14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कविता : सृजन र स्वरूप

विचार होम सुवेदी August 21, 2015, 1:06 am

१.उठान

साहित्यको सम्पूर्णता र त्यसको स्वरूप मान्छेको भावनात्मकता वा रागात्मकताका साथ गाँसिने विषय हो । भावनासँग लयात्मकता र सांगीतिकताको पनि साइनो छ । यसैले मान्छेमा हुने रागात्मकता नै साहित्यको आधारभूमि हो । अरु कलाझै साहित्य पनि मान्छेको भाषिक सिपको एक कला नै हो । कला शब्दले यही रागात्मक अनुभूतिहरूको समग्रतालाई जनाउने गर्दछ । कलाको बोधका दृष्टिले यसलाई परम्पारगत रूपमा वृक्षारेख तयार गर्ने गरेको पाइन्छ । तर यहाँ कविताकै सन्दर्भमा मात्र विशेष चर्चा गरिने हुँदा कलाको फाँटतिर लाग्नु आवश्यक छैन ।

मूलतः कविता भन्नु भावनात्मक संवेगको भाषिक तथा कलात्मक अभिव्यक्ति हो भन्नेमा दुविधा छैन । यो सहजात प्रतिभासम्पन्न कविहरूबाट पनि सिर्जित हुन सक्छ र साधारण वा लामो अभ्यासका गरेर पनि यो संरचित हुन्छ । यसको आरम्भ भावुक मनोदशा बेहोरेका मानवको मनस्थितिबाट भएकोमा अब कुनै दुविधा छैन । उत्तम कविताको सिर्जनामा कविलाई कल्पना र भावनाबाहेक भाषिक दक्षताको पनि निकै खाँचो पर्दछ । एक्लो भावनाले मात्र कविबाट कविता वा काव्यको सृजना हुन सक्तैन । उसमा शब्दविन्यास गर्ने सामथ्र्य, विम्बप्रतीक वा तुकबन्दीको पहिचान गर्ने सामथ्र्य, परिस्थितिको बोध गर्ने क्षमता, छन्द वा लयलाई कज्याउने शक्ति तथा प्रतीक वा विम्बात्मकतालाई उपयोग गर्ने कलाहरूका बारेमा पनि केही मात्रामा जानकारी हुनु आवश्यक हुन्छ । यी तत्वहरू कवितामा कुशलता हासिल गर्न सक्ने कविका लागि त्यत्तिकै आवश्यक वस्तु हुन् जति एक राम्रो कलाको निर्माण गर्ने उत्तम कलाकारलाई कुची, रङ्ग, पोर्ट्रेट लगायतका सामग्रीहरूको आवश्यता हुन्छ ।

अहिलेको नेपाली कवितामा धेरै उतारचढाउ आएको छ । काव्यात्मकतालाई आलोचना, व्यङ्ग्य, परिहास, चरित्रको बद््ख्वाइँ, राजनीतिक उहापोहको चित्रण र बेथितिहरूको चर्काे आलोचना मात्र हालको कविता लगायतका सबै साहित्यिक सिर्जनामा हुने गरेको तथ्य हाम्रो अघि छ । कविताको आह्लादकता, रमणीयता, आस्वाद्यता, मनोहारिताहरू आजका नेपाली कविताभित्र हटेका हुन् कि भन्ने अवस्था छ । देशका राजनीतिक चरित्रले समाजका सचेत कविहरू अवश्य नै प्रभावित हुन्छन् तर यसको अर्थ कविता नै सबै राजनीति हुनु पर्छ भन्ने होइन । आजको नेपाली कविता काव्य, गजल, मुक्तक, फुट्कर जे जति रूपमा सिर्जना भइरहेका छन् सबै आलोचना, टीकाटिप्पणी तथा व्यङ्ग्य र परिहासको दिशातिर गएका छन्, त्यतै एकोहोरिएका छन् । यिनबाट समाजले केही पाएको छैन भन्ने कुरा अवश्य पनि होइन तर कवितालाई आफ्नो मार्मिक रूपलाई जोगाउने दिशामा यी रचनाहरूबाट अलि समस्या परेको कुरा भने यथार्थ हो ।

कविता भन्नु कलात्मक संयोजनयुक्त वा चातुर्ययुक्त भाषिक परिपाठले भरिएको, कलात्मकताले सजिएको, सुमधुर बान्की र लयात्मकताको सुमधुर योग हो । शब्दहरूको ओइरो र आलोचना मात्र कविता होइन । यसको सुसंरचनामा हार्दिकतायुक्त काव्यकलाको मर्मज्ञ, पारखी तथा सहजात काव्यकौशल भएको वा अभ्यास गरेर कुशलता हासिल गरेको व्यक्ति मात्र सफल हुन सक्छ, टिक्न सक्छ अन्यथा क्षणिक आवेशलाई उतारेका काव्यहरू हराउन सक्छन् । त्यस्ता काव्यको सिर्जनाले क्षणिका समयमा समाजलाई केही दिए पनि दीर्घकालसम्म तिनको अस्तित्व रहन कठिन पर्दछ । अतः समय र स्थितिका साथै मूल कुराको बोध गरेर मात्र कवितामा हात हाल्दा सफल हुन सक्ने ठनाइ राख्नु सान्दर्भिक र फलदायी होला ।

कविता भन्नु लयात्मकतायुक्त कथन पनि हो । लयलाई परम्परागत शब्दमा छन्द पनि भनिन्छ । छन्दका नाना प्रकार हुन्छन् । लय भन्नु नै छन्द हो भन्ने कुरा बिर्सनु हुन्न । छन्द वा लयलाई यति उति प्रकारका हुन्छन् भन्नु सजिलोका लागि मात्र हो तर यसलाई संख्यामा बाँधिने कुरा हाम्रै प्रयोजनका लागि मात्र हो, यो संख्या वा प्रकारमा बाँधिने कुरा निश्चय नै होइन । तथापि लय वा छन्दलाई यसरी बाँड्न सकिन्छ—

२. छन्दको खुलासा ः

छन्दहरू बद्ध र मुक्त गरी दुई थरीका हुन्छन् । बद्ध छन्दमा कविता लेख्न नियम र अनुशासनमा बाँधिएर लेख्नु पर्ने भएकोले कठिनाइ पर्न सक्छ । ह्रस्वदीर्घ, मात्रा, यति गति आदि गणको गणना तथा वर्णहरू समायोजनको तालमेल नगरी बद्ध छन्दमा कविताको सिर्जना हुनु सक्तैन ।

क. संस्कृतका परम्परागत रूपमा चलेका पिङ्गलको शास्त्रानुसारका लयहरू वार्णिक तथा मातृक छन्दहरू बद्ध हुन् ।

ख. लोकलयहरू पनि बद्धछन्द नै हुन् ।

ग. गजल फारसीतिरबाट आएको तथा संस्कृतको भुजङ्ग प्रयातकै हाराहारीको छन्द हो । यी सबै बद्धछन्द हुन् ।

घ. यस अतिरिक्त गद्य कविताको हाइकु, मुक्तक, ताङ्का, सेदोको आदिमा पाइने मुक्त छन्द हो ।

यसरी लय वा छन्द कविताको पहिलो आवश्यक तत्व हो । कविताको सृजनामा अनिवार्य रूपमा लयको खाँचो पर्छ चाहे त्यो मुक्त होस् चाहे बद्ध होस् । यसबाहेक कविता हुनका लागि त्यसका केही तत्वहरूको पनि खाँचो हुन्छ । शीर्षक, लयविधान संरचना, कथनविधि, भाषा, भाव, आयाम, विम्बविधान आदि कुराहरूको समष्टि योग कविता हो । यिनमध्ये कतिपय अनिवार्य हुन सक्छन् भने कतिपय भने नभए पनि कविताको ढाँचालाई खास फरक पार्दैनन् । खास गरेर अनुभूति, काल्पनिक चमत्कार, संगीतात्मकता, सौन्दर्यको योग नै कविता हो । यिनै तत्वको मिश्रणबाट एक विशेष कविताको निर्मांण हुन्छ । साहित्यको कविता एक खास विधा हो यसमा कुनै दुविधा छैन । आज मात्र होइन यसका विविध प्रकारहरू उहिल्यैदेखि थिए, यसैले यसका उपविधाहरू रहेका छन् । तिनै उपविधाको संरचनात्मक स्वरूपको सामान्य आकलन नै यस पत्रको मूल उद्देश्य हो । अब हामी त्यस फाँटतर्फ एकोहोरिन्छौं । कविता विधाका उपविधाहरूका र तिनको प्रकारका बारेमा संक्षिप्त रूपमा बोध हुनुपर्छ ।

३. कविताका उपविधाहरूको विवरण ः

३.१. लघुतम कविता ः

सूक्त कविता, हाइकु, ताङ्का, सिदोको, सिन्यु, मुक्तक आदि ।

३.२. लघु कविता ः

फुट्कर कविता, गजल, गीत, चतुर्दशपदी, सनेट आदि ।

३.३. मझौलो कविता ः

खण्डकाव्य, कोषकाव्य, उपमहाकाव्य

३.४. बृहत् काव्य

महाकाव्य ः सर्गबन्ध काव्यहरू

आर्ष महाकाव्य अर्थात् बृहत्तर महाकाव्यहरू

३.५.कविताका उपविधाहरूको विवरण तथा छोटो व्याख्या ः

क. हाइकु

कविताका नाना प्रकारहरू हुने गरेको र हुँदै आएको कुरा माथिका वृक्षारेखबाट पनि पुष्टि भएको छ । केही युवकहरूले एक हरफको सूक्ति कविता बनाउने जमर्काे (इलाम ः २०४५) गरेको इतिहास पनि छ तर त्यसले आधिकारिकता नपाएको कारणले त्यसले कविताको चर्चामा स्थान पाएको छैन । अहिलेसम्मको विभाजन अनुसार आकारमा सबै भन्दा सानो कविताको रूप हाइकु नै हो । क्रमशः रूपमा हाइकु तिन हरफमा, रुवाइत चार हरफमा र ताङ्का पाँच हरफमा निर्मित हुन्छन् । माथि भनिएझैं कविताको सानो रूप अहिलेसम्मको हाइकु नै हो । यो सत्र अक्षरको र तीन हरफमा संरचित हुन्छ । ५–७–५ अक्षरमा यसको संरचना हुने यसको निकै कठोर नियम छ, कडा मान्यता छ ।यो जापानबाट छैटौं शताब्दीदेखि आरम्भ भई विकसित भएको हो । सुरुमा होक्कु भनिने यसको नाम चौधौं शताब्दीका जापानी कवि आरकिन्दा मोरिताकेले दिएका हुन् । उनी जापानका पुराना र प्रसिद्ध हाइकु रचनाकार हुन् । जापानी हाइकुको इतिहासको पहिलो हाइकु मानिएको उनको हाइकु यस्तो छ—

झरेको पूmल

हाँगामा फर्कन्छ कि

हेर, पुतली ।

नेपाली भाषामा पनि हाइकु लेखिएका छन् लेखिने क्रम जारी छ । नेपाली भाषामा हाइकु वा होक्कु लेख्न प्राविधिक समस्या छन् । अक्षरको गणना गर्नु पर्दा यसमा समास्या देखिन जान्छन् । तथापि लेखिने क्रममा विकास र विस्तार पनि हुँदैछ । नेपाली भाषामा पहिलो पटक शंकर लामिछानेले (रूपरेखा ः २०१९) हाइकु प्रकाशित गरेका थिए, यसैले नेपाली भाषाका हाइकुको इतिहासले आधाशताब्दी पार गरिसकेको छ । क्रमशः यो निकै प्रचलनमा आएको छ । तर यसको कठोर नियमका कारण चाहिने जतिको विकास भएको भने देखिएन ।

ख. ताङ्का

यो पनि कविताको आकार प्रकार र रूप तथा संरचनाका आधारमा हेर्दा लघु रूपसँग मिल्दछ । यसमा पनि निकै कठोर नियमहरू छन् । अहिलेसम्मको जानकारी अनुसार यसको संरचना पाँच हारमा हुने गरेको देखिन्छ । हाइकुको जसरी हरेक हारहरूमा यतिउति अक्षर वा वर्ण हुनै पर्ने नियम यसमा देखिएन । यसको ऐतिहासिक पक्षमा भने स्रोत प्राप्त भएको छैन । यसका दुई ओटा उदाहरण यहाँ प्रस्तुत छन्–

महँगो क्षण

बित्छ हानथापमा

कस्तो फसाद

लेखिनै बाँकी छन्

शान्ति सम्विधान

विवेक दुलाल क्षेत्री, मझेरी.कम

साल्पा पोखरी

मनमा सल्बलायो

निर्मल पानी

प्राकृतिक धरोहर

स्वर्गको अनुभूति

इन्द्रसुर बेल्टारे, मधुपर्क, २०६५ फागुन

ग. मुक्तक

मुक्तकका रूपमा नेपाली भाषामा परिचित भएको कविताको रूप ताङ्काको रूपका आसपासमा पर्दछ । मुक्तकको वर्गीकरण पनि नयाँ होइन । कवितालाई तिनका आकार रूप वा संरचामा विभाजन गर्ने परम्परा हाल मात्र विकसित भएको होइन । पहिले कवितालाई मुक्तक, युग्मक, विशेषक, कलापक, कुलक जस्ता श्रेणीमा राख्ने काम (रुद्रट) पनि धेरै अघिदेखि भएको देखिन्छ । तर त्यो अवधिको मुक्तक र आज हामीले चिन्ने गरेको मुक्तकमा केही भिन्नता रहेको छ । मुक्तक भनेको थोरैमा एक भावको टुक्रालाई बडो मार्मिक रूपमा भाँती पारेर कलात्मकताका हिसाबले प्रस्तुत गरिने एक विशेष कविताको प्रकार हो । नेपाली भाषामा यसको इतिहास निकै लामो छ । उदाहरण ः

कमिला यत्रतत्र

हात्ती सिक्रीमा छ

असीमित चाहनाहरू दिनरात फिक्रीमा छ

आउनोस् सस्तोमै मिलाएर लानोस्

यो जिन्दगी बिक्रीमा छ ।

प्रकाश आङ्देम्बे

घ. रुवाइत

अरबतिर र अरबी भाषाबाट गजलको विकास भएझैं रुवाइ पनि अरबी भाषाकै उब्जनी हो । एक वचन रुवाइ र बहुवचन रुवाइत हो । घियाथ अल्दिन अब्दुल फाथ उमर इबल इब्राहिम अल निशापुरी अल खैøयाम नै रुवाइका जन्मदाता हुन् । नेपाली साहित्यमा मोतीरामबाट गजल आएझैं रुवाइको आगमन कसबाट भएको भन्ने पुरा प्रमाण नभए पनि प्रकाश आङ्देम्बेको कृतिलाई हालसम्मको आधिकारिक रुवाइ मान्न सकिन्छ । यसको लामो इतिहास भए पनि एघारौं शताब्दीका उमरखैयामले यसलाई पुनर्जन्म दिएको मानिन्छ । यो करुण तथा श्रृङ्गार रस प्रधान काव्यको कोटीमा पर्दछ । यो गजलकै आकृतिको हुन्छ । जम्मा दुई सेरमा यो पूर्ण हुन्छ । एकै भावमा यो लेखिएको हुनुपर्छ । गजलको रदिफ जस्तै रदिफ पनि यसमा रहन सक्छ तर आवश्यक भने होइन, यो चारहरफमा समेटिएको हुनै पर्छ । लामो भए वा छोटो भए अरुका परिभाषामा यसलाई मिसाउने स्थिति हुन सक्छ । हरेक हरफको बेग्लाबेग्लै भूमिका हुन्छ । पहिलो हरफभित्र विषयवस्तुको उठान, दोस्रोमा विषयवस्तुको व्याख्या, तेस्रो हरफमा विषयवस्तुमाथि जिज्ञासा र चौथोमा उपसंहार वा मूलभावको भुल्काको प्रस्तुती वा खास कुरामाथि पटाक्षेप वा प्रहार हुनुपर्छ ।

तिमीसँग सधैंै जसो बोल्न मन लाग्छ

सर्माएर मनका कुरा खोल्न मन लाग्छ

कैले काहीं तिमीले लत्याउँदा मलाई

घुक्र्याउँदै पानीमा बीस घोल्न मन लाग्छ ।

सुशील सुवेदी

आजका कविताका यी स्वरूपहरू बाहेक सेदोको, केस्रा, सनेट, सेन्यु आदि पनि कविताका प्रकारका रूपमा अहिले परिभाषित हुने गरेका छन् । केही उदाहरणहरू पनि आएका छन् । शान्तिनारायण मिश्रको (युवामञ्च ः२०६७, कात्तिक) सेदोको प्रकारको कविताको बान्की प्रकाशित छ । यसको संरचना, यसको स्वरूप र यसको आकारप्रकार वा यसमा हुने संरचनागत र भावगत रूपको सैद्धान्तिक चर्चा भने पाइएको छैन । तर सेन्युका उदाहरणहरूलाई हेर्दा हाइकुकै रूपमा लिन सकिने देखिन्छ । किनभने यसमा सबै कुरा हाइकुकै छन् । सेन्युको पनि पाँच, सात पाँचकै हारमा निर्माण प्रक्रिया रहेको देखिन्छ । उदारहण ः

प्रीतीका फूल

चुँडेर मान्छेहरू

सुगन्ध खोज्छन् । गीता थापा ः मझेरी.कम

मलेसियामा बस्ने नेपालीहरूले साहित्यमा केस्रा कविताको चलन पनि २०१२ जनवरी १ बाट घोषण गरेर शुरु गरेका थिए । मौलश्री लिम्बू यसका प्रयोक्ताका रूपमा चिनिन्छन् । यो पनि लघुआयामिक कविताको कोटीकै कविताहरूको स्वरूप हो । यस बाहेक चौध हरफमा लेखिने सनेट कविताको एक अर्काे प्रकार हो । अंग्रेजी कवितामा यसको लामो परम्परा छ । देवकोटाले समेत सनेट लेखेका थिए । शैलेन्द्र साकार (मधुपर्क ः २०६६) ले यस परम्परालाई केही मात्रामा भए पनि कायम गरेका छन् ।

ङ.गजल

यो केही लामो आकारमा रचिने उर्दु फारसी साहित्यको एक अति प्रिय रचना हो । नेपालमा यसलाई मोतीराम भट्टले हुलेका हुन् । यो मूलत श्रृङ्गार रसलाई प्रधान रूपमा मान्ने रचना हो तापनि यसले मोतीरामबाटै आफ्नो श्रृङ्गारसरप्रधानतालाई छाडेर विविध विषयप्रधानतातिर झरेको इतिहास छ । सस्कृतको भुजङ्गप्रयात छन्दसँग यसको सामीप्यता छ । दस बार हरफमा हुने गजललाई रूपगत हिसाबले आधिकारिक मानिएको छ भने मूल हरफमा रहेको अन्तको अन्तराको क्रम अन्य पक्तिहरूमा मिलेको हुनु पर्ने प्रावधान छ । गेयता, सुकोमलता, संगीतमयता, भावसघनता, चमत्कारिक उक्ति (पल्लव ः घनश्याम परिश्रमी ः २०६६) आदिले यो खिरिलो हुन्छ । आजका कविताहरू यसै रूपमा विकास पाइरहेका छन् । तर यसको श्रृङ्गारप्रधानता भने थोरै मात्र रहेको छ । यसको एक टुक्रा उदारहण ः

धनको गरीब भए पनि साथ दिउँला जुनी भर

दुई मुटुको धड्कन बन्दै हात दिउँला जुनी भर

आलिसान महल छैन झुपडप्को बास मेरो

दिगो प्रिती सजाएर आँत दिउँला जुनी भर ।

रूप अभागी मझेरी.कम

च. फुट्कर कविता ः

फुट्कर कविता कविताको केही लामो आकारमा फिंजिने, लघु रूपहरू भन्दा लामो ठुलो तथा कुनै एक विषयवस्तुलाई बान्की पु¥याएर वर्णन गर्ने ठाउँ हुने रचना हो । कविता भन्नासाथ हाम्रा स्मृतिमा कविताको यही रूपको झलक आउँछ । यसलाई बद्ध लय वा मुक्त लयमा रच्न सकिन्छ । देवकोटाको गरीब बद्धलयमा लेखिएको कविता हो भने उनैको पागल मुक्त लयमा लेखिएको कविताको उदाहरण हो । मोहन कोइराला, सरुभक्त, भुपिसेरलच, वैरागी काइँला, मीनबहादुर बिष्टहरूका कविता मुक्त लयमा रचिएका छन् भने लेखनाथ, घिमिरे र देवकोटाका अधिकांश कविताहरू बद्ध लयमा लेखिएका छन् । जीवनजगत्का अनन्त क्षेत्रहरूभित्रका कुनै एक सानो पक्षलाई सर्लक्क उतार्नु, वर्णन गर्नु, महत्व देखाउनु आदि यसको विशेषता हुन्छ । यसको छोटोमा मुक्तक भन्दा माथि र लामोमा खण्डकाव्यको तह भन्दा कम यसको आयाम हो । यसमा कथानकीय तत्वलाई स्थान कम मिलेको हुन्छ । यसैमा कथानकको आगमन हुन थाल्नु भनेको खण्डकाव्यतर्फ कविता उन्मुख हुन थाल्नु हो ।

छ. खण्डकाव्य ः

पश्चिमतिर लामो कविता भनिएको तथा पूर्वमा जीवनको कुनै एक खण्डको चित्रण गर्न सक्ने सीमा भएको काव्य नै खण्डकाव्य हो । यसका नाना परिभाषा भएका छन् । कथानकीय तारतम्ययुक्त, कुनै एक विषय वा रसयुक्त जीवनको नाना घटना र कथाहरूले युक्त हुने जीवनजगत्काट कथा टिपी समग्रता नभई एक पाटोको पूर्ण रूपले चित्रण गर्न सक्ने काव्य नै खण्डकाव्य हो । यसको संरचना सर्गसर्गमा गरिन सक्छ । सर्गहरूको अनिवार्यता भने यसका लागि नहुन पनि सक्छ । खण्डकाव्यभित्रै कोषकाव्यको स्थान पनि रहन सक्छ । नेपाली भाषाको बद्धलयको कोषकाव्यको उदाहरण हो— ऋतुविचार हो । कालीदासकै संस्कृतको मेघदूत सुन्दर खण्डकाव्य मानिन्छ । नोपाली भाषाका गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, मुनामदन आदिलाई खण्डकाव्यको उदाहरणका रूपमा लिन सकिन्छ भने मुक्त लयमा लेखिएका खण्डकाव्यहरूमा लुनी, कुञ्जिनी आदिको नाम आउँछ । कवितात्मक गरिमायुक्त खण्डकाव्यहरू महत्वका हुन्छन् । कथानकीय ढाँचाले गर्दा कहिले काहीं कुनै कुनै खण्डकाव्य अतिविस्तार भएका हुन सक्छन् । यस्तामा खण्डकाव्यको सीमाको अतिक्रमण हुन सक्छ । यस्तो देखिने हुँदा त्यस्ता खण्डकाव्यलाई उपमहाकाव्य भन्ने गरेको पनि पाइन्छ ।

ज.महाकाव्य

बृहत् र वृहत्तर गरेर महाकाव्यलाई विभाजन गर्नै पर्छ । कविताको विस्तृत र वा बृहत् रूप नै महाकाव्य हो । बृहत् महाकाव्यमा संरचनामा सर्गबद्धताको खाँचो पर्दछ । यसको संरचनाका लागि विश्राम वा सर्गमा विधाजन आवश्यक पर्ने विषय हो । जीवनजगत्को लामो कथाको यसले वरण गर्दछ । कथानकको लामो आकारलाई समेट्न र छाँटकाट गर्नका लागि महाकाव्यलाई सर्गबद्धताको खाँचो पर्ने हुन्छ । कुनै निश्चित जीवनजगत्को चित्रणलाई कवितात्मक सृजनरूपी सृष्टि वा सर्गलाई एक काव्यमा बाँध्नु सर्गबद्ध गर्नु हो । सर्ग वा सृजनहरूको पारस्प्रिक बद्धता नै सर्गात्मक (नेपाली बृहत् शब्दकोष ः२०४०) विन्यास हो । भावना, कल्पना र काव्यकलाको उच्च योगबाट नै यसको संरचना हुन सक्छ । साधकको अनन्त साधना, काव्यात्मक योगको संयोग, अजस्र कल्पनात्मकता र निरन्तर अभ्यास जस्ता कुराहरूको योग (प्रतिभा, व्युत्पत्ति, अभ्यास) बाट नै महाकाव्यहरू (नेपाली साहित्य परिचय कोष ः २०५५) सृजित हुन सक्छन् । देवकोटाका महाकाव्यहरू शाकुन्तल, सुलोचना आदि यसै कोटीमा पर्दछन् । कलारहित महाकाव्यहरू खाली अभ्यास र व्युत्पत्ति शक्तिको भरमा लेखिएका हुन सक्छन् । कलात्मकता भन्दा पनि शास्त्रीयतालाई वा लक्षणलाई वरण गरेर लेखिएका हुन सक्छन् । तिनीहरू लय र कथावस्तु मात्र मिलाएर लेखिएका, कथानककै मात्र तानतुनबाट बनाइए कलारहित र पद्यात्मक गद्यलयात्मक महाकाव्यहरू हुन् । यी महाकाव्यको स्थिति कवितात्मक लयमा लेखिएका गद्य वा पद्य उपन्यासका रूपमा परिणत हुन सक्ने स्थिति हुन्छ । सोमनाथ, बालकृष्ण समहरू यस कोटीमा पर्दछन् । यस बाहेक कविताको रूपको अन्तिम रूप हो वृहत्तर महाकाव्यको नाम आउँछ । यसलाई एक व्यक्तिको साधनाले लेख्न कठिन हुने कुरा गरिए पनि केही (नेपालीमा सीतायन) कविहरूले यसमाथि पनि निकै राम्रो काम गरेको इतिहास बनिरहेको छ । तर वृहत्तर महाकाव्यहरू भनेका जीवन जगत्का व्यापक परिवेश र पुस्ता दर पुस्ताको कथावस्तुलाई देखाउने सामथ्र्य राख्छन् । यिनमा काव्यमयता, कवितात्मकता, भावनात्मकताको अघिल्लो महाकाव्यको जस्तो उपयोग गर्न कठिन हुने स्थिति हुन्छ । किनभने लामो जीवनका युगयुगको वर्णन र पुस्तादरपुस्ताको वर्णन गर्नु पर्दा यिनमा काव्यात्मकता भन्दा पनि वर्णनात्मकता र कथानककै महत्व बेसी भएको मानिन्छ । संस्कृतमा लिखित व्यासको महाभारत र वाल्मीकिको रामायणलाई तथा फारसी भाषाका कवि फिरदौसीको अवेस्ता यसका गतिला उदाहराणहरू हुन् । यिनको सिर्जना व्यक्तिको ठूलो प्रयास पनि नगण्य हुन सक्छ । यसैले विशेष गरी कविपरम्पराबाट मात्र यस्ता बृहत्तर महाकाव्यहरूको सिर्जना सम्भव हुने कुरा पनि स्मरणीय छ ।

४. समापन ः

जे होस् कविता भनेको मानवको आन्तरिक आल्लादक मनोदशाको सुन्दर क्षणको सुन्दर तथा सांगीतिक अभिव्यक्ति हो । सानो तीन हारदेखि लाखौं श्लोक हुन सक्ने यसको विशेषता बाह्य वा आयामिक विशेषता हुन्छ भने लययुक्तता, भावनात्मक हािर्दकता र मनोहारी कल्पना वा सुमधुर हृदयहारी कथन यसको आन्तरिक विशेषता हो ।

सन्दर्भ ः

आचार्य, भागवत (२०६३)‍ कविता सिद्धान्त र नेपाली कविता एवम् निबन्ध ः काठमाडौं ः नवीन प्रकाशन.

उपाध्याय, केशवप्रसाद (२०४८). प्राथमिक कालीन कवि र काव्य प्रवृत्ति (तेंसं.). काठमाडौं ः साझा प्रकाशन.

...........................(२०३०). साहित्य प्रकाश. काठमाडौं ःसाझा प्रकाशन.

त्रिपाठी, डा.वासुदेव र अन्य (२०४८).नेपाली कविता भाग २. काठमाडौं ः साझा प्रकाशन.

...................................(२०५३). नेपाली कविता भाग ४ (दो.सं.). काठमाडौं ः साझा प्रकाशन ।

पोखरेल, बालकृष्ण. र अरु (२०४०). नेपाली बृहत् शब्दकोष.ः. काठमाडौं ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान.

पोखरेल, भानुभक्त (२०४०). सिद्धान्त र साहित्य. विराटनगर ः श्यामपुस्तक भन्डार.

बराल, ईश्वर (सं).२०५५). नेपाली साहित्यकोश. नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान.

लुइँटेल, डा. खगेन्द्र र अरु (२०५७). नेपाली कविता. काठमाडौं ः विद्यार्थी प्रकाशन.

शर्मा, तारानाथ (२०५१). नेपाली साहित्यको इतिहास. (ते.सं.). काठमाडौं ः नवीन प्रकाशन.

बृहत् दर्शन तथा साहित्य सम्मेलन(रङ्गेली ः मोरङ २०७० (भदौ ३१ र असोज १) मा प्रस्तुत कार्यपत्र

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।