19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ बिहानी

कविता दीपेन्द्र के.सी. March 9, 2015, 7:35 am

सहस्र युग बोकेर काँधमा

यहाँ अधीर प्रतीक्षा छ

मैले खोजेको नयाँ विहानीको ।

र्

एउटा उपक्रम !

आजभन्दा ८५ वर्ष पहिले पनि

तगडा दृष्टिमा एकजोडा आँखाहरु

र आज पनि पावरदार चश्माभित्रबाट चिहाउने दृष्टिमा

खोजेको थियो त्यही बिहानी !

थकित अव !

आफनै बिश्वाससँग हारेर

कति खोजिरहन्छ र ?

आफनै आँगनबाट वतन नछोडी हिडेको विहानी

जीर्ण देहमा दशक दशकका

जामा पहिरिएर नाचेको थियो देश

उनीहरु ठोकिरहे उत्तेजक मृदङ्गा

हामीहरु ताली बजाईरह्यौं

लाग्छ, राजनीतिको मधुशालामा

बन्दगी राखेर आफैलाई

उभिइरह्यौ अँध्यारो चौरस्तामा रमिते वनी

हुनसक्छ यही रातमा राजनीतिसँग पोइल लागेको हो हाम्रो विहानी ।।

नयाँ नेपालको नयाँ विहानी !

क्षितिज खुल्नेछ सवेरै

र, नीलो आकाशमा

बथानका बथान कोइलीहरुले गाँउदै उड्ने भाग्यका मधुर सवाईहरु

ती दृष्यहरु हेर्न आतुर मेरा एकजोडा आँखाहरु पनि

किन ? यति उदास तँुवालो मात्र देख्दैछ नयाँ नेपालमा ?

महाशय !

तपाईको परिभाषाले दिएको यो “नयाँ”

स्वीकार्य छैन मलाई

किनकी—

पहिले त्यो नाँगो छ

र, दोस्रो— जीवनका यति धेरै

अप्ठयारा उकालीहरु चढेर पनि

हाम्रो सम्म मैदान कहिले आएन

जहाँ हुर्किरहेको हुनुपर्ने थियो ६२/६३ मुरी फल्ने सपनाको खेती ।।

त्यसैले सभामुख महोदय !

माननीय ज्यु !

मेरा दृष्यका तृष्णाहरु

मेरा पछाडीका पुस्ताहरुलाई छोडनु भन्दा पहिले

सँधै व्दन्द र तनावमा उँघिरहेको अनिदो सँसदमा

एउटा प्रश्न प्रेषित गर्न चाहन्छु —

“ हामीले गास, वास, कपासको चिन्ताबाट बाहिर निस्केर

शान्तिले बाँच्न र खुशीले हाँस्न कहिले पाउने महाशय ?”

यो प्रश्नपछि सायद

अकारण विघटन हुनसक्छ सँसद !!

बागलुङ, हाल लुभेन बेल्जियम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।