नेपाली साहित्यका इतिहासमा मोदनाथ शास्त्री (२००२) कुनै नौलो नाम होइन । २०२०मा उनको वसन्त र २०२४मा भानु महाकाव्य प्रकाशमा आएदेखि नै उनको नाम नेपाली साहित्यका इतिहासमा दर्ता भएको हो । नित्यनिरन्तर साधनारत मोदनाथ शास्त्री साधनालाई सदैव सर्वोच्च स्थान दिन्छन् । त्यसैको परिणामस्वरूप उनका दर्जनौँ पुस्तकहरू प्रकाशित भइसकेका छन् र उनले त्यत्तिकै पुरस्कार र सम्मान पनि प्राप्त गरेका छन् । हालै उनको बुबा (२०६०) उपन्यास रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको छ । यहाँ यसै सद्यःप्रकाशित उपन्यासको छोटकरीमा समीक्षा गर्ने अभीष्ट राखिएको छ ।
एक्काइस परिच्छेदमा सङ्गठित बुबा उपन्यास वर्णनात्मक र समाख्यानात्मक रहेको छ । बुबा नै यस उपन्यासको नायक वा प्रमुख पात्र हो । उसको बाल्यकालदेखि मुख्यमुख्य घटनालाई २०५१मा देवघाटमा स्नान गर्न आउँदा भेटिएका फुपू र भतिजीले एकअर्कालाई सुनाउँछन् । सुरुका पाँच परिच्छेदमा फुपूले र पछिल्ला बाँकी परिच्छेदमा भतिजीले आफ्ना जानकारी राखेका छन् । त्यसै क्रममा बुबा वा चरित्रनायकको जीवनकथा पनि व्यक्त भएको छ भने गाउँले नेपाली समाजमा प्रायः भइरहने घरेलु हिंसा तथा अन्याय–अत्याचार–फट्याइँ आदि पनि अभिव्यक्त भएका छन् ।
असमान व्यवहार, उपेक्षा र अवहेलनाको सिकार बनेको चरित्रनायक बुबाको बाल्यकाल अत्यन्त कष्टकर बितेको देखिन्छ भने ऊ तीर्थयात्रीको साथमा लागेर वृन्दावनमा पुग्दछ । त्यहीँ ऊ कठोर परिश्रम गरी संस्कृत शिक्षा हाँसिल गर्दछ र शास्त्री तह उत्तीर्ण गरेर गाउँमा फर्किन्छ । वृन्दावनमा छँदा भारतीयहरूबाट नेपालको प्रशंसा सुनेको थियो, नेपाललाई स्वर्ग भनेको सुनेको थियो । गाउँमा पुग्दा उसले त्यस्तो भेट्टाएन । बाल्यकालका घाउखटिराहरू पुरिएका थिएनन् । त्यसमाथि अन्याय–अत्याचार र थिचोमिचोको विरोध गर्दा गाउँमा बसी नसक्नु भएर त्यहाँबाट भाग्नु पर्ने भयो । तराईमा पुगेर ऊ शिक्षण पेसामा लाग्यो । हजुरबुबा र आफ्नै सहोदर भाइले उसलाई अंशमा ठगे र उल्टै मुद्दा लगाइदिए । जसको निर्देशन र सहयोगमा अंशमा ठग्ने भाइलाई जाली फटाहाले ठगे । पूरै पैत्रिक सम्पत्ति हिनामिना भयो । ऊ तराईमा साहित्यसाधना र मास्टरी गरेर बसिरहेको छ । उपन्यासको कथासार यत्ति हो ।
ऊ अर्थात् बुबा । बुबा अर्थात् ऊ ।
उपन्यासकारले यहाँ आफ्ना पात्रहरूलाई व्यक्तिवाचक नाम दिएका छैनन् । जति पनि पात्र आएका छन् ती सबै सम्बन्धवाचक वा नाताबोधक नाममा मात्र रहेका छन् । बुबा, भतिजी, फुपू, छोरी, भाइ, भान्जाभाइ, मुसेत दाइ, गुरु, पण्डित, हजुरबुबा, बूढाहजुरबुबा, हजुरबुबाका हजुरबुबा, मामादिदी आदि यस्तै नाम र पात्रहरू यहाँ आएका छन् । पात्रहरू यति धेरै भएर पनि तिनलाई व्यक्तिवाचक नामद्वारा नपुकारीकन लेखिएको, यस्तो प्रयोग भएको सम्भवतः बुबा नेपालीमा पहिलो उपन्यास नै हो । यति मात्र होइन, उपन्यासको परिवेश–चित्रणको शैली पनि नयाँ रहेको छ । नेपालको पहाडी गाउँ र भारतको वृन्दावनको सेरोफेरो नै उपन्यासको परिवेश रहेको छ । वृन्दावनका विभिन्न ठाउँ, टोल, विद्यालय आदिका नाम यहाँ उल्लेख भएका भए पनि नेपालतर्फका बुटवल र खस्यौलीबाहेक यस उपन्यासको मूल परिवेश रहेको गाउँ ठाउँको नाउँ समेत उल्लेख भएको छैन । यो पनि एउटा प्रयोग हो ।
उपन्यासमा पूर्वदीप्ति र वर्णनात्मक शैली अँगालिएको छ । बुबालाई केन्द्रविन्दु बनाएर नेपाली समाजमा प्रायः घटिरहने घरेलु हिंसा, अन्याय–अत्याचार, शोषण–दमन, उत्पीडन आदिलाई यहाँ छर्लङ्ग परिएको छ । लेखक आफू स्वयम्ले वृन्दावनमा अध्ययन गरेका, तराई (भैरहवा)मा शिक्षण पेसामा रहेर काम गरिरहेका, साहित्यसाधना गरिरहेका छन् । उपन्यासको नायक बुबा लेखक नै हुन् भन्ने झझल्को उपन्यास पढिरहँदा अनुभव हुन्छ । यस अर्थमा प्रस्तुत उपन्यास साहित्यकार मोदनाथ शास्त्रीको आत्मकथा हो भन्न सकिन्छ ।
प्रस्तुत उपन्यास पठनीय र सङ्ग्रहणीय एक सशक्त उपन्यासका रूपमा देखापरेको छ । यसले नेपाली समाजको एक खालको चित्र खिचेको छ । आकर्षक आवरण, स्तरीय कागज र उत्कृष्ट छपाइले गर्दा सुनमा सुगन्ध थपिएको छ । यस उपन्यासका माध्यमबाट अब साहित्यकार शास्त्री उपन्यासकारमा दर्ज भएका छन् । नेपाली पाठकले उनबाट अरू उपन्यासको आशा गर्नु अन्यथा हुने छैन ।