चूडामणि रेग्मी नेपाली साहित्यका पाठक-सर्जकमाझ आदरपूर्वक सम्झने नाम हो। पाँच दशकदेखि नेपाली भाषा साहित्यको सेवा-साधनामा संलग्न रेग्मीले नेपाली कथा, कविता, निवन्ध र पत्रकारिताको क्षेत्रमा स्मरणीय योगदान पुर्याएका छन्। नेपाली भाषाको मानकीकरणका सम्वन्धमा देखा परेका अन्योल र त्यस सम्बन्धमा उठेका जटिल प्रश्नहरुलाई सजिलै समाधान गर्नेतर्फ सुझबुझपूर्ण र अरुभन्दा भिन्न प्रयोगात्मक लेख्य प्रणाली प्रस्तुत गरेर रेग्मीले आफ्नो पहिचान समेत प्रस्तुत गरेको देखिन्छ। झर्रोवादका प्रणोताहरुमध्ये एक रहेका चूडामणिका जुनसुकै रचनामा झर्रोपना, लेखाइमा आफ्नोपना र अभिव्यक्तिमा व्यङ्ग्यात्मकता पाइन्छ।
—यक्षको पोखराप्रवास‘ (प्रकाशक श्रीमती वेदकुमारी रेग्मी, —जुही‘ प्रकाशन, लेखनाथ चोक, चन्द्रगढी २०६४) चूडामणि रेग्मीको लघुकाव्य सङ्ग्रह हो। झन्नै पौने एक सय पृष्ठमा सङ्कलीत यस सङ्ग्रहमा खाँदबारी, मेरी दिदी, दिदी ! ए मेरी दिदी, काव्यपात्राप्रति शोकाभिव्यक्ति, यक्षको पोखराप्रवास, पथिक कविस्मृति, लाली, परित्यक्ताको आक्रोश, इरौंटारको व्यथा, वीर सोमनाथ, यक्ष-यक्षिणीको पोखरा आवास गरी जम्मा एघारवटा लघुकाव्यहरु समेटिएका छन्। चर्चा गर्न लागिएको —लाली‘ लघुकाव्य यसैको पृ ४१ देखि ४८ पृष्ठहरुमा छापिएको छ।
—लाली‘ —यक्षको पोखराप्रवास‘ भित्रका लघुकाव्य शृङ्खलामा सातौं काव्य हो। यस काव्यमा सुललित लयमा गाउन सकिने संस्कृतको भुजङ्गप्रयात (।ऽऽ, ।ऽऽ, ।ऽऽ, ।ऽऽ) छन्दमा रचिएका ४५ चतुष्पदी श्लोकमा (४५−४=१८०) एकसय असी पङ्क्ति रहेका छन्। गम्भीर शोक र व्यथा-वेदनाले ओतप्रोत —लाली‘ को थालनीमा कविले आफ्नी काव्यनायिका लालीको वियोगलाई सम्झँदै विरह व्याकुल वन्दै यसरी निछ् वास पोखरेका छन्:
हरे के भयो ! आज झापा छ शून्य !
।ऽ ऽ ।ऽ ऽ। ऽऽ । ऽऽ
विना वीर नारी छ यो ठाउँ शून्य !
विना लालिमाले छ आकाश शून्य !
विना वीर लाली भुइँ यो छ शून्य !
यसरी महाक्रान्तिमा हेलिएकी लालीको वियोगमा व्याकुलित कविहृदय उनकै क्रियाकलाप र शौर्य-वीर्यको सम्झना गर्दै दु:सह ट्रकाघातद्वारा उनको मृत्यु भए पनि कवि उनको गौरवमय जीवनगाथा र देशप्रेम अनि क्रान्तिचेतलाई समयले हर्न नसक्ने धारणा व्यक्त गर्दै "अहो ! कालले हर्न सक्तैन लाली" भन्दै लालीको लालिमा सधैँ चम्किरहने दृढतासाथ काव्यको परिसमाप्ति गर्दछन्।
—लाली‘को कथासूत्रको स्रोत नेपालको इतिहासमा झापा-काण्ड भनी प्रख्यात २०२८ सालको राजनीतिक घटनाक्रमसँग गाँसिएको छ। कविकी लाली त्यसै क्रान्तिकी नायिका हुन्। लाली जस्ती महाक्रान्तिमा ज्यान अर्पन सक्ने लौहनारी छैनन्। उच्च शिक्षित लालीले त्यस ताकाका चन्द्र, लीला, राधा, द्रोण आदि योद्धाहरुसँग काँधमा काँध मिलाएर क्रान्तिको कमान सम्हाल्ने काम गरेकी थिइन्। राम्रो लुगा लागउने, मिठो-मसिनो खाने, वैसको व्यवहार गर्नुवाट मात्र नभएर नयाँ वर्ष वा दसैं-तिहारको समेत वास्ता नगरी सधैँ क्रान्तिगाथा जप्ने, सधैँ क्रान्ति सोच्ने, सधैँ क्रान्ति जाग्ने, क्रान्ति वुझ्ने लालीलाई क्रूर प्रशासनले झुट्टा मुद्दा लगाई जेलमा हाल्यो र नाना क्रूर यातना दिई वैचारिक शिथिलता सम्म गरायो। व्यवस्था अनुकूल मानसिकतामा ढालेर उनलाई जेलवाट मुक्त गरियो। त्यसपछि संयोगवश ट्रकाघातबाट उनको मृत्यु भए पनि कविलाई यस मृत्युमा षड्यन्त्रको आशङ्का रहेको आभास पाइन्छ।
यसरी वुवा-आमाकी प्यारी, सङ्गी दौंतरीको प्राण जस्ती वीर छोरी वियोगमा कवि व्याकुलित वनेका छन्। वस्तुत: लाली आफ्ना निम्ति नभएर देशका हेपिएका, कुल्चिएका र पछि परेकाहरुका निम्ति समर्पित थिइन्। कुहेका र ढुँडी परेका पुराना कुरा मास्ने दृढता लिएर अघि वढेकी लाली महिलाहरुलाई हातमा कुचि र डाडु-पन्यू होइन अस्त्र-शस्त्र लिएर देशका निम्ति लड्न आह्वान गर्थिन्, पञ्चायती निरङ्कुश तन्त्रको जल्दोवल्दो वेला जनताका निम्ति प्राणोत्सर्ग गर्न उद्यत क्रान्तिकारीहरुकी प्रेरणापात्रका रूपमा लालीले उनीहरुको न्यूनतम प्रयोजनहरुको व्यवस्था गरेकी थिइन्। त्यसै ताका चन्द्र डाँगी, रामप्रसाद जस्ता क्रान्तिकारीहरुकी प्रेरणापात्रका रुपमा लालीले उनीहरुको न्यूनतम प्रयोजनहरुको व्यवस्था गरेकी थिइन्। त्यसै ताका चन्द्र डाँगी, रामप्रसाद जस्ता क्रान्तिकारीहरु मारिए, सुखानी काण्ड सङ्घटित गराइयो। ठाउँसारा गर्ने वहानाले सयौँ युवा मारिए। कुट्ने, मार्ने र फाल्ने काम कति भए कति। यसै माहौलमा लाली समातिइन्। जेलमा उनी —मार‘का सम्पर्कमा आइन् भने कविको विचारमा यो सम्पर्कले लालीको चरित्रमा विसम विचलन ल्याइदियो। प्रेमसम्पर्क विवाहमा परिणत भयो। दुवै जेलवाट छुटे भने त्यसपछि लालीको राजनीतिक भूमिका शून्यप्राय: भयो, त्यो शौर्य, वीर्य, क्रान्तिचेत तिलस्मी तरिकाले विलय भयो। अन्त्यमा संयोगवश ट्रकको आघातवाट लालीको जीवनावसान भयो- कविको काव्यधारा पनि यहीं समाप्त भएको छ।
यसरी हेर्दा कविले एक राजनीतिक वीराङ्गनाको जीवनवृत्तलाई अत्यन्त छोटो रूपमा यहाँ उतार्न खोजेका छन्। इतिहासका पानावाट मेटिन लागेकव एउटा मौन सत्यतालाई, एउटा महत्त्वपूर्ण घटनालाई वा जीवनीलाई कविले उत्खनन गरेर जोगाउने, वचाउने र जगाउने कार्य गरेका छन्। वास्तविक जीवनमा आधारित लालीको कथालाई कविले साहित्यिक रूप दिनका निम्ति एकाध मार्मिक प्रसङ्ग जोड्नुका साथै कतिपय निजी धारणा र भावनाहरु संयवजन गरेका छन् र स्वकीय आधार दिन धेरथोर प्रयास गरेका छन्। यसमा कविका स्वकीय दृष्टिकोण पनि आएका छन् –काव्यिक सुशोभनका लागि।
प्रस्तुत लघुकाव्यकी नायिका लाली वास्तवमा त्यसताकाकी महिला क्रान्तिकारी नेतृ लीला कट्टेलको जीवनवृत्तमा आधारित रहेको प्रतीत हुन्छ। त्यस वेलाको राजनीतिक चेतनाले लालिमामय वनेकी लीला कट्टेल अग्रणी नारी हुन्। कुनै साजि समय अभियोगमा जेल परेका अवस्थामा आफ्नै विचारधारासँग मिल्ने श्री राम गिरी भन्ने युवकसँग उनको मन मिल्यो र दुवै विवाहपाशमा आवद्ध भए। जेलबाट छुटेपछि उनीहरु दुवैमा राजनीतिक गतिविधि शून्यप्राय: भएको पाइयो। समयमा सन्तान प्राप्त भयो। पछि सम्भवत: २०४३/४४ तिर ट्रक दुर्घटनामा पनि यी वीर रमणीको मृत्यु भयो।
यसै घटना सूत्रलाई कवि चूडामणि रेग्मीले सुन्दर काव्यिक कसीमा खिपेका छन् र —लाली‘ मा लालिमा थपेका छन्।
—लाली‘मा कवि रेग्मीको गहिरो सामाजिक सुझुवुझ, तीव्र राजनीतिक सचेतता अभिव्यक्त हुन आएको पाइन्छ। निरङ्कुश पञ्चायती शासनकालका स्वयम् भुक्तभोगी रहेका कविले त्यस ताका समाजमा हुने गरेका उत्पीडन, उत्पीडनशैली तथा देश र समाजप्रेमले लट्ठ भएका युवा क्रान्तिकारीहरुको नि:स्वार्थ समर्पण समेतलाई प्रभाविलो काव्यद्वारा व्यक्त गरेका छन्। हिरण्यकशिपुकै घरममा प्रह्लाद जन्मने प्राकृतिक नियम हो। स्वाभाविकतया जहाँ दमन, शोषण र अत्याचार छ क्रान्तिको सूत्रपात त्यहींबाट हुन्छ। र त कवि भन्छन्-
वनी आततायी जहाँ चल्छ तन्त्र
त्यहीं क्रान्ति जाग्ने अवश्यै सशस्त्र
यही —चेगुवारा‘ लिई दृष्टि-विन्दु
उठे उग्र —नक्साल‘मा वीर चारु॥१४
क्रान्तिशक्ति मौलाएको र आफ्ना सामन्ती खम्वाहरु मकाए हल्लन थालेकाले शासन-सत्ता अत्तालियो र उग्र दमन बढेको स्थितिलाई कविताले यसरी भनेको छ-
भयो केन्द्र झापा वढे उग्र-पन्थी
लडी मर्न तैयार थे वीर-ताती
वढ्यो क्रूरता ! उग्रता साथ चम्क्यो !
युवा-शूरता मर्न वा मार्न लम्क्यो॥१८
पुराना जमिन्दार पञ्चे ठुला भै
लुटी गाउँ-गाउँ डकार्थे दरा भै
पुगे ती लडाका महाक्रान्ति वोल्दै
चुसाहा जुकाको व्यवस्था विरुद्धै॥ १९
पशुत्वलाई विर्साउने उत्पीडन र अत्याचारको दायरा जेलका कोठरीसम्म व्यापक विस्तृत हुन पुगेको थियो। कवि त्यहाँसम्म पुगी गरेको वर्णनले काव्य मार्मिक वनेको छ, वर्णनले यथार्थ चित्र खिचेको छ, सत्य वोलेको छ-
दह्रा नेल ठोकी महायातना दी
लडाए महाक्रान्तिका मूर्तिलाई !
पशुत्वै जगाई महाभूत जागे
कहाँ थे कहाँ ! मानवि मूल्य हाँके ॥२४
क्रान्तिकारीमाथि उत्पीडन, जनताप्रति शोषण, अन्याय र अत्याचारको फस्टाउँदो त्यो वेला कविका लेखनीमा स्पष्ट उत्रेको छ-
यही जेलनीति ! यही क्रूर नीति !
विरुद्धै लडे क्रान्तिकारी लडाइँ
घटे काण्डमा नै पुरै देश काँप्यो !
जुवारी चल्यो त्रासको दोहरो यो ॥ २८
प्रशासनका नायिकेहरुको चालामाला कविले यसरी उतारेका छन्-
महात्रास जस्तै महाभीरुप
थियो अञ्चलाधीश जारस्वरुप !
पिटायो, पिट्यो मार्न तम्सेर लाग्यो
महातङ्ककारी थियो सिंह झैँ त्यो ॥३०
अरे दग्ध झापा तुल्याएर छाड्यो
महाभ्रष्ट वाटो अनेकौं समायो !
नकुट्ने, नपिट्ने सिपाही हटायो
—हँ लाख्खे ! ल लाख्खे !‘ र पञ्चे नचायो ॥३१
लाटा र सोझा जनतालाई नाना प्रलोभन देखाएर, क्रान्तिकारी युवाहरुलाई क्रूरतापूर्वक दमन गरी टिकेको त्यसताकाको शासन सत्तालाई कविले कवितामा स्पष्ट लेखेका छन्। हप्काएर, थर्काएर अनि कुटेर पिटेर शासन गर्न पल्केका र त्यसैमा टिकेको व्यवस्थालाई कविले जे देखे त्यही लेखे यसरी-
कुटेरै दरा शक्ति लम्फू वनायो !
चलाई ठूला शक्ति आफ्नो तुल्यायो !
अहो ! हिट्लरैको नयाँ रूप भो त्यो
सँधै क्रूरताको सिमाना नघायो ॥ ३२
आफ्नो कवि पात्रा नभेट्दाका वियोगमा कवि स्तम्भित वनेका छन्।
अहो ! देह के भो ! झिनो भो ! झिनो भो !
अहो ! ज्योतिको पुञ्ज ! के भो ? निदायो
वडो उग्र राँको निभ्यो ! निम्सरो भो ।
उज्यालो ठुलो ज्योति लौ ! भो अँध्यारो ।
काव्यको रूपमा भए पनि लीला लालिका रूपमा वाँचेकी छन्। यसैमा लीलाको लालिमा उजेलिएको छ।