पासो लागेर झुण्डिएको समय जस्तो
एउटा विवशताको क्यालेण्डर
हेरेको छ, ठड्याएर
मक्किएको घरलाई खाँबो—मा
र बनीबूतोबाट फर्किने दिन
मेरी बृद्ध
आमाको पौरखले पोतिएको
धुवाम्मे कमेरो माटोको भित्तोमा
आमाकै
उदास आँखा अगिल्तिर
तानेको छु, खुशी लक्ष्य हो, यात्रा हैन—को
एउटा धर्सो
मेरो हातमा आदिमताको गन्ध आउने
सहकाल फुटाउने
कोदालो छैन्, भविश्य जोत्ने हलो छैन
मेरो आङमा पसिना सुकेर गन्हाएको
झुत्रो कपडा छैन
मनमा उकाली ओरालीमा गाउने
पकन्दीका भाखा छैनन्
न त छ, छुट्टिनुअघिको एक फाँको हाँसो
सोल्टिनीलाई
किनकि गाडी चढ्नु छ
हवाइजहाज चढ्नु छ
जाबो
बनीबूतो गर्न निक्लन पनि
खेतबारी
अनजान स्थानमा छन्, कुन भीरमा कुन पर्वतमा
बाटो अज्ञात स्थानमा पर्छ,
कुन भूतमसानघाटतिर हो
मलाई त सिर्फ
गाडी पुग्ने, हवाइजहाज उड्ने
स्थानसम्मको बाटो थाहा छ
बरु थाहा छ
धेरै धेरै रङ्गिन सपनाहरुका ठेगाना
बरु थाहा छ मलाई
धेरै ठूल्ठूला लक्ष्यका चिया खाने चोक
गफमा लडाउने कुराहरु
र, साह्रै राम्ररी थाहा छ
मेरी आमाको
सन्तुष्ट अनुहारको रङ्ग
एकादेशका कथाहरुमा जस्तो
बादलको उचाइमा एक आधुनिक शहर
र जहाँ उभिएको मेरो मुन्डा घरको उचाइ
जसभित्र छोराछोरीले
स्कूलबाट टिपेर ल्याएका कखराका ध्वनि
र हजूरबाका औषधिका प्रिस्क्रिप्शनहरु
र थाहा छ
मेरो मनभित्रको मान्छे
जो मलाई नानाभाँती साउती गरिरहेछ
तर्साइरहेछ
कि मैले
बनीबूतोबाट फर्कँदा
सुनको थैलो लिएर फर्किन्छु कि फर्किन्नँ
यो आदिवासी बस्तीबाट
रहर र उत्सुकताले गाँजिएका
मेरा साना साना खुट्टाहरु
बढ्दै छन् अगाडि, बाहिरिँदै छन्
किस्ता किस्तामा पूरा गर्नेु रहेछ प्रेम सम्बन्ध
टाढिएर बस्नु रहेछ आफ्नै घरआँगनबाट
नजिकैको हृदयहीन, संवेदनहीन रेडियोलाई
यी कुनै कुराको वास्ता छैन, बस् फुकिरहेछ
उस्तैगरि :
छिमेकीको हवेलीमा काम गर्ने
यति र उति कार्पेन्टर
बिजनेश सम्हाल्ने यति र उति क्रुमेम्बर
आँगन बढाड्ने यति र उति क्लिनर
प्लम्बर
फोरमेन, सेक्युरिटी गार्ड
बुढाबुढी स्याहार्ने, ठूलाबडालाई चिया ओसार्ने
आफ्नै देशले आफ्नो बनाउन नसकेको
आफ्नै पैसामा बेचिएको
म हूँ एक आधुनिक दास
एक आधुनिक हली
एक आधुनिक कुल्ली
एक मजदूर
एक खेतालो
छिमेकीको खेतबारीमा
बनीबूतो गर्न निक्लेको मानिस ।
दम्माम, साउदी अरेबिया