19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्बन्ध–४

कथा परशु प्रधान August 14, 2015, 6:32 am

(अनिश्चय)

फेरि डेरा सर्नुपर्ने भयो । काठमाडौ आएको १० वर्ष भयो – यो मेरा १२ औं डेरा हो । आफ्नो पढाई कता, जागिर कता । यही डेरासराईसँगै जिन्दगी बित्ने भयो । यही महङ्गी र अभावसँग लड्दालड्दै आफ्नो जिन्दगी समाप्त हुने त्रासले बाँच्दैछु । जहाँ जागिर खुल्छ, जानुको दुःख र फोटोकपी गर्दाको सास्ती । जागिरमा कुनै पार्टीको नेताले आफ्नो कार्यकर्ताका लागि बुक गरिसकेको हुन्छ । विदेश जाउँ भनेर फारम भर्दाभर्दै पनि टाट भइसकियो । कहिल्यै कतैबाट कन्फरमेसन आउँदैन । अरु डेराभन्दा यो डेरा मेरा लागि सहज नै थियो । घरबेटी साहुसाहुनी राम्रा र दयालु थिए र छन् । कुनै पीडा वा कष्ट भोग्नुपरेको थिएन ।

तर, ती दुई बूढाका कारण मैले डेरा नसरी सुख पाउँलाजस्तो छैन । अहिले पनि ती दुईबूढाका आँखाहरुले कहँ कतै घोचिरहेका छन्’ थिचिरहेका छन् ।

यो घर काठमाडौैंका कुनै प्रतिष्ठित व्यापारीको हो । तीन तले यस घरको दुई तलामा उनको सानु, तर सुखी परिवार बस्छ, भुईँतलामा तीन कोठा र यौटा सामूहिक ट्वाइलेट तथा बाथरुम छ । जसको बीच कोठामा मलाई भाडामा दिइएको छ र दाहिने देब्रे कोठामा ७० वर्ष नाघेका दुई बूढाहरु बस्छन् । सुन्छु – दुवै बूढाहरु सम्धी–सम्धी हुन् अर्थात् एक जना श्रीमान्को पिताजी र अर्को श्रीमतीको पिताजी । दुवैको लभम्यारिज भएकोले श्रीमान्को पिताजी कट्टर ब्राम्हण र श्रीमतीको पिताजी कट्टर नेवार । यी दुई संस्कारहरुकाबीच चेपुवामा परेको छु –म १९÷२० को क्षेत्री केटो ।

घरबेटी साहुजी (४५÷५० का) कुनै राम्रो बिजनेस गर्छन् । अनि श्रीमती कुनै सरकारी अस्पतालमा नर्स छिन् । दुईती स–साना छोरीहरु छन्, नाम चलेको वोर्डिङमा पढ्छन् । ती बिहानै स्कुल जान्छन् , नौ वजे बूढाबूढी गाडीमा सँगै निस्कन्छन् । अनि वाँकी रहन्छौं – हामी तीन प्राणी , त्यस सिङ्गो घरमा –दुई नातेदार बूढा र म विद्यार्थी । बिहानको खाना ९÷१० वजे आफै बनाएर खान्छु । बूढाहरुलाई विहानै खाना बनाएर एक–एक हटकेसमा छाडेका हुन्छन् । ती आफ्नो खुशीले १२÷१ र २ बजेसम्म खान्छन् ।

यी दुई सम्धी बुढाको फरक चरित्र र व्यवहार मैले सहनुपरेको छ । के गरौं – वाध्य र विवश छु । साहुजीको बाले विहानै ४ः०० बजेतिर मलाई व्यूँझाउनुहुन्छ । उहाँ ठूलो स्वरले घण्टी बजाउदै मीठो लयमा गीत गाउनुहुन्छ – हरे राम हरे राम ! राम राम हरे हरे ! कहिले चिनी किन्न कहिले चियापत्ती किन्न म बाहिर निस्कन्छु । एकाध घण्टा बाहिरवाट फर्कदा बाहिर चउरमा नै भेट हुन्छ । भजन सिध्याएर उहाँ चौरमा ताली पिट्दै घुम्नुमात्र होइन, यौटा गलैचा बिछ्याएर रामदेवका योगासनहरु गर्नुहुन्छ । उहाँ मलाई बीच बीचमा ‘मेरा कुरा सुन’ भन्दै मलाई जबर्जस्ती छेउमा बसेर उपदेश पनि दिनुहुन्छ –बाबु ! तिमीलाई मानवीय जीवनको सत्य थाहा छैन । मेरा कुरा राम्ररी सुन । हामीले शारीरिक इन्द्रियहरुमाथि नियन्त्रण राख्नुपर्छ । यिनको मालिक मन हो । मनको मालिक बुद्धि हो र बुद्धिलाई अध्यात्मले नियन्त्रण गर्छ । अनि अध्यात्मभन्दा माथि आत्मा र आत्माको सम्बन्ध परमात्मासँग हुन्छ ।’ म भाग्न खोज्छु । उहाँ एकोहोरो रामदेवका आसनहरु गर्दै मलाई उपदेश दिनुहुन्छ – ‘सबैभन्दा राम्रो र काम लाग्ने योग कपालभाँती हो । कपालभाँतीलाई बिस्तारै सास फाल्दै पेट चलाउनुपर्छ । यसले तिम्रा शरीरका सबै अङ्गहरु सञ्चालन हुन्छन् र स्वस्थ्य बन्छन् ।’

मलाई होमवर्क गर्नुछ भनेर उम्किन्छु । अर्को कोठाबाट आँखामिच्दै अर्को सम्धी निस्कनुहुन्छ , सायद बाथरुमतिर जानलाई होला । उहाँ आदेश दिनुहुन्छ –‘ए केटा ! मलाई क्य्राभेन चुरोट र एक वट्टा सलाई ल्याइदेऊ न । यो बिहानै म कता पसल जाऊँ ।

‘ म भ्याउँदिन हजुर वा ...........’ भनेर उम्कन खोज्छु । उहाँ मेरा लट्टा परेका कपाल समात्दै तानेर जङ्गिनु हुन्छ – तँलाई मारिदिन्छु अनि । चूप लागेर जा, ल रकम लैजा । बरु दस रुपैया तँलाई ...। ’ पाँच सयको नोट मेरो हातमा राखिदिनुहुन्छ । म फेरि विवश भएर पसल गएर फर्कन्छु । जे भए पनि दस रुपैयाँ कमाएँ भन्ने भ्रममा पनि हुन्छु ।

कहिलेकाहीँ यिनै बूढासँग साँझमा भेट हुन्छ । आखिर कोठा सँगसँगै न छ । उहाँ मेरो नाडी समातेर जवर्जस्ती कोठाभित्र लानुहुन्छ । म उहाँको आँखा हेर्छु , उहाँलाई राम्रै लागिसकेको छ, आँखाहरु राता छन् । स्वर लर्वराएको छ ।

“ल हेर मेरो आधुनिक बार ।” दराजभरि विभिन्न ब्रान्डका रक्सीहरु म देख्छु – रेड लेबल, ह्वाइट हर्स जस्ता महङ्गा विदेशी रक्सीहरु अनि अर्को दराजमा नेपाली सस्ता रक्सीका बोतलहरु भर्जिन, गीलम्यारी, सिग्नेचर आदि छन् ।

“म ड्रिन्क गर्दिन बाजे । माफ पाऊँ ............ ।” म हात जोड्छु ।

“सुन मेरा भगवान् भीमसेन हुन् पराक्रमी भीमसेन । म त्यही भीमसेन हुन चाहन्छु, तिमी बुझी राख । अर्को कुरा पल्लो कोठाबाट रातको २ः०० बजेदेखि आएको भजनले म सुत्ने पाउँदिनँ । उहाँ सम्धीज्यूलाई मैले भन्न मिलेन । तिमीले यसो सुनाइदेऊ न है ।” उहाँ गुनासो पोख्नुहुन्छ । म के भनौं । कसरी हुन्छ, भाग्न खोज्छु त्यहाँबाट उम्कन चाहन्छु । कस्तो अप्ठेरो ।

“म तेरो बाजेसाजे होइन । हजुर वा भन्, वा अजा भन् । तँलाई बोल्न पनि आउँदैन । अनि तँलाई केही नखाई बाहिर जान दिन्न ।” उहाँ डम्म ढोका बन्द गर्नुहुन्छ । म एकदमै भयभीत हुन्छु – कुनै बाघसँग खोरमा परेको छु भन्ने लाग्छ ।

“आजलाई माफ पाऊँ हजुर बा ! भोलि खाउँला !”

“तँ को होस् हँ तँलाई मैले मान्नुपर्ने ।” उहाँ फेरि मेरो जगल्टे कपाल तान्दै मलाई धकेलेर वाहिर निकाली दिनुहुन्छ ।

म विद्यार्थी मान्छे पहाडी गाउँबाट आएको । फेरि कामको खोजीमा छु, कुनै जागिरको पछि लागेको छु । यी दिुई विपरीत ध्रुवका सम्धीहरुका अगाडि म निरीह बनेको छु – जङ्गलमा हराएको एक्लो वालक जस्तो । म कुनै मध्यरात निर्णय लिन्छु – यस घरमा, यस कोठामा एक बस्दिनँ ....... दुई बस्दिनँ .......... तीन बस्दिनँ ।

फुर्सदको बेला डेराको खोजीमा सहर घुम्छु । जहाँ गए पनि एक दुई कोठा भाडामा कहाँ पाउनु ? सबै जना फ्ल्याटका कुरा गर्छन् । त्यो पनि पन्ध्र हजार घटीको भाडा छैन । म फेरि अर्को मध्यरातमा निर्णय लिन्छु – यस सहरमा बस्ने हो भने मैले यो कोठा छाड्नुहुन्न...... हुन्न । यौटा कोठा मलाई कसले दिने ? फेरि भाडा पनि नोमिनल छ । घरबेटी साहुसाहुनी वेसै छन् । मलाई छोरा नातिको जस्तो माया गर्छन् । एक दुई महिना भाडा ढिला भएमा पनि नराम्रो गर्दैनन् । पानी र बिजुली फ्री छ । तर यी दुई समानान्तर बूढाहरु !

फेरि अर्को घटना हुन्छ, दुर्घटना हो कि के भनौं । घरवेटी साहुको बाले साँझमा मलाई मायालु स्वरमा बोलाउनुहुन्छ –‘बाबु ! मेरो कोठामा एकैछिन आऊ ।’

म सहजरुपमा बाजेको कोठामा पस्छु । भित्रको असलधूपको सुगन्ध बाहिरसम्म आएको छ, मलाई राम्रै लाग्छ । यो कोठा कुनै देवमन्दिर जस्तो लाग्छ । विभिन्न देवीदेवताका मूर्तिहरु टाँगिएका छन् जपमाला, शङ्ख र डमरुहरु छन् ।

“यी सर्वमान्य परमपूज्य कृष्ण भगवान्को दर्शन गर ।” बाजे भन्नुहुन्छ । म हात जोड्छु । अरु म के गर्न सक्थें र !

म फेरि त्यो क्रम दोहो¥याउँछु । यसरी अन्य भगवान् र भगवतीहरुको तस्वीरमा हात जोड्छु । मनमा अनेकौं आस्थाका तरङ्गहरु आउँछन् । यही युवाकालमा वैरागी भएर योगी हुन्छु कि भन्ने भय लाग्छ । उहाँ अब भजनहरु गाउँदै ताली पड्काउदै नाच्न थाल्नुहुन्छ । म खालि हेरिरहन्छु । कहिले आँखा चिम्लन्छु, कहिले खोल्छु ...। रात क्रमशः गहिरिँदै जान्छ । आफैले स्टोभमा पकाएर खानुपर्ने ।

“हजुर बा ! मलाई भोक लाग्यो ........ खाना बनाउन जान्छु ।” उहाँ स्याउको एक दाना र एक कोसा केरा मेरो हातमा राखिदिँदै भन्नुहुन्छ –“आउँदै गर बाबु ! तिमीलाई यस जीवनमा मोक्षको बाटो म देखाइदिन्छु ।

म स्वीकृतिसूचक टाउको हल्लाउँदै आफ्नो कोठामा आउँछु र सोच्दछु – कस्ता दुई सम्धीहरु यस घरमा बस्न आएका छन् । एक जना महान धर्मात्मा छन् । धर्मग्रन्थ र उपासनामा आफ्नो जीवन उत्सर्ग गरेका छन् । अर्का सम्धी रक्सीको झोलमा डुबेर आफूलाई बिर्सन चाहन्छन् । आखिर त दुवै जीवनको सत्यकै खोजीमा छन् , त्यो कस्तो सत्य हो । मलाई थाहा छ, यी कहिल्यै बोल्दैनन् , न अचानक कहिले भेटघाटमा भलाकुसाी गर्छन् । बरु एकले अर्कालाई नचिनेको जस्तो गर्दछन् । लाग्छ दुवै यहाँ बस्न बाध्य छन् । दुवैका श्रीमतीहरु स्वर्गे भइसकेका छन् । दुवैका अन्य छोराछोरी अष्ट्रलिया–अमेरिका गएर बसेका छन् । ती अब फर्कदैनन् । कहिले काहीँ फोन गर्लान् , होइन भने तिनले गँुड छाडेर अर्के आकाशमा पुगेका होलान । फेरि दुवै जना कुनै वृद्धाश्रममा गएर वस्न पनि चाहँदैनन् । एक जनाकी छोरी यहीँ छन् .... कम से कम पिताजीको मन बुझेर काम गर्छिन, अर्थात् सेवा दिन्छिन् । फेरि अर्का सम्धीका छोरा यहीँ छन् । जे भए पनि वाको हेर विचार गरेर कहिलेकाहीँ सोध्छन् –‘बालाई के ल्याइदिऊँ’ ?

अथवा – “बा ! अस्पताल जाने हो कि ? अथवा ‘बा लाई खर्च चाहियो कि ?’

लाग्छ दुवै खुशीराजीसँग आफ्नो परक जिन्दगी विताइरहेका छन् । दुवैले यहिँ स्वर्ग भेटेका छन् । तर म भने .................. म भने ................ कुनै चक्रव्यूहमा परेको अनुभव गर्छु । म भाग्न चाहन्छु । टाढा कतै जान चाहन्छु । तर म पनि किन किन जान सक्तिनँ । मेरा नाडी गलेर आउँछन् । मस्तिष्कमा कहिले सात समुद्रपारिको पानीको लहरले वोलाउँछ – आउने भए यता आऊ । यहाँ तिमीजस्ता युवाहरुको खाँचो छ । तर म के कसरी त्यहाँ पुग्न सकुँला र ?

कहिले अरवका वालुवाहरुले कानेसाउती गर्छन – यहाँका बालुवाभित्र तेलैतेलको खानी छ । जहाँबाट तिमी संसारसँग पौठाजोरी खेल्न समर्थ भएका छौ । तिमी जस्ता वलिया वाङ्गाको खाँचो छ हाम्रा लागि ।

क्याम्पसका साथीहरु सल्लाह गर्नमा व्यस्त छन् –अष्ट्रेलिया जानु राम्रो होला कि लन्डन ! अथवा अमेरिका जानु बेस होला कि क्यानडा ! ती धनी बाउका छोराहरुको सपना, सपना नै भिन्न छ ।

कोही साथी आदेशयुक्त सल्लाह दिन्छन् – यो राष्ट्रको परिवर्तनकर्मी हामी हौं । राष्ट्रको आत्मा दिनानुदिन मर्दैछ । यसलाई नयाँ प्राण दिन जनयुद्धमा जाऊँ । कि गरिखाइएला, कि मरिजाइएला । सँधै वाँच्नु र मर्नुको सङ्कटमा किन बसिरहने ?

जान त मलेसिया पनि राम्रो छ, पहिलेको मलाया त हो नि ! जहाँ लाखौं नेपालीहरु पाखुरा चलाएर कमाइरहेका छन् । यस्ता आवाजहरुका खासखुस पनि आइरहन्छ ।

यी विविध प्रसङ्ग र सपनाहरुसँगै प्रेम चक्करका विषय पनि आइरहन्छन् । कोही सोध्छन् – तैँले गर्ल फ्रेन्ड वनाउन सकिनस् कि कसो ? मेरा त दोटा छन् । दुवैसँग फेसबुकमा कुरा गर्छु । एउटी त न्यूजिलैन्डमा बस्छे । म साथीलाई जवाफ दिन्छु – यस्तो चक्करमा परेर कसरी क्यारियर वनाउन सकिएला ।

मेरा सपनामा साठी नाघेका मेरा बुढावूढी आमा र बा आउँछन् । पहाडी नाङ्गो डाँडामा वसेर आफै डाँडाको जून भएका ती कहिलेकाहीँ फोनमा रुने गर्छन्– बाबु ! तिम्रो पढाई कहिले सकिन्छ र जागिर खान्छौं ? तिमीलाई खर्च पठाउने हामीसँग केही उपाय छैन । अब आफै खोजखवर गर, हाम्रो केही लाग्दैन ।’

यी सबकाबीच त्यस घरका ती दुई बूढाहरु छन्– जोसँग न भाग्नु, न भित्र पस्नु । ती आफै दुई बूढो रुख भइसकेका छन् । जो कुनै पनि समय ढल्न सक्छन् । कहिलेकाहीँ एक सिसी विषाक्त औषधि खाएर यो संसारबाट, यो मानवीय जीवनबाट मुक्ति लिऊँ कि जस्तो लाग्छ । तर लाग्छ – यो त बर्बर कायरता हो । संङ्घर्षबाट पलायन हो ।

कुनै स्पष्ट गोरेटो खोज्छु । तर गोरेटो देखा पर्दैन । आफ्नो जीवनको बाटोमा सर्पहरु भेट्छु, बाघहरु देख्छु, चितुवाहरुले आक्रमण गर्न लागेको भयले तर्सिन्छु । यसै–उसै बाँच्दैछु –लस्याङ फस्याङ ढुलमुल ।

अनि दुवै बूढाहरुको कोठाको नक्कली साँचो जस्ताको तस्दै बनाइसक्छु । यो कार्य सपनामा गरेँ कि विपनामा थाहा छैन । एक साँझ यौटा बूढाको कोठामा साँचो मिलाएर खोल्छु । बूढाले बुढेसकालका लागि राखेका एक मुठा हजारका नोट वोकेर निस्कन्छु । अर्को बूढाको पनि साँचो मिलाएर त्यस्तै अर्को मुठा लिन्छु । मनभित्र अनेकौ तरङ्गहरु आउँछन् , भयहरु देखा पर्छन् । यत्रो रकम लिएर म के गर्न लागेको छु , कुन योजना वनाउन लागेको छु म सँग कुनै योजना छैन, न लक्ष्य नै । डेरा यसै लथालिङ्ग छाडेर, त्यही झोला वोकेर गाढा अन्धकारमा निस्कन्छु । कहाँ जान्छु कसरी जान्छु मलाई केही थाहा हुदैन । एक मनमा घरवेटी साहु र साहुनीको संम्झना हुन्छ, माया लाग्छ । अर्को मनमा ती दुवै बूढाहरुको माया लाग्छ । विचराहरुले जीवनमा साँचेको यत्रो ठूलो रकम हराउँदा ती हटएट्याक भएर मर्लान कि ! म दोधारमा हुन्छु– डेरामा फर्केर मौका पारेर दुवै पोका फिर्ता बुझाईदिऊँ कि भन्ने लाग्छ । दुई चार पाईला फर्कन्छु, घरको गेटसम्म पुग्छु फेरि भित्र पस्न मन लाग्दैन ।

फेरि सडकमा आउँछु । मेरा बूढा आमा बाको अनुहार आएर सोधिरहन्छ –हैन के गर्न लागिस् बावु तैले ! हामीले आँसुमा जिन्दगी विताउनुपर्ने भयो कि कसो ? फेरि साहुको त्यही गेटसम्म पुग्छु । तर गेट खोल्ने साहस आउँदैन ।

फेरि सडकमा आउँछु । यौटा ट्याक्सी आउँदै हुन्छ , रोक्न हात दिन्छु । ट्याक्सी चढ्छु , धेरै अनुहारहरु आउँछन् र सोधिरहन्छन् ‘होइन जितु ! तँ कहाँ जान लागिस्, के गर्न लागिस् । यस्तो जघन्य अपराध ! यस्तो पाप कर्म ! के यसरी तैले मुक्ति खोज्न लागेको !’

“कहाँ जाने हजुर....” । ट्याक्सी ड्राइभर सोध्छ । म झस्कन्छु – म स्वयम्लाई थाहा छैन । म कहाँ र किन जाँदैछु । अनि यत्रो रकम ...........!

“होइन, कहाँ पु¥याउनु यहाँलाई” फेरि डा«इभर कराउँछ । भन्न मन लाग्छ म कहीँ जान्न , कतै जान्न । सोध्न मन लाग्छ – तिमीले मेरा लागि ट्याक्सी किन रोकेको ? जाऊ । तर मेरो स्वर अनायास निस्कन्छ –‘नयाँ बसपार्क ।’ म निश्चयमा छैन – म किन र के का लागि नयाँ बसपार्क जाँदैछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।