16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उज्यालो अनुहार

कृति/समीक्षा रेवतीरमण सुवेदी May 25, 2008, 7:39 pm

'जसको जोत उसको पोत' व्यङ्ग्य संग्रह -(लेखक: विमल भौकाजी) आएको छ । पुस्तकभित्र भनिएको छ- 'कुनै भोगाइ अग्ला धौलागिरि थिए, दुराचारका', 'कुनै भोगाइ फलामे पर्खाल थिए, पाखण्डका' । 
    'बेग्लै छा“टको संक्षिप्त भनाइ । सरल भाषा । विकृतिहरूको उद्घाटन गर्ने लक्ष्य । पोल्ने ताप नभई न्यानो घाम लाग्यो ।'
- कृष्णचन्द्रसिंह प्रधान
'म विमलको शब्द चयन, शैली र सूक्ष्म व्यङ्ग्यात्मक धारबाट प्रभावित हुन थाले“ । नेपालका धेरै साहित्यकारभन्दा विमल भौकाजीका मूल्यदृष्टि माथिल्लो कोटी छ ।'
- डा. दुर्गाप्रसाद भण्डारी
                 नेपालका ख्यातिप्राप्त समालोचक प्रधान र भण्डारीले भौकाजीबारे यति भनिसकेपछि थप भनिरहनु आवश्यक छैन । कृष्णचन्द्रसिंह प्रधानले मन्तव्यमा 'सानो कदका विमल भौकाजी' भन्नुभएको रहेछ । अष्टाबक्र पुजनीय रहेका हाम्रो संस्कारमा 'सानो कद' हुनुलाई प्रधानले कुन अर्थमा उल्लेख गर्नुभएको हो - भन्नैपरे मचाहि“ 'एउटा उज्यालो अनुहार' भन्छु ।
      विमलको व्यङ्ग्य अवधारणा प्रयोग र प्रहार धारमा जाउ । हास्यव्यङ्ग्य लेखनलाई हसाउने सीपका रूपमा मात्र ग्रहण गरेका लोकप्रिय भैरव अर्याल, केशवराज पि“डालीजस्ता प्रतिष्ठित र प्रसारित व्यङ्ग्यकारका अवधारणालाई ' दाँत देखाउने' भन्ने गरेको छु । तर भौकाजीको व्यङ्ग्य लेखनले दाँत देखाउने यो अवधारणालाई अलिकति छेउ लगाएर आफ्नै मौलिक मार्ग स्थापना गर्ने कोसिस गरेको देखिन्छ । त्यो मौलिक मार्ग भनेको 'घाउ देखाउने' हो । अर्थात् समाज, राष्ट्र र प्रणालीलाई धमिराले झैं भित्र-भित्र तहसनहस र पतन पार्दै अन्धकारतर्फ धकेलिरहेको चरित्र एवं प्रवृत्तिलाई नङ्ग्याउने-बिझाउने अवधारणालाई यी व्यङ्ग्यमा प्रस्ट्याउने साहस गरिएको देखिन्छ ।
'जसको जोत उसको पोत' पुस्तकको शीर्षक सान्दर्भिक छ । जसले जुन थालमा खाने काम गर्छ, थाल उसकै हुन्छ भन्ने पाहुना पात्रको भनाइ ००७ सालयता नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ३० वर्ष पञ्चायती व्यवस्थायता माओवादी भूमिसुधार नामको भु“डी सुधारलाई अत्यन्तै बिझाउने व्यङ्ग्य भएको छ । व्यङ्ग्य संग्रहको पहिलो व्यङ्ग्य 'ऐतिहासिक झुत्रो'मा चन्द्रशमशेरदेखि गिरिजाप्रसादसम्म अमर बनेर प्रधानमन्त्री कार्यालयमा उस्तै अवस्थामा थन्किएको कृष्णप्रसाद कोइरालाले पठाएको 'पार्सल' गरिब नेपालीको तथ्यमाथि कालजयी भएको छ । यस अलावा चम्चाको परिभाषा, दशैंको फर्सी बाध्यता र यतातिर बढी हुर्किएको 'जमनिष्ट' चरित्र-प्रवृत्त प्रति तीव्र व्यङ्ग्य कसिएको पुस्तकभित्र भेटिन्छ ।
ऐतिहासिक साहित्यिक पत्रिका 'शारदा'को सम्पादनकार्य सम्हालिरहेका भौकाजीका सबै प्रस्तुतिमा समानस्तरको व्यङ्ग्य भएको ठान्दिन, गम्भीर प्रकृतिको दा“जोमा केही हल्का व्यङ्ग्य पनि यसमा भेटिन्छन् । धेरै पुस्तक लेखेर र निवेदन हालेर प्राज्ञ बन्ने दौडमा भाग लि“दैमा मात्र स्थापित हुन सकिन्छ भन्ने मान्यतालाई भौकाजीले खोइ कसरी हेर्नु भएको छ - भनिन्छ, भारतका चन्द्रधर गुलेरीले जीवनमा तीनवटा कथामात्र लेखेका थिए, तर ती कथाहरूको सर्न्दर्भ नजोडिई समग्र भारतीय कथा-साहित्यको मूल्याङ्कन भएको ठानि“दैन । यस दृष्टिकोणले थोरै लेख्नुलाई कमजोरी नठानी यही संग्रहमा संग्रहित गरिएका अधिकांश व्यङ्ग्यहरूको उचाइलाई आगामी पुस्तकमा कायम राख्न सल्लाह दिन्छु । त्यो यसकारण पनि भौकाजीलाई साहित्य साधनामा जसरी दौडिरहनुभएको छ, त्यो दौडाइ हेर्दा उहाँ कहाँ पुग्नु हुनेछ, सीमा कोरिदिनु अन्यथामात्र हुनेछ ।
साभार: कान्तिपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।