निबन्धकार विनयकुमार शर्मा नेपालद्वारा रचित सानो आाकार प्रकारको पुस्तक माथापच्चीमा सङ्कलित निबन्धहरु पढिरहँदा मेरो मनमा एक क्षणमा लुप्त हुँदै र अर्को क्षणमा प्रकट हुँदै एउटा प्रश्न उठिरह्यो— ‘हैन, के भन्छ यो मान्छे ?’ ।
साँच्चै चर्को माथापच्ची छ यी निबन्धहरुमा । यिनलाई पढ्दा अनुभूति, अध्ययन, ज्ञान र तर्कसहित एकसाथ माथापच्ची गर्नुपर्छ । वेला वेलामा कहाँ कहाँको ज्ञान र कता कताका तर्कहरुले रन्थन्याउँछन् । अभिव्यक्तिमा अनौठो पाराको विद्रोह छ, बोधमा अनौठो किसिमको निजत्व छ र विचारमा अनौठो प्रकारको जिराहापन छ । ठाउँ ठाउँमा उद्दण्डता पनि देखिन्छ— कसैलाई नटेर्ने । साथमा कतै कतै आफ्ना कुरा नमान्नेलाई हकार्ने शैली पनि छ । आफ्नो बुझाइ र अनुभूतिलाई एकसाथ व्यक्त गर्ने निबन्धकारको यस्तो तरिका रमाइलो लाग्यो मलाई । यी निबन्धहरु पढ्दापढ्दै म चाहिँ निबन्धकार विनयकुमार शर्माको अध्ययनशीलताको कायल भएँ । कति थोरै पढेको रहेछु मैले त ! पुस्तक थोरै पढ्ने र कुरा धेरै गर्ने म जस्ता साहित्यकारहरुले अहिलेसम्म थाहा नपाएका तर थाहा पाउनुपर्ने धेरै कुराहरु यसमा रहेका छन् । त्यसैले यी निबन्धहरु मलाई ज्ञानवद्र्धक, बौद्धिक, पठनीय र विचारणीय लागे । यी निबन्धहरुले साहित्यकार विनयकुमार शर्माको आन्तरिक व्यक्तित्व बलियो छ भन्ने कुरा प्रमाणित गर्छन् ।
त्यसो त निबन्धकार विनयकुमार शर्माको बाहिरी व्यक्तित्व पनि कम्ताको छैन । शरीर हे¥यो— दुब्लो, पातलो र खिनौटे । बोली सुन्यो— तिखो, चर्को र ठाडो । कुरा सुन्यो— धारिलो, जिराहा र तार्किक । चालढाल हे¥यो— हरक्षण केही न केही काममा धसिइरहेको, केही न केही कुरा गरिरहेको । पहिरन हे¥यो— शिरदेखि पाउसम्म कालो पहिरनमा बेरिएको । अनुहार हे¥यो— के के सोचिरहेको, आफैमा हराउँदै मुस्कुराइरहेको । धेरै व्यक्ति सेता र उज्याला कपडा लगाई पाउडर आदि दली अनुहार धपक्क पारेर प्रकट हुन्छन् । तिनीहरुको अनुहार उज्यालो हुन्छ तर मन भने प्रायः कालो र अँध्यारो । विनयकुमार शर्मा भने प्रायः एकनासको कालो पहिरनमा हुन्छन्; एकनासको व्यवहारमा देखिन्छन्— सधैँ अनौपचारिक, सधैँ हक्की, सधैँ सक्रिय, सधैँ गफमा मस्त र मुस्कुराइरहेका । व्यवहार गर्दा थाहा हुन्छ— उनको मन सेतो र उज्यालो छ । उनको व्यवहारमा औपचारिकता छैन, लप्पनछप्पन पनि छैन । हो, अलि ठाडो पाराले प्रस्तुत हुन्छन् । त्यसैले उनलाई राम्ररी ठम्याउन नसकेका मानिसहरुलाई सायद लाग्दो हो— कस्तो ठड्यौरो व्यक्ति रहेछ यो । उनीसँग व्यवहार नगर्दासम्म मलाई पनि यस्तै लाग्थ्यो । वास्तवमा उनलाई चिन्न केही समय उनीसँगै हुनु जरूरी छ । उनका निबन्धहरुलाई बुझ्नका लागि पनि उनको व्यक्तित्व, कर्म र जीवन दर्शनसँग परिचित हुनु आवश्यक लाग्छ मलाई । म चाहिँ उनको अनौपचारिक व्यवहारमा निश्छलता पाउँछु । निश्छलता मलाई मन पर्ने गुण भएकाले म उनलाई मन पराउँछु । उनको निश्छलता केही आक्रोशमय र केही प्रश्नशील बनेर यी निबन्धहरुमा पनि व्यक्त भएको छ । मन परेको मान्छेको अभिव्यक्ति त्यसै पनि राम्रै लाग्छ । यी निबन्ध मलाई मन परेका छन् तर निबन्धकार व्यक्ति मन परेकाले मात्र निबन्ध मन परेका भने होइनन् ।
निबन्धात्मक कृतिमाथि भूमिका लेख्नु सबैभन्दा कठिन र जोखिमको काम लाग्छ मलाई । त्यसमाथि निबन्धकार विद्वान्, अध्ययनशील र तार्किक समेत छ भने त भूमिका लेखकको चुनौती झन् बढ्छ किनभने निबन्धमा दर्शन र विचारको प्रबलता हुन्छ । दर्शनमा जीवन दृष्टि हुन्छ, विश्वदृष्टि हुन्छ र आत्मदृष्टि पनि हुन्छ । दर्शनहरु अत्यन्त गम्भीर अध्ययनका विषय हुन्छन् । सामान्य मानिसका लागि दर्शनको गहिराइसँग परिचित हुनु कठिन हुन्छ । त्यसैले म गम्भीर विमर्श गरिएका निबन्ध सङ्ग्रह तथा दर्शन प्रधान कृतिमाथि भूमिका लेख्न डराउँछु । म यसरी डराउनुका पछाडि एउटा कारण त आफ्नो अज्ञानताको पोल खुल्ला भन्ने भय नै हो भने अर्को कारण न्यायपूर्ण लेखन हुँदैन कि भन्ने भय पनि हो । जब बौद्धिक र दार्शनिक निबन्धहरुमाथि भूमिका लेख्न बस्छु तब यस्तै भयले सताउँछ अनि भूमिकाको साटो निबन्धै लेखिदिऊँ जस्तो पनि लाग्छ । यो भूमिका पनि एउटा निबन्ध नै हुन बेर छैन ।
माथापच्ची यस निबन्ध सङ्ग्रहको पहिलो निबन्ध हो । यसै निबन्धको शीर्षकबाट प्रस्तुत किताबको नामकरण गरिएको छ । प्रत्येक निबन्ध एक निश्चित विषयमाथि गम्भीर रुपमा विमर्श गर्दै तयार पारिएका छन् । कथ्यका लागि ग्रहण गरिएको विषयमाथि गम्भीर विमर्श गरिएकाले सबै निबन्धमा निबन्धकारले माथापच्ची गरेको देखिन्छ भने बौद्धिक पाठकलाई माथापच्ची गर्न विवश पार्ने उद्देश्य समेत लेखकले लिएको अनुमान हुन्छ । त्यसैले पनि पुस्तकको नाम माथापच्ची राखिएको हुनपर्छ । यो अनुमान ठिक छ भने यस पुस्तकको नामकरण सार्थक छ भन्ने मलाई लागेको छ ।
मैले निबन्ध किन लेखेँ ? शीर्षकको आत्म कथनमा निबन्धकार शर्माले यो पुस्तक तयार पार्नुका कारणबारे स्पष्टीकरण दिएको पाइन्छ । यस आत्म कथनमा पनि एक प्रकारको बौद्धिक विमर्श छ । ‘प्रकृतिको काम हो निरन्तर उत्पादन गर्नु, सदैव ऊर्जाशील रहनु, दिनहुँ रुपान्तरमा लागिरहनु’ भन्ने अभिव्यक्तिका माध्यमबाट लेखकले आफू गतिशील र उत्पादनशील जीवनका पक्षमा रहेको जानकारी दिएका छन् भने ‘शरीरको मोटोपनभन्दा बुद्धिको तीक्ष्णतालाई अपनाएँ’’ भन्ने अभिव्यक्तिका माध्यमबाट मोटो किताबभन्दा काम लाग्दो किताब लेखिनुपर्छ भन्ने कुरामा विश्वास प्रकट गरेका छन् । यसरी नै ‘साहित्यमा कुनै विधाले गर्न नसकेको काम निबन्ध विधाले गर्छ’ भन्ने भनाइद्वारा उनले निबन्धप्रतिको प्रगाढ निष्ठा व्यक्त गरेका छन् । यस अभिव्यक्तिका माध्यमले उनी साहित्यमा सबैभन्दा बढी महङ्खव निबन्धलाई दिन्छन् भन्ने कुरा बुझ्न सकिन्छ । सायद निबन्धमा अनुभूति र वैचारिक पक्षलाई निर्बन्ध, सघन र सम्पूर्ण रुपमा अभियक्त गर्न सकिने भएकाले यस्तो धारणा बनेको होला ।
लेखकले आफ्ना यी निबन्धहरु तुलनात्मक निबन्ध हुन् भन्ने स्पष्टीकरण आत्म कथनमा नै दिएका छन् भने ‘तर्क र प्रमाण, प्रश्न र उत्तर तुलनात्मक निबन्धका प्रमुख बिन्दु हुन्’ भन्दै तुलनात्मक निबन्धका विशेषता पनि बताएका छन् । आफूले यस प्रकारका निबन्ध लेख्नुको कारण बताउँदै र यी निबन्ध तुलनात्मक निबन्ध हुन् भन्ने स्पष्टीकरण दिँदै निबन्धकारले लेखेका छन्— ‘तुलनात्मक निबन्ध लेखिन सक्छ र लेखिन हुन्छ भन्ने आशय प्रकट गर्न मात्र माथापच्चीको रुपमा उपस्थित रहेँ । कुनै निबन्धले विषयवस्तुकै रुपमा तुलनात्मकतालाई दृष्टि दिन्छ भने कुनैमा भाव सम्प्रेषण मात्र तुलनात्मक छ । कतै संवाद शैलीका एकालाप गरिने प्रयत्न गरिएको छ ।’
‘माथापच्ची’ भित्रका प्रत्येक निबन्धहरुमा विषय र विचारको एउटा बलियो धागो छ, जसमा विभिन्न मिल्दाजुल्दा सन्दर्भ प्रसङ्गहरु उन्दै कथ्यसम्म पुग्ने प्रयत्न गरिएको छ । ती सन्दर्भ प्रसङ्गहरुलाई विषय र विचारसँग भिडाइएको छ र कथ्यको पुष्टिका लागि सदुपयोग गरिएको छ । छरिएका सामग्रीको संयोजनबाट सुन्दर कलाको निर्माण गरिए झैँ विषयसँग मिल्दा र छरिएका कुराहरुलाई कलात्मक संयोजनका माध्यमबाट शृङ्खलाबद्ध पारिएको छ । यसो गर्दा लेखकले आफूले गरेको बहुआयामिक अध्ययन र त्यसबाट प्राप्त गरेको ज्ञानको भरपुर उपयोग गरेका छन् ।
माथापच्ची निबन्ध सङ्ग्रहको नाम पनि हो र निबन्धको शीर्षक पनि हो । यो निबन्ध एकातिर लेखकको आफ्नै जीवन यात्राका अनुभूतिको संयोजन हो भने अर्कातिर जीव वैज्ञानिक विषयमा लेखिएका पुस्तकको अध्ययनबाट प्राप्त गरेका सारभूत ज्ञानको प्रकाशन पनि हो । यसमा यौनिक÷प्रजनन सम्बन्धी विज्ञान र प्रकृतिको अध्ययनबाट लेखकले बोध गरेका कुरा पनि समेटिएका छन् । प्रकृतिमा घनघोर सङ्घर्ष गरी विजयी भएपछि मात्र कुनै जीव वा प्राणीको अस्तित्व बच्छ र मान्छे पनि प्रकृतिसँग सङ्घर्ष गर्दै यसरी नै बच्दै आएको हो भन्ने विचारका माध्यमबाट यस निबन्धमा सङ्घर्षको दर्शनलाई प्रस्तुत गरिएको छ भने प्रजनन प्रक्रियासँगको आफ्नो सैद्धान्तिक ज्ञान पनि प्रस्तुत गरिएको छ । यस क्रममा गर्भवती आमाको खानपान, व्यवहार, वातावरण आदिबाट पेटमा रहेको बच्चामा पर्ने प्रभावका बारेमा बताउँदै निबन्धकारले सामाजिकता र सभ्यताले मानिसलाई प्रकृतिबाट अलग्याउँदै लग्छन् भने परिवार र समाजले दिएका संस्कारले मान्छेका प्रवृत्ति, ज्ञान र अहंको निर्माण हुन्छ भन्ने बुझाइ प्रस्तुत गरेका छन् । मान्छे अनुकरणशील स्वभाव भएको प्राणी हो भन्ने कुरा बताउँदै उसले अनुभव गर्नुपर्ने बाध्यताको व्याख्यासमेत यसमा गरिएको छ । वस्तुतः यस निबन्धका माध्यमबाट मान्छेको आफ्नो जीवन, परिवार र समाजसँग उसकोे सम्बन्ध, उसको निजत्व, सामाजिक दायित्व र सामाजिक नैतिकताका साथै शैक्षिक तथा अन्य पक्षहरुका बारेमा विमर्श गरिएको छ ।
को वरिष्ठ ? को कनिष्ठ ?शीर्षकको दोस्रो निबन्धमा प्रतिपाद्य विषयमाथि तुलनात्मक तरिकाले विचार गरिएको छ । यसमा मानिसको अहं तथा अरुको चाकरी गरी आफ्नो दुनो सोझ्याउनमा माहिर मान्छेको स्वभावको वर्णन गर्दै वरिष्ठता र कनिष्ठताको मापन के हो भन्ने प्रश्न उठाइएको छ । यस क्रममा प्रकृतिको अद्भुततालाई विस्मयका साथ हेर्दै धर्तीमा रहेका सात अरब मान्छेका मनोभाव, उनीहरुका आँैलाका छाप र अनुहार एकआपसमा नमिले जस्तै वरिष्ठता र कनिष्ठताको सतही मानदण्ड पनि मिल्दैन भन्ने धारणा प्रस्तुत गरिएको छ । लेखकले मान्छे आफूलाई चिनाउन, अरुबाट आफूलाई मनाउन र अरुभन्दा आफूलाई श्रेष्ठ देखाउन प्रयत्नशील छ र त्यसका निम्ति उसले सक्दो हस्तक्षेप, चाटुकारिता, तानाशाही लागु गर्छ भने सकेको ठाउँमा दबाब पनि दिन्छ भन्दै मान्छेका तुच्छ स्वभावको चित्रण गरेका छन् । साथमा उनले श्रेष्ठता र तुच्छता सापेक्षित कुरा हुन्; औचित्य र प्रभावका आधारमा मात्र यसको मापन हुन्छ भन्ने विचार व्यक्त गरेका छन् । यसै निबन्धमा नेपाली साहित्यका क्षेत्रमा देखा परेका र विकसित हुँदै गएका सतहीपन, आडम्बर र स्तरहीन सामग्री प्रकाशनको होडबाजीको चर्चा गर्दै लेखकहरुले अनावश्यक रुपमा गर्ने आत्म प्रचारको आलोचना गरिएको छ, जुन यथार्थपरक छ ।
निबन्धकार विनयकुमार शर्मा समाज सचेत तथा जीवनवादी स्रष्टा हुन् । उनका निबन्धहरु समाज र जीवनको सूक्ष्म निरीक्षण गर्दै लेखिएका हुन्छन् । तिनमा सकारात्मक सोचमा जोड दिइएको हुन्छ । यस्तो सन्देश दिनका लागि नकारात्मक क्रियाकलापको उद्घाटन गरिएको हुन्छ । बन्दशीर्षकको निबन्ध यस्तै समाज सचेत तथा जीवन सचेत चैतन्यको प्रस्तुति हो । यसमा नेपाली समाजमा ज्यादै नै नकारात्मक प्रभाव पार्ने गरी गरिने नेपाल बन्दलाई विषय बनाइएको छ । बन्दले गर्दा धनजनको क्षति हुने, संस्कृति र देशको इज्जतमाथि धक्का पर्ने र राष्ट्रको हानि हुने कुरातर्फ बन्दकर्ताको ध्यान नगएकोमा दुख व्यक्त गरिएको छ । जनता र देशलाई फाइदा हुने भए मात्र यस्ता कार्यक्रम गरिनुपर्ने, नत्र यस्ता कार्यले समाज र जीवनमा गलत संस्कारको विकास मात्र गर्ने ठहर निबन्धकारको देखिन्छ । यस क्रममा लेखक बन्दले बन्दकर्ताको अहंलाई केही शान्ति दिए पनि देश र जनताको भलो कहिल्यै गर्न नसक्ने निष्कर्ष प्रस्तुत गर्छन् । नेपाललाई बारम्बार बन्दको बन्दी बनाउने राजनीतिक पार्टी तथा अन्य बन्दकर्ताहरु सारमा राष्ट्रघाती हुन् भन्ने विचार व्यक्त गर्दै निबन्धकारले बन्दका अनेक दुष्परिणामहरु बताएका छन् । अभिव्यक्तिमा आक्रोश छ । साथमा बन्दकर्तासँग गम्भीर प्रश्नहरु सोधिएका छन् । यसबाहेक यस निबन्धमा शासकहरुको निर्लज्जता र कृतघ्नताको कटु आलोचना गर्दै राजनीतिक तथा सामाजिक नेतृत्व गर्ने अगुवाहरु धेरै नै स्वार्थी भएको निष्कर्ष निकालिएको छ । निबन्धकारका विचारमा सबैभन्दा खतरनाक कुरा चेतना बन्द हुनु हो । चेतना, मुटु, प्रजनन प्रक्रिया, निर्माण प्रक्रिया सबै बन्द भए भने जीवन नै बन्द हुन्छ भन्ने मार्मिक कुराका माध्यमबाट बन्दको गलत संस्कृति हटाउन सन्देश दिने यस निबन्धमा तार्किकता व्यापक मात्रामा रहेको छ । यसले समसामयिक यथार्थको बोध गर्ने लेखकमा रहेको सूक्ष्म निरीक्षण शक्तिको परिचय दिन्छ ।
विनयकुमार शर्मा अत्यन्त परिश्रमी स्रष्टा हुन् । समय खेर नफाल्ने नेपाली स्रष्टामा यिनको नाम पनि पर्छ । हर समय केही न केही अर्थपूर्ण कार्यमा सक्रिय हुनु यिनको विशेषता हो । यिनको सक्रियतामा श्रमप्रति श्रद्धाका अभिलक्षण देखिन्छन् । आफू जस्तै सबै मानिसको जीवन निर्माणशील सक्रियतामा समर्पित भए हुन्थ्यो भन्ने यिनको चाहना छ । यिनीभित्रको निबन्धकार जिज्ञासु छ, प्रश्नशील छ ।मानव जीवन श्रेष्ठ हुनुपर्छ भन्ने
धारणा राख्ने यिनी श्रेष्ठताको मानक के होला भनी घोत्लिन्छन् । अनुकरणशीलताको बारेमा घोत्लिन्छन् । स्वाभाविक बनौँ शीर्षकको निबन्धमा यिनको यस्तो रूचि र श्रमप्रतिको धारणाले विशेष ठाउँ पाएका छन् । यस निबन्धमा पनि अन्य निबन्धहरुमा जस्तै प्रश्नशील जिज्ञासाहरु रहेका छन् । लेखक एकमाथि अर्को प्रश्न वा जिज्ञासा थप्दै जिज्ञासाहरुको चाङ निर्माण गर्छन् र पाठकलाई रनभुल्लमा पार्छन् । यस शैलीले नै पाठकलाई निबन्धसँग बाँधिराख्छ ।
के सत्य ? के असत्य ?पनि तुलनात्मक जिज्ञासा र गम्भीर अध्ययन प्रस्तुत गर्ने निबन्ध हो । लेखक सत्यलाई अनेक कोणबाट केलाउँछन् । सत्यका अनेक पक्षहरुबारे छलफल गर्छन् । मूल सत्य र गौण सत्यका बारेमा विचार गर्छन् । उनका विचारमा मूल सत्य एकै हुन्छ, त्यो हो वस्तुताको सत्य । तर मानिसहरु वस्तुताको सत्यलाई पनि आफ्नो अनुकूल पारेर फरक फरक व्याख्या गर्छन् । यस निबन्धमा सूक्ष्म विमर्श छ, गम्भीर प्रश्न छन् । सय जना मान्छेलाई बराबर दुरीमा वरिपरि उभ्याएर सगरमाथा हेर्न लगाउने र त्यसको चित्र बनाउन दिने हो भने उनीहरुले बोध गरेको र लेखेको सगरमाथाको खाका वा चित्र ठ्याम्मै एकै होला वा फरक ? यस्ता प्रश्नहरु तेस्र्याउँदै निबन्धकार भन्छन्— सत्य समष्टि हो र खण्ड पनि । उनका विचारमा मस्तिष्कले जे कल्पना गर्छ, जस्तो सपना देख्छ, ती सबै सत्य हुन् तर आंशिक । भाव सत्य, विचार सत्य र वस्तु सत्यका बारेमा यस निबन्धमा उनले गरेको मन्थनले पाठकलाई बाँधिराख्छ । सत्यको जटिलतामाथि गरिएको गम्भीर विमर्शले छलफलका लागि प्रशस्त सामग्री दिन्छ ।
तुलनात्मक विमर्श गर्ने अर्को निबन्ध हो को आस्तिक ? को नास्तिक ?यो निबन्ध पनि बौद्धिक र प्रश्नशील छ । प्रस्तुति तार्किक छ । निबन्धकार प्रश्नहरुमा नै उत्तरको खोजी गरिरहेका देखिन्छन् । यसमा आस्तिकताको अलि बेग्लै व्याख्या प्रस्तुत गरिएको छ । ‘वस्तुको अस्तित्व वा विद्यमानता स्वीकार गर्ने सबका सब आस्तिक हुन् भने वस्तुको अस्तित्व वा विद्यमानता अस्वीकार गर्ने सबका सब नास्तिक हुन्’ भन्ने मौलिक व्याख्या लेखकले गरेका छन् । यस्तो व्याख्या अन्त पनि पाइएला तर लेखकले यस भनाइमार्फत बहसका लागि नयाँ ढोका खोलेका छन् । लेखकलाई लाग्छ— प्रत्येक वस्तुको वा भावको महङ्खव विपरीतको साथ टपक्क मिलेर रहेको हुन्छ । उनी अस्तित्वलाई सापेक्षित रुपमा पनि हेर्छन् । प्लस र माइनसको सापेक्षतामा पनि हेर्छन् । विश्व प्रसिद्ध दार्शनिक तथा तिनका दर्शनलाई आधार बनाएर पनि उनी अस्तित्वको चर्चा गर्छन् । सबैले आफ्नो स्वार्थअनुरुप अस्तित्वको व्याख्या गर्छन् भन्ने बुझाइ उनको देखिन्छ । उनको बुझाइमा सबै स्वार्थी छन् र आफ्नो स्वार्थअनुरुप नै कुरा गर्छन् ।
भावुकतामा बगेको समयमा उनी विरोधाभासपूर्ण अभिव्यक्ति पनि दिन्छन् । एक ठाउँमा लेख्छन्— ‘मान्छेका मन र मस्तिष्कलाई भुट्ने कृष्णदेखि आइन्स्टाइनसम्म, ताओदेखि बुद्धसम्म, चार्वाकदेखि माक्र्ससम्म, फ्रायडदेखि भ्यालेन्टाइनसम्म सबका सब आस्तिक, चतुर–छट्टुबाज !’ चतुरसम्म त ठिकै हो तर छट्टु भन्नु कति जायज हो ? पाठक रन्थनिन सक्छ । माक्र्सवादका बारेमा निबन्धकारले गरेको टिप्पणीले कतिपय माक्र्सवादीलाई असन्तुष्ट बनाउन सक्छ वा निबन्धकारले माक्र्सवादलाई बाहिर बाहिर पढेका रहेछन्, राम्ररी बुझेका रहेनछन् भन्ने लाग्न पनि सक्छ । अस्तित्वका कुरा गर्दागर्दै निबन्धकार सन्दर्भ पारेर अन्य कुरामा पनि छलफल गर्छन् । छलफलको विषय मान्छे नै हुन्छ । मान्छेको मनस्थितिलाई पढ्छन् । बुझ्ने प्रयत्न गर्छन् । उनलाई लाग्छ— निःस्वार्थ कोही छैन, निःस्वार्थी कोही छैन । ‘मान्छे एक्लो पनि बाँच्न नसक्ने । ऊ आफ्नो वर्ग पनि चाहने र आफ्नै वर्गभित्र पनि आफ्नो अस्तित्व देखाएर ‘म’ भन्ने बडप्पन पाल्ने ज्याद्रो प्राणी हो’ भन्ने बुझाइ उनको छ । उनको यस व्याख्यालाई लिएर पनि गम्भीर विमर्श गर्न सकिन्छ । अर्थात् यी निबन्धहरुले पाठकलाई प्रतिक्रियाविहीन भएर रहन दिन्नन् । सायद यही नै यी निबन्धको विशेषता हो ।
निबन्धकारको ध्यान समसामयिक साहित्यकारका प्रवृत्तितिर पनि गएको छ; प्रकाशक र मिडियातिर पनि गएको छ । आफू पनि यी यस क्षेत्रसँग सम्बन्धित भएकाले उनले यस क्षेत्रका विकृतिहरुलाई बुझेका छन् । पुस्तक लेखन, मिडिया र प्रकाशन शीर्षकको निबन्धमा उनको यसतर्फको ज्ञान, बोध र चाहना अभिव्यक्त भएको छ । यसमा कालजयी साहित्यप्रतिको पक्षधरता छ र मन छुने सिर्जना नै वास्तविक र सुन्दर सिर्जना हो भन्ने बुझाइ छ । निबन्धकारलाई लाग्छ— ‘साहित्यको जुनसुकै रचना वा ग्रन्थले जबसम्म मान्छेका मन र मस्तिष्कलाई थरथराउने, झनझनाउने र पगाल्ने गराउँदैन, त्यस्तो रचना वा ग्रन्थ लामो कालसम्म जीवित रहन सक्दैन ।’ नेपाली साहित्यमा मिडियाको विकृत चलखेल बढ्दै गएकोमा निबन्धकार चिन्तित छन् । पैसावाल सतही लेखक, पैसालाई नै मूल्याङ्कनको आधार बनाउने मिडिया र तिनको सतही चलखेल बढेकाले वास्तविक र सच्चा लेखक पछाडि परेको बोध लेखकलाई छ ।
वास्तवमा आज मिडियाले साहित्य क्षेत्रलाई उत्ताउलो बजारको माल बनाइदिएको छ; बजारीकरण गरेर कुरुप पारिदिएको छ । मिडियाहरु पैसा खान पाएपछि कामै नलाग्ने कृति तथा साधनाहीन र स्तरहीन लेखकको प्रचारप्रसारमा निर्लज्ज किसिमले जुट्न थालेको दृश्य देखिनु अचेल सामान्य भएको छ । सच्चा साधकहरु चाटुकारितामा विश्वास गर्दैनन्, स्वाभिमानी हुन्छन् । चाकरी गर्दैनन्, पैसाको बलमा नभई गुणात्मक सिर्जनाको बलमा बाँच्न चाहन्छन् । त्यसैले उनीहरु प्रचार प्रसारका लागि आत्मा बेच्दैनन् । तर आज पुँजीवादी मिडियाको पैसामुखी बजारीकरणले त्यस्ता सच्चा लेखकहरु ओझेलमा पर्दै गएका छन् । यसले एकातिर स्रष्टामाथि अन्याय भएको छ भने अर्कातिर नेपाली साहित्यको स्तर इतिहासभन्दा पनि कमजोर देखिएको छ । यस्तो दुखद अवस्थाको बोध निबन्धकारलाई छ र उनले यसलाई लिएर गम्भीर चिन्ता र नागरिक चासो प्रकट गरेका छन् । यस क्रममा ‘नाम चलेका केही क्षमतावान् लेखकहरु पनि पैसासामु निरीह बनेर बिकाउ बनेका छन्’ भन्दै निबन्धकारले अन्य सच्चा लेखकहरुलाई सतर्क बनाउने प्रयास पनि गरेको देखिन्छ । सच्चा लेखकको मूल्याङ्कन गर्दै निबन्धकार लेख्छन्— ‘सच्चा लेखक जो वास्तवमै भद्र, शालीन, कर्मप्रति इमानदार र स्वमुखी छन्, आँधी आओस् वा तुफान, पहाड झरोस् वा आकाश— मुस्कुराइरहन्छन्— मौन ।’ यसो भनेर उनले लेखकीय स्वाभिमान र धैर्यका पक्षमा लाग्न लेखकहरुलाई सन्देश दिन खोजको पाइन्छ ।
यस निबन्धमा निबन्धकार विनयकुमार शर्माको ध्यान नेपाली भाषाको बदलिँदो स्वरुपतिर पनि गएको छ । उनी नेपाली भाषालाई निजी स्वार्थपूर्ति गर्न दुरूपयोग गरिँदै छ भन्ने ठान्छन् । उनी लेख्छन्— ‘देश सबैतिरबाट आक्रान्त र कमजोर भएको वेलामा भाषामाथि विद्वान् भनाउँदाहरुले विदेशी प्रलोभनको आडमा थुप्रै अन्योल सिर्जना गरिदिएका छन् ।...अचेल बनाउनेको भन्दा भत्काउनेको सङ्ख्या दिन दुना रात चौगुना बढेको छ ।’ उनले गरेको यो सङ्केत नेपाली वर्ण विन्यासमा गरिएको पछिल्लो परिवर्तन र त्यसले निम्त्याएका समस्यातर्फ केन्द्रित देखिन्छ । यहाँनिर स्मरणीय के छ भने उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गतको नेपाली विषय समितिले जनताको र सरोकारवालाहरुको राय लिएर केही समय उनीहरुका प्रतिक्रिया तथा प्रयोग क्षेत्रका परिणामहरु हेरेपछि गर्नुपर्ने परिवर्तनका कार्य त्यसो नगरी गरेको, हतारमा गरेको, केही पैसामा लोभिएर गरेको र पद, प्रतिष्ठा र इतिहास निर्माणको महत्त्वाकाङ्क्षा पालेर गरेको तथा नेपाली भाषा साहित्य र संस्कृतिलाई विदेशीको इसारामा ध्वस्त पार्ने प्रयत्न गरेको भन्ने आरोप विभिन्न व्यक्ति र सङ्घसंस्थाहरुबाट लगाइएको हो र अहिले पनि लगाइँदै नै छ । निबन्धकार विनयकुमार शर्माको विचार पनि त्यस्तै देखिन्छ ।
यस निबन्धको अन्तिम अनुच्छेद विशेष महङ्खवको छ । यसमानिबन्धकारले नेपाली लेखकहरुका सामुु गम्भीर प्रश्नहरु उठाएका छन् । यी प्रश्नहरुले लेखकहरुलाई सतर्क हुन सन्देश मात्र दिँदैनन्; चुनौती पनि दिन्छन् । यी प्रश्नहरुमा सच्चा लेखक को हो ? इतिहास निर्माण गर्ने लेखक कस्ता हुन्छन् ? लाखौँ लेखकहरु जन्मे, आफ्नो युगमा चर्चामा पनि रहे र मरे तर हरेक युगका दुई चार जना स्रष्टा मात्र किन सम्झिइन्छन् ? अन्य लेखकहरु कहाँ बिलाए ? आदि गम्भीर प्रश्नहरु गरिएका छन् । यस्ता प्रश्नका माध्यमबाट लेखकले स्रष्टा र सिर्जनाको दीर्घ जीवनका आधार पहिल्याउन लेखकहरुलाई घच्घच्याएको देखिन्छ । यसो गरेर निबन्धकारले सारभूत रुपमा साहित्यमा प्रौढताको र स्रष्टामा इमान, नैतिकता, स्वाभिमान र साधनाको आवश्यकतामाथि जोड दिइरहेको देखिन्छ ।
निबन्धकार शर्मा आफूले लिएको विषयलाई परिभाषित गर्ने प्रयत्न गर्छन् । यस क्रममा अरुले भनेका कुराभन्दा आफूले बुझेका कुरालाई प्रश्रय दिने प्रवृत्ति उनको देखिन्छ । जीवन र जीवनको उहापोह शीर्षकको निबन्धमा जीवनका बारेमा परिभाषा दिँदै लेख्छन्— ‘जहाँ आयु छ, रुपान्तरको हद छ, त्यही जीवन हो ।...यो संसारमा मान्छेद्वारा गरिने, मान्छेलाई हुने सबै क्रिया, घटना र तारतम्य सबै हो जीवन । जीवन आनन्दले बाँच्न मान्छेमा कला चाहिन्छ ।’ यस क्रममा उनले बाँच्ने कला जान्नु र नजान्नुमा जीवन सार्थक हुनु र नहुनु निर्भर गर्छ र जीवनको सार्थकता बाँच्ने कलामा पारङ्गत हुनुमा छ भन्ने निष्कर्ष प्रस्तुत गरेका छन् । उनका विचारमा वर्तमानमा रमाएर बाँच्नु नै जीवन जिउने सच्चा कला हो ।
सारतः निबन्धकारले जीवन र सुखदुखका बारेमा दार्शनिक तथा अनुभवजन्य आधारमा गम्भीर तर्क–वितर्क र विमर्श गरेको देखिन्छ । जीवनका बारेमा मात्र नभई मृत्युका बारेमा पनि विमर्श गरिएको छ— ‘अहङ्कार र हीनता पालेर आफ्नो भित्र भएको क्षमता भुल्नु भनेको नै मृत्यु हो । क्षण क्षण आफ्नो स्वपनलाई बलि चढाएर बाँच्नु जिउँदै मर्नु हो ।’ त्यस्तै यस निबन्धमा लेखकले युगबोध गर्दै समसामयिक नेपाली जीवन, यहाँको राजनीति, यहाँका सामाजिक असङ्गति, ह्रासोन्मुख चरित्र आदिका बारेमा टिप्पणी गरेको देखिन्छ । यी टिप्पणीमा समस्याहरु देखाइएका छन् तर निबन्धकार समस्यामा मात्र खेलेका छैनन् । समस्याहरु समाधानका लागि हुन् भन्ने कुराको हेक्का उनलाई छ । हरेक कुरामा विकल्प रहन्छ भन्ने कुरा ‘विकल्पको कहिल्यै अन्त हुँदैन’ भन्ने अभिव्यक्तिमार्फत प्रस्तुत गरेका छन् । यो निबन्धकारले गरेको सत्यबोध हो ।
समग्रमा भन्दा माथापच्ची नयाँ प्रयोग गर्ने चाहनाअनुरुप ज्ञान र अनुभूतिलाई मिलाएर तयार पारिएका तुलनात्मक निबन्धहरुको सङ्ग्रह हो । यहाँ सङ्कलित रचनाहरु तुुलनात्मक अध्ययनका कसीमा रचिएका छन् । यो निबन्धकारको नयाँ प्रयोग पनि हो । प्रायः सबै निबन्धमा दुई वा त्योभन्दा बढी विषय वा पक्षमाथि तुलनात्मक ज्ञान र बोधको प्रस्तुति पाइन्छ । यस कृतिमार्फत निबन्धकारले नयाँ प्रयोग गरेका छन् । यी निबन्धहरुले
निबन्धकारको बौद्धिक क्षमताको परिचय दिन्छन् । निबन्धकारमा विभिन्न विषयसित सम्बन्धित पुस्तकहरुको अध्ययन छ, अध्ययन गरेर प्राप्त गरेका सार कुराको हेक्का छ, पूर्वीय तथा पाश्चात्य जगत्का ज्ञान र विज्ञान एवं दुवैतिरका दर्शन र साहित्यसँगको परिचय छ तथा समाज र राजनीतिका अनेकतासँगको परिचय पनि छ । उनी तर्कशील छन् । यी निबन्धहरुले उनलाई गीता, भागवत्, पुराण, वेद, उपनिषद्, इतिहास, दर्शन आदिका अध्ययनकर्ताका रुपमा पनि चिनाउँछन् ।
माथापच्ची आफू नेपाली भएकोमा तथा पूर्वीय संस्कृतिबाट दीक्षित पात्र भएकोमा गौरवबोध गर्ने देशभक्त निबन्धकारका निबन्धहरुको सङ्ग्रह पनि हो । नेपालको नयाँ पुस्ता आफ्नो गौरव बिर्सी पश्चिमको अन्धानुकरण गर्ने दिशामा मोडिँदै गएको देखेर चिन्तित बनेका निबन्धकार सबैजसो निबन्धमा देखा पर्छन् । ज्ञानलाई बोधका तहमा र विज्ञानलाई प्रयोगका तहमा बुझ्नुपर्नेमा परम्परा र अन्ध विश्वासका रुपमा मात्र बुझ्नाले नेपालीहरु विश्वभन्दा धेरै पछि परेका हुन् भन्ने बुझाइ निबन्धकारको छ ।
माथापच्चीका निबन्धहरुमा मान्छेका विभिन्न प्रवृत्तिहरुको अध्ययन पनि गरिएको छ । यी निबन्धले पाठकलाई मान्छेका प्रवृत्तिहरुको अध्ययन गर्दै मान्छे भएर जन्मनुको अर्थ र जीवनको सार्थकता बुझ्न सन्देश दिन्छन् भने पाठकलाई बौद्धिक र तर्कशील बन्न सघाउ पु¥याउँछन् । लेखकमा व्यङ्ग्य चेतना पनि व्यापक देखिन्छ । उनी मान्छेका अहं, घमन्ड, व्यक्तिवादी प्रवृत्ति आदिको विश्लेषण आलोचनात्मक भएर गर्छन् । त्यस्तो प्रवृत्ति भएका मानिसलाई व्यङ्ग्य गर्छन् । समाजका विकृत पक्षहरुको आलोचना निर्भीक भएर गर्छन् । प्रत्येक कुरामा धनात्मक र ऋणात्मक पक्ष रहन्छ भन्ने वैज्ञानिक यथार्थलाई स्वीकार गरी लेखिएका यी निबन्धहरु विषय छनोट, विषयको विस्तार र कथ्यको सघनतामा सफल छन् । भावकमा वैचारिक तरङ्ग उत्पन्न गराउनु यिनको विशेष सफलता हुने छ ।
नियतमा सफा र मान्छेको स्वाभिमानलाई धेरै नै महङ्खव दिँदै तयार पारिएका यी निबन्धहरु सुन्दर नै छन् तापनि बौद्धिक पाठकहरु केही कुरामा असन्तुष्ट नै रहिरहने सम्भावना पनि छ । भाव तथा विचारको पुनरावृत्ति धेरै छ; यद्यपि यसबारे लेखक सचेत छन् र आफ्नो भनाइमा यसबारे पहिले नै स्पष्टीकरण दिएका पनि छन् । समस्या पाठकीय सम्प्रेषणमा देखिन सक्छ भन्ने मलाई लाग्छ । लेखक आफूले भनेको वा भन्न खोजेको कुरामा सायद स्पष्ट नै छन् तर सामान्य पाठक सायद स्पष्ट नहोला । कुरा गहिरा छन् तर प्रस्तुति अलि विकीर्ण छ र अन्तर्वस्तुले विमर्शको माग गर्छ । लेखकको मनमा भाव वा विचार सायद स्पष्ट भएरै आएका हुनन् तर शब्दमा आउँदा त्यत्तिकै मूर्त भएर आउन सकेनन् कि ? लेखकले बुझाउन खोजेका कुरा त्यही रुपमा बुझेर पाठकले ट्वाक्क भन्न सक्लान् जस्तो लाग्दैन । दार्शनिक तथा अध्ययन सामग्रीको मात्रा बढी भएर पनि यस्तो भएको हुन सक्छ । तर निबन्धकारबाट उठाइएका प्रश्न जायज छन् र जीवन तथा समाजसँग गाँसिएरै आएका छन् । निबन्धहरुले बौद्धिक बहसका लागि मनग्गे सामग्री दिन्छन् भने सम्बन्धित विषयमा चिन्तन गर्न पाठकमा दबाब सिर्जना पनि गर्छन् । त्यसैले बौद्धिक तर्क विलासका लागि पनि यी निबन्धहरुमा प्रशस्त ठाउँ रहेको पाइन्छ ।
आलोचनामा पनि सापेक्षित हुने गर्छ । आलोचना गर्नेले जसरी आलोचना गर्छ, लेखक त्यसमा सहमत नहुन पनि सक्छ तर कतै कतै केही नपुगे नपुगे जस्तो भने लाग्छ । राम्रा र घत लाग्दा कुराकानी गर्दागर्दै निबन्धकार कता कता बरालिन्छन् । यस बानीले केही निबन्धलाई विश्वास र अविश्वासको अन्योलमा पु¥याएको पाइन्छ । एकातिर निबन्धकार वैज्ञानिक चिन्तन गरिरहेका देखिन्छन् भने अर्कातिर समानान्तरमा आदर्शवादको प्रभावमा परिरहेका पनि देखिन्छन् । लेखक प्रत्येकजसो निबन्धमा वस्तुवादी पनि छन् र रहस्यवादबाट प्रभावित पनि देखिन्छन् । प्रकृतिका अनन्तता देखेर पनि लेखकमा यस्तो प्रभाव परेको हुन सक्छ वा पूर्वीय दर्शनको अध्ययन र वैयक्तिक संस्कारगत बोधले पनि यस्तो भएको हुन सक्छ । जीवन र जीवनको उहापोह यस प्रकृतिको अभिव्यक्ति दिने प्रतिनिधि निबन्ध हो । पूर्वीय जीवन पद्धति तथा पूर्वीय दर्शनप्रति लेखकमा प्रगाढ आस्था छ भन्ने कुरा यस निबन्धले स्पष्ट पार्छ । निबन्धकार पूर्वीय जीवन दर्शनको आढ्यताबाट प्रभावित देखिन्छन् भने वेद र उपनिषद्प्रति उनको आस्था यहाँ मूर्त रुपमा अभिव्यक्त भएको छ ।
यी निबन्धहरुमा लेखकको चिन्तन दह्रो गरी आएको छ तर त्यसमा विरोधाभास पनि छ । भावनामा बग्दै जाँदा कहिलेकाहीँ निबन्धकार तार्किकताबाट टाढिन्छन् । उनी टाढिएको अवस्थामा यस्तो विरोधाभास देखा पर्छ । जीवन र जीवनको उहापोह निबन्धमा उनी लेख्छन्— ‘मान्छेको सबैभन्दा ठुलो शत्रु र मित्र दुवै मन मात्र हो’ । यस भनाइमा आएको ‘मात्र’ शब्दले सत्यबोधलाई कमजोर तुल्याएको छ । मन सुखदुखको एक कारण अवश्य हो तर यो मात्रै सुखदुखको एक मात्र कारण भने होइन । मनको अवस्थाका साथै परिस्थितिले, सामाजिक परिवेशले, आर्थिक अवस्थाले, राज्य व्यवस्थागत स्वरुपले, प्रकृतिसँगको सम्बन्धले आदि आदि अनेक कारणले व्यक्ति जीवनमा सुख या दुखको अवस्था सिर्जना हुने गर्छ । फेरि यी कुराहरु मनस्थितिको निर्माण गर्ने आधार पनि हुन् । मन एक्लै बन्दैन । मनले बाहिरी समाजलाई र बाहिरी समाजले मनलाई बराबर प्रभावित पारिरहन्छन् । मन पवित्र, सकारात्मक र सच्चा भएकै स्थितिमा पनि व्यक्तिले अनेक प्रकारका दुखानुभूति गर्नुपर्ने बाध्यता आइपर्छ । यस सत्यलाई निबन्धकारले स्वयं पनि धेरैपटक अनुभूत गरेको हुनुपर्छ तर यस अभिव्यक्तिमा भावुकताको मात्रा सायद धेरै भयो र विरोधाभास देखा प¥यो । यस्तो अवस्था अन्य निबन्धका अनेक अभिव्यक्तिमा पनि पाउन सकिन्छ । यसो भनिरहँदा म के कुरा पनि स्वीकार गर्छु भने सबै कुरा सबैका लागि मान्य र ठ्याक्कै मिल्ने भएर आउनुपर्छ भन्ने आग्रह गर्नु पनि अवैज्ञानिक र अवस्तुवादी आग्रह नै हुन्छ ।
वस्तुतः विनयकुमार शर्मा नेपाल प्रश्नशील बौद्धिक निबन्धकार हुन् । मान्छेका समग्र जीवन जिज्ञासा र त्यसका उत्तर खोज्दै बित्छ र उसलाई अहंको मोहले आजीवन पछ्याउँछ भन्ने बोध यिनलाई छ र यो बोध निबन्धहरुमा बारम्बार प्रकट भएको पाइन्छ । आत्मपरकता, तार्किकता, बौद्धिकता, व्यङ्ग्यात्मकता, संवार्ता र संवादात्मकता तथा आत्मालापसहितको तुलनात्मकता यी निबन्धको शैली पक्ष हो । मलाई उपलब्ध गराइएको पाण्डुलिपिमा व्याकरणिक तथा शब्दकोशीय दृष्टिले केही कसरमसर रहेको भाषा थियो । प्रकाशनमा आउँदा यस्तो कसरमसर सच्चिएर नै आउने छ भन्ने लागेर भाषिक त्रुटिका बारेमा यहाँ केही लेख्न मन लागेन ।
मेरो मूल्याङ्कनमा माथापच्ची निबन्ध सङ्ग्रहमा सङ्कलित रचनाहरु दुब्लो शरीर, दह्रो मन र तार्किक मस्तिष्कका वैचारिक निबन्धहरु हुन् । यी निबन्धहरुले हामीलाई बौद्धिक बहस गर्नका लागि मनग्गे सामग्री दिन्छन् र चिन्तन गर्नका लागि दबाब सिर्जना पनि गर्छन् । त्यसैले बौद्धिक विमर्श गर्नका लागि यी निबन्धहरुमा प्रशस्त ठाउँ रहेको पाइन्छ । यी निबन्धहरुको सबैभन्दा ठुलो प्राप्ति पनि यही हो भन्ने मैले ठानेको छु ।
मलाई यी निबन्धहरुमा व्यक्त गरिएका तलका सूत्रवाक्यहरु विशेष रुपमा मन परेका छन् ः
— आफूखुसी जीवन चल्दैन रहेछ ।
— मन र विचारको धनी नभई कोही सच्चा स्रष्टा हुन सक्दैन ।
— आफूलाई स्वाभाविक चरित्रमा ढाल्न सकेमा मान्छे अवश्य नै सुखी हुन सक्छ ।
— आशाबाट मुक्ति नै पीडाबाट मुक्ति हो । पीडामुक्त हुनु नै संसारका यावत् तङ्खवलाई समान देख्नु हो ।
— आफूलाई स्वीकार गर्नेले अरुको अस्तित्वलाई पनि स्वीकार गर्न सक्नुपर्छ ।
— यस सृष्टिमा कुनै त्यस्तो चीज छैन जसको आयु वा सीमा नहोस् ।
— सबै किसिमको द्वन्द्वभन्दा मनको द्वन्द्व गहन हुन्छ ।
— मान्छे अरुलाई बदल्न चाहन्छ तर आफू बदलिन चाहन्न ।
— वस्तुको अस्तित्व वा विद्यमानता स्वीकार गर्ने सबका सब आस्तिक हुन् ।
आलोचना गर्ने नै हो भने धेरै कुरा भन्न सकिन्छ । निबन्धकार विनयकुमार शर्माका निबन्धलाई लिएर मात्र होइन, यसै भूमिकालाई लिएर पनि आलोचना गर्न सकिन्छ । तर सिर्जनाको लक्ष्य आलोचित हुनु होइन; न त समालोचनाको लक्ष्य आलोचना गर्नु मात्र हो । सिर्जना र समालोचना एक प्रकारले स्वयं नै आलोचना पनि हुन्; जीवन र जगत्का मूल्याङ्कन पनि हुन् । सिर्जना र समालोचनाको लक्ष्य त जीवनलाई सुखी र सम्पन्न तथा समाजलाई सुन्दर र न्यायपूर्ण पार्नका लागि आआफ्नो सीमामा रही सकारात्मक भूमिका खेल्नु नै हो । मनको परिष्कार र विचारको स्पष्टताका लागि यी निबन्धहरुले जति मात्रामा भावकलाई सघाउने छन्, त्यही अनुपातमा नै यस पुस्तकको सार्थकता रहने छ भन्ने मेरो बुझाइ छ ।
अन्त्यमा, बौद्धिक, विचार केन्द्रित, गम्भीर, प्रश्नशील, विमर्शयुक्त र तुलनात्मक निबन्धहरु लेख्न सकेकोमा मेरा अग्रज निबन्धकार विनयकुमार शर्मालाई हार्दिक बधाई दिन्छु । दर्शनको ज्ञान नभएको म जस्तो सामान्य व्यक्तिलाई दार्शनिक निबन्धहरुको कृतिमाथि भूमिका लेख्नका लागि उचित व्यक्ति ठह¥याएकोमा हार्दिक धन्यवाद छ । नेपाली साहित्यमा यस किसिमका निबन्धहरुको आवश्यकता प्रशस्त रहेकाले आगामी दिनमा अन्य विभिन्न विषयहरुमा पनि यस्तै र अझ योभन्दा पनि बढी बौद्धिक तथा तुलनात्मक निबन्धहरु लेख्न जाँगर चलोस् र सफलता मिलोस्; हार्दिक शुभ कामना ।
कपन— १