19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अधकल्चो दिमाग

कविता कृष्ण कट्टेल July 31, 2015, 6:52 am

हो

तिम्रै हो

देखिएको क्षितिज सबै

यो उपत्यका,पहाड,खोला, भञ्ज्याङ

यो गल्लीदेखि त्यो गल्लीसम्म

त्यो डाँडोदेखि त्यो फाँटसम्म ।

तिमी भूगोल नाप्दै गर

तिमी जात खोज्दै गर

धर्म सोच्दै गर

एक दिन् नचाइदिने छ अर्कैले

तिम्रो आँगनमा यन्त्रमानव ।

तिमी

घरभित्र कोठा बार्दै गर्नु

भाइ–भाइ लुछालुछ गर्दै गर्नु

भन्नु, एउटाले अर्कालाइ

तँ सानो जात, म ठूलो जात

अझै भन्नु,

त हिन्दु,उ क्रिस्चियन

बुद्धिष्ट र मुस्लिम पनि ।

तिमी भाग खोज्दै गर

तिमी ठूलो बन्दै गर

एकदिन् लखेट्नेछ तिमीलाइ छिमेकीले पनि ।

तिमी घरभित्र घर खोज्छौ

देख्दैनौ सिंगो संसार

देख्दैनौ दुनिया अघि बढेको

तिमीले पसिना ननिकाल्नु

जमाइराख्नु,

एकदिन् निस्कनेछ आँशु बनेर ।

तिमी तरबार उद्याइराख

किनकी,रेट्नुछ आफ्नै भाइको मुटु

तिमी बन्दुक भरीराख

किनकी उडाउनुछ कञ्चट आफ्नै आमाको

यहाँ दिमागहरु चन्द्रमा पुगिसके

तिमी बन्दुक र तरबार खेलाइराख

गुडीया सम्झेर ।

त्यसैले ए मूर्ख

बन्नुछ भने महान् यो दुनिँयामा

छोडिदेउ आफ्नै घर खोस्रन

बिर्सिदेउ तेरो,मेरो

बरु,समाउ हात एक अर्काको

उठाऊ लडेकाहरुलाइ ।।

काठमाण्डौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।