14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दार्जिलिङका नयाँ पुस्ताका समालोचना - केही आशा केही निराशा

विचार नवीन पौड्याल February 2, 2015, 3:19 am
नवीन पौड्याल
नवीन पौड्याल

१. विषय प्रवेश –

भारतीय नेपाली साहित्यको मुख्य थलो दार्जिलिङ हो। यहाँबाट राम्रा राम्रा कृतिहरू प्रकाशित हुँदै आएका छन्। यसका साथै समालोचना पनि निकै फस्टिएको पाइन्छ। सूर्यविक्रम ज्ञवालीदेखि लिर रामकृष्ण रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, गणेशलाल सुब्बा हुँदै अहिले बासुदेव पुलामीसम्म आइपुगेको समालोचनाले निकै विकसित हुने अवसर पाएको छ। अहिले समयमा यहाँबाट नेपाली समालोचना निकै फस्टिएको पाइन्छ। प्रत्येक पत्र-पत्रिका र दैनिक पत्रहरूमा पनि नेपाली समालोचना देख्न पाइन्छ। दैनिक पत्रको आइतबारे अङ्कदेखि लिएर साहित्यिक पत्रिकामा समालोचना ले निकै स्थान ग्रहण गर्दो अवस्था छ। नयाँ नयाँ हाँचका समालोचकहरू दिनानुदिन देखा पर्छन्। समालोचनाकै किताब प्रकाशित गर्ने तथा अन्य पुस्तक प्रकाशन नगर्नेहरूको संख्या पनि धेरै देखिन्छ। डा कृष्णराज घतानी, राजु हिमाङ्शु प्रधान, डा दिवाकर प्रधान, तेजमान बराइली, जय क्याक्टस, हिरा छेत्री, डा कविता लामा, डा सञ्जय बान्तवा, डा राजकुमार छेत्री, सुकराज दियाली, देवराज शर्मा, डा राजकमारी दाहाल, बिनेश प्रधान, डा इन्द्रबहादुर छेत्री, बासुदेव पुलामी, मेघनाथ छेत्री, दिल श्रेष्ठ, गङ्गाप्रसाद भट्टराई हुँदै निमा निची शेर्पा, भूपेन तामाङ, सुधीर छेत्री, योगेश खाती, मेहेरमान सुब्बा, डा योगेश पन्थ, डा गीता छेत्री, सुजाता रानी राई, कबीर बस्नेत, सपन प्रधान, देवचन्द सुब्बा आदि नयाँ पीढीँका देखा परेका छन्। यसैगरी विभिन्न पत्र-पत्रिकामा खोजी पसेमा धेरै भेटिन्छन्। यसरी हेर्दा नयाँ नयाँ समालोचकहरूको उदय हुनु हाम्रो साहित्यको निम्ति शुभलक्षण हो। सिर्जना र सर्जकलाई समालोचना चाहिन्छ।

२. दार्जीलिङका नयाँ पुस्ताका समालोचकहरूको सामान्य प्रवृत्ति- यसमा केही सामान्य प्रवृत्ति केलाउने प्रयास गरिन्छ-

क. प्रायः जसो समालोचकहरूले पूर्वीयभन्दा पाश्चात्य समालोचनाका सामान्य पद्धति र प्रणालीलाई आत्मसात गरेको देखिन्छ।

ख. कविता विधा बढी समालोचित देखिन्छ भने कथा र उपन्यास समालोचना पनि पाइन्छन्।

ग. केही समालोचकहरूले पश्चिमका नयाँ सिद्धान्तलाई अवलम्बन गरी लेखेका छन्।

घ. हालका वर्षहरूमा वर्षमा चार-पाँचवटा समालोचनाका पुस्तक प्रकाशित हुँदैगरेको देखिन्छ।

ङ. नेपाली भाषा-साहित्य पढाउने स्कूल र कलेजका शिक्षकहरूले यस क्षेत्रमा बढी कलम चलाएको देखिन्छ।

च. प्राज्ञिक, अनुसन्धानात्मक समालोचना निकै फस्टिएको देखिन्छ।

छ. गीत, गजल, हाइकु आदि उपविधाहरूको समालोचना पनि फस्टिँदै गएको देखिन्छ।

ज. विधापरक, कृति र कृतिकारपरक, सर्वेक्षणात्मक, निरूपणात्मक, शैक्षणिक आदि समालोचना पनि फस्टिँदै गएको देखिन्छ।

झ. थोरै मात्रामा भए पनि भाषाकेन्द्री, नारीवादी, सांस्कृतिक, सौन्दर्यशास्त्रीय, शैलीवैज्ञानिक, संकेतवैज्ञानिक आदि समालोचना पनि देखा परेका छन्।

३. दार्जीलिङका नयाँ पुस्ताका समालोचकहरूका केही कमी कमजोरी- यस चरणका दार्जिलिङेली नेपाली समालोचनामा केही कुरा खटकिएको, वा कमी कमजोरी आदि पनि देखिन्छन्-

क. दोस्रो र तेस्रो चरणको तुलनामा यस चरणको समालोचना फस्टिएको देखिन्न।

ख. प्रभाववादी समालोचनाको वर्चस्व र आधिक्य कायम रहेको छ।

ग. समालोचकहरूले गुण पक्ष वा प्रशंसापरक समालोचना बेसी लेखिएको देख्न पाइन्छ। कृतिकारका कृतिभित्र रहेका कमजोरी वा दोष पक्षमाथि त्यति प्रकाश पारिएको देखिन्न।

घ. कृतिभन्दा पनि बढी कृतिकारको प्रशङ्सा गरिएको पाइन्छ।

ङ. धेरै समालोचकहरूले कृतिको आन्तरिक पक्षको राम्रो अध्ययन नगरी बाहिरी पक्ष र सामान्य भाव पक्षको मात्र चर्चा गरेको देखिन्छ।

च. यस चरणमा सैद्धान्तिकभन्दा व्यवहारिक समालोचनाको वर्चस्व देखिन्छ।

छ. नयाँ नयाँ समालोचना प्रणाली, सिद्धान्त आदिका आधारमा समालोचना फस्टिएका छैनन्। सबल्टर्न, सांस्कृतिक अध्ययन, नवफ्रायडवादी, उत्तर औपनिवेशिक साहित्य अध्ययन, नवमार्क्सवाद, लिङ्ग विमर्श, संकेतपरक, सौन्दर्यशास्त्रीय, भाषाशास्त्रीय, पर्यावरणीय चेतनामूलक, सांस्कृतिक आदि जस्ता नयाँ सिद्धान्तमा आधारित समालोचनाको पनि कमी देखिन्छ। यस्ता किसिमका समालोचना लेख्ने समालोचकहरू थोरै वा नगण्य देखिन्छन्।

ज. समालोचनाका नाममा प्राज्ञिक किसिमको प्राध्यापकीय अध्ययनको पनि केही मात्रामा वर्चस्व कायम देखिऩ्छ।

झ. यस चरणका समालोचनामा कविता र आख्यान कृति र कृतित्वमाथि मात्र बढी समालोचित देखिन्छ यद्यपि नाटक र निबन्धका बारेमा त्यति समालोचना गरिएको पाइन्न।

ञ. तुलनात्मक, समाजशास्त्रीय, मनोविश्लेषणात्मक, समालोचना पनि छाडिएको देखिन्छ।

ट. पूर्वीय समालोचना सिद्धान्तका आधारमा लेख्नेहरूको नगण्य उपस्थिति देखिन्छ।

ठ. कतिजना समालोचकहरूले कृतिको अध्ययन गरी गम्भीर भएर लेख्नेभन्दा रहर र करले लेखिएका हुनाले समालोचनाभन्दा टिका, समीक्षात्मक टिप्पणी वा सामान्य पुस्तक निरूपण बढी छन्।

ड. एक दुईजनाबाहेक नेपाली विषयमा उच्च अध्ययन गरेका समालोचकहरू मात्र उपस्थिति देखिन्छ। यसो हुनु कुनै पनि साहित्यको निम्ति शुभलक्षण होइन। अरू विषयमा उच्च अध्ययन गर्नेले पनि नेपाली साहित्य सिर्जना गर्नु र समालोचना लेखिनु आवश्यक छ।

ढ. यस हाँचमा एक-दुईजनाबाहेक प्रगतिवादी समालोचकहरूको अभाव देखिन्छ।

ण. यस हाँचका समालोचकहरूले स्थानीय लेखकका धेरै राम्रा राम्रा कृतिहरूबारे समालोचना त्यति बढी लेखेका छैनन्।

त. कृतिको आन्तरिक पक्षलाई निरीक्षण गर्ने शैलीविज्ञान, संकेतविज्ञान, भाषिक, पराभाषिक आदि किसिमको समालोचना टाक्सिएको देखिन्छ।

४. मूल्याङ्कन र उपसंहार- जे होस, भारतीय नेपाली साहित्यको केन्द्रविन्दुको रूपमा रहेको दार्जीलिङमा नेपाली समालोचना निकै फस्टिएको देखिन्छ। सूर्यविक्रम ज्ञवाली, रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ हुँदै विभिन्न मोड-उपमोड पार गर्दै अघि बढेको देखिन्छ। सिर्जनाका सँगसँगै अब नयाँ नयाँ डफ्फाका समालोचकहरूको उपस्थिति दिनानुदिन बढिरहेको छ। प्रभाववादी समालोचना लेख्नेहरूको बढी मात्रामा देखिए तापनि केही समालोचकहरूले कृति र कृतित्वबारे गम्भीर अध्ययन गरी निख्खर र सिर्जनात्मक समालोचना गरेका छन्। डा दिवाकर प्रधान, डा सञ्जय बान्तवा, जय क्याक्टस, राजु प्रधान हिमाङ्शु, डा कविता लामा, डा. ममता लामा, डा राजकुमार छेत्री, रेमिका थापा, सुधीर छेत्री, बासुदेव पुलामी, मेघनाथ छेत्री, देवचन्द सुब्बा, सोनाम लामा, विनेश प्रधान, कवीर बस्नेत, गङ्गाप्रसाद भट्टराई, सरोज राई, धनबहादुर मगर, निमा निची शेर्पा जस्ता नयाँ पीँढीका समालोचकहरूको उदय र उपस्थितिले नेपाली समालोचनाको क्षितिज अझै फराकिलो हुने सम्भावना छ। यस्ता केही उत्साही समालोचकहरूले नयाँ नयाँ साहित्यिक सिद्धान्तलाई अध्ययन, मनन र चिन्तन गरी त्यसलाई समालोचनामा प्रयोग गरेको पनि पाइन्छ। समग्रमा हेर्दा दार्जिलिङे नव पुस्ताको समालोचना केही निराशाजनक, केही आशाजनक स्थिति देखिन्छ। यस हिसाबले हेर्दा दार्जिलिङको नेपाली समालोचनाको भविष्य उज्ज्वल छ, आशा गरौं।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।