष्रद्धा, झुकाउ र अगाधप्रेम विध्यमान रहेको हुन्छ।यसरी कविहरूले देशभक्तिभाव र राष्ट्रप्रेमलाई आफ्ना कविताको मुख्य भावभूमि बनाएर सम्पूर्ण देशवासीको हृदयमा राष्ट्रिय चेतनाको भावना निर्माण गर्नमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन।

सदनको मझेरीमा माटोको वास्ना कविता सङ्ग्रहका कविताहरूलाई भने राष्ट्रिय चेतनाका दृष्टिले मात्र अध्ययन गर्दा न्याय हुँदैन। किनभने प्रस्तुत कवितासङ्ग्रहका कविताहरूमा भने उत्तरआधुनिक बहुलवादी प्रवृत्ति रहेको पाइन्छ। अर्थात् यस कवितासङ्ग्रहका कविताहरू बहुअर्थताले भरिपूर्ण छ। मूलत मानवमूल्यको खोजी, आर्थिक विसङ्गतिको चित्रण, मानवअधिकार चेतनाको अभिव्यक्ति, मानवीय संवेदनहीनताप्रति व्यङ्ग्य, सामाजिक असमानता, आर्थिक विसङ्गतिको उल्लेख, र राष्ट्रिय भावना आदि प्रवृत्तिहरू उपर्युक्त कविता सङ्ग्रहमा देखिन्छन्। राष्ट्रिय चेतनाका आधारमा मात्र कविताहरूको अध्ययन गरेर प्रस्तुत कवितासङ्ग्रहका कविताहरूमा अन्य प्रवृत्तिहरू गौण रहेको देखाउन खोजिएको भने होइन। कवितामा पाइने सबै प्रवृतिहरूको अध्ययन गर्न भनेको गहन अध्ययन र कठिन कार्य पनि हो। प्रस्तुत कवितासङ्ग्रहलाई राष्ट्रिय भावनाको दृष्टिले अध्ययन गरेर कविमा रहेको राष्ट्रिय चेतनाको अभिव्यक्तिद्वारा मानवमस्तिष्कसम्म राष्ट्रियताको सचेतता जगाउनु पनि हो।

सदनको मझेरीमा माटोको वास्ना कवितासङग्रहका कविताहरूमा राष्ट्रिय चेतना

प्राय:जसो नेपाली कविताहरूमा आफ्ना जन्मभूमिलाई मात्रृभूमि, आमाको नामले सम्बोधन गरिएको पाइन्छ। अर्थात् आफ्नो मात्रृभूमिलाई जननीको सम्मान दिएर आदर गरिएको पाइन्छ। जयन्त कृष्ण शर्माको प्रस्तुत कवितासङ्ग्रहमा सङग्रहित ‘साधारण’ कवितामा कविले आफ्नो देशमा शिक्षाका दृष्टिले शिक्षित र अल्पशिक्षित गरी दुई वर्गका मानिसहरू रहेको बताएका छन्। अल्पशिक्षित मानिसहरू कृषक बनेर,ग्रामीण जीवनमा नै रमाएर, आफ्नै देशमा रहेर भूमिपुत्रको उत्तरदायित्व निभाउन सक्षम र सफल बनेका छन् भने शिक्षित मानिसहरू भूमिगत उत्तरदायित्वबाट विमुख भएर पैसा कमाउन प्रवासिने भूमिपुत्रहरूप्रति व्यङ्ग्य प्रहार गरेका छन्-

“रने र जगे छैनन् यहाँ-

दिल्ली कि बम्बई कता उड़े

उहिल्यै।

कमाउन सहिलो छ म बुझ्दिन!

तिमी त बुझ्छौ होला।”१

यँहा कविले तिमी त बुझ्छौ होला भनी यसरी नै आफ्नो माटोको महत्व नबुझी गाँउ-बस्तीमा भन्दा महानगरतिर नै सहजै जीविका चलाउन र धनार्जन गर्न मात्र जीवनको कर्तव्य ठान्ने देशप्रतिको कर्तव्यबाट पलायन मानिसप्रति व्यङ्ग्य गरेका छन्। तर कविलाई भने आफ्नो देश प्यारो छ। आफ्नै देशप्रति प्रेम, निष्ठा छ। देशकै माटो र हावामा रमेर देशवासीको प्रगति चाहान्छन्। त्यसैले कवि भन्छन् –

“यहीको माटो र चिसो हावा मीठो लाग्छ।

गोजीको मोहरले माटोको रहर मेट्न सक्तैन।”२

१.शर्मा जयन्त कृष्ण,सदनको मझेरीमा माटोको बास्ना,पृ.१७।

२.शर्मा जयन्त कृष्ण, पूर्ववत् पृ.१७।

कविले देशवासीको हृदय र मस्तिष्कमा राष्ट्रिय एकता, माटोप्रतिको क्ष्रद्धा जागृत गराउने प्रयास गरेका छन् । विदेशीएका देशवासीहरू प्रशस्तै धनार्जन गरेर सांसारिक जीवन खुसीले बिताए तापनि त्यो क्षणिक हुन्छ।आन्तरिक र चिरआनन्द भने पाउन सकेको हुँदैन भन्ने यथार्थ गोजीको मोहोरले माटोको रहर मेट्न सक्तैन भन्ने प्रसङ्गले स्पष्ट पारेको छ । कवितामा कतै देशवासीलाई आफ्नो जन्मभूमिको मूल्य बुझाउने प्रयास छ भने कतै प्रवासिएका देशप्रतिको कर्तव्यबाट विमुख बनेका समस्त नागरिकहरूलाई पुन:देश फर्कने सल्लाह दिएका छन् –

“एकदिन आउन एताहुँदी पनि

दुई-एकदिन बसि-हेरी जाउ

साथी-भाईहरूसँग भेट गर।”३

यसरी सम्पूर्ण जनमानसमा एकता कायम गरी राष्ट्रीय भावनाको निर्माण गर्नमा उनको कलमले कवितामा महत्वपूर्ण भूमिका खेलेको छ।

देशको अर्थ दिने क्रममा ‘हाम्रो देश: हाम्रो प्राण’कवितामा देश भन्नाले कनै कोरिएका मानचित्र, सिममानामा बन्धित रूपरेखा नै देश हो भनेर अर्थ केलाउने र धारणा राख्ने देशवासीप्रति उनी देशको वास्तविक अर्थ बुझाउन कविताद्वारा आवाज उठाएका छन्। मातृभूमि कविलाई अतिनै प्रिय र मूल्यावान् बनेको बुझिन्छ। कविताको शीर्षकमानै प्राण र देशलाई समान महत्व दिइएको छ। अत:पर्यायवाची शब्दसरह राखिएको छ। आफ्नो माटोप्रतिको आस्था उनको हृदय र मस्तिष्कमा भरिपूर्ण छ। देश भन्नाले मानवमाझ वर्ग, रङ्ग,जात-लिङ्ग आदिका बीच भेदक रेखा नहुनु हो । वास्तवमा एकता नै देश भन्ने कुराको सङ्केत गरिएको छ। कुनै एउटा देशको मानचित्रभित्र रहेर त्यही देशभित्र अनेक

३.शर्मा जयन्त कृष्ण, पूर्ववत् पृ.१८।

रूप देखिन्थ भने त्यो देश होइन । जुन विश्वका विभिन्न देशहरूका वर्तमान३. अवस्था यस्तै छ । यसैले उनले मानवेत्तर प्राणी जसलाई मानवभन्दा विवेकहीन ठान्दै आएको छ। त्यही प्राणीमा एकता रहेको उदाहरण दिएर देशको अर्थ केलाउने कोशिषमा देशवासीको अन्धोपनमा ज्योति ल्याउने प्रयास गरिएको छ भन्न सकिन्छ-

“हठात् एउटा ढाड़े बिरालो

रूख चढेको देखेर

एउटा रूप्पी करायो भने

जतिबेला अरू रूप्पी र

चरा-चुरुंगीहरू पनि चिच्याउन थाल्छन्

त्यो तिनीहरूका लागि देश हो।”४

कसैको समस्यालाई आफ्नो समस्या ठान्नु अर्थात् सदभावना र एकता नै देश हो। कवितामा कतिपय नामधारी देशवासीलाई असल नागरिकको चिनारी र गुण चिनाउन खोजेका छन्। लीलबहादुर क्षत्रीले उक्त कवितासङ्ग्रहको वक्तव्यमा प्रस्तुत कवितासम्बन्धी उल्लेख गरेका छन्-“ देश भन्नु नै समग्र जनसाधारणका एकताको प्रतीक हो- एउटा बाँदरको हुवामा अरू सबैले स्वर मिलाए झै, देश बनाउन सबै एक हुन पर्छ।”५ देशवासीलाई एकताको कसीमा बाँध्ने कविताको केन्द्रीय स्वर रहेको छ। शिक्षाको माध्यमद्वारा देशलाई प्रगतिको मार्ग अप्नाउन सकिने कुरा पनि प्रस्तुत कवितामा दर्शाएको छ। कविमा उच्च देशभक्तिको भावना रहेको पुष्टि उनका यी कविताहरूले गर्दछ।

कवि कलाकारहरूलाई कुनै एउटा देशको सीमाभित्र सिमाङ्कन गरेर राख्न सकिँदैन। उनीहरू विश्वकै गाथालाई आफ्नो कलमले कोर्ने गर्दछन्। त्यसैले माटोको वास्ना कवितामा कविले भूटानबाट लखेटिएका, देशबाट

४.शर्मा जयन्त कृष्ण, पूर्ववत् पृ.२८।

५. शर्मा जयन्त कृष्ण, पूर्ववत् पृ.९२।

बिछोडिनु परेको मानिसहरूको भावमा कवि स्वयम् घोत्लिएर उनीहरूको मर्मस्पर्श गर्न सक्षम बनेका छन्। प्रस्तुत कवितामा भूटानवासी नेपालीहरूको घरलाई कमलकोटीको घरको प्रतीकको रूपमा देखाएका छन्। जसरी कमलकोटीले परीक्ष्रम गरेर बनाएको घर भत्काउँदा कमलकोटी छताछुल्ल बन्दछ। त्यसतै अवस्था र परिस्थिति सहनु परेको थियो भूटानबाट निकालिएका शरणार्थीहरूले पनि। तिनीहरूमा आफ्नो राष्ट्रप्रति अगाध प्रेम रहेको कुरालाई कविले अनुभव गरेका छन्। ती मानिसहरू शारीरिक रूपमा देशबाट बिछोड़िए तापनि त्यहाँका प्रत्येक वस्तु, दृश्य र माटोको वास्ना हृदयबाट पृथक हुन सकेको छैन। देशमा व्यप्त आतङ्कले देशवासीलाई कलङ्कित पार्न खोजे तापनि, देशबाहिर गरे पनि देशप्रतिको प्रेम असल नागरिकको निम्ति अतुलनीय प्रेम हुन्छ। कवि भन्छन्-

“उनको आफ्नो माटोको बास्ना पनि त-

उनका छातीमा आज गाडिएको छ

श्वासमा मिलेको छ,

हृदय-हृदयमा एकाकार भएको छ”६

कविमा मातृभूमि महिमाको प्रशस्त प्रभाव परेको भेटिन्छ। उनका राष्ट्रप्रेमपरक कविता भावका दृष्टिले उच्च बनेको छ। राष्ट्रिय चेतनाका सन्दर्भमा रचिएका उनका कविताहरू कुनै एउटा राष्ट्रमा सीमित भएको देखिँदैन ।कविको जन्मस्थान र कर्मथलोलाई अलग्गै राखेर कृतिको मात्र अध्ययन गरे उनका कविताहरूले उनलाई कुनै एउटा निश्चित राष्ट्रको गुणगान गाउने कविको रूपमा नचिनाएर, केवल राष्ट्रिय चेतनाले भरिपूर्ण कविको रूपमा मात्र परिचित गराउँदछ।

६. शर्मा जयन्त कृष्ण, पूर्ववत् पृ.३१।

निष्कर्ष-

जयन्त शर्माका प्रस्तुत कवितासङ्ग्रका देशप्रेमपरक कविताहरूमा राष्ट्रियवादी चेतनाले उनको हृदय अधिक छोइएको छ। आफ्नो देशमा शिक्षाआर्जन गरेर स्वदेशकै माटोलाई त्यागेर विदेशमा रमाउने शिक्षित मानिसहरूको मानसिकताप्रति कतै व्यङ्ग्य गरिएको छ। कतै स्वदेशको मूल्य बुझाउनपट्टि लागेका छन् तर यस्ता देशप्रतिको उत्तरदायित्वबाट पलायन हुने मानिसहरूलाई कहीँ विरोध भने गरेका छैनन्। मात्रृभूमिको ग्रामीण जीवन कविलाई अति प्यारो बनेको छ।त्यसैले ग्रामीण जीवनको महिमा उनका कविताहरूमा अति सुन्दर र सरल ढङ्गमा गाएका छन्। उनका कविताहरू मात्रृवन्दनाका सर्वोत्कृष्ट उधाहरण बन्न सकेका छन्। देशका नागरिकमा लिङ्ग, वर्ग, वर्ण, जाति र धर्मको भावना सबै त्यागेर एकताको भावना स्थापित गरे त्यहीनै वास्तविक देश हो भन्ने सन्देश कवितामा मुखरित भएको छ जसले उनलाई राष्ट्रप्रेमी कविको रूपमा खडा गरेको छ। उनका कविताहरूमा विभिन्न प्रवृत्तिहरू रहेको भए तापनि राष्ट्रिय चेतना पनि एउटा प्रमुख प्रवृत्ति रहेको पाइन्छ।

सन्दर्भ सूची

१. जयन्त कृष्ण शर्मा, सदनको मझेरीमा माटोको बास्ना,गौहाटी, अरूण प्रकाशन, २००१।

२. नेत्र एटम, समालोचनाको स्वरूप, काडमाण्डौं: साझा प्रकाशन,सन् २००४।

३. राजेन्द्र सुवेदी, लक्ष्मण गौतम सम्पा., रत्न बृहत नेपाली समालोचना (प्रायोगिक खण्ड) काठमाडौं: रत्न पुस्तक भण्डार,सन् २०११।

सिक्किम महाविद्यालय, दोस्रो क्याम्पस, बुर्तुक।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।