नयाँ वर्ष तिमी
महलहरुमा सुकिला र फुर्तिला रवाफहरुसगै
होटल र रेण्टुरेन्टहरुमा मात्तिएका यौवनहरुसगै
वियर ह्वीस्की र ब्राण्डीका
उन्मादहरुमा मात्र नआऊ
अनि तिमी खाली
सहरहरुका आधुनिक बस्तीहरुमा
ठूलाबडा र साहू महाजनहरुका
खल्तीहरु भर्न मात्र नआऊ
तिमी त गाउगाउका झुपडीहरुमा
अनि गरिबीले थिचिएका बस्तीहरुमा
उज्यालो घाम बनेर आउनुपर्छ
रातको अन्धकारलाई चिर्ने
शीतल जून बनेर आउनुपर्छ
अनि तिमी
भोकानिमुखाहरुको लागि
गास बास र कपास बनेर आउनुपर्छ
नयाँ वर्ष तिमी
हत्या हिंसा र आतंकलाई निमिट्यान्न पार्दै
शान्ति सुरक्षा र सुव्यवस्थाको बिहानी भएर आउनुपर्छ
भाइभाइमा काटमार र वैमनश्यताको बिज उमारेर होइन
बसुदैव कुटुम्बकम्को नाता लिएर आउनुपर्छ
नयाँ वर्ष तिमी
भोका पेटहरुमा खाना बनेर आउनुपर्छ
नांगा शरिरहरुमा कपडा बनेर आउनुपर्छ
अन्धकार बस्तीहरुमा घाम बनेर आउनुपर्छ ।
क्यालिफोर्निया, अमेरिका
(अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्धारा १२ अप्रील २००८ मा ब्रसेल्समा आयोजित वसन्त कवि गोष्ठीमा वाचित कविता)