हो
तिम्रै हो
देखिएको क्षितिज सबै
यो उपत्यका,पहाड,खोला, भञ्ज्याङ
यो गल्लीदेखि त्यो गल्लीसम्म
त्यो डाँडोदेखि त्यो फाँटसम्म ।
तिमी भूगोल नाप्दै गर
तिमी जात खोज्दै गर
धर्म सोच्दै गर
एक दिन् नचाइदिने छ अर्कैले
तिम्रो आँगनमा यन्त्रमानव ।
तिमी
घरभित्र कोठा बार्दै गर्नु
भाइ–भाइ लुछालुछ गर्दै गर्नु
भन्नु, एउटाले अर्कालाइ
तँ सानो जात, म ठूलो जात
अझै भन्नु,
त हिन्दु,उ क्रिस्चियन
बुद्धिष्ट र मुस्लिम पनि ।
तिमी भाग खोज्दै गर
तिमी ठूलो बन्दै गर
एकदिन् लखेट्नेछ तिमीलाइ छिमेकीले पनि ।
तिमी घरभित्र घर खोज्छौ
देख्दैनौ सिंगो संसार
देख्दैनौ दुनिया अघि बढेको
तिमीले पसिना ननिकाल्नु
जमाइराख्नु,
एकदिन् निस्कनेछ आँशु बनेर ।
तिमी तरबार उद्याइराख
किनकी,रेट्नुछ आफ्नै भाइको मुटु
तिमी बन्दुक भरीराख
किनकी उडाउनुछ कञ्चट आफ्नै आमाको
यहाँ दिमागहरु चन्द्रमा पुगिसके
तिमी बन्दुक र तरबार खेलाइराख
गुडीया सम्झेर ।
त्यसैले ए मूर्ख
बन्नुछ भने महान् यो दुनिँयामा
छोडिदेउ आफ्नै घर खोस्रन
बिर्सिदेउ तेरो,मेरो
बरु,समाउ हात एक अर्काको
उठाऊ लडेकाहरुलाइ ।।
काठमाण्डौ