16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बहाना अनौठो गजलबाट

कृति/समीक्षा बुलु मुकारुङ May 5, 2008, 12:17 pm

बहाना गर्ने चलन नेपाली समाज विकाससँगै भएको मान्न सकिन्छ। तर म यतिबेला अनेक बहानाबाजी वा सौदाबाजी गरिरहेको छैन। नेपाली गजलका विगततर्फै जान खोजिरहेको छु। गजलकै बहाना भए पनि मैले जाने सीमित क्षेत्र छ त्यो हो नेपाली सङ्गीत।  
नेपाली सङ्गीतको कुरा गर्दा नेपाली गजल परम्पराको थालनीसँगै जोडिएको पाइन्छ। त्यही तथ्यलाई विषयमा समात्दा पनि नेपाली सङ्गीतको खुड्किलो निक्कै टाढा देखिन्छ। कतैकतै नेपाली आधुनिक सुगम सङ्गीतको उठान बहावलाई पनि यसभित्र समाहित गर्ने चलन आइसकेको पाइन्छ।  
मोतीराम–सेतुरामकृत नेपाली गजल गायनलाई नै प्रमाणिक उठान मानिरहेको वर्तमान स्थितिमा त्योभन्दा अगाडि बढेर उत्खनन् अहिलेसम्म गरिएको पाइँदैन। अथवा इतिहासकारहरू यहाँभन्दा अघि जाने जमर्को अहिलेसम्मन् गरिरहेका छैनन्। जता हेर्योए उतै राम प्यारा, गजल नै नेपाली आधुनिक सङ्गीतको पहिलो इँटाका रूपमा आजतक पाइनुले पनि गजल होस् वा नेपाली सुगम सङ्गीतको प्रारब्ध होस् यसैलाई मान्नुपर्ने देखिन्छ।  
मोतीरामपछि शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी आदिले नेपाली गजल क्रमलाई निरन्तरता दिएको पाइन्छ। तीस सालपछि गजल लेखनमा तीव्रता आएको देखिन्छ। जसलाई ज्ञानुवाकर पौडेल, ललिजन रावल, मनुब्राजाकी आदिले अगाडि बढाएका हुन्। वर्तमान स्थितिमा नेपाली गजल लेखन देशव्यापी भएको छ। अर्थात् गजल गायनभन्दा लेखन तीव्रतर रूपमा बढेको छ। गजल लेख्ने मात्र होइन गजल तरन्नुम् शैलीमा पनि अगाडि बढिरहेको देखिन्छ।  
बहाना अनौठो म किन लेखिरहेको छु भने नेपाली आधुनिक सङ्गीतको आरम्भ नै नेपाली गजलसँग भएको छ भने किन हामी नेपाली गजलसँग मिलेर नेपाली सङ्गीतलाई विस्तारित नगर्ने? वास्तवमा बहाना अनौठो केवल श्रव्य–गजल गायनको सीडी हो जसलाई दार्जिलिङबाट आएकी गायिका सरोजा देवानले एकल स्वरमा रेकर्ड गरेकी छिन्। कुनै बेला साहित्य तथा सङ्गीतका निम्ति उर्वर मानिने दार्जिलिङ अहिले पहिलेको तुलनामा त्यति अघि बढेको पाइँदैन। बहाना अनौठो गजल–गायन सीडीभित्रको शीर्ष गजल हो। जसलाई हामी ब्यानर गीत पनि भन्न सक्दछौं। हुन सक्छ नारी स्वरमा प्रथम नेपाली गजल–गायन नै हो यो। नेपाली सङ्गीतले विश्वमा चलेका धेरै प्रकारका सङ्गीत शैली प्रयोग वा अनुसरण गरिसकेको भए तापनि उठानमा सँगै अगाडि अएको गजल–गायन भने नेपाली सङ्गीतको विकास क्रमसँगैै विलीन भएको थियो।  
हुन त मेलवादेवी, मित्रसेन आदि आरम्भकालीन सुरकर्मीहरूले पनि गजल गायनलाई छुँदै नछोएको भने होइन। केही गजलहरू उल्लिखित कलाकारहरूबाट डिष्करेकर्डमा ल्याएका थिए। ती र त्यस किसिमका गजलहरू परिवर्तित सन्दर्भमा न लेखियो न गायन–गलामा नै आयो। सरल तथा सहज गीत रचना गर्ने प्रचलन अत्यधिक हुन थालेपछि गजल गायनको क्रम प्रायः समाप्त नै भयो। नेपालमा रेडियो संस्कृतिको विकासले पनि त्यति धेरै नेपाली गजल गायन पक्षलाई अगाडि बढाउन सकेन। केही पुराना ढुङ्गेलका गजल भक्तराज आचार्यले बाहेक अरूले गाएको कतै पाइँदैन।  
गजल संरचनागत सिर्जना हुनुपर्छ भन्ने सोच अहिले अगाडि आइरहेको छ। गजलको परम्परा यसै पनि नेपाली होइन। यो त उर्दू, फारसी र हिन्दी हुँदै नेपाल भित्रिएको हुनाले त्यही बाटोलाई समातेर हिँड्नुपर्छ भन्ने मान्यता आएको पनि हुनसक्छ। गजल संरचनाबाहेक गायन वा सङ्गीत तरज भने स्वतन्त्र हुनुपर्ने कुराहरू पनि अगाडि आइरहेको देखिन्छ। नेपाली गजलकारले नेपाली सन्दर्भमा रचना गरिदिएका गजल नेपाली साङ्गीतिक छनकमा आउनुपर्छ भन्ने नै हो।  
बहाना अनौठो सायद यही अवधारणाबाट प्रेरित छ यदि छ भने पनि। सरोजा देवानको गायनमा रहेका गजलहरू– विष्णुबहादुर सिंह, शीतल कादम्बिनी, ललिजन रावल, रमेश पौडेल, दीपक समीप, श्रेष्ठ प्रिया पत्थर, सागर उदास, निमेष निखिल, घनेन्द्र ओझा, देवी नेपालजस्ता सशक्त गजलकारका सिर्जनाहरू नै हुन्। बहाना अनौठो गजल गायनमा आएको छ नेपालीपन र नेपाली शैलीमा आबद्ध भएर।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।