म त्यही बाटो भएर आईपुगेको थिए, जुन बाटो भएर गएको थिए । तर, जादा हिडेका पैतलाका डोबहरु फर्किदा बसका चार पाग्राले पहिल्याउदै आए । मैले हिडेको बाटो गाडी हिड्ने रोडमा रुपान्तरीत भै सकेको थियो ।
गाउँमा सानो चौरी थियो । दाईखालहरु तेही चौरमा गोल खेल्न सिकेको कुरो गर्थे । हामीले पनि तेही चौरीमा खेल्न सिक्यौ । भाईखालहरु पनि तेही चौरीमा खेल्न सिक्दै थिए ।धरानबाट चढेको बसले मलाई त्यही ठाउँमा ल्याईपु¥यो ।विदेशमा हुदै जानकारी पाएको थिए । गाउँ आईपुगेपछि भने गाउँ सम्म गाडी कुदेको, गोल खेल्ने गरेको चौरमा बस बास बसेको र दुईचारवटा दोकान घर बनिएको आफ्नै आँखाले दोखे ।
बास बस्न आईपुगेको बस अन्तिम सास फेरेर घच्याक्क रोकिए पछि मान्छेहरुबाट झुरुप्प घेरियो ।उमेर छिप्पिएकाहरु अलग्गै उभिएर बसबाट झर्ने यात्रु हेरी रहेका थिए । केटाकेटीहरु तछड मछड गर्दै पछाडीको ढोकाबाट गुरुरु चढे । खलासीले कराएर रोक्न खोज्यो,— एकछिन एकछिन ।
आराम गर्न बसेको बसमा यि केटाकेटीहरु किन चढेका ?–को कौतुहलता लिएर म अगाडीको ढोकाबाट ओर्लिए ।कसैले पछाडीबाट कोट्यायो । हेरे, काका पर्नु हुने रै छ । सोधीहाल्नु भो,— कैले आईस ?
‘ई आउदै गरेको काका ।’–हात जुम्ले गर्दै मैले जवाफ दिए । अरु पनि चिनारु थिए, सबैसँग साईनो अनुसारको अविवादन सहित हालखवर आदन प्रदान गरिसक्दा अध्यारो खस्न लागिसकेको थियो । घर पुग्न अझै केही मिनेटको दुरी तय गर्नु थियो । अलिक हतारो गर्दै घर पुग्ने बाटो समाते ।
कुकुर भुक्यो र म रोकिन पुगे । आँगन टेक्दा नटेक्दै पाईला टक्क अडियो । सामुन्यमा झम्टुला झै पोजिसन लिएको थियो कुकुरले ।
‘मालिक पनि चिन्दैनस ?’–को रवाफिलो पाराले म ठिङ्ग उभिए । कुकुर झन आक्रमक भएर भुक्न थाल्यो । ठिक त्यही बेला प्रतिलिपि अनुहार ढोकामा पुलुक्क देखा प¥यो ।
मैले छोडेर जाँदा आमाको पेट भित्रै थियो । विदेशको माटोमा पसिना बगाउदै गर्दा जन्मेको खवर आयो ।खवर गर्ने श्रीमती थिई ।ढोकामा देखा परेको प्रतिलिपि अनुहारलाई देखेर तेतीबेला मेनकाले भनेको सम्झिए,– छोरा त काटीकुटी बाउ जस्तै ।
‘ओहो...! यत्रो भएछ ।’ भनेर मैले भन्नै भ्याईन । उसले पनि उभीएर हेरि राखेन, लगत्तै ढोका भित्र पसिहाल्यो ।
टार्जन !–हकार्दै मेनका फुत्त निस्की । उसको लुङ्गीमा अघि ढोकामा देखापरेको प्रतिलिपि अनुहारलपेटिएको थियो ।रिमरिम उज्यालोमा देखे – मेनकाको गालामा लाजको लाली टिलिक्क टल्केको । र,मैले हेरे, मेनकाको मुहार एकटक सँगले । मेनकाको मुहारभरी लाजको लाली फैलिदै गयो । परिणम, कुनै आपत आईलागे जस्तो के गरौ कसो गरौ को सकस झल्काई मेनकाले ।
सरम छोप्न मनेकाले कुकुरतिर लक्षित धारेहात उज्याएरै‘धर’ गरी । हकारी – घरको मूली पनि चिन्दैनस् ?
गाली खाएर टार्जन पुच्छर हल्लाउदै पिछडी हट्यो ।मैले भन्दिए,–आफ्नै छोराले त चिन्दैन ।
प्रतिलिपि अनुहार लुङ्गीमा झोल्टुङ खेलीरहेको थियो । लुङ्गीमा पिङ खेलिरहेको छोरालाई चिलले चल्ला झम्टेको गतिमा दुवैकुममा समाती र अगाडी सार्दै चिनाई,– बाबा पो त ।
यतिका बर्ष पछि परिवारलाई भेट्नुको खुशी त छदै थियो । छोरा सामुन्य देखेर एउटा बाबुले गर्वको छात्ति फुलायो । मेरो छोरा ...!–हात फिजाएर अंगालो थाप्ने प्रयत्न गरे । केहीअसहज महसुस भयो किनभने बाँया हातले हत्केलाभरीको ट्यावलेट र दाँया हातले लगेजको हेण्डील अठ्याको थियो । अर्थात अरपे भैखाको थिए नि त म ।
अघि सार्न खाजे पनि छोरो मानि रहेको थिएन । उ आमाकै लुङ्गीमा बेरिएर अनुहार लुकाउने चेष्टा गरिरहेको थियो । छोरालाई जोडले झट्कार्दै मेनका बोली,– हेरन यो पनि लजाउछ ।
‘भनेपछि तिमीलाई पनि लाज लाग्यो ?’शरम छोप्ने मेनकाको कोसिसलाई मैले अठ्याएँ । मेनका झन रातोपिरो भई । लजाउदै भनी,– आफु नि त?
मेनकाले तेसो भन्दिए पछि पो चाल पाएँ,–म पानी माथिको ओभानो बन्नु खोजिरहेको रै छु । किन नहुनु त !जो यतिका बर्ष पछि भेट भएको छ ।
‘किन ढिलो गर्नु भा नि ?’ भन्दै मेनकाकोहात लगेजको हेण्डील समाउन आईपुग्यो । मैले छाडी दिए । मेरो दाँया हात खाली भो । छोरोलाई समात्न खोजे । छोरो जिउ बटार्दै घर भित्र पस्यो । मेनका लगेज घिसार्दै पसी । म दुवैजनालाई पछ्याउदै पसे । भनौनःपाँच बर्ष पछि गृह प्रवेश गरियो ।
सुत्नेकोठाको एउटा कुनामा लगेज अड्याएर मेनका संस्कारीक श्रीमती हुन गोडानेर आईपुगी। शीरसँगै झुक्दैगरेको उनको शरिरलाई जोरहाते टेको दिएर भन्दिए,–देश विदेश घुमेको श्रीमानलाई यो देशी तरीका निको लाग्दैन ।
‘यो त हाम्रो संस्कार हो ।’ मेनका सर्माउदै बोली । मैले उनको आधा झुकेको शरिर उठाई दिएर वहुमा कस्तै भन्दिए,– मेनका संस्कार भनेको त हामीले पो स्थापित गर्ने रै छ ।
छ्या ! – प्यारभरी मुड्की एकसाथ छात्तीमा हान्देर मेनका अंगालोबाट फुत्की । भनौनः हजारौ भोल्टेजको करेण्ट लागे जस्तो उछिटिई । बिस्तारामा थचक्कै बस्दै भनी,– यस्तो नि संस्कार हुन्छ ?
‘हुदो र छ त !’मैले पुरै दाँत देखाएरगिच्च गरिदिए ।
बर्षौ पछिको पुरुष स्पर्शले मेनका तातो आरनबाट उछिटिएको फलाम भएकी थिई । मुहारी भूईमा मेरो ओठे घनको चोटहातले मुसार्दै भुतभुतिई, – यो मलेसियाबाट आउनेहरुको मेडिकल रिपोर्ट हेर्नु पर्छ तेसै भनेको हैन रै छ । बेला न कुबेला, ठाउँ कुठाउँ ! आँखा नि नदेख्ने ।
‘आँखा त देखि रा’छु नि !’ लाचार पल्टिएर यताउती नजर डुलाई दिए । छोराछोउ कि नछोउको दुविधाले लगेजको छेउमा उभिएको रै छ । छोरालाई अंगालोमा कस्दै भने,– मेरो छोरा ।
अंगालोमा बेरिएको छोराले असहजिलो गरिजीउ बटा¥यो ।छोराले असहज मानेको देखेर बसेको ठाउँबाट उठ्दै मेनका बोली,–खुब ! अघि त बाबा कतिबेला आईपुग्नु हुन्छ भन्दै चुमचुम गर्दैथिस त ?
‘ममी...’ बन्धनबाट फुत्किन छोराले गुहार माग्यो । मैले बन्धन खुकुलो गरिदिए । दाम्लो फुत्काएर माउतिर भागेको बाच्छो जस्तो हुत्तिएरछोरो आमाको काखमा थचारियो।मनमा च्यास्स पस्यो,– छोरालाई बाउको काख खस्रो लाग्यो कि बिझायो ?
‘खै त ?’लगेजतिर आसे नजर लगाउदै छोराले आमालाई सोध्यो ।
‘बाक्सा भित्र छ रे ।’छोरोलाई विश्वास दिलाउदै म तिर फर्केर मेनकाले भनी,– हेर्नुन यसलाई खेलौनाको हतारो ।
उड्ने प्लेन ल्याईदिनु भन्ने छोराको फर्माईस थियो, फोनमा । छोराको फर्माइस लगेज भित्र थियो । आफ्नो अंगालोमा छोरोलाई फर्काउने लालसले दिमागमा घर गयो । मैले छोरोसँग एकप्रकारको ब्ल्यक मेलिङ शुरु गरे,– मेरो काखमा आउने हो भने मात्रै झिकिदिन्छु ।
छोराले फेरी साहायताको आशाले आमाको मुख हे¥यो । मेनकाले ढडस दिई,–जान त जा बाबाकोमा ।
खेलौनाको लोभ देखाएरै भए पनि छोरालाई आफु सम्म तान्न सकेको थोरै खुशीले फुरुङ्गहुदै मैले लगेज खोले र प्लेन हातमा राखी दिए । खेलौना पाएर छोराले उत्साहित हुदै सोध्यो,– उड्नु त उड्छ ?
कार्टुनबाट बाहिर निकाल्दै मैले उल्टै प्रश्न गरे,–नउड्ने नि प्लेन हुन्छ?
‘हुन्छ त, सानेको जस्तो ।’–भनेर छोरा परिक्षण गर्न आतुरियो । ‘भोली बिहान खेलाउनु’ भनी राखेर मेनका भान्सामा पसी । तर,उडाएर देखाउनु पर्ने ढिपी छोराले छोडेन । म त छोराको हरेक आग्रहमा नतमस्तक नै थिए । म चाहन्थे छोरा नजरबाट नहटोस । मैले खेलौना प्लेनको पाटपुर्जा, ब्याट्री, रिमोट फिटफाट गर्दै सोधे,– को साने ?
‘प्लेन कसरी उड्छ ? कसरी उडाउने ?’ –घोरिएर हेर्दै छोरोले भन्यो,– पल्लो घरको साने ।उसको बाउले पनि विदेशबाट पठाई दिएको छ ।
‘खेलौना ! उड्ने खालको प्लेन हो ।’ –भन्ने विश्वास दिलाउन कोठाको चारैकुना उडाएर देखाई दिए । प्लेन उड्न थाले पछि छोरा खुशीले उफ्रियो । छोराको खुशीले मलाई पनि खुशी तुल्यायो । प्लेन उडिन्जेल छोरा मेरोसाथमा मज्जैले रत्तियो पनि । तर, जव मेरो हातबाट रिमोट आफ्नो हातमा लियो र आफैले उडाउन थाल्यो, म भन्दा पनि खेलौना सितै रत्तीन थाल्यो । खाना खानु बोलाउदा समेत अटेर गरेर खेलाई रहयो । अन्ततः खेलौना सँग खेल्दा खेल्दै छोरा निदायो ।
सपनामा...
छोरोले भन्यो,–‘बाबा म तपाईलाई गाउँ घुमाउछु ।’ र, मलाई लिएर गाउँ डुल्न निस्कियो । उ मेरो हातको औलामा झुण्डिएर अगि अगि हिड्यो । उसले आफ्ना उमेरकाहरुको नामले तीनका घर चिनाउदै गयो । उसले नाम लिएकाहरु म विदेशीनु पछि जन्मिएका थिए, जो म चिन्दिन थिए । छोराले चिनाई दिए पछि मनमनै फलना – फलना कतिजनाको बाउ भएछन? भनेर म तिनका सन्तानहरुको हिसाव लगाउथे ।
छोरा दीलखोलेर म संग बातगरिरहेको थियो । उसको प्रफुलित चेहरामा बाबुबाट अलग्गिएर बस्नु परेको कुनै सिकायत देखिन्थेन । छिमेकको ३÷४ वटा घर डुलाए पछि छोराले भन्यो,– अव चोक जाने ल ?
छोरा यसरी अन्तरंग भएर रतिएकोले मलाई खुशीको कुनै सीमा थिएन । यस्तो अवस्थामा म छोराको कुनै कुरा काट्ने अवस्थामा थिईन । म चाहन्थे, छोरो संसार भुलोस र सिर्फ मलाई मात्र देखिरहोस ।
मैले अनुमति सुचक टाउको हल्लाई दिए । छोरोको पाईला चोकतिर मोडियो । उसको कलिला हातमा अल्झिएर डोरिदै वस बास बस्ने ठाउँमा पुग्यौ । उसले भनेको चोक त्यही रै छ ।
चोक आई पुगे पछि भने छोरा थकथकायो । उ थकथकाएकोले मैले सोधे,– के भयो ?
‘वस त गै सकेछ ।’ छोराले टाउको कनायो ।
‘भएको भए के गर्थिस नि ?’ मैले सोधे ।
‘चढेर एकछिन सिटमा बस्थे ।’ भन्दै छोराले बृतान्त सुनायो,–‘हामी केटाकेटीहरु बस आईपुग्नेबेलामा यहा भेला हुन्छौ र बाटो हेर्छौ । अनि बस आए पछि चढेर रहर पुरा गर्छौ । थाहा छ बाबा ! मलाई ड्राईभर छेउको सिटमा बस्नु मज्जा लाग्छ । भरे बेलुकी पनि आउनु पर्छ ल ?’
छोराको कुरा सुनेर‘हामी गाउँमा बस्नेहरु रहरको पराकाष्टमा बाँचेका हुदा रै छौ’ भन्ने बोध मलाई भयो। मैले छोराको रहरलाई मार्नु उपयुक्त ठानिन र भन्दिएँ,– ल ल ।
छोरा खुशीले रमायो । र, हेण्डिल समातेको एक्सन लिएर पिपिप...मुख बजाउदै कुद्यो । छोरा लड्ला भन्ने डरले म कराएँ,– छोरा ऽऽऽऽऽ
घरक्कऽऽऽ ढोका बजेकोले ब्युझिन पुगे ।ढोका खुलेसँगै कोठामा मेनकाको प्रवेश भयो । घामको प्रकाश कोठा भित्र पसुला पसुला गर्दै थियो । भर्खर निन्द्राबाट छुटकारा पाएको मेरो आँखालाई हेर्दै मेनकाले भनी,– सपनामा चिच्याउने तर्पाइको बानी मलेशिया पुगेर पनि बद्लिएन छ है ?
‘अनि अरु के के बानी बद्लिएन छ त ?’ आँङ तन्काउदै नकचरो पल्टिएँ,– रातभरीमा शंका गर्ने ठाउँ अरु पनि भेटियो कि ?
‘हन के हुनु भको ?’भन्दै मेनकाले आँखा तरी । तर, उसका फुलिएका आँखाले मेरो आँखा सँग जुधिरहन सकेन र कोठाबाट निस्की । निस्किदा निस्किदै भनी,– बेश्या मान्छे ! छिटो फ्रेस भएर खाजा खानु आउनु ।
अगाडीबाट हेर्दै मेनकाको अनुहारमा अनौठो किसिमको स्वच्छन्दता र स्फुर्ती देखेको थिए । पछाडीबाट पनि हेरि पठाएँ । यसरी हेरी पठाउदा स्प्रीङ्गको लचकतामा उसको शरिर लच्किएको देखे ।तेसो त स्वभावैले फुर्तिली हुन मेनका, तै पनि मलाई लाग्यो,–मेनकामा आज फुर्तिपन ज्यादै आको छ ।
छोरासँग अन्तरंग भएको सपनाले मलाई खुशी बनायो । यस अर्थमा पनि खुशी बनायो कि !त्यो विहानीपखमा देखेको सपना थियो । ‘उज्यालो हुनेबेलाको सपना साँचो हुन्छ’ भन्ने कथनमा म जो बाँचेको थिए ।
खुशी–खुशीमै मैले कतिबेला ओछ्यान छाडे, कतिबेला हातमुख धोए होस भएन । एक्कैचोटी मेनकाले ‘खाजा खानु’ भन्दै सामुन्यमा राखिदिए पछि पो सपनाको कुराबाट छुटकारा मिल्यो । चिया, हाप बोईल्ड अण्डा र चिउरा सहितकोखाजा विशेष प्रकारको लाग्यो । किनभने विदेश जानु पहिला मेनकाको हातले यस प्रकारको बनाएर दिएको सम्झना छैन ।
रातभरी बादल बर्षेर पखालिएको गाउँको रुप झै देखिन्थी मेनका । त्यही भएरचियाको सुर्को लगाउदै सोधे,– के हो, निकै फुर्तिफार्ती छ नि ?
मेरो भनाईको आसय मेनकाले बुझी, र पनि कुनै जवाफ फर्काईन । बरु काममा ब्यस्त भएको देखाउन खोजी । मैले मेनकाको झिनझिन चुराको तालमा खाजा खाई सके ।
विदेशबाट आएको भोलिपल्टैबाट मलाई घरको कामधन्दा समात्नु जरुरी थिएन । त्यो भन्दा पनि जरुरी त ‘अरपे आको छु है’ भनेर गाउँ छिमेकमा जनाउ दिनु थियो । त्यही सोचले गाउँ डुल्ने सुर कसे । घरबाट निस्किदा निस्किदै सोधे,–छोरा खोई ?
मेनकाले घरभित्रैबाट जवाफ दिई,– ‘हवाईजहाज सानेलाई देखाउनु छ’ भनेर खाजै नखाई कुद्यो ।
म अर्थात अरपे गाउँ डुल्न हिडे । हिडिरहदा सपनामा छोराले गरेको कुराहरु मनमा खेलाउदै हिडे । छोराले भनेको कुरा साँचो लाग्यो किनभने म वसबाट झर्दा पनि थुप्रै केटाकेटीहरु गुरुरु बसमा चढेका थिए । ‘आराम गर्न बसेको बसमा यि केटाकेटीहरु किन चढेका ?’–त्यतिबेला मलाई लागेको कौतुहलता थियो । सपनामा त्यसको जवाफछोराको मुखबाट मैले पाएको थिए ।
‘ओहो रहर पनि ....!’ –म मुस्कुराएछु नै । एकसुरले हिडिरहेको रै’छु । केटाकेटीहरु हुतुतु हासेको सुनेर झसंग भए ।छोरा र उसको साथी मलाई नै हेरिराखेको देखे । उनीहरु आ–आफ्नो हर्वाइजहाज उडाउने तरखरमा रहेछन ।
‘अलिक खुला ठाउँमा पोउडाउनु त !’–छोरालाई हेर्दै भन्दिए । छोराले ‘हुन्छ’ जनाउ दियो । उसको साथीले चै मलाई नौलो मानेर हेरिरहयो ।
उनीहरुलाई पिछाडी पार्दै केही कदम अगाडी बढेको थिए । छोरा र उसको साथीको वार्तालाप मेरो कानमा प¥यो । छोराले चिनाउदा चिनाउदै जव ‘रे’ थप्यो, म खङरङ्गै भए । चाल्दै गरेको पाईला ठाउँको ठाउँ अडियो ।
‘को हो ?’ – छोराको साथी सोध्यो।
जवाफमा छोरोले भन्दियो,– मेरो बाउ रे !
बोधे ९, धनकुटा
हाल मलेसिया