सन्दर्भः
कसैका लागि एक दिन बराबरको २४ घण्टा समय साह्रै धेरै भएको छ। उनीहरू कसरी बिताउने भनेर चिन्ता व्यक्त गर्दछन्। डा रुपक श्रेष्ठलाई सधै समय थोरै भएको छ तापनि अलिकति मन मिलाएर रुचिको विषयमा खर्च गर्दछन्, त्यो रुचिको विषय भनेको साहित्य सिर्जना हो। सोहीकारण उनी, आफूजस्तै मनसँग अलिकति नजिकिन्छन् र अलिकति पोखिन्छन्। यसरी नजिकिने र पोखिनेमध्येका उनी र पङ्क्तिकार हांै भन्दा अन्यथा नहोला। त्यो सन्दर्भ मिलाउने भनेकै समय सँगसँगै भएको सूचना र प्रविधिको विकासले रहेछ यो ठम्याइ मात्र हो। समय र प्रविधिको विकाससँगै पङ्क्तिकारलाई मुहारपुस्तिकाले तान्यो। जसले आज धेरै काम गरेको छ। कहिले मन बिग्रेको वेला शान्त पार्ने माध्यम बन्छ। कहिले आफूलाई वरिष्ठ एवम् वलिष्ठ ठान्नेहरूको हैसियत थाहा पाउने अवसर मिल्छ। यो मात्र होइन सबैभन्दा महŒवपूर्ण त वाङ्मयिक विधाका बारेमा जानकारी गराउने माध्यम नै मुहारपुस्तिका बनेको छ। विभिन्न साधकसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेको छ, यसै सन्दर्भमा जोडिएका मेरा अनन्य मित्र हुन् श्रेष्ठ। उनीसँग नियमित जस्तै भेट हुन्छ। अलिकति औपचारिक, अलिकति अनौपचारिक। दुःखसुखका, वाङ्मयिक यात्राका भलाकुसारी हुन्छन्। भलै उनीसँग घर परिवारका, काम व्यवहारका र रोजीरोटीका कुराकानी गर्न हामीले अझैसम्म भ्याएका छैनौं। जुन सन्दर्भ हाम्रो आवश्यकताको विषयमा आजसम्म परेन। उनै स्रष्टा र उनको कविता यात्राको बारेमा थोरबहुत चर्चाको प्रयास यहाँ गरिएको छ। यस लेखनीका विषयवस्तु बनेका स्रष्टा मुहारपुस्तिकामा नजिक हुनुभन्दा पहिला नै पढिएका र केही रचना मागेर प्रकाशनको पहल गरिएका स्रष्टा पनि हुन्। यस्तै वि.सं. २०६८ सालको मङ्सिर ३ गते पृथ्वीनारायण क्याम्पसको सभाहलमा आयोजित ‘लोक साहित्य र राष्ट्रिय सड्डोष्ठी’मा श्रेष्ठको ‘बिगबेन र समय’ कवितासङ्ग्रह उपहार प्राप्त भएको थियो। जसकाबारेमा केही लेखौला भन्दा धेरै वर्ष बिते। आज उनै श्रेष्ठको ‘बिगबेन र समय’ कवितासङ्ग्रहका बारेमा थोरबहुत चर्चाको प्रयास गरिएको छ।
विषयप्रवेशः
कास्कीको देउरालीमा जन्मेका श्रेष्ठ (२०२२) देउरालीबाटै अक्षर चिन्न थालेका हुन्। विश्व शान्ति माध्यमिक विद्यालयबाट आफ्नो अध्यनलाई अगाडि बढाएका श्रेष्ठ उच्च शिक्षाका लागि पृथ्वीनारायण क्याम्पससम्म झरे। केही अध्ययन र अध्यापनलाई उनले सँगसँगै अगाडि बढाए। यसरी समय बित्दै जाँदा थप अध्ययन र जिन्दगीको पदचापलाई सहजता प्रदान गर्न उनी बेलायत पुगे र बु्रनेल विश्वविद्यालय लण्डनबाट विद्यावारिधीको उपाधी प्राप्त गरे। वर्तमानसम्म उनले आफ्नो बसोबास र जिन्दगीको नौका त्यही बसेर डो¥याइरहेका छन्। जब श्रेष्ठ वाङ्मयको क्षेत्रमा जोडिन आउछन् तब उनी २०५२ साल सम्झन पुग्छन्। जुन समय उनले फुटकर कविता र कथा प्रकाशनको शृङ्खला सुरु गरेका थिए। पछिल्ला दिनहरूमा उनको लेखनीले निरन्तरता पाउँदै जान थालेपछि गरिमा, मधुपर्क, जनमत, सत्यतथ्य मासिकलगायतका पत्रपत्रिकामा फुटकर रचना प्रकाशन हुँदै गए। रचना प्रकाशन सँगसँगै उनी विभिन्न वाङ्मयिक सङ्घसंस्थामा पनि क्रियाशील रहे। श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टर, पोएट्री सोसाइटी बेलायत, प्यास गजल पत्रिकालगायतका सङ्घसंस्थामा सङ्लग्न छन्। वाङ्मयिक सङ्लग्नता र पत्रपत्रिकामा रचना प्रकाशनको सिलसिलामै विभिन्न संयुक्तसङ्ग्रह र साप्ताहिक पत्रिकामा पनि क्रमशः स्थान पाउँदै गए। यो अवस्था २०६७ सम्म निरन्तर रÞयो। उक्त शृङ्खलालाई निरन्तरता दिदै श्रेष्ठको ‘बिगबेन र समय’ (२०६८) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरबाट पहिलो कविता कृति प्रकाशन भयो। जसमा ५० थान कविताहरू सङ्गृहीत छन्। तीनै ५० थानमध्ये एक थान कवितामा उनी यसरी पोखिन्छन्ः
सहर–सहरभरि, गाउँ–गाउँभरि
हुलका हुल मुर्कट्टाहरू
जिन्दावाद र मुर्दावाद गर्दै
बुख्याँचाहरूलाई
कहिले अविरजात्रा गर्छन्
कहिले मोसोजात्रा गर्छन्
तोडफोड, आगजनी र मारामारमै मस्त छन्
गिदीविहीन गिँडहरु ¤ मुर्कट्टाका भीडहरू ¤ (बुख्याँचा र मुर्कट्टाहरू, पृ ः २३)
श्रेष्ठ हिजो कास्कीको एउटा गाउँमा जन्मे, हुर्के, गाउँकै आटो, रोटो, पीठो, मिठो, नमिठो जे जस्तो भेट्यो त्यस्तै खाए। आज उनै श्रेष्ठ बेलायतमा बस्छन्। सम्पन्नताले आत्तिएका होलान्। अहम्ताले मात्तिएका होलान, आफ्नो ठाउँमा छ। तर उनी देशप्रेम, राष्ट्र र राष्ट्रियताले यती धेरै रोलान भनेर कसैले पनि कल्पना गरेका थिएनन् तर उनले त्यो देखाइदिए, आफ्नो साहित्यिक यात्रामा। उनको वर्तमानसम्मको सिर्जना यात्रालाई हेर्दा बेलायती शैली र सम्पन्नताले गाजेको छैन। जस्तो देख्छन्, भेट्छन् त्यस्तै लेख्छन्। श्रेष्ठ मनका भावनालाई सिर्जनामा पोख्छन्। यो श्रेष्ठको कविता यात्राकोे सवल पाटो मान्न सकिन्छ। श्रेष्ठ कहिले कवितामा अर्को महाभारतका कुरा उठाउछन्। कहिले नेपालले मनाएको पर्यटन वर्ष २०११ का सन्दर्भलाई सम्झन्छन्। कहिले पप्पीका डेका कुरा कहिले एकादेशका कथा। जसलाई जसरी लिए पनि जन्म दिने आमा र जन्मभूमि सबैका लागि प्यारो हुन्छ त्यसैले उनी पनि आमालाई सम्झन्छन् र यसरी पोखिन्छन्ः
निधारैभरि चुम्बन आमाको
सम्झेर छाती को नफुलाउला ?
कसले आफूलाई बेसहारा ठान्ला ?
कसैले मायालु स्वरले बोलाउँदा
आमाको याद कसलाई नआउला ? (आमाको याद, पृ ः ७६)
छाती दुख्दा आमाको सम्झनाको पीडा एकातर्फ छ, अर्कोतर्फ विषालु साँपहरूको आतङ्क पनि उस्तै। यस्तै वर्तमान समय श्रेष्ठका लागि मात्र होइन सबैका लागि संसार साँघुरिएको छ। संसार साँघुरिएको मात्र होइन समय पनि। सोही कारण लण्डनका मान्छे जस्तै थेम्स नदी पनि व्यस्त छ। एकातर्फ कास्कीको देउराली गाउँ छ, अर्कोतर्फ बेलायतको सम्पन्नता। एकातर्फ सत्य युगका कुरा अर्कोतर्फ कलि युगका। यी सबै विषयवस्तुको सङ्गम हो बिगबेन र समय। श्रेष्ठ सामाजिक विकृति र विसङ्गतीलाई सिर्जनाकै लाममा उन्छन्। राष्ट्र र राष्ट्रियताले ओतप्रोत हुन्छन्। जन्मभूमी र कर्मभूमी दुवैलाई माया र सम्मान गर्छन् त्यसैको उपज उनको कविता कृति जन्मेको अध्ययनका क्रममा अनुमान हुन्छ। नेपालको सीमा, सांस्कृतिक धरोहर, शासन पद्धतिलगायतका कुरामा सहयोगका नाममा अतिक्रमण भएको छ। यो श्रेष्ठका कविताले व्यक्त गरेको धारणा हो। देशको नीतिनियम र कानुन पटक–पटक सुत्केरी बेथाले ग्रस्त भयो। कति वेला सास फुत्कने हो भनेर चिन्ता र चासोको विषय बन्यो। अन्तरिम संविधानलाई बेथा लाग्दालाग्दा देश बर्बाद भएर गयो। देशमा अराजकताले राज्य जमायो। हामीले चुनेर पठाएका इमान्दार नेता भनौदालाई दलीय जलपले चिन्नै नसक्ने बनाएको पीडा उनका कविता हुन्। यसरी श्रेष्ठको कविता यात्रालाई आकलन गर्दा उनी राष्ट्रवादी भाव धाराका कवि बनेका छन् पहिलो कृतिकै माध्यमबाट। कतै विद्रोह ओकेल्छन्, कतै सालिनतापूर्वक सौन्दर्यचेतको बिजारोपण गराउछन्। राष्ट्रियताप्रतिको चासो, जनजीविकासँगको चिन्ता, संविधान निर्माणको चाहना, सामाजिक एवम् सांस्कृतिक विसङ्गतिप्रति प्रहार र अग्रगामी सकारात्मक सोच नै श्रेष्ठका ५० थान कविताका विषय हुन्।
निष्कर्षः
समाजका थरीथरी मान्छेले थरीथरी कामका लागि समय खर्चेका छन्। ती सबैलाई समय थोरै भएको छ। यस्तो अवस्थामा बिम्ब, प्रतिक र अलङ्कार विनाको सिर्जना साहित्य हुन्छ र हुँदैन भन्ने वहसको विषय चलिरहेको छ। यस्तो वेला श्रेष्ठले सरल कविता लेखेर युद्ध जित्ने प्रयत्नमा लागेका छन्। उनी आफ्नो जन्मभूमि र कर्मभूमि दुवैलाई समान श्रद्धा र सम्मान गर्दछन्। नेपाल आमाका इमान्दार सपुत्रबाट राष्ट्र र राष्ट्रियताका लागि यो भन्दा ठूलो योगदान अरु के हुन सक्छ ? चाहे यहाँ आएका बिगबेनका कुरा हुन् चाहे इन्द्रचोक र वेदका। व्यस्त सहरको व्यस्त जिन्दगीको यात्रालाई सहज बनाएर जागिरे समयपछिको प्रत्येक सेकेन्ड समय सिर्जनालाई अर्पण गरेका श्रेष्ठले आफ्नो जीवन र यात्रालाई एउटा उत्सव बनाएका छन्। भाषाशैलीको सन्दर्भमा उनी सरल र सहज भाषाशैलीको प्रयोग गर्दछन्। नेपाली, अङ्ग्रेजी र नेवारी भाषाको त्रिवेणी कृतिमा पाउन सकिन्छ। तत्सम् तत्भव र आगन्तुक शब्दको सुहाउँदो प्रयोगले लेखनीको मार्ग प्रसस्त गरेको पाइन्छ। उनी सामान्य जनजीवनका सन्दर्भलाई गहन तवरबाट विश्लेषण गर्दछन्। यसैले आफ्ना भावनाको अभिव्यक्तिलाई सिर्जनाको लाममा उन्न सफल भएका छन्। हरेक व्यक्तिका सिर्जनामा भावना, कल्पना र सम्वेदना व्यक्त हुन्छन्। भावना र सम्वेदनाका सुस्केराहरूले मानवीय भावना र सम्वेदनाको विश्लेषण गर्न सक्दैन भने त्यो सिर्जना हुन सक्दैन। तर श्रेष्ठका सिर्जनामा दुवै सन्दर्भले व्यापक स्थान पाएका छन्। राजनैतिक, सामाजिक, आर्थिक, र सांस्कृतिक मूल्य मान्यतालाई सिरोधार्य गरेर सदासर्वदा सिर्जना यात्रामा लाग्नु नलाग्नु श्रेष्ठको भोलिको कुरा हो तापनि श्रेष्ठ विचारको युद्ध गर्ने स्रष्टा हुन् त्यसैले उनको लेखनीमाथि शंका गर्नुपर्ने कारण देखिदैनन्। उनी मानवता हराएको दुनियाँमा मानवता खोजेर हिँडेका छन्। नैतिकता बिर्सेकाहरूलाई नैतिकताको पाठ पढाएका छन्। इमानमा बाँच्न नजान्नेहरूलाई इमान र जमानको कुरा सिकाएका छन्। नेपाल आमाको सन्तान भएर स्वाभिमानका साथ बाँच्न नसकेकाहरूलाई स्वाभिमानी बन्न प्रेरणा दिने मात्र होइन जन्मभूमि र कर्मभूमिलाई बराबर माया दर्शाउने स्रष्टा श्रेष्ठलाई उनको सिर्जना यात्राको थप सफलताको शुभकामना।
ठूलाडिही ६, स्याङ्जा
सन्दर्भ ग्रन्थसूचीः
श्रेष्ठ, डा. रुपक, बिगबेन र समय, २०६८ बेलायत ः अनेसास
प्रधान, कृष्णचन्द्र सम्पा, साझा समालोचना ते.सं., २०४४, काठमाडौं ः साझा प्रकाशन।
पराजुली, ठाकुर, नेपाली साहित्यको परिक्रमा, दो.सं., २०५६, काठमाडौं ः साझा प्रकाशन
श्रेष्ठ, दयाराम, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, पाँ.सं., २०५६, काठमाडौं ः साझा प्रकाशन
पोखरेल, भानुभक्त, साहित्यिक अनुशीलन दो.सं., २०५७, काठमाडौं ः साझा प्रकाशन
एटम, नेत्र, समालोचनाको स्वरूप, २०६१, काठमाडौं ः साझा प्रकाशन।
थापा, प्रा.डा. मोहनहिमांशु, साहित्य परिचय पाँ. सं., २०६६, काठमाडौं ः साझा प्रकाशन।