19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सन्धि

कविता चाङ चिराग January 23, 2015, 9:10 am
चाङ चिराग
चाङ चिराग

वर्षा यामका जुकाहरु

घाउहरुको खोजीमा

आइरहेछन् यहाँ

खोजिरहेछन् घाउहरु

कुनै मौसम चाहिन्न जुकालाई

बाह्रै महिना चलायमान बन्छन् जुकाहरु ।

जुकाहरु–

मान्छेलाई मन पराउँछन्

मान्छेको रगत चुस्छन्

र, मान्छेलाई मेट्न चाहन्छन्

घाउ खोज्न जुकाहरु

ओहोर दोहोर गर्छन् र प्रतिष्पर्धा गर्छन्

जुकाहरु पुरानो घाउ बिर्सन्छन्

र नयाँ घाउ बनाउछन्

अनि चुस्छन् रगत ।

देश पनि एउटा मान्छे हो

देशलाई चुसे रगत आउँछ

देशलाई चुसे घाउ बन्छ

र, घाउ बने देशलाई दुख्छ

जुकाहरु सधैं देश चुसिरहेछन्

घाउहरु बनाइरहेछन्

नयाँ र पुराना घाउ बनाइरहेछन् ।

देश एउटा शरीर हो

देशको पनि अनुहार हुन्छ

देशको पनि जिउडाल हुन्छ

त्यसैले त मेचीमा जुका पस्छ

महाकालीमा पनि जुका पस्छ

र रगत चुस्न घाउ बनाउछन् जुकाहरु

अनि देशको शरीरबाट रगत बग्छ

अहिले पनि देशभित्र जुका पसिरहेछन्

चहराइरहेछन् घाउहरु

भत्किरहेछन् खम्बाहरु

र चर्किरहेछन् आस्थाहरु

झरिरहेछन् आँसुहरु

चुडिरहेछन् मनहरु

टुक्रिरहेछन् विचारहरु ।

खम्बा रक्षकहरु अब

भइसके भक्षक

समाउछन् जुकाहरु

च्यात्छन् इतिहासहरु

र रुवाउछन् आमाहरु

थाहा छैन, घाउमा

कुन बेला बसे जुकाहरु

दुखिरहेछ ÷बल्झिरहेछ

र, रोइरहेछन् खम्बाहरु ।

आँसु झार्छ महाकाली

पिरोलिन्छ कोशी–गण्डकी

बिथोलिन्छ पीडाहरुले

पोखिन्छन् व्यथाहरु

त्यसैले त देश छ पूर्वमा

उत्तरमा पनि देश छ

र, देश छ–पश्चिम र दक्षिण पनि ।

हामी त्यही देशका मान्छे हौं–

जुन देशमा जुकाले रगत चुस्दैछन्

जुन देशका खम्बा दुख्दैछन्

र, जुन देशका मान्छे रुदैछन्

यहाँ पनि त देश छ

मान्छेहरु छन्

पहाडहरु छन्

विचारहरु छन्

भावना छन्

हिउँ फुल्ने डाँडाहरु छन्

र, तोरी फुल्ने विशाल तराई छ

हो, हामी त्यही देशका मान्छे हौं ।

जुकाहरु

मेचीबाट पसून् वा कालीबाट छिरुन्

डराउन्नौ हामी

बन्यो होला बेग्लै सन्धि विगत

मान्छे, मान्छे हौं हामी

खोजीहिड्छौ जुका

चुस्न दिन्नौं देशलाई

बस्छौं बरु मुट्टी

किनभने प्यारो छ देशको रगत

र, प्यारो छ हाम्रो भूमि

प्यारा छन् हाम्रो देशका मान्छेहरु

र प्यारो छ हाम्रो देशको आकाश ।

रोल्पा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।