19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संविधानसभा महात्म्य

हास्यव्यङ्ग्य प्रजेश खनाल March 9, 2015, 7:51 am

(संविधान नबन्नुमा दोष दिइएका माननीयज्यू भन्नुहुन्छः)

संविधान, संविधान

जनता कहिल्यै थाक्दैनन् ।

विचरा चिच्याइरहन्छन्

हामी किच्याइरहन्छम् ।

हैन संविधानसभा चाहिएर चुनाव गरेको हैन ?

संविधानसभा छ त ।

भगवान् रामको वानर सेनाभन्दा विशाल छ

अझ संविधान बन्ने वित्तिकै

संविधानसभा त सक्किगो नि ।।

बल्लतल्ल, राज्यको ढिकुटी रित्याएर

शहिदको रगतमा पौडँदै

हात परेको संविधानसभा

यसलाई त

जुगौंजुग पालिरहनुपर्छ

मलजल हालिरहनुपर्छ

चुहिएला कि भनेर

दुलादुली टालिरहनुपर्छ ।

कि कसो ?

फेरि संविधानसभाले के विगा¥या छ ?

अरबका खाडीमा भेडा चराउन तयार

छ सयले जागीर पाएका छन्

तिनका अरौटे, भरौटे, गरौटे

हजारौंले गुजारा चलाएका छन् ।

फुटा कौडी नदेख्नेले

डलर फलाएका छन् ।

छिमेकीले नचिनेका मान्छे

देश विदेशमा कहलाएका छन्,

सिंहदरवारमा सल्बलाएका छन् ।

मेरी आम्मै . . . ।।

के छैन र संविधानसभामा ?

चोर–डाका छन्

बुढापाका छन्

वीषवृक्ष छन्, कल्पवृक्ष छन्

फलाहारी छन्, सर्वहारी छन्

पजेरोका धनी छन्

हात्तीछाप पैतालामनि छन्

हार्ने छन्, जित्ने छन्

मर्नेका आफन्त छन्

मार्नेका मतियार छन्

जंगली पनि छन्

कंगाली पनि छन् ।

अभैm भन्नु पर्दा

माउवादी छन्, पाठावादी छन्

मधेसवादी छन्, अढेसवादी छन्

ओलीवादी छन्, गोलीवादी छन्, होलीवादी छन्

विर्तावादी छन्, फिर्तावादी छन्

राजावादी छन्, खाजावादी छन्

झडपवादी छन्, हडपवादी छन्, सडकवादी छन्

लस्करका लस्कर तस्कर पनि छन्

महाभारतमा भएजत्ति त छँदैछन्,

नभ‘का नि उत्पत्ति भा‘छन्

अनि माया लाग्दैन त यस्तो संविधानसभाको ?

फेरि हामी ६०१ लाई कत्ति मूर्ख ठानेको

हामीले बुझेका छैनौं र ?

संविधान बनिसक्दा हाम्रो जागीर चट् हुन्छ

अझ, संविधान बनाउनु भनेको त

आ भैंस मुझे मार

टुप्पामा बसेर फेद छिनाल्न हामी सत्तेजुगका कालिदास नि हैनौं,

भस्मासुरलाई तथास्तु भन्ने शिवजी नि हैनौं

अभैm आश छ संविधानको ?

भो व्यर्थै दुःख नलेऊ,

किनकि हामी बैठक बसेकै छौं,

संविधान नबनाउन कम्मर कसेकै छौं

जति बाझे पनि

संविधान नबनाउने सहमति गरेकै छौं

वाद र साथ छुट्टै भए पनि

संविधानसभा अमर राख्ने

मतो मिलाएकै छौं ।

अँ, एउटा कुरो,

भ्रुणहत्या गरिएको नेपाली संविधानको

स्मृतिग्रन्थ निकालौंला,

अनि फोटोमा माला चढाइदिउँला ।

देशको गरिमा बढाइदिउँला ।।

श्री हिमालय उ.मा.वि.

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।