घर नजिकैको
कुनै टोड्कामा
जब कराउँछन् कौवाहरु
हजुरआमा र हजुरबाहरुको होस् उड्थ्यो
उहाँहरुको निराश आवाज हुन्थ्योँ
''लौ अब के अनिष्ट हुने हो
कुन दुःखी खबर सुन्नुपर्ने हो ?'
हजुरआमाहरु मात्र होइन
आमा र बासम्म आइपुग्दा पनि
उही त्रास र डरको घण्टी बज्थ्यो
जब कौवाहरु कराउँथे ।
साच्चै
किन कराउँछन् यी कौवाहरु
कराउन त कराउनु किन मान्छेका कानै चिर्न खोज्नु
किन मान्छेका स्वासै हर्न खोज्नु
वा
किन डराउँछन् मान्छेहरु
कतै आफैसँग कमजोर त छैनन्
डराउन त डराउनु जाबो कौवासँग
जाबो कर्कश आवजसँग
म यसभित्रको वैज्ञानिकता जोड्न खोज्दैछु
कारण यो पनि हुनसक्छ
जब
परम्परा तोड्दैनन् मान्छेहरु
जब
पराधीन हुन्छन् मान्छेहरु
अनि आँत्तिछन् मात्रै
कुनै प्रतिरोध गर्दैनन्
जब कौवाहरु कराउँछन्
फगत आफ्नो मुटु छाम्छन्
पराधीनताको परिचय दिन्छन् ।