धर्ती रहेसम्म
रहन्छ हाम्रो साहारा
पलाउँछ भविष्यको पिपल
रहन्छ आशाको ओखती
धर्मरायो भने धर्ती एकै छिन
माटोमै मिल्ने रहेछ मान्छेको घमण्ड
पानी पानी हुने रहेछ माछेको अभिमान ।
धर्ती हल्लिएकै हो एकैछिन
च्यातियोको हो भरोसाको एक छेउ च्यादर
पल्टिएको पनि हो समयको एउटा खाँमो
तर सरकार
हाम्रो साहस, हाम्रो विस्वास र हाम्रो स्वाभिमान
ढलेको चाँही होइन ।
भूँइचालोले चिरीएका बाटाहरु भन्दा बढी
हाम्रा पाइतलाहरु चिरीएका छन्
र पनि
हामीले हिड्न छाडेको छैन
घर सँगै ढलेको हो अन्नको भकारी
मिसिएकै हो माटोमा
तर सरकार
हामीले निफन्नै विर्सीएको चाँही होइन
हामीले केलाउनै भुलेको पनि होइन
नपुंसक भएको पनि होइन माटो ।
हाम्रो ओत लाग्ने छानो
ढलेकै हो
पुरीएकै होहामीले ओढ्ने बख्खु
तर
सरकार
हाम्रो सीप र कला ढलेको चाँही होइन
हाम्रो मेहनत मेरेको पनि होइन ।
विश्व खाद्यको डिपोमा
कुहिएको चामल जस्तो
हाम्रो स्वाभिमान गन्हाएको हुँदै होइन ।
सरकार
इमान नबेच
आँखाको गाजल जस्तो
आँसुले पखालिने होइन हाम्रो स्वाधिनता
तासको महल होइन हाम्रो भाइचाराको घर
भूँइचालो आएकै हो
हल्लीएका हौ हामी पनि धरती सँगै
तर
सरकार
हामी कामेका चाँही होइनौ ।