19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आदिवासी सीताको बयान

कविता दीपा राई March 4, 2015, 11:47 pm

धर्तीकी छोरी म। चुपचाप धर्तीबाट निस्केको थिएँ।

तिमीलाई पनि जन्म दिन मेरो जन्मको खाँचो थियो।

म धर्तीको पहिलो सन्तान।

निःशब्द छु! अवाक छु!

निस्तेज छन् आँखा। विस्मातमा परेको छु।

निर्दोष निधारमा टीका कलङ्कको लिई

लज्जित छु शहरको भीड़माझ।

धोबी त निमित्त मात्र थियो।

के दुइ शरीर एक आत्मा होइनौँ र हामी?

प्रिय, मलाई नसोध

परित्यक्त जीवन कसरी धानिरहेको छु।

एक पलको अग्निपरीक्षामा

मभित्रको ‘म’ कसरी जलिरहेछु हुर्हुर्ती

ननिभ्ने तिरस्कृत ज्वाला बनेर!

थाहा छ मलाई तिम्रो मनको आँगन

पोल्दै होला आर्यधर्मको रापले।

के काफी थिएन र तिम्रो शङ्काको रोगलाई

मेरो विश्वासको मलम?

प्रिय, आज म घेरिएको छु प्रश्नहरूको भीड़ले।

किनारिएको आत्मसम्मानभन्दा

अफालिएको सत्यभन्दा

जोगाइएको पवित्रताभन्दा

महान् हो र

अग्लो छ र

इतिहासको कुनै हैकमी घुम्तीमा तिम्रो पुर्खाले खड़ा गरेको आर्यधर्म?

मेरा आँखा भरिएको छ भयङ्कर दृश्य र गहिरो पीड़ाले।

पिताको आज्ञा र पुत्रको खुनी अस्त्र

र जननीको आधा रेटिएको कण्ठ ...

हे मेरा प्रिय

धर्मबद्ध क्रूरताको शैयामा अचेत रेणुकादेवीको

अन्तरमनमा, गहनतामा, चेतनामा

जिएकी छु यसघड़ी।

त्यो गहनता/ त्यो चुनौती/ त्यो दर्प

मेरो आत्मसम्मानभन्दा कम हो र?

मेरा आराध्य!

सन्देहको शूलले अहिल्यालाई पनि नघोचेको कहाँ थियो र?

अपमानको पीड़ाले शुपर्ण खाँ पनि नबिथोलिएको कहाँ थियो र?

उर्मिलाको पीड़ा/ अहिल्याको पीड़ा/ शुपर्ण खाँको पीड़ा/ रेणुकादेवीको पीड़ा

र मेरो पीड़ा कहाँ फरक छ र?

फरक यति नै छ -

हाम्रो बाटो अलग अलग छ।

प्रिय, पानीको फोकाजस्तै सतहको सुन्दरतामा भुलिरहेँ

कलङ्कित जीवन जिई निष्कलङ्क पुत्रद्वय दिई

रमिरहेँ प्रकृतिको कोखमा।

भयो अब, अझ कति दिउँ अग्निपरीक्षा?

अझ कति दिउँ घाउ मेरो आत्मालाई?

हे मेरा आराध्य, मलाई माफ गरिदेऊ।

अब मलाई के मतलब ‘पटरानी’ र ‘राजमाता’-को उपाधिसित।

जुन मलाई स्वीकार्य छैन मेरो आत्मसम्मानको सट्टा।

बरू सक्छौ भने सुनिदेऊ मेरो अन्तरमनलाई।

प्रिय, म जान्दछु, लव-कुश पनि आर्यपुत्र हुन्।

कति पो फरक पर्छ र अब ‘म’-मा?

अब शान्त छु/ निश्चिन्त छु/ स्थिर छु।

प्रिय, चुपचाप धर्तीबाट निस्केको थिएँ।

धर्तीकी छोरी म। फर्कँदैछु मेरी आमा धर्तीकै कोखमा।

म आदिवासी सीता।

(गान्तोक, सिक्किम)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।