14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भारतमा नेपाली गीत लेखनको परम्परा र प्रवृत्ति

विचार नवीन पौड्याल March 4, 2015, 5:43 pm
नवीन पौड्याल
नवीन पौड्याल

१. आमुख

गीतको परिभाषा दिनु एउटा कठिन कार्य हो। मनका कोमल भावलाई लयात्मक रूपमा अभिब्यक्ति गीत हो भन्दा अत्युक्ति नहोला। अझ सजिलोसँग भन्नुपर्दा, गाउनका लागि रचिएको लयात्मक अभिव्यक्ति हो गीत। गीतलाई छुट्टै विधा मान्नुभन्दा कविताकै एउटा उपविधा मान्नु उचित देखिन्छ। यद्यपि अब यसले छुट्टै विधाको रूपमा पनि दरिएको छ। यसमा मानसिक अवस्थाको तीब्र अभिव्यक्ति हुन्छ। गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, संगीतात्मकता, दृष्टिविन्दु, भाषा, शैली, अलङ्कार, संवेग, कल्पना, जस्ता तत्वहरू हुन्छन्। त्यसैगरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधुर्य, संक्षिप्तता, भावुकता, वैयक्तिकता, आत्मपरकता, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादि जस्ता विशेषता रहेका हुन्छन्।

२ नेपाली गीतको सन्दर्भमा भारत-

नेपाली गीतको फाँटमा भारतका प्रतिभाहरूको योगदान अत्यन्त उल्लेखनीय छ। चाहे गीत लेखन होस, चाहे संगीत पक्षमा वा गायनको क्षेत्र होस्, यहाँबाट ठुलो योगदान रहेको पाइन्छ। नेपाली गीतको प्रारम्भतिरका मित्रसेन थापा, बहादुरसिंह बराल देहरादूनका थिए। उनीहरूले गीतको माध्यमद्वारा नेपाली समाजको जागरण, धार्मिक सन्देश दिन्थे। नेपाली संगीतको अमर संगीतकार गोपाल योञ्जन, अम्वर गुरूङ, प्रकाश गुरूङ, दिव्य खालिङ, अरूणा लामा, दिलमाय़ा खाती दार्जीलिङकै हुन्।

२.१.भारतमा नेपाली गीतलेखनको चरण विभाजन – भारतमा नेाली लेखनको इतिहास हेर्दा हालसम्म मोटामोटी रूपमा सय वर्षको समय तय गर्दैछ। सम् १९१६ सालमा रेकर्डिङ भएको

अरे राजा झम झम परेला

आना सेरको करेला

दुइ पैसा रामभेंडा

अरे राजा एक एक आना चक्की (सन्दर्भ स्रोत- अजीत बस्नेत, नेपाली गीत-लेखन केही कुरा, दार्जीलिङको नेपालीभाषी समुदाय, नयाँ दिल्ली, साहित्य एकाडमी,२००९)

त्यस सालदेखि आजसम्मको भारतमा लेखिएका नेपाली गीतलाई चार चरणमा विभाजन गर्न सकिन्छ-

१. पहिलो चरण - सन् १९१६- सन् १९३९ सम्म,

२. दोस्रो चरण- सन् १९४०-सन् १९५९सम्म,

३. तेस्रो चरण - सन १९६० देखि १९७९ सम्म

४. चौथो चरण – सन् १९८० यता

२.१.१. पहिलो चरण - नेपाली गीत भर्खर भर्खर लेखिन थालिएको हुनाले गीतमा हुनपर्ने गीतितत्वको अभाव थियो। भाषिक सौन्दर्य, भाव परिपक्वता, व्याकरणगत सम्पन्नता आदी कलिलै देखिन्छन्। मौलिक छन्द पनि त्यति मिलेको पाइन्न तर कलाप्रेमीहरूले गीतको मर्म र महत्व बुझेर गरेको कोशिशलाई महत्वपूर्ण छ। अजीत बस्नेत, पूर्ववत्) यद्यपि मित्रसेन थापा, बहादुरसिंह बरालका गीतमा जातीय सुधार र समुन्नति गर्न नसकेकोमा चिन्ता, जाति सुध्रनु पर्ने आवश्कता, नारीको पतिव्रता धर्म पालन गर्नुपर्ने कर्तव्य, नर-नारीका शृङ्गारिक अभिव्यक्ति पाइन्छन्। यसरी नै देशभक्ति, नैतिकता, आध्यात्मकता, ईश्वरभक्तिले भरिएका बरालका गीतहरू गायनका निम्ति पनि उपयुक्त छन्। यसरी नै प्रथम चरणका गीतकारमा केही अज्ञात, गोवर्धन कार्की दर्दे दिल क्याप्टन तिलमान गुरूङ, काला राई, कामी गुरूङ, एल टी लामा, धनवीर मुखिया, पूरणसिंह नेपाली, कालुसिंह गहतराज, मेलवादेवी (उनी कलकत्तामा भएको बेला) इत्यादि प्रमुख हुन्। सन् १९१६ सालमा दार्जीलिङमा सढक बनाउँदा ढ्वाङ तान्दा गाइएका गीतहरू उल्लेखनीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छन्।यस कालमा देहरादूनबाट दुइवटा गीत संकलित देखिन्छन्- बहादुरसिंह बराल प्रमुख भई अन्यको समेत लिएर संकलन गरिएको- बरालको आँसु (सन् १९३८), मित्र दलिपद्वारा सम्पा. मनको बह (सन् १९३८)।

२.१.२. दोस्रो चरण – सन् १९४० देखि यताका नेपाली गीतमा सांगीतिक सचेतता, भाव गाम्भीर्य, शब्दचयन आदि पक्षमा केही सुधार आउँछ। प्रणयका विछोड, विरह-वेदना, प्राकृतिक सौन्दर्यको वर्णन, दोस्रो विशवयुद्धको काऱणबाट उब्जिएका जातीय वीरता र दुःख पाएको संकेत गीतका विषयवस्तु थिए। ईश्वर बराल, भैयासिंह, हरिमदन गुरूङ, जे बी कार्तिक, दिलुसिंह गहतराज, मानधोज गुरूङ, नवीन बरदेवा, एम एम गुरूङ, बिसासन लामा, कालुसिंह गहतराज, राधिका राया, अम्बर गुरूङ, हाँसे, चौदे, गीता चहार, हर्कबहादुर कुमाई, डोरोथी सितलिङ, मनबहादुर सुन्दास, माया ठटाल, एस रविदास, गगन गुरूङ, पुरण गुरूङ,मनबहादुर गुरूङ, अगमसिंह गिरी, लक्खीदेवी सेवा, नवीन बरदेवा, जितेन्द्र बरदेवा, एस रविदास, मनबहादुर गुरूङ, मङ्गलसिंह गुरूङ, देवप्रकाश राई, अम्बर गुरूङ, दलसिंह गहतराज, इन्द्र थपलिया, फटिकधर ब्राह्मण, आदि प्रमुख हुन्। सन् १९४४ सालको दलसिंह गहतराजको शब्द, संगीत र गायनमा रहेको

नेप्टी चेप्टी दार्जीलिङ कस्तो छ,

झिली र मिली बिजुली बत्ती इन्द्रासन जस्तो छ

भन्ने अत्यन्त लोकप्रिय र सदाबहार रहेको छ। यस गीतमा दार्जीलिङको ऐतिहासिक र भौगोलिक महत्व दर्शाउँछ। यसकालमा आसामबाट प्रेमसिंह सुवेदीको गीतसंग्रह तीजको मैदानमा बैनीको आँसु (१९५५),गोविन्द शर्मा गौतमको हिमालको फूल (१९५८) प्रकाशित भएका देखिन्छन्।

२.१. ३. तेस्रो चरण- लगभग सन् १९६० देखि अगमसिंह गिरी र हरिभक्त कटुवाल, अम्बर गुरूङ आदिको आगमन भएपछि नेपाली गीतलेखन क्षेत्रमा अर्कै रौनक आउँछ। सन् १९६० मा अगमसिंह गिरीको नौलाखे तारा उदाए भन्ने गीतले निकै चर्चित भएको थियो। यस चरणदेखि नेपाली गीत-लेखनका भाव-भावना, भाषिक सौन्दर्य, युग चेतना, लोकतत्व आदि निकै प्रवल रूपमा आउँछन्।यस चरणका केही प्रमुख गीतकारहरूमा हाँसे, चौदे, गीता चहार, हर्कबहादुर कुमाई, डोरोथी सितलिङ, मनबहादुर सुन्दास, माया ठटाल, एस रविदास, गोपाल योञ्जन, गगन गुरूङ, पुरण गुरूङ,मनबहादुर गुरूङ, अगमसिंह गिरी, लक्खीदेवी सेवा, नवीन बरदेवा, जितेन्द्र बरदेवा, एस रविदास, एम बी सुन्दास, आई. के. सिंह, दलसिंह गहतराज, बी बी. मुखिया, गोविन्दसिंह घतानी, काजीसिंह विद्यार्थी, मनबहादुर मुखिया, , पी. अर्जुन, दलसिंह अकेला, नन्द हाङखिम, शंखमणि दास, जस योञ्जन प्यासी, सरोज कार्थक, नरबहादुर तोया मदन ओझा, चन्द्रमित लक्सम, शान्ति ठटाल, शशि ठटाल, प्रतापसिंह लोहार, केसाङ लामा, आई. के. सिंह सन्तवीर लकान्द्री, पासाङ बाङबल, गोपाल योञ्जन, ,बिसासन लामा, तेजेन्द्र गुरूङ, शरण प्रधान, नरदेन रूम्बा, चन्द्रकला नेवार, कृष्णनारायण प्रधान आदि हुन्।

२.१.४. चौथो चरण – सन् १९८० देखि नेपाली गीत-लेखनले उल्लेखनीय प्रगति गर्छ। यस चरणका नेपाली गीत गीतकारहरू धेरैजना रहेका छन्। यसो त प्रायः सबैजसो संगीतकारले गीत लेखेकै हुन्छन्। यस्तो अवस्थामा यो छोटो लेखमा सबैको नामोल्लेख गरेर साध्य छैन। यद्यपि उपलब्ध केही गीतकारहरू हुन्-, यस चरणका केही उल्लेखनीय गीतकारहरूमा दिब्य खालिङ, शिलाबहादुर मोक्तान, नोर्ज्याङ स्याङ्देन, ललित न्यासुर, अविनाश श्रेष्ठ, पवन चामलिङ किरण, रूद्र पौड्याल, राजेन घिमिरे, सचिन सिंह, ब्राइन मोक्तान, सी के श्रेष्ठ, कुसुम गजमेर, अशोक राई, तुलसी गजमेर, तुलसी घिमिरे, सागर थापा, ललित न्यासुर, गोपाल भण्डारी, लक्ष्मण श्रीमल, पवन नामदुङ, सुरेन्द्र थीङ, मनदीप लामा, खेमनारायण सुब्बा, अजीत बस्नेत निराशा, रञ्जीत सुब्बा, विनोदकुमार छेत्री, सञ्जय बान्तवा, अरूण कुलुङ, शोभित राई, नीर सेरमा, मनबहादुर राई, पूर्ण बाबरी, मनप्रसाद सुब्बा, शरण खालिङ, मोतीकुमार राई, कालुसिंह रणपहेँली, श्याम प्रधान, पुष्प राई, पुरण गिरी, पुष्कर पराजुली, केवलचन्द्र लामा, उदय सोताङ, असीम सागर, दावा पाखरिन, कृष्ण प्रधान, विपिन स्याङदेन, पी बी प्रधान, जीवन राई, कमल रेग्मी, सतीश छेत्री, अजनीश राई, भाष्कर प्रधान, शान्ति थापा, पूर्ण बान्तवा, सुरज मोक्तान, बासुदेव पुलामी, ध्रुब चौहान, विनोद स्याङदेन, अनित खाती, सुदर्शन तामाङ आदिको नाम स्मरणीय छ।

२.२. सिक्किम र आसाम- यता सिक्किमका केहा गीतकारहरूमा बली सुब्बा (गीतसंग्रह गीतै भो आधार,१९९७), दुष्यन्त लामा, तुलसी कश्यप (कलाकमल १९६७) देवीप्रसाद कौशिक (गीतसंग्रह सुस्केराहरू, १९७०), चन्द्रबहादुर सुवेदी (गीतसंग्रह हारेको कर्म,१९७०),शैलेशचन्द्र प्रधान (मेरा कविताहरू मेरा गीतहरू २००३), टीबी चन्द्र सुब्बा, दुःखसागर, १९९८), पवन चामलिङ किरण, (मान्छेको साइनो २००८, मेरो मुर्छना, मुस्कानको भाषा), सानु लामा (जहाँ बग्छ टिस्टा रङ्गीत,२००१), कृबु संयमी (गीतसंग्रह गीतगङ्गा,२००९), बी बी सुब्बा, चुनिलाल घिमिरे, सानुभाइ शर्मा, कृष्णनारायण प्रधान, रूद्र पौड्याल, डा रत्नकमल देवान, बेन्जामिन राई, मधुसूदन लामा, ध्रुव लोहागन, पूजन लोहागन, पूर्ण राई, भानु रामुदामु, दयानन्द सापकोटा-कृपानन्द सापकोटा (गीतसंग्रह नन्द–नन्दन,२००९) आदि हुन्।

उता आसामबाट पनि धेरै मात्रामा गीत लेखिएका देखिन्छन्। सन् १९५६ सालमा विपिनदेव ढुङ्गेलद्वारा सम्पादित गीतमालामा आसामका हरिनारायण उपाध्याय र अन्यको गीतहरू प्रकाशित भएका थिए। गंगाधर खतिवड़ा, प्रेमसिंह सुवेदी (गीतसंग्रह तीजको मैदानमा बैनीको आँसु, १९५५) गोकूलप्रसाद जोशी ( गीतसङ्ग्रहहरू भविष्य,१९५९, सिमानाको द्वीप, १९६३), गोविन्द शर्मा गौतम (गीतसङ्ग्रह हिमालको फूल, १९५८) इत्यादि गीतकारहरू हरिभक्त कटुवालभन्दा अघिल्ला पिँढ़ीका गीतकार हुन्। हरिभक्त कटुवाल आसामका केन्द्रविन्दु र शीर्षस्थ नेपाली गीतकार हुन्। उनीपछिका टिकाराम उपाध्याय (गीतसङ्ग्रह राग अनुराग), कुलबहादुर छेत्री (गीतसङ्ग्रह गीत मञ्जरी,१९८३), हरिप्रसाद गोऱ्खा राई (मनचरीको बोली), दुर्गाप्रसाद घिमिरे (गीतसङ्ग्रह ढुक्ढुगकी,१९८३), गोमा शर्मा (गीतसङ्ग्रहहरू केवल तिम्रो निम्ति,१९८६, तिम्रो प्रेरणा,१९८६), गुरूभक्त धिताल (गीतसंग्रह मेरा पीर मेरा गीत, १९८८), तुङ्गनाथ नेपाल (गीत संग्रह माधुरी,१९९१), बद्री गुरागाईँ (गीतसंग्रह गीतायन,२०००), चक्रपाणी शर्मा (गीतसंग्रह सयपत्री) नव सापकोटा, डा. शान्ति थापा (गीतसंग्रह माया, २००४),लोकनाथ सुब्बा, किशोर गिरी, इन्द्रकान्त कार्की, युद्धवीर राणा, लीलबहादुर छेत्री, कुमारी प्रधान, डिल्लीराम खनाल, भविलाल लामिछाने, जसु सुब्बा, खेम मैनाली, बुद्धिमान प्रधान, विजयकुमार राणा, हरि दवाडी, हरि गजुरेल, कृष्ण मिझार, चन्द्रकला नेवार, आरती नेवार, मुक्तिनाथ उपाध्याय, मुन्नी सापकोटा, मैना थापा आशा आदि गीतहरू छन्। मिजोरामका गुनुघर्ती बैरागी पनि एक प्रतिभाशाली कलाकारका साथै एक राम्रा गीतकार हुन्। उनका गीतसंग्रह र सीडी अल्बम रहेका छन्। मणिपुरका प्रकाश सिवाकोटी, अनिरूद्र गौतम, आलोक गौतम, शिव लिम्बु, मुक्ति गौतम, अमर विष्ट, घनश्याम कोइराला आदि छन्। मेघालयबाट पनि विक्रमवीर थापा, डि आर सुब्बा आदि छन्। यसो त धेरै संगीतकारहरूले गीत लेखेका छन् तर गीतकारकै रूपमा अलग्गै पहिचान बनाउने प्रतिभाहरू पनि धेरै छन्।

३. भारतका केही प्रमुख गीतकारहरूको संक्षिप्त परिचय-

३.१.मित्रसेन थापा- ३.१.मित्रसेन थापा- सन १९४० रेकर्डिङ भएको ‘मलाई खुत्रुक्कै पार्योत जेठान तिम्री बैनीले’ भन्ने गीत निकै लोकप्रिय भएको थियो जुन मित्रसेन थापाले गाएका, संगीत दिएका र लेखेका हुन्। उनी नेपाली सांगीतिक जगत्‌का एक अविष्मरणीय व्यक्तित्व हुन्। उनी आधुनिक नेपाली गीतका प्रारम्भिक अवस्थाका एक कारीगर हुन्। उनी नेपाली गीतमा जातीय, आध्यात्मिक, राष्ट्रीय, सामाजिक जागरणको सन्देश दिँदै भाक्सू र देहरादूनतिर सन्देश दिने गर्थे। उनका अनेक गीत-गजल, भजन लोकप्रिय भएका हुन्। उनले तीसवटा भन्दा बढ़ी गीतहरू गेकर्ड गरेका थिए। उनको अति प्रसिद्ध गीत - ‘लाहुरेको रेलीमाई फेसनै राम्रो, रातो रूमाल रेलीमाई खुकुरी भिरेको’ अहिले पनि सबै गीत-प्रेमी नेपालीको आइकोन-गीत बनेको छ।

३.२.बहादुरसिंह बराल (जन्म सन् १८९१- मृत्यु १९६२) -मित्रसेन थापाकै समकालीन बहादुरसिंह बराल पनि प्रारम्भिककालीन गीतकार थिए। उनका पाँचवटा भागमा विभाजित बरालको आँसु (सन् १९३२) गीतसंग्रह प्रकाशित छ। यस संग्रहमा उनका र अन्य साथीहरूका गरी जम्मा २०५ वटा गीत सङ्ग्रहीत छन्। उनका गीतमा आफ्नो जातिकोले समुन्नति गर्न नसकेकोमा चिन्ता, जाति सुध्रनु पर्ने आवश्कता, नारीको पतिव्रता धर्म पालन गर्नुपर्ने कर्तव्य, नर-नारीका शृङ्गारिक अबिव्यक्ति पाइन्छन्। यसरी नै देशभक्ति, नैतिकता, आध्यात्मकता, ईश्वरभक्तिले भरिएका बरालका गीतहरू गायनका निम्ति पनि उपयुक्त छन्।

३.३. अगमसिंह गिरी (जन्म सन् १९२७,मृत्यु १९७१)– नेपाली गीत लेखनमा एक उल्लेखनीय नाम हो अगमसिंह गिरी। विशेष गरी कवितामा उनको नाम बढी आए तापनि गीत लेखनमा पनि उनको स्थान सुरक्षित छ। उनका प्रायः जसो कविता नै गीत जस्ता सरल, कोमल, गेय र प्रगीतात्मक छन्। गीत लेखन कै हिसाबले उनका २०-२२ वटा जति छन् यद्यपि उनका जलेको प्रतिबिम्ब रोएको प्रतिध्वनि, आत्मव्यथा जस्ता कविता-सङ्ग्रह तथा याद, आँसु र युद्ध् र योद्धा जस्ता खण्डकाव्यहरू नै गीत कै हाराहारीमा छन्। उनको दार्जीलिङको माया, नौलाखे तारा उदाए, बन-पाखा चहारेर सुसेलीमा गाएको जस्ता गीतहरू अमर छन्। उनका गीतमा चरम नैराश्य, प्रेमपीड़ा, प्रेमानुराग, जाति प्रेम, नेपाली र पितृभूमि प्रेम, दार्जीलिङ प्रेम इत्यादि रहेको छन्। अति कोमल र संवेदनशील हृदयबाट उब्जिएको विभिन्न भाव नै उनको गीत लेखनको अभिप्राप्ति हो। अम्बर गुरूङले गाएको नौलाखे तारा उदाए भन्ने गीत निकै चर्चित बन्यो। यसमा उनी दार्जीलिङलगायत भारतमा नेपालीहरूको स्थिति सन्तोषजनक नभएको गुनासो ब्यक्त गरेका छन्। यसलाई नेपाली क्षैतिजीय साहित्य (Diasporic writing) को कोटीमा राख्नसकिन्छ। उनका गितहरी अम्बर गुरूङ, मनबहादुर गुरूङ आदिले गाएका छन्। गीतमा आक्षरिक छन्द, शब्द-शय्यागत संयोजन, एकोन्मुखता, लयगत स्वच्छन्द प्रवाह, संक्षिप्तता, मुक्त लयात्मक प्रस्तुति नै उनको गीति-लेखनका वैशिष्ट्य हुन्।

३.४. हरिभक्त कटुवाल- जन्म १९३५, मृत्यु १९८३) - नेपाली गीत लेखनका क्षेत्रमा हरिभक्त कटुवाल एउटा अभिन्न, अविश्मरणीय नाम हो। उनका सम्झना (१९६०), बदनाम मेरा यी आँखाहरू (१९९७ मा भीमकान्त ढुंगानाको सम्पादनमा रहेको कटुवालका कविता र गीतसंग्रह), यो जिन्दगी खै के जिन्दगी (कविता र गीतसंग्रह,१९७२) जस्ता कृतिहरू विशेषगरी गीत प्रकाशनमा देखा पर्छन्। उनी आफुले देखे-भोगेका कुराहरूलाई फ्रभावकारी ढङ्गमा गीतमा व्यक्त गर्न सक्छन्। उनका गीतहरू स्वच्छन्दतावादी भए पनि बढी मात्रामा चाँहि शृङ्गारिक भाव धाराका छन्। जीवनलाई उनले निराशाको दृष्टिकोणबाट नै बढी हेरेका छन्।देशप्रेम, जातिप्रेम पनि उनका गीतको स्वर हुन्। कटुवालका गीतमा जीवनलाई घाम-छायाँका रूपमा चित्रण गरिएको पाइन्छ कुनै गीतमा उनी भाग्यवादी, कुनैमा कर्मवादी देखा पर्छऩ्।(कृष्णहरि बराल, पृष्ठ ६८) ‘पोखिएर घामको झुल्का’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘हाँगा हाँगा वैंशभरि चैत फुलेछ’, ‘यो देशको माटोले भन्छ’ ‘मेरो यो गीतमा जुन मूर्च्छना छ’ भन्ने उनका अमर गीत हुन्।

३.५ अम्बर गुरूङ (जन्म १९३८) – नेपाली सांगीतिक फाँटमा अम्बर गुरूङ एक उज्ज्वल नक्षत्र हुन्। उनी एक संगीतकार, गायक र गीतकार हुन्। उनले थुप्रै गीतहरू लेखेका छन्। सन् १९६९ मा प्रकाशित गीतिसंगालो सम्हालेर राखमा उनका एकाउन्नवटा गीतहरू रहेका छन्। उनी खासगरी एक संगीतकार भएकाले उनका गीतमा सांगीतिक बढी पाइन्छ र सबै नै गायनयोग्य छन्। उनका गीतमा प्रेमका रमाइला भाव शिष्ट ढङ्गले व्यक्त भएका छन्। उनका गीतमा आफ्नी मायालुलाई ज्योतिका रूपमा हेरिएको छ। प्रेमलाई आशाको रूपमा हेरिएको छभने कतै विरह-वेदनाका रूपमा पनि लिइएको छ। कतै देशप्रेम पाइन्छ भने कतै आफ्नै देशमा बस्दा पनि पराय हुनुको पीड़ा, जाति प्रेम, मानवता, प्रेमका रोमान्टिक पक्षका साथै जीवन र जगत्का यथार्थता इत्यादिलाई मूल विषयवस्तुका रूपमा लिएका छन्। शाब्दिक र आक्षरिक कोमलता, भावगत एकान्विति, एकाग्रता, वैयक्तिकता, शब्दशय्यागत सचेतता उनका गीतका अभिप्राप्ति हुन्। उनका अधिकांश गीतहरू संगीतसँगसँगै लेखिएकाले लयको प्रवाह गायनकै क्रममा मिल्ने प्रकारको देखिन्छ। कतिपय गीत चाँहि मुक्त ध्वन्यात्मक लयमा पनि आवद्ध छन्।

३.६. सन्तवीर लकान्द्री (जन्म सन् १९४२-मृत्यु सन् १९८७-८८तिर) - नेपाली गीत लेखनमा अर्को भुल्न नहुने नाम हो सन्तवीर लकान्द्री। सन् १९६२ सालमा अशोक राईले गाएको ‘बैसाखी वनमा फूलको शृङ्गार पातको क्रन्दन छ’ भन्ने गीतले लोकप्रियताको शिखर छोएको थियो। यसमा प्रेम-प्रीतिका विरह सँगसँगै जीवन-दर्शनका गहिराई पाइन्छ। उनी अगमसिंह गिरी झैं जातिप्रति अत्यन्त संवेदनशील थिए।

३.७. शरण प्रधान (जन्म-सन् १९४३, मृत्यु-सन् १९७४)- शरण प्रधान दार्जीलिङका एक राम्रा गीतकार हुन्।एकतीस वर्ष मात्र आयु पाएका शरण प्रधानले नेपाली सांगीतिक संसारलाई धेरै थोक दिएका हुन्। उनी एक अमर संगीतकार र गीतकार हुन्ष उनले लगभग् एक सयजति गीत लेखेका थिए। उनका गीतहरू विशेषगरी उनकै पत्नी अरूणा लामाले गाएकी छन्। उनका केही प्रसिद्ध गीतहरूमा हेर न हेर न कान्छा, नेपाली गौरव गर्छौं आफ्नैपनमा, यो जोवनलाई घरको माया छ कि छैन, आँखैमा राखिने योग्य कहाँ छु छोरी बिग्रे माइतीको नाक जाने इत्यादि प्रमुख हुन्। उनका गीतमा देशभक्ति, जातीय गौरव, प्रेमका विभिन्न भाव, जीवनप्रति विविध दृष्टिकोण जस्ता विषयवस्तु रहेका छन्। उनले जीवनलाई कतै अभिशापको रूपमा र कतै वरदानकै रूपमा पनि हेरेका छन्। शब्द-शब्दमा कोमलता, रागात्मक अनुभूति, सांगीतिक प्रवाहमा बगेको भावबिम्ब, ध्वन्यात्मक लयात्मकता उनका गीतलखनका विशेषता हुन्। उनका प्रायः सबै गीतहरू गाइएका छन्।

३.८. गोपाल योञ्जन (जन्म-सन् १९४३, मृत्यु-सन् १९९७) – नेपाली सांगीतिक संसारका एकजना ध्रुवतारा, एक अमेट व्यक्तित्व हुन् गोपाल यो़ञ्जन। सोह्र वर्षकै उमेर देखि गीतलेखन शुरू गर्ने योञ्जन एक अब्बल संगीतकार, एक शफल गायक र एक उत्कृष्ठ गीतकार हुन्। गीत समीक्षक कृष्णहरि बरालअनुसार गोपाल योञ्जनले लगभग २२५ वटा गीतहरू लेखेका छन्। उनले शास्त्रीय, आधुनिक, लोकगीत, बालगीत, भजन सबैमा गीत लेखेका छन्। उनका प्रसिद्ध गीति संगालो अल्बम निशानी ५२, निशानी ५३, बालगीतसंग्रह गीत मञ्जरी प्रकाशित भएको देखिन्छ।

३.९. जस योञ्जन प्यासी –(जन्म सन् १९४९, चुङथुङ, दार्जीलिङ)- नेपाली गीत क्षेत्रमा एक चर्चित, उल्लेखयोग्य गीतकार हुन् जस योञ्जन प्यासी। हालसम्म उनको बोलाउँ भने तिमीलाई (२०१०) गीतसंग्रह प्रकाशित देखिन्छ भने अर्को गीतसंग्रह एउटा खुल्ला चिठी पनि प्रकाशोन्मुख देखिन्छ। बोलाउँ भने तिमीलाई संग्रहमा आठ खण्ड रहेका छन्। भजन खण्डमा अठारवटा, आधुनिक गीत खण्डमा चौरासीवटा, आधुनिक युगल खण्डमा आठवटा, देशभक्ति गीत खण्डमा चौधवटा, होली पर्वगीत चारवटा र नयाँ वर्षका गीत खण्डमा चवटा गरी जम्मा एकसय छप्पनवटा गीतहरू संकलित छन्। उनका गीत र भजनहरू अऱूणा लामा, कुमार सुब्बा, दीप श्रेष्ठ, दुर्गा खरेल, रिमला मोक्तान, दावा ग्याल्मो, नम्रता बल, पेमा लामा, दिलमाया खाती, अजनीश, वाङ्गेल लामा, बेन्जामित लेप्चा, सुनिता गजमेर, संगीता राई, सोफिया गुरूङ, विनोद स्याङ्देन, पवन नामदुङ, हिरा रसाइली, महेन्द्र थापा आदिले गाएका छन्।

उनका गीतमा भावगत विविधता, अभिव्यक्तिगत प्रभावकारिता, संक्षिप्तता, कलात्मक प्रस्तुति, विषयगत एकान्विति संवेदनशील उद्गावर, प्रतीक प्रयोगमा सचेतता जस्ता विशेषता पाइन्छन्। प्रेमका विभिन्न रूप, देशभक्ति, ईश्वर भक्ति, आध्यात्मिक चेतना, लोकतत्त्व र लोकलयको सन्निवेश, मानव प्रेम, विश्वप्रेम, वैयक्तिक अनुभूति, प्रेमपीड़ा, प्रेममा आशाभन्दा निराशाको पक्षको उद्घाोटन इत्यादि उनको गीतका विषयवस्तु हुन्। कतै सांसारिक विसंगति र पाखण्डप्रति आक्रोश, कतै एकोहोरो मायाका विभिन्न अनुभूति, कतै विरक्ति, कतै स्वाभिमानका झिल्का, कतै संघर्षको जोश छ। यस संग्रहमा स्वच्छन्दतावादी र प्रगतिवादी भाव विद्यमान देखिन्छन्। गीतहरू प्रायःप्रायः प्रथम पुरूष दृष्टिकोणमा आवद्ध छन्। कतै भने तिमी को सम्बोधित छ। तामाङ लोकभाका सेलोमा पनि कतिपय गीत रचिएका छन्।

३.१०..नन्द हाँगखिम - (जन्म सन् १९४४) नन्द हाँगखिम पनि एकजना राम्रा गीतकार हुन्। उनका २५-३० वटा जति गीतहरू अरूणा लामा, कुमार सुब्बा, उदय सोताङ, देवनारायण प्रधान, शान्ति ठटाल, गौतम गजमेर, अनुपमा प्रधान, सुधीर राई आदिले गाएका छन्। उनले लेखेका भजन पनि प्रसारित भएका पाइन्छन्। उनका गीतमा देशभक्ति भावना, लोकतत्व, प्रेम-प्रीतिका विविध पक्ष रहेका छन्। गीतका आन्तरिक लय, गेयात्मकता, कोमल वर्ण प्रयोग, विषयगत, एकोन्मुखता जस्ता पक्षहरू उनका गीतमा पाइन्छ।

३.११. बली सुब्बा- सिक्किमका बली सुब्बा पनि एक उल्लेखनीय गीतकार हुन्। उनको एउटा गीतसह्ग्रह गीतै भो आधार प्रकाशित भएको देखिन्छ। उनका गीतहरू शान्ति ठटाल, मऩिकमल छेत्री,जस्ता साहित्कारहरूले संगीत दिएका छन् भने लोचन भट्टराई, पवित्रा सुव्बा, राजेन्द्र मास्के, लासिमित राई, पवन नामदुङ आदि गायक-गायिकाले गाएका छन्। उनका गीतमा जीवनका निराशा, कुण्ठा,वेदनाहरूलाई भावुकतापरक अभिव्यक्ति दिएको पाइन्छ। देशप्रेम, प्रकृति प्रेम र नैसर्गिक भावधारालाई सरल, सहज शैलीमा व्यक्त गर्ने क्षमता गीतकार सुब्बामा देखिन्छ।( दीपक तिवारी, भारतेली नेपाली गीतसाहित्यको परिप्रेक्ष्यमा सिक्किमेली नेपाली गीत, सम्पा. दिलकुमार प्रधान, आधुनिक भारतेली नेपाली कविता, वीरपाडा कलेज, २०१२, पृष्ठ-१०४)

३.११. सानुलामा- कथाकार सानु लामा एक सफल गीतकार पनि हुन्। भारतमा विलय हुनुभन्दा पहिलेको सिक्किमको राष्ट्रीय गीत जहाँ बग्छ टिस्टा रङ्गीत का रचयिता सानु लामा हुन्। सन् २००१ मा उनको को गीत संग्रह जहाँ बग्छ टिस्टा रङ्गीत प्रकाशित भएको देखिन्छ। उनका गीत अरूणा लामा, दावा लामा, आदि हुन्। उनका केही लोकप्रिय गीतहरूमा बालापनको आँगन त्यागेर, विश्वास नगर जिन्दरीको,मितेरी साइनो लाएँ हजुर आदि हुन्। उनका गीतमा जीवनका यथार्थ, जगतका तीता –मीठा अनुभव, मितव्ययी शब्द प्रयोग, प्रेम-प्रीतिका यावत् पक्षको चित्रण, लोकतत्व को प्रयोग,सिक्किम प्रेम, बेली-बेटी विदा भएर जानु पर्दाको मर्म इत्यादिलाई मूल विषय पाइन्छन्।

३.१२. पासाङ बाङवल- नेपाली गीतकारमध्ये पासाङ बाङबल पनि एउटा छुटाउन नहुने नाम हो। उनका गीतहरू सन् सत्तरीको दशकमा नेपाल र दार्जीलिङमा निकै लोकप्रिय र लोक चर्चित थिए। ए कान्छा मलाई सुनको तारा खसाइदेउन भन्ने गीतले धुमधाम लोकप्रियता पाएको थियो। अऱूणा लामा, जितेन्द्र बरदेवा, अम्बर गुरूङ आदिले उनका गीत गाएका हुन्। उनी विशेषगरी निराशाको भावमा गीत लेख्न रूचि देखाउँछन्। आफ्ना कतिपय गीतमा उनले प्रेमी-प्रेमिकालाई बतिती र पुतलीसँग दाँजेका छन्। उनले प्रकृतिको मानवीकरण पनि सुन्दर ढङ्गले गरेका छन्। उनका गीतहरू स्वच्छन्दतावादमा रमेका छन्। उनका गीतमा गीति तत्वका समग्र पक्ष विद्यमान छन्। (कृष्णहरि बराल, पृष्ठ)

३.१3. नरदेन रूम्बा (जन्म सन् १९४९,मृत्यु १९९०) - नेपाली सांगीतिक फाँटमा नरदेन रूम्बा एक बिर्सनै नसकिने नाम हो। उनी सन १९४९ मा जन्मिएर लगभग चालिस वर्ष (सन् १९९०) कै अल्पायुमा निधन भए तापनि केही अमर गीत दिएका छन्। उनका लगभग एक शयवटा जति गीतहरू प्रकाशित भएका छन् भने तीमध्ये धेरैजसो विभिन्न कलाकारले गाएका छन्। उनका गीतहरू नारायण गोपाल, अरूणा लामा, डेजी बराइली, पेमा लामा, मीरा राणा, कुमार सुब्बा, पवन गोले, हीरा रसाइली, दावा ग्याल्मो, दुर्गा खरेल आदिले गाएका र मणिकमल छेत्री, बसन्त छेत्री, चन्दन लोम्जेल, बद्री-दुर्गा खरेल, टाँसी वाङ्चुक आदिले संगीतबद्ध गरेका छन्। उनका गीतहरू उनको देहावसानपछि उनकै धर्मपत्नी साबी रूम्बाले सन् २००६ मा सङकलन गरी प्रकाशमा ल्याइन्।

रूम्बाका गीतमा प्रायः चरम निराशावादी भावना, विरह-व्यथाका विरक्ति, प्रेमपीड़ा जस्ता विषयवस्तु पाइन्छन्।उनी नाटक र फिल्मतिरसमेत कथाको स्थितिले मागेअनुसारको गीत पनि तुरन्तै लेखेर दिनसक्थे। उनी बाँच्न चाहनेहरू, कँही अँध्यारो कँही उज्यालो जस्ता चलचित्र र मृगतृष्णा जस्तो गीतिनाटकमा गीतकार हुन्। उनका गीतमा जीवन, जगत्, भाषा र संस्कृतिबारे विविध भावको अभिव्यक्तिका साथै आध्यात्मिक चिन्तनधाराका भजन पनि पाइन्छन्। उनका गीतमा भावगत एकान्विति, स्वर-ध्वन्यात्मक मुक्त लयविधान, स्वगतकथन, मधुर वर्ण र शब्दको सांगीतिक व्यवस्थापन, आन्त्यानुप्रासिक संयोजन, कतै वाक्यगत विचलन जस्ता पक्षहरू पाइन्छन्।

३.१४ अजीत बस्नेत- सङ्ग्रहको रूपमा नभए तापनि अजीत बस्नेतका अनेकौं गीतहरू विभिन्न पत्रकामा यत्र-तत्र छरिएका पाउँछौं। उनका गीतमहरू धेरै गीति अल्बममा गायनका रूपमा आएका छन्। उनका गीतमा जीवनको नैराश्य, पीडा, प्रेमका स्वाभाविक उद्गार, मानवता प्रेम, विस्व शान्तिको कामना, युगीन याञ्त्रिक जीवनप्रति असहमति जस्ता भाव अभिव्यक्त भएको पाइन्छ। उनका गीतमा मनमा मुक्तलयात्मक शैली, कोमलता एकोन्मुखता, एकरसता, जस्ता पक्ष पाइन्छन्।

३.१५. पुरण गिरी (जन्म १९६१)- नेपाली गीति फाँटका एक सफल गीतकार हुन् पुरण गिरी। आजसम्म उनको एउटै गीत-सङ्ग्रह जिन्दगीको लयान्तर सन् २००८ मा प्रकाशित भएको देखिन्छ। उक्त गीतसङ्ग्रहमा जम्मा एक सय आठवटा गीतहरू समावेश छन्। उनले रचेका गीतहरूबाट पचास प्रतिशत जति गीतहरू यसमा समाविष्ट छन् त्यही पनि संगीतकारहरूका घरतिर गई सङ्कलन गरिएको हो अनि सङ्ग्रह गर्न नसकेका गीतहरू यसमा समावेश नभएकोमा उनलाई साह्रै खल्लो लागेको छ भनी उनी स्वीकार्छन् (पुरण गिरी, जिन्दगीको लयान्तर,आफ्ना अनुभूतिहरूबारे)। यसबाट हेर्दा पनि उनमा गीत रचनाको प्रतिभा स्वतःसिद्ध हुन्छ। यस संग्रहमा भएका समस्त गीतहरू गायन भइसकेका रहेछन्। उनका गीतहरू उदय-मनिला सोताङ, डेजी बराइली, पेमा लामा, अरूणा लामा, कुमार सुब्बा, शङ्कर गुरूङ, थुपदेन भोटिया, दुर्गा खरेल, रामकृष्ण ढकाल, अनुपमा प्रधान, बानिका प्रधान, हीरा रसाइली, महेश सेवा, लाक्पा सेर्पा, कुबेर राई आदिले गाएका छन्। यसैगरी उनका गीतहरूलाई दीप वाइबा, चन्दन लोम्जेल, मणिकमल छेत्री, बसन्त छेत्री, टासी वाङ्चुक आदिले संगीत दिएका छन्। यस हिसाबले हेर्दा उनका गीतहरूले संगीतको आलोक पाएर न्याय पाएका छन्। उनका गीतमा भावाभिव्यक्तिमा रूमानीत्व, प्रेमका कोमल भावको सहज प्रकाशन्, जातीय अस्तित्वको चिन्तन, जातीय गौरव-गान, राजनैतिक व्यङ्ग्य, जीवन-जगतप्रतिको दार्शनिक चिन्तन्, सन्तुलित र मितव्ययी शब्दप्रयोग, युगीन सन्दर्भको प्रस्तुति, अनेकार्थक भावभंगी, प्रकृतिका सुन्दर चित्रणसँग मानवीय भावको एकाम्यता, एकालापीय ढाँचा, भावअनुरूप कोमल शव्द प्रयोग जस्ता अनेक विशेषता रहेका छन्। गिरीका गीतमा आशाका किरणका भाव पाइए तापनि मूलतः उनी निराशावादी नै देखिन्छन्।

३.१६. शान्ति थापा (जन्म सन् १९६१, गुवाहाटी) –असम पूर्वाञ्चलबाट समसामयिक गीत लेखनमा अग्रणी एकजना गीतकार हुन् शान्ति थापा। उनको एउटा गीत-सङ्ग्रह माया सन् २००४ मा प्रकाशित भएको देखिन्छ। यसमा जम्मा एक शय वटा गीतहरू संग्रहीत छन्. यसमा एक-दुईवटा भजन, एउटा शिशु-गीत, केही देशभक्ति गीत रहेका छन् भने अन्य प्रायः जसो गीतहरू प्रेमभावमा रहेका छन्। उनका अधिकांश गीतहरू रोमान्टिक भावधाराका छन्। उनका गीतमा प्रेमानुराग, प्रेमपीड़ा, देशप्रेम, जातिप्रेम, प्रकृतिको विविध अवस्थाको चित्रण इत्यादि पाइन्छ। एउटा गीतको प्रसङ्ग हेरौं, हिन्दी र नेपाली गीतमा माझीको उल्लेखनीय छ। हिन्दीमा ओ माझी रे र नेपालीमा चाँहि माझीदाइ निकै गीतमा पाइन्छन्। शान्ति थापाले पनि गीतसंख्या १३ मा माझी दाइलाई सम्झेकी छन्। यहाँ माझीले नाऊ खियाएर यात्रुहरूलाई नदी पार गरिदिन्छ। यद्यपि अधिकांश गीतमा माझीको प्रसङ्ग साधारण नदी तार्ने नभएर यो भवसागर तारिदिने कोही अदृश्य माझीको अर्थ लाग्न सक्छ। यहाँ हृदयमा उब्जिएका मिठा कल्पना, भावबिम्बहरूलाई टिपेर उतारिएको छ। यहाँ मायाका विविध रूप देखिन्छ। जातिप्रेम, जातीय अस्मिताको आह्वान, बहुसांस्कृतिक ऐक्य र विश्वप्रेम उनका गीतका विषय हुन्। शान्ति थापाका गीतमा हरिभक्त कटुवाल, ईश्वरबल्लभका गीतको प्रभाव पनि केही मात्रामा परेको पनि देखिन्छ। यसमा रहेको गीत संख्या ३२ को अन्तरामा रहेको गीतांशमा कटुवालको सम्झना आउँछ –

पोखिएर घामको झुल्कामा बिहानी हाँस्छ

मगमग फूलहरूले सुबास छरी दिन्छ

डाली डाली लुकी लुकी कोयली गाउँछ

छमछम मयुरले ताल मिलाई नाच्छ.।

उनका गीतमा कतै असम प्रेम,भानुमहिमा, देसप्रेम, जीवनका आशा र निराशा, रहरका झिल्का इत्यादि पाइन्छन्। यसमा रहेका प्राय़ः सबै नै गायनयोग्य छन्।शब्दशय्यामा सचेतता, संक्षिप्तता, छोटा वाक्य, विषयगत एकान्विति, कोमल वर्ण प्रयोग र गेयात्मक अनुभूतिको अभिव्यक्ति नै शान्ति थापाको गीतलेखनगत उपलब्धी हुन्।

३.१७. पुष्कर पराजुली (जन्म १९७१) - गीतकारका रूपमा श्री पराजुली पनि लगभग बाइस-पच्चीस वर्षदेखि नै सक्रिय छन्। सन् १९९० मा निर्मित नेपाली चलचित्र भूलमा गीत लिएर देखा परेका पराजुलीका तीन-चारवटा गीत अल्बममा सजिएका छन्। उनको पनि एउटै गीतसङ्ग्रह गीत फुल्ने ठाँउ प्रकाशित देखिन्छ। आजसम्म उनका गीतहरू उदितनारायण झा, रामकृष्ण ढकाल, साधना सरगम, विष्णु थापा, जगदीश शर्मा, सफल थापा, नीलामणि थापा(राई), विरेन खाती आदिले गाएका छन्। उनी आफैं गीत-संगीतका पारखी र वाद्यवादन ज्ञान भएका हुनाले शब्द-चुनाइ र संयोजनमा धेरै सचेत छन्। उनी सिलगडीको एउटा सांगीतिक संस्था आरोहीको एक सक्रिय सदस्य हुन्। पराजुलीका गीतका प्रत्येक पंक्तिमा आउने अक्षरको संयोजन तथा लयसञ्चार गरिएको पाइन्छ। उनका गीतमा हामी रूमानी भाव, प्रकृतिको प्रतीकीकरण र मानवीय भावसित तादात्म्यता, प्रगतिमुखी स्वर, आशावादी स्वर, लोकतत्वको आंशिक प्रयोग, ग्रामीण परिवेशको सिर्जना, वैयक्तिक अनुभूतिको साधारणीकरण, अनेकार्थता, जीवन-जगत्सम्बन्धी दर्शन-चिन्तन, प्रेमको सस्तो भावुकताभन्दा सिर्जनात्मकतातिरको झुकाव, युगीन सन्दर्भको प्रस्तुती, जातीय अस्तित्व चेतना, बालोपयोगी केही गीत इत्यादि पाइन्छन्। उनको निम्ति संसार उज्यालो छ, आशाले भरिपूर्ण छ, आस्थाले परिपूर्ण छ। उनी कालो कालो बादलको पछिल्तिर पनि पनि उज्यालो देख्छन्, तिर्खा लागे धारा पाउँछन् र थकाइ लागे चौतारो भेट्छन्। उनको प्रेममा पीडाभन्दा आनन्द छ, प्रेमविरागभन्दा प्रेमानुराग छ। उनका निम्ति चरा-चुरूङ्गी र तारागणले पनि प्रेमको गीत गाउँछन्, फूलहरू पनि प्रेमले हाँस्छन्। उनका गीतमा कतै नशालु पदार्थ सेवन गर्नेको पीडा छ, कतै दार्जीलिङ जाने राजमार्ग ५५ को अन्तर्व्यथा र आत्मकथा छ। उनका गीतमा पनि कतै निराशाका भाव भए तापनि मूलरूपमा आशावादी नै छन्।

३.१७ कमल रेग्मी (जन्म १९७८) - अहिलेका एक चर्चित र सफल गीतकार हुन् कमल रेग्मी। उनी पनि गीत सिर्जनामा एकनिष्ठ भएर अनवरत लागिरहेका छन्। गीतबाहेक उनको सिर्जना र अभीष्ट कवितासंग्रह पनि प्रकाशित छ। यद्यपि उनको अभीष्ट गीत नै हो। उनले पनि कविता कोर्दा स्वतः गीत नै निस्कन्छ। अहिलेसम्म उनको एउटै गीतसंग्रह काँडाफूल सन् २००७ मा प्रकाशित छ जसमा नब्बे-बयानब्बेवटा गीतहरू संग्रहीत छन्। उनका पनि धेरैवटा गीतहरू गायनभित्र परेका छन्। उनका गीतहरू अजनिश राई, प्रसाद ऱणपहेंली,कुमार ऱणपहेंली, थुपदेन भोटिया,रामकृष्ण ढकाल, लासिमित गाई, यम बराल, हिरा रसाइली, गौतम गजमेर, अनुपमा प्रधान आदिले गाइसकेका छन्। उनी युगसचेत र शैली सचेक गीतकार पुन्। उनले वर्तमान युग देखेका र भोगेका छन्। उनले गाउँ देखेका छन् र शहर पनि। यी दुवैबाट उब्जेका संबेदना उनका गीतका विषय हुन्। उनका गीतमा पनि जातीय चेतनाको प्रखर स्वर, प्रकृतिका सुन्दर विम्बद्वारा मानवीय संवेदनाको प्रतीकीकरण, प्रेमका यावत् पक्षको उद्घाटन्, देशप्रेम, माटाको माया, विकृत राजनितीबाट उब्जेका विसंगतिप्रति व्यङ्र्य, दार्जीलिङ प्रेम,आफ्नो जन्मथलो प्रेम, एकोन्मुखी भावतरङ्ग जस्ता विशेषता र गुणहरू हामी पाउँछौं। उनले गीतमा कल्पना र यथार्थको मिश्रण गरी कलात्मकता दिएका छन्। गीतका शब्दहरू एकार्का पूरक बनी आबद्ध छन्। उनी सौन्दर्यप्रेमी युवा हुन्। प्रकृतिमा सौन्दर्यको अजस्र स्रोत पाउँछन्।

३.१८. दयानन्द सापकोटा/ कृपानन्द सापकोटा- सिक्किमेली यी दुई दाजु-भाइ पनि संयुक्त रूपमा एउटा राम्रो गीतसंग्रह नन्द-नन्दन लिएर देखा परेका छन्। यसमा दयानन्दका ३८ वटा र कृपानन्दका २२ वटा गीतहरू रहेका छन्। यी दुईजनाका गीतमा देशप्रेम, सांस्कृतिक सजगता, विश्वमा शान्तिको कामना, लोकतत्त्व प्रयोगमा सचेतता, मानवता प्रेम, आधुनिक उपकरण प्रयोगमा सचेतता, विज्ञानको विपरीत प्रयोगप्रति विरोधजन्य अभिव्यक्ति प्रकृतिका अनेक रूपको वर्णन, गाँउप्रेम, मनका पीर व्यथा र खुशीयालीको क्षणलाई समेटेर गीत रचिएका छऩ्। कृपानन्दका गीत पनि सौन्दर्य सचेततायुक्त छन्।

४. भारतबाट लेखिएका नेपाली गीतको केही साझा प्रवृत्ति र अभिप्राप्ति –

४.१. भारतमा नेपाली गीत लेखनको लगभग एक सय वर्षको यात्रा पूरा गर्न लागेको छ। यत्रो एक सय वर्षमा नेपालमा झैं भारतमा पनि नेपाली गीतले क्रमिक विकास र विस्तार पायो। विभिन्न मोड़-उपमोड़ पार गर्दै नयाँ नयाँ भाव,शैली, प्रस्तुति, धारा उपधारा गर्दै अघि बढिरहेको छ।

४.२. यहाँका गीतको विषयवस्तु व्यापकता पाएको छ। आध्यात्मिक चेतनादेखि लिएर नैतिक सन्देश, जातीय प्रकृति चित्रण, प्रेमका विविध रूपको चित्रण, देशप्रेम, विशवप्रेम, मानवता, संघर्षको आह्वान, नारी मनोदशा इत्यादि सबै कुरा समेटिएका छन्।

४.३. भारतका नेपाली गीतमा पनि वर्ग संघर्ष, परिवर्तनका निम्ति संघर्षको निम्ति आग्रह, सर्वहारा वर्गको हक-हितका कुरा, क्रान्ति चेतना, पुँजीवादको विरूद्ध संघर्षमा विश्वास गरिने प्रगतिशीलता र प्रगतिवादलाई अवलम्बन बनाई गीत पनि रचिएका छन्। पदम लामा, अशोक राई, जस योञ्जन प्यासी, सुबास सोताङ आदि छन्।

४.४. भारतको नेपाली गीतमा जातीयता प्रसङ्ग एउटा ठोस विषयवस्तु बनेको छ। मित्रसेन थापा, बहादुरसिंह बराल मित्र दलिप सिंहका गीतमा भारतमा नेपाली जातिको जागरण र नराम्रा लतदेखि जोगिएर नैतिकवान, सुशिक्षित हुनुपर्ने आह्वान गरिएको छ भने क्रमिक रूपमा जातीय चेतनाको विकास र विस्तार भएको पाउँछौं। अगमसिंह गिरीको नौलाखे तारा उदाए गीतले भारतमा गोर्खाली जातिको पीर-मर्कालाई प्रतिनिधित्व गरेको थियो। भारतमा हाम्रो अलग्गै अस्तित्व र परिचय संकटको स्वर धेरैले अभिव्यक्त गरेका छन्।

४.५. भारतका नेपाली गीतमा नारीका विभिन्न अवस्थाको चित्रण गरिएको पाइन्छ। यद्यपि नारीको मार्मिक अवस्था, दाइजोको पीडा, बहुपत्नी, सौताको पीर त्यति अभिव्यक्त भएको देखिन्ऩ।

४.६. भारतमा पनि चलचित्रका निम्ति धेरै गीतहरू रचिएका छन्। नेपालमा जस्तो पूर्णकालिक रूपमा चलचित्रमा लेख्ने गीतकार ऩभए तापनि नरदेन रूम्बा, कुसुम गजमेर, तुलसी घिमिरे, डेनी डेञ्जोङपा, मनबहादुर मुखिया, इन्द्र थपलिया, गोपाल योञ्जन,जस योञ्जन प्यासी, रनजीत गजमेर, साबु लामा, चन्द्रमित लक्सम, बलबहादुर विश्वकर्म, जितेन्द्र बरदेवा, जीवन अधिकारी, सी के श्रेष्ठ, हरिभक्त कटुवाल,मदन सुब्बा, पुष्कर पराजुली आधि हुन्। यस क्षेत्रमा अम्बर गुरूङ, गोपाल योञ्जन, कुसुम गजमेर र तुलसी घिमिरे अघि छन्।

४.७. यताका बालगीतले त्यति प्रगति गरेको देखिन्न। पुष्कर पराजुलीको यस क्षेत्रमा अग्रता देखिन्छ।

४.८. भारतका नेपाली गीतमा लोकलयका विभिन्न लय, भाकालाई आधार बनाइएका छन्। तीस-चालिसको दशकमा लोकलयमा आधारित धेरै गीतहरू पाइएका छन्। अझ पनि गीतमा लोकतत्व पाइन्छन्।

४.९. यता दार्जीलिङ सिक्किमतिर लेखिएका गीतहरू पप र रक संगीतका लागि पनि प्रयोग भएका छन्। सुदर्शन तामाङ, भाष्कर प्रधान, सुरेश कुमार आदि यस दिशातर्फ सरिक देखिन्छन्।

४.१०. दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलनले बर्सेनी आयोजना गर्ने नेपाली संगीत प्रतियोगिता र स्वरश्री प्रतियोगितामा सर्वश्रेष्ठ शब्दकारको पनि छनौट हुने प्रणालीले गीत-लेखनतर्फ निकै प्रेरणा, धरातल निर्माण भएको छ।

४.११. सन् १९६२ सालमा खोलिएको आखाशवाणी खरसाङ, पछिबाट खोलिएका आखाशवाणी गान्तोक र आखाशवाणी गौटीले भारतमा नेपाली गीत लेखनलाई ऩिकै अभिप्रेरित गरेकोा छन्। यस दिशामा अझ आकाशवाणी खरसाङ अघि छ।

५. उपसंहार- रेकर्ड गरिएकै आधारमा हेर्दा मात्र पनि भारतमा नेपाली गीत लेखनको एक सय वर्षे लामो अवधि पार गर्दैछ। यत्रो लामो परम्परामा भारतका नेपाली गीतले विभिन्न मोड-उपमोड, घुम्ती, माइलखुट्टी बसाउँदै अघि बढिरहेछ। यहाँका गीतमा जातीय अस्मिताको चेतना सर्वोपरी विषयवस्तु बनेको देखिन्छ। भारतमा नेपाली गीत लेखनलाई अहिलेसम्मको अवधिलाई चार चरणमा विभाजन गरेर हेर्न सकिन्छ। कामी गुरूङदेखि लिएर, एल टी लामा, कालुसिंह गहतराज, विसाषन लामा, अम्बर गुरूङ, गोपाल योञ्जन, अगमसिंह गिरी, हरिभक्त कटुवाल, जस योञ्जन प्यासी, नरदेन रूम्बा, कुसुम गजमेर, तुलसी घिमिरे, पुरण गिरी, पुष्कर पराजुली, कमल रेग्मीसम्म आइपुग्दा नेपाली गीतले उत्तरोत्तर प्रगति गरेको देखिन्। गीत त संगीतकार जति प्रायः सबैले नै लेख्छन् तर पक्का गीतकार व्यक्तित्व भने उपर्युल्लिखितबाहेक अरू थोरै छन्।

प्रमुख साभार र सन्दर्भ सूची-

१. कृष्णहरि बराल, गीतः सिद्धान्त र इतिहास, काठमाडौं, विद्यार्थी पुस्तक, भण्डार, २०६०।

२. संगीत माधुरी (दार्जीलिङका अजम्मरी गीतहरूको गायन सिडी अल्बम्,२००१, दार्जीलिङ, गोदुनिस।

३. सम्पादक मण्डली, दार्जीलिङको नेपालीभाषी समुदाय,,नयाँ दिल्ली, साहित्य एकाडमी, २००९।

४. दिलकुमार प्रधान सम्पा. भारतेली नेपाली कविता, वीरपाडा महाविद्यालय, वीरपाडा,२०१२।

५. गुवाहाटीकी डा शान्ति थापासँग लिएको मौखिक जानकारी।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।