14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कोमल हृदयको नाममा एउटा हरफ

कविता किरणकुमार राई July 31, 2015, 1:29 am

गच्छे पुग्छ कि पुग्दैन मेरो मुटुको

तिम्रो मुटुको चौतारीसम्म पुग्न

अच्छेर हिँड़्छ कि हिँड़्दैन मेरो धड़्कनको

तिम्रो सुरम्य देउरालीसम्म उक्लन

भाका फेरिन्छ कि फेरिँदैन मेरो अँगालोको

तिम्रो कोमल पाखुरीको आँगनसम्म फैलिन।

शङ्काको रोटेपिङमा चिउँ चिउँ मन लिएर

माघे मेलाको रमझममा किन पो टोलाइबस्नु

हाट भरौं न बरू एकान्तको बजारमा

घाम-पानी, घाम-पानी मात्र त छ जिन्दगी

एक हाँगा सियाँल र एक पात ओतको तिर्खा

मिलिक्कैमा बगिदिनु मात्र त हो जीवन

त्यसैले नै

नीलो आकाशमा टाँगिदिएको छु इन्द्रेणीको महल

र सल्काइदिएको छु मुटुको एक पाखाभरि

तिम्रो नामको उज्यालै उज्यालो डढ़ेलो।

तिर्सनाको गल्लीमा ओहोर-दोहोर गर्दैछ

आकांक्षाको डाँड़िलो माप्पाको भेल

र भत्काउन खोज्दैछ मुटुको चञ्चले बाँध

सिमसारको सिकसिकोबाट उक्लँदैछ

दम्को परेको सेपिलो रछ्यान

र पैंचो माग्दैछ अल्लारे घामलाई

कोमल ऊष्णता।

लेप्सो लाग्ने उद्दण्ड बाड़ुलीमा भिज्दैछ

कानमा साउती गरिबस्ने कुटुनी साँझ

मुसलधारे पानीको लाखेस्-लाई टेर्दै नटेरी

वार्ताको लहरामा ट्याप्पै टाँसिएको छ रात

र लेख्दैछ थाकै-थाक नटुङ्गिने प्रीतको बात

चानचुने छैन उच्चारणको फुलबुट्टे टोपी

कोमल हृदयको थैलीभित्र अल्झेको छ सास

र मेटिँदैछ टम्म भरिएको तिर्ख्यौली आँत।

यति नै सम्झ तिमी,

औकातको बाघ औंला ठड़्याएर लेखिदिएको छु-

कोमल हृदयको नाममा एउटा अमेट हरफ

रोजेर जिन्दगीको सुकिलो खाली पानामा।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।