14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नयाँ गजलकार नयाँ सम्भावना

विचार नवीन पौड्याल January 12, 2015, 10:38 am
नवीन पौड्याल
नवीन पौड्याल

नेपाली साहित्यमा गजल लेखन नेपालतिरबाट मात्र नभई यता दार्जिलिङ-सिक्किमतिर पनि उत्तिकै फस्टाएको छ। यसमा नयाँ गयाँ गजलकारहरू देखा परिरहेछन्। दैनिक समाचार-पत्रदेखि लिएर प्रत्येक साहित्यिक पत्र-पत्रिकाहरूमा गजलले ठाउँ ओगट्दै आएको देखिन्छ। कमान बस्ती र बजारतिर सञ्चालित हुने साहित्यिक समारोहमा यसले रमाइलो बनाउने गर्दछ। यस्तैगरी अचेलको सञ्जालको फेसबुकमार्फत् पनि गजल निकै लोकप्रिय हुँदैआएको देखिन्छ।

गजलमा मूल रूपमा प्रेम – प्रितीका विभिन्न भावलाई व्यक्त गर्ने माध्यम मात्र नभई सबै विषयमा लेखिने गरिन्छ। कविता लेखनका क्रममा गजल फस्टाउनका निम्ति केही कारण छन्। सर्वप्रथम त वर्तमान समय र अवस्थामा देश र समाजमा आएको सामाजिक, आर्थिक, राजनैतिक विकृतिलाई तेजधारले व्यङ्ग्य कस्नका निम्ति सबैभन्दा बलियो साधन गजल बनेको छ। दोस्रो कुरा, गजलमा जस्तो अभिव्यक्तिगत सम्प्रेषण दिन अरू विधाले सक्दैनन्। वर्तमान स्थितिको विकृति र विसङ्गतिमाथि सोझै व्यङ्गय प्रहार गरी पाठक र स्रोतासमुदायलाई प्रभावित पारी सन्तुष्टी दिनसक्ने विधा गजल बनेको छ। तेस्रो कुरा, गजलमा भाव र शिल्प माधुर्य, लयात्मकता दिन सकिने हुनाले पनि यो लोकप्रिय बन्दैआएको छ।

गजल लेखनका निम्ति विभिन्न तकनिकीगत कुराहरू ख्याल गर्नु पर्दछ। यी कुराहरूका अभावमा गजल बेकारका फजुल बनेका हुन्छन्। गजलमा चाहिने विभिन्न शिल्प-संरचनाको तत्वहरूबारे गजलकारले राम्रो जानकारी लिएको हुनुपर्छ। यसका बाह्य संरचना र आन्तरिक संरचनाबारे ज्ञान र प्रतिभा हासिल गरेर मात्र राम्रो गजलको सिर्जना हुनसक्छ।

नयाँ गजलकारका रूपमा रोशन राई चोट देखा परेका छन्। नयाँ नयाँ गजलकारहरूको हाँचमा रोशनले पनि आफ्नो ठाउँ र नाउँ सुरक्षित राखेका छन्। उनल दार्जिलिङ सरकारी महाविद्यालयमा विद्यार्थीहरूले सञ्चालन गर्दै आएको 'साहित्यानन्द भेला'मा रोशनले अग्रभूमिका लिएर गजल र कविता पाठ गरेको देखिने गर्थे। यसका साथै उनी साहित्यिक समारोहतिर पनि गजल सुनाउने गरेका भने उनले स्कुले विद्यार्थीहरूलाई पनि गजल लेखनप्रति हौसला प्रदान गर्न विद्यालयतिर पनि गजलवाचन गर्दैआएका छन् भन्ने कुरा सुनिन्छ। तिनै आफुले सुनाएका गजलहरूको एक बिटा बनाएर एउटा किताबै निकाल्ने जमर्को गरेकामा आफुलाई आनन्द लागेको छ। प्रतिभाशाली स्रष्टाले यसरी गजलको भए पनि पुस्तक प्रकाशन गर्नु भनेको राम्रो लक्षण हो र नेपाली साहित्यकै निम्ति लक्षण हो। रोशनलाई स्वागत छ। यसरी विद्यार्थीले साहित्यिक किताब निकाल्दा हामी शिक्षक-शिक्षिकालाई आनन्द लाग्नु स्वाभाविक हो। हामी शिक्षक-शिक्षिकाहरू आफ्ना प्यारा विद्यार्थीहरूले सिर्जनातिर लागेकामा रमाउँछौं र भन्छौं – रोशन, स्यावास्।

उता नेपालतिर अहिलेसम्म कतिवटा गजलसङ्ग्रह प्रकाशित भए शायद कसैले पनि हेक्का राखेका छैनन। यता भारततिर भने अहिलेसम्म छब्बीसवटादेखि अट्ठाइसवटा गजलसंग्रह प्रकाशित भएका देखिन्छन्। यद्यपि भाक्सू, देहरादूनतिरबाट अहिलेसम्म नेपाली गजलसंग्रह देखिएका छैनन्। भाक्सूका बहादुरसिंह बरालको 'बरालको आँसु'मा केही गजल पनि समावेश भएको पाइन्छ। यता दार्जिलिङ सिक्किमतिर गजल लेखनमा एक हुल युवाहरूको सक्रियता देखिन्छ। केही पुराना र युवा पुस्ताका गजलहरूको सूची लामै बन्ने सम्भावना छ। यस्ता केही उल्लेखनीय गजलकारहरूमा सञ्जीव छेत्री, खुसेन्द्र राई, गोविन्दसिंह घतानी, शैलेन्द्र समदर्शी, सरिता समदर्शी, सुवास श्रेष्ठ, असीम सागर, वीरेन्द्र खँडका, अनिल छेत्री, अरूण साम्पाङ, ज्ञानेन्द्र योक्सो, कृष्ण पी ठटाल, कमल रेग्मी, स्वर्णिम लिम्बू, सुरज सुब्बा, सन्तोष गुप्ता, धीरेश आचार्य, लीलाबहादुर छेत्री गोठाले, बलराम सापकोटा, डिल्लीप्रसाद अधिकारी, मनोहर शर्मा अविनाश, पवन नामदुङ, ध्रुब चौहान, कर्ण विरह, दीपक ठटाल जलन, धिरेन छेत्री, छुदेन काविमो, बुद्ध राई, मिलन बान्तवा, महेश दाहाल आदि हुन्। केही वरिष्ठ कवि दरिएकामा भविलाल लामिछाने, नोर्जाङ स्याङ्देन, जस योञ्जन प्यासी आदि पनि गजल लेखनतिर पनि आएका देखिन्छन्। यसै क्रममा रोशन राई चोट पनि अब राम्रा गजलकारको पंक्तिमा जोडिन आएका छन्।

रोशन राई चोट पनि आफु बसेको समाजमा विद्यमान सामाजिक, राजनैतिक चारित्रिक, नैतिक विकृति आएकामा असन्तुष्टी व्यक्त गर्दै तिनमाथि ठुङ मार्ने प्रयास गरेका छन्। आज युगमा विभिन्न वितण्डा देख्छन् र उनले क्षोभ व्यक्त गर्छन्। एउटा अंश हेरौं –

भ्रष्टाचारीले देशलाई खोक्रो पार्यो आज

तिनीहरूको यहाँ कुनै बदनाम छैन, सतीशजी।

उनका गजलहरूमा पनि जातीय पीडा, आर्थिक पीडा, प्रेमपीडा जस्ता पीडाहरूले अभिव्यक्ति पाएका छन्। मनभित्रका गुम्सिएका हृदयलाई दंशन गर्ने त्यस्ता खालका विभिन्न पीडालाई बाहिर निकाल्न सक्षम छन् रोशन। उनलाई जातीय पीडा छ, प्रेम छ। उनी आफ्नो जातिमा अनेकता र असंगठितता देखेर दु:खी छन्। कतै मानिसहरको कर्तव्यदेखि पलायन भएको देखेर धिक्कार्छन्-

खोला नाला देख्दा पनि पनि डराउँछन् मोराहरू

तर्नेहरू समुद्र पनि त्यसै तरेर गए हजुर।

एकताको एक ढिको बनेर बसेका हाम्रो गोर्खा जाति अब विभिन्न राजनैतिक कुचक्र र अन्य कारणहरूले विभाजनको संघारमा छ। अब जात गोष्ठीहरूको आफ्ना-आफ्ना संगठनरूपी कट्टरताले जातीय एकतामा चिरा परेको देखेर उनी पीडित छन् र यस्तो अवस्थाले गर्दा उनी चिन्तित छन् –

विभाजनको यहाँ मूल फुट्यो।

हाम्रो जाति यहाँ आफैमा टुट्यो।

यद्यपि उनका गजलमा प्रेम-प्रितीका भाव पनि प्रशस्तै पाइन्छन्। उनले प्रेमको रोमाञ्च पल बिताएको र प्रेम पीडा पनि भोगेको भावलाई यसरी व्यक्त गरेका छन् –

तिम्रो निम्ति मर्न परे मरी दिन्छु।

तिम्रो निम्ति सर्न परे सरी दिन्छु। (गजल संख्या ७)

तिम्रो यादमा न मर्न सक्छु

फूल झैं ओइलिएर न झर्न सक्छु। (गजल संख्या ५)

रोशन राईका गजलहरूलाई हामी निम्न विषयवस्तुगत विभाजन गरेर अध्ययन गर्न सक्छौं- क) प्रेम प्रितीका विभिन्न भावगत उद्गार, ख) जातीय चिन्तन, ग) वैयक्तिक अभिव्यञ्जना, घ) सामाजिक विकृतिमाथि चिन्तन। यद्यपि मूल रूपमा भने प्रेमपरक र जातीय मुक्तिको चिन्तनको अभिव्यञ्जना बढी मुखरित भएको छ। उनी आफ्नो जातिको माया गर्छन्, हाम्रा जातीयगत कमजोरीमा दुःखित र पीडित छन्। कतै यो हाम्रो भूमिको माया गर्छन्, कतिपय ढाँट राजनितीको पोल खोल्छन्। आफ्नो जाति र माटाको निम्ति अझै संघर्ष गर्नुपर्छ भन्ने चाहना छ।

रोशनका गजलहरू अभिव्यक्त पक्षमा केही कमजोरी पक्ष नपाइने होइनन्। भाषिक अभिव्यक्तिगत सामर्थ्यमा कमी देखा नपर्ने होइन। भाषाको मानक रूपलाई कतै कतै पक्रन सकेका छैनन्। कतै भने गजलका नाममा काफिया र रदीफ मात्र मिलाउने प्रयास गरेका छन्। गजलको सैद्धान्तिक संरचनामा ऱोशन त्यति जम्न सकेका छैनन्। गजलको विषयवस्तु रमाइला छन्, कथ्यकुराको उठान भने राम्रो गर्ने प्रयास गरेका छन् तर त्यसअनुरूप गजलका तकनिकीगत त्रुटीहरूका काऱण पठनबाट जुन तासिर (आनन्द) पाउनुपर्ने हो, सो त्यति पाइन्न। गजलका सामान्य नियमअन्तर्गतका काफिया, रदीफ प्रयोगमा समेत कमजोरी पाइन्छ। कतै कतै त गजलमा नभइनहुने काफियाको समेत निर्वाह भएको देखिन्न। उनले अधिकांश गजलमा आंशिक काफियाको प्रयोग गरेका छन्। कतै त्यस्ता रदीफ र काफिया मिलाउने हुँदा भाषामा व्याकरणिक विचलन प्रशस्त मात्रामा देखिन्छन्।

जे होस्, उनी एकजना गजल सर्जक बनेर साहित्य क्षेत्रमा देखा पर्दैछन्। नेपाली गजलको इतिहासमा रोशन राई चोटको नाम पनि जोडिन पुगेकामा उनलाई मेरो हार्दिक बधाइ। प्रस्तुत प्रकाशाधीन गजलसंग्रह उनको प्रारम्भिक प्रयासका बान्की र नमूनाहरू हुन् - जो सफल, सबल, आह्लाददायक बनेका छन्। उनको कलम अझै तिख्खर हुँदै जावोस्, अझै परिष्कृत, परिमार्जित र पूर्णता आओस्। आफ्नो समाजमा विद्यमान विभिन्न प्रकारको विकृति र विसङ्गतिमाथि ठुङ मारी तिनको सुधार ल्याउने मानसिकताको निर्माणमा उनको कलम सदैव जुर्मुराओस्। यी शुभेच्छाका पंक्तिहरूभन्दा बढी त यहाँ पाठकहरूले उनका गजलहरूको यो सिङ्गो पुस्तकमा नै रसास्वादन गर्न सक्नुहुनेछ। गजल पारखीका निम्ति उनका गजलहरू लोकप्रिय र चर्चित बनिरहुन् भन्दै यी शुभकामनाका हरफहरू यत्तिकैमा बिसाउँदछु।

प्राध्यापक आवास

दार्जिलिङ सरकारी महाविद्यालय, दार्जिलिङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।