19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शब्दको धरातल

कविता रुपेश राई January 2, 2015, 8:08 pm

आफ्नै पाइतालामा

टेकिएको शब्दले

अहमको

नक्सा कोरेर

आफ्नै धरातल नाप्न खोज्छ,

गाउँको सतहदेखि

सहरको सतहसम्म।

धरातल कति हो त?

शब्दले

बुझ्न खोज्छ

आयामिक चेतनाको

निधार ठोक्दै

श्यामपटको लम्पसार छातीमा

हि

रा

इ, लम्बाइ र चौडाइ।

परम्पराको थैलो फुटाएर

शब्दले,

चेतनाको जरासम्म

अक्षरको खुट्टी गाडी

उभिन खोज्छ

आकाशको आयातन नाप्नलाई।

अडिएको जति मात्र हो त?

अक्षरले

डिको फैलाएर

शब्दको गल्लीगल्लीदेखि

अभेग पाइतालासम्म आफ्नो सम्बन्ध खोज्छ

अर्थको फैलवाट हेर्नलाई;

प्रत्येक शब्दको पछि

छाया भएर आउने अर्थले उसको अनुहारलाई

नयाँ आयाम दियो- ध

रा

जहाँ शब्द उभिएर

सिद्धान्तका काँडा तिखारिबस्छ

चेतनाको गाला घोँच्नलाई

निहत्था कलम नपुंसक भएपछि।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।