19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डायोस्पोरिक कथासङ्ग्रह : कमरेड भाउजू

कृति/समीक्षा मुक्तिनाथ घिमिरे March 5, 2015, 12:27 am

आफ्नो जन्मथलो छोडेर बिदेशिने क्रम पछिल्ला दिनहरूमा तीव्र भएको छ । कारण जे भए पनि यस्तो प्रवृत्ति राष्ट्रको लागि खतराको सूचक भएको विश्लेषण बारम्बार सुनिन्छ । राष्ट्रको वार्षिक बजेटभन्दा बढी विप्रेषण निरन्तर भित्रिनु र बेरोजगारको टड्कारो समस्या छोटो समयको लागि नै भए पनि मथ्थर हुनुलाई अर्थविद्हरूले सकारात्मक रूपमा लिएका छन् । उत्तिकै सकारात्मक पाटो हो थातथलोबाट टाढिएर पनि आफ्नो माटो, संस्कृति र राष्ट्रियताबाट विच्छेदित हुन नचाहने मनोदशाको अभिव्यक्तिको रूपमा आउने डायस्पोरिक साहित्य । यसै मेसोमा उभिएका छन् स्रष्टा कृष्ण बजगाईं ।

बेल्जियम र बेलायतमा पन्ध्र वर्षभन्दा बढी समय व्यतीत गर्दा भएको विरानोपनको एँेठन, द्वैध चेतना र विभाजित मानसिकतालाई एक दर्जन एक अभिव्यक्तिमा उनेर डायस्पोरिक कथा सङ्ग्रह ‘कमरेड भाउजू’मार्फत अनुगुञ्जित गराएका छन् सर्जक बजगाईंले । जन्मभूमिबाट विच्छिन्नताको बोध र असुरक्षाको आभास डायस्पोराको सामूहिक पीडा हो । यही पीडालाई कथाकार बजगाईंले मुखरित गरेका छन् । परदेशको रोमाञ्चक अनुभूति र बिछोडिनुको मनोदशालाई आख्यानको अवलम्बनबाट उजागर गरेका छन् लेखक बजगाईंले यी रचनाहरूमा क्रमशः ।

‘कमरेड भाउजू’ कथा सङ्ग्रहमा मानवीय मूल्य र मान्यताको क्षयीकरणलाई सङ्केत गरिएको छ । यान्त्रिकीकरण र साङ्ख्यीकीकरणमा अभ्यस्त मानवीय क्रियाकलापलाई बेजोड व्यङ्ग्य हानिएको छ । कम्युनिस्ट दर्शन र आस्थाका आलाप अलाप्ने तर आध्यात्मिक चिन्तन र चेतनाबाट मुक्त हुन नसक्ने कमरेडहरूको विरोधाभाषयुक्त चरित्रलाई पर्गेलिएको छ । द्वन्द्वको मारले विस्थापित होनाहार प्रतिभाको सफलतालाई आँखीझ्यालबाट चिहाइएको छ । भौतिक सम्पन्नताको लोभ र लालचमा गरिने सम्बन्धविच्छेद, कानुनी विवाह र पुनर्विवाहका नसिद्धिने जटिल चक्रव्युहलाई नजिकैबाट नियालिएको छ । दुःखका दुर्दान्त आयामहरू कसरी सम्पन्न मुलुकमा पनि नेपालीका लागि साथी नै बनिरहन्छन् यी कथाहरूमा प्रस्ट फोटोग्राफी छ ।

सञ्चारकर्मी र लघुकथाकारको रूपमा परिचित कृष्ण बजगाईंको पाँचौं कृति ‘भाउजू कमरेड’को कथानक परिबेश परदेश भए पनि पात्रहरू मूलतः परिचित र अधिकांश नेपाली छन् । ती पात्रहरूमा अतीतस्मरण तीव्र छ । गरिब मुलुकका नागरिक हुनुको बाध्यताले सम्पन्न जिन्दगीको अतीव लालसा छ । फलतः कतै ती पात्र लेस्बियनको लोग्ने भएर बस्न बाध्य नपुङ्सक पुरुष बनेका छन् त कतै तेस्रो कुकुरको रूपमा सम्बोधित हुन अभिशप्त छन् । यस्ता पीडादायी मर्मलाई कथाकारले ‘म सिसिफस’ र ‘तेस्रो कुकुर’ कथाका माध्यमबाट अभिव्यक्त गरेका छन् । सम्मिश्रित संस्कृतिको वाणी यी कथामा डायस्पोरा साहित्यका अभिलक्षणका रूपमा उद्बोधित छन् ।

‘कमरेड भाउजू’ किताबमा प्रयुक्त भाषा साहित्यिक छ । तर त्यो भाषा न जटिल छ, न दुर्बोध नै । छोटाछोटा वाक्यको प्रयोगले कथानकको तीव्रता उस्तै जादुयी छ । शैली चमत्कारी छ । ‘मिट सिङ्गल डट कम’ यसै कोटीको कथा हो । भाषिक संयोजनको सुन्दर एक नमुना छ यस कथामा । ‘‘वैभव पोखिएका छन् पहिरनमा । पहिरनबाट नअटाएर जवानी चिहाइरहेका छन् बाहिर । लालसी आँखा चलायमान छन् चारैतर्फ । उत्तेजक सङ्गीत, रङ्गीचङ्गी बत्तीको झिलिमिलीमा कुमार कुमारीहरूको जमघटले वातावरण उत्तेजक बनेको छ । सहभागीहरू धन्यवाद दिइरहेका छन् ‘मिट सिङ्गल डटकम’ लाई ।’’

डायस्पोरिक कथाका शीर्षक चयनका कथाकार अति नै सचेष्ट छन् । ‘मङ्गल ग्रहमा देवकोटाको सालिक’, ‘गणतन्त्रपछिको पहिलो पे्रम’, ‘चौथो विवाह’, ‘मिडिया मुस्कान’ जस्ता चित्ताकर्षक शीर्षकको शोभा ‘गड्यौला उर्फ सत्यराज’ शीर्षकले धमिल्याएको भानमा परेका पाठक त्यतिबेला भ्रममुक्त हुन्छन् जब कथाले उत्कर्ष प्राप्त गर्छ । यो कथाको शीर्षक जति अनाकर्षक छ त्यति नै आकर्षक छ विषयवस्तुको चयन, त्यसको प्रस्तुति र समापन । सरकारी कर्मचारी सत्यराज पिएचडी गर्न लन्डन आएका छन् । गड्यौला सम्बन्धी खोज उनको अनुसन्धानको विषय हो । प्रयोगशालाबाट रेस्टुरेन्टमा पार्टटाइम काम गर्न जानु उनको बाध्यता हो । अनुलता उनकी श्रीमती हुन् । दिनभर लन्डनको एउटा कोठामा कोचिएर बस्नु उनको नियति हो । राधेश्याम उनीहरूकै फ्ल्याटमा बस्ने भारतीय हो । सत्यराज इन्टरनेटमा गड्यौला खोज्छन् र राती गड्यौलाझैं गुँडुल्किन्छन् । उनलाई अनुलताका इच्छा र आवश्यकताबारे त्यति चासो छैन । एक दिन राधेश्यामले अनुलतालाई बनारसी पान ख्वाउँछ । अर्को दिन बनारसी लड्डु ख्वाउँछ । त्यसपछि कथाकार लेख्छन्—‘‘अनुलताले लड्डु खाएपछि पानी पिई । पानी पिएपश्चात हेर्दाहेर्दै राधेश्यामलाई साक्षात् कृष्ण देख्न थाली र आफूलाई राधा । त्यसपछि वृन्दावनमा पुगेजस्तै लाग्दै थियो अनुलतालाई । राधेश्यामले निकैबेर बाँसुरी बजाइरह्यो । अनुलता नाँची रही ।’’ यौनक्रिडालाई यसरी अति श्लील तरिकाले प्रस्तुत गर्न सक्नु कथाकार बजगाईंको लेखकीय खुबी हो ।

कथाकारले ‘पलायन कमरेड’ र ‘कमरेड भाउजू’ कथामा कम्युनिस्ट चरित्रको राम्रै चिरफार गरेका छन् । आफूलाई कम्युनिस्ट राजनीतिमा सक्रिय पनि राख्ने, आफैंले दलाल र सामन्ती भनेको विस्तारवादकै गुलाम भएर गर्वका साथ काम गर्ने दोधारे चरित्रलाई ‘पलायन कमरेड’ कथामा नाङ्गेझार पारेका छन् । आदर्श र व्यवहारमा सामञ्जस्य हुन नसक्दा धर्मप्रसादको पार्टी सदस्यता खारेज भएपछि उनकी श्रीमतीलाई कमरेड पद घाँडो भएको सन्दर्भ ‘कमरेड भाउजू’ कथामा उठान गरेका छन् । लाग्छ कथाकार राजनीतिक ढोङ र आडम्बरको मखुण्डो उतार्न प्रयत्नशील छन् र कमरेडप्रति अलि अनुदार पनि ।

‘कमरेड भाउजू’ कथा सङ्ग्रहको अर्को उल्लेख्य पक्ष नवीन विषयवस्तुको चयन हो । यसै कोटीको सिर्जना ‘मौनयुद्ध’ सर्वथा नूतन र पृथक छ जसमा निरुत्तर र अकल्पनीय घटनाले पात्रहरू प्रताडित छन् । नेपालको अनाथ आश्रममा बसेको बालक काले बेलायतमा मिलनबिन्दु बनेको छ । उसलाई धर्मपुत्र बनाउने आमा रातो आठ सय पचास सिसिको हार्लेडेभिडसन् बाइकमा हुईंकिन्छिन् । एक दिन मिलनबिन्दु छाँगाबाट खसेजस्तो हुन्छ जब उसले थकित, गलित र क्लान्त आमाको मुखबाट सुन्छ—‘ड्याडलाई एउटा केटाले फकाएर लग्यो ।’ पश्चिमा देशमा बाक्लै पाइने ‘गे’ जोडीको बिछोडलाई कथाकारले विषयवस्तु बनाएर नयाँ क्षितिजको उद्घाटन गरेका छन् । लिभिङ टुगेदर, लेस्बियन र गे जस्ता प्रचलन व्याप्त सभ्यताको सानो पाटो कथामा मुखरित गर्नु उनको साहसको परिचय हो ।

कृष्ण बजगाईं लेखन र सम्पादनमा सक्रिय स्रष्टा हुन् । उनलाई निर्दयी समीक्षाको भुत्भुतेले खुइल्याउनु आवश्यक छैन । न प्रशंसाको अनावश्यक शब्दले धुरी चढाउनु आवश्यक छ । अझसम्म पनि त्यति विस्तृत रूपमा फैलिनसकेको डायस्पोरिक साहित्यको उन्नयनमा समर्पित यी कथाकारको लेखनी आख्यानमय छ । उनका कथा तथ्यको निकटतम छन् । डायस्पोरिक कथाका चरित्र राम्ररी आत्मसात् गरी लेखिएका यी सिर्जनाहरू लोभलाग्दा छन् । परदेशमा रहँदा भएको आफ्नो अवस्थाबोधले विद्वेलित मनोदशा व्यवस्थापनको भावनात्मक प्रयत्न हो यो । परदेशी भएको मनको अन्तरतम तहमा अनुगुञ्जित स्वरहरूको न्यायको प्रचेष्टा हो यो । ‘कमरेड भाउजू’ डायस्पोरा साहित्यको उल्लेख्य पुस्तक हो ।

पुस्तकः कमरेड भाउजू (कथा सङ्ग्रह)

लेखकः कृष्ण बजगाईं

प्रकाशकः शब्दार्थ प्रकाशन, काठमाडौं

मूल्यः रू. १७५।—

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।