“द मस्ट एक्सपेन्सिभ थिङ इन वल्र्ड इज युअर लुकिङ्ग एण्ड द सेकेन्ड मस्ट एक्सपेन्सिभ थिङ्ग इज हिडेन ह्वेर यु आर लुकिङ्ग ।”
वर्षायामको रुप्सेजस्तो केशको झरना, टिटी तालजस्तो निधार, पूर्णिमाको जूनजस्ता आँखा, सुलुत्त बगेको नाक, कलेजी ओंठ, कानमा ठूला इयररिङ्ग, समुद्री टापुजस्ता छाती, बारुले कम्मर र लामा खुट्टा – उनको सालाखाला रुपको बयान यही नै हो । उसको रुपले जो कसैलाइ पनि भुतुक्कै पार्न सक्थ्यो, तर मलाइ भने उसको रुप सँगसँगै उसको सेतो टिसर्टमा छातीको भागमा लेखिएको त्यही कुराले तानिरह्यो– द मस्ट एक्सपेन्सिभ थिङ्ग...................
२०७२ भदौको पहिलो बिहान ।
लगातार ३ दिन बिहान बिहान झरी दर्केर पोखरा–जोमसोमको उडान बन्द थियो । तर आशा भने सजिबै थियो–कतै अचानकै मौसम खुलेर उडान हुन्छ कि भन्ने । त्यही आशाले त हो बिहान बिहान एयरपोर्ट जाने अनि १० बजे उडान स्थगित भएको खबर सुनेर झोला बोकेर होटल फर्कने गरेको ।
कहिंकतै पर्खाइमा रहनुपर्दा कुनै न कुनै पुस्तक समाएर पढ्ने मेरो पुरानै बानी हो । त्यो बिहान पनि किताब पढ्दै थिएँ, एयरपोर्टको टर्मिनल हलमा बसेर । एमाले नेता तथा मन्त्री महेश बस्नेतको संस्मरण पुस्तक म महेश को २४ औं पेजको दोश्रो अनुच्छेद सकिएपछि पुर्लुक्क म भन्दा अलि अगाडी उभिंदै गरेकी नानीमा नजर पुग्यो– त्यही सेतो टिसर्ट लगाउने युवती ।
उसको रुपले मन त तानिरह्यो नै त्यो भन्दा बढी उसको टिसर्टमा लेखेको त्यही कुराले तानिरह्यो । हेरिरहें उसलाई, टोलाएरै हेरेछु । कसोकसो गर्दा उसका नजरको धनुषले मेरो मनको नाभीमा वाण हानिहाल्यो । जुधिरहे आँखा एकैछिन । यदि आँखा बादल हुने भए ठूलै चट्याङ्ग पथ्र्यो होला सायद । मुसुक्क हाँसि र अर्कोतिर फर्कि । थाहा भएन किन हाँसि, तर हाँसि– आफ्ना प्रेमीसँग निकै खुशी भएर प्रेमिका मुस्काएजस्तो गरी ।
२५–२६ वर्षे युवक पो हुँ, त्यति भैसकेपछि किन चाहियो २४ औं पेजको तेश्रो अनुच्छेद ? बन्द गरें पुस्तक र हेरिरहें उनलाई । पुस्तकभन्दा उसलाई पढ्न थालें–आफ्नै स्वैरकल्पनामा । हातको पुस्तक म महेश भन्दा मनको अलिखित किताब तिमी को? प्यारो लाग्न थाल्यो ।
झरी मलाई सबैभन्दा मनपर्ने याम हो । झरीमा रुझ्दै हिंड्नुमा जति आनन्द सायद प्रेमिकाको काखमा सिरानी बनाएर सुत्दा पनि हुँदैन होला । हो त्यही मलाई त्यति साह्रो मन पर्ने झरी साक्षी बसिसिदयो–त्यो नजरमा ।
आँखा जुधाउने क्रम बेलाबेला चलिनै रह्यो । ओंठको लम्बाइ पनि बेला बेला लम्बिरह्यो नै । मन थियो उसको नजिक गएर केही बहाना बनाएर बोल्न । तर सकिन । अहँ सक्दै सकिन ।
अघिल्ला दुई बिहान जस्तै रह्यो त्यो बिहान पनि । अर्थात झोला बोकेर होटल फर्किने रुटिन । तारा एयरको टिकट क्यान्सिल गरें र सिम्रिक एयरमा टिकट मिलाएर झोला बोकें ।
निस्कँदै थिएँ, मूलढोकामै भेट भयो ती युवतीसँग ।
जे पर्ला पर्ला आँटें ।
“सुन्नुस् न मिस । हजुरको कहाँको फ्लाइट हो नि ?” सोधें ।
“जोमसोम । किन र ?” उसको प्रतिप्रश्न ।
“नथिङ स्पेशल । जस्ट टु नो । थ्याङ्क यू मिस ।” मानौं २÷४ वर्ष अमेरिकातिरै बसे जसरी अंग्रेजी बोल्ने भइटोपलें नि ।
“अनि तपाईंको कहाँ नि ?” उसले सोधि ।
“तपाईं जाने ठाउँकै हो ।” मेरो जवाफ ।
“ए.... अनि के फ्लाइट क्यान्सिल भयो र ?” थाहा पाइसकेकि रहेनछि क्यमरे, सोधि ।
“अँ क्यान्सिल भयो । कुन फ्लाइट थियो तपाईंको ?” बताएँ उसलाई ।
“फोर्थ ।” उसको फ्लाइट नम्बर ।
“ए अब उसो भए भोली सँगै जाम्ला नि त है मिस.....” यति भनें र ढोकाबाट निस्कन लागें । फ्लाइट क्यान्सिल भैसकेको कुरा उसले थाहा पाएकी रहेनछि ।
ढोकाबाट त निस्किएँ तर अगाडी बढ्न मन लागेन । सोचें उनी पनि त यहि ढोकाबाट निस्कने हुन् नी । अनि कुरें उनलाई । थाहा पाइन कुन बेलादेखि ती युवतीलाई सम्बोधन गर्न मनमा तिमी आएको थियो ।
पाङ्ग्रावाला झोला गुडाउँदै निस्किन् एकैछिनपछि । झरी परेकै थियो ।
मेरो नजिकै आइन् । अलमल्लमा परें फेरी । अब कसरी के कुरा अगाडी बढाउने भनेर ।
तैपनि सोधें । “मिसको बसाइ कता छ नि ?”
“ए.....यहीं मुस्ताङ्ग चोकमा बसेकी छु ।” ........ एकैछिनको मौनता) .....“छ्या कस्तो पानी परेको प¥यै गरेको के । त्यहींसम्म पुग्न पनि सकिएलाजस्तो छैन त । कत्ति मन नपर्ने यो पानी परेको त ।” उनको कागतीको रसजस्तो बोली निस्कियो यो पटक ।
झनक्क भयो मलाइ । मलाइ यति साह्रो मन पर्ने झरीलाइ छ्या भनेकोमा ।
“अनि तपाई नि ?” सोधिन् उनले ।
“म यहीं गेट अगाडीको होटलमा बसेको छु । आज ३ दिन भैसक्यो । खै कति दिन बस्नुपर्ने हो कुन्नि ।” उनले सोधेभन्दा बढी नै जवाफ दिएँ, आफ्नो अवस्थाबारे प्रष्ट्याउँदै ।
“म पनि ३ दिन भैसक्यो । खै कहिले हुनै रैछ कुन्नि यो मौसम सफा पनि ?”
“ए हो र.....तर हिजोअस्ति त तपाईंलाई देखिन नि त यहाँ ।” भन्दाभन्दै फेरी उनको छातीमा नजर पुगिहाल्यो । यो पापी नजर ।
यतिन्जेलसम्म हामी टर्मिनल भवनको बाहिर ओत लागेकै छौं । जति झरीमा रुझ्न मन पराउने भए पनि त्यहाँ त्यसो गर्न सकिन । हिंडिहाल्न पनि न छाता थियो साथमा न त १०० मिटरको दूरीलाई ट्याक्सी चढ्नु ।
“नदेखेको होइन ख्याल नगरेको होला तपाईंले ।” यति भनिन् र देब्रे आँखा झिमिक्क पार्दै मुस्काइन् । शिरीषका फूल खस्ने मुस्कान ।
“देखेको भए त ख्याल गर्थें हुँला नि । तपाईंलाई ख्याल नगर्ने भए इ अहिले तपाईलाई कुरेरै किन बसेको छु त ?”
“अँ होला खूबै......”धेरै पुरानो साथीलाई जिस्काएको जस्तै गरी भनिन् ।
“हो त नि खूबै..............”म पनि के कम । जस्तालाई तस्तै उत्तर ।
“तर मैंले तपाईंलाई हिजो ख्याल गरेकी थिएँ , आज पनि तपाईं पढ्दै हुनुहुन्थ्यो त्यही बेला देखें अनि तपाईंले देखिनेगरी तपाईंको सिधा भएर तपाईतिरै फर्केर उभिएकी थिएँ ।” वाहहहह क्या मीठो जवाफ दिइन् । फेरी दोहो¥याउन लगाउने मन थियो तर त्यति साह्रो पागल हुन मन लागेन, पहिलो भेटमै ।
“किन त्यस्तो भयो त नि मन ? हिजो देख्ने आज त्यसरी मैंले देखोस् भनेर चाहने ।” खास कुरो जान्न चाहें ।
“हुँदो रहेछ त्यस्तो पनि । मलाई कत्ति विश्वाश लाग्थेन यस्तो फिल्मी शैलीमा तर..........” ओहो उनले त कति लामो क्षितिजसम्म सोंच्न भ्याइसकेकि रहेछिन् ।
“तर के त ?” उनलाई प्रष्ट पार्न हौस्याउन लागें ।
“हुँदोरैछ । आफैंलाई परेपछि थाहा भयो ।” भनिन् र आँखा भुईंतिर झुकाइन् ।
“किन कसरी मन मतिर सिधा भयो त ? नचिनेको मान्छेसँग पनि.....” अब उनलाई केरकार गर्नमै मज्जा लाग्न थालेको थियो मलाइ ।
हामी उभिएको ठाउँ नजिकै अरु २–४ जना मानिस÷अघोषित यात्रु पनि ओत लागेको थिए । त्यसैले होला ऊ अलि परतिर सरी । म पनि सरें ।
“हिजो तपाईंले पढेको देखेर अनि पढेको बेलाको तपाईंको बानी देखेर किनकिन मेरो मन अलिकति त्यो बानीमा ढल्किएको हो । तर नसोंच्नु नि, मेरो मन तपाईंतिर ढल्केको भने हैन नि ।” तरबारै रहेछ उसको जिब्रो , मीठो बोलीबोली काट्ने ।
“किन अन्तै ढल्केको छ कि के हो ?” जान्न मन लागिहाल्यो नि ।
“छैन । अहिलेसम्म त १८० डिग्रीको सिधा बाटोमा छ ।” यत्ति भनि उसले ।
फिजिक्सको विद्यार्थी रैछे कि के हो ? पूरा डिग्री डिग्रीको कुरा गर्न थाली त ।
“अब कसैले ढल्काउन खोज्यो भने कता ढल्किने नी ? ९० डिग्रीतिर कि २७० डिग्रीतिर ?” उनलाई अब पानीजस्तै छर्लङ्ग पार्नुछ नि त ।
“खै थाहा छैन । ” उनको कुटनितीक जवाफ आयो ।
“अनि साँच्चि मैंले पढ्दा त्यस्तो के गरें र हिजो, तपाईंको त्यति सिधा मन नै ढल्कने गरी ?” फेरी कुरा नागवेली बाटो घुमाउँदै लगें उही हिजोको कुरामा ।
“म वेटमै थिएँ । कुर्सी कुनै खाली थिएन र म उभिरहेकी थिएँ । सबै आआफ्नै सुरमा आआफ्नै साथीहरुसँग कुरा गर्दै बसेका थिए । कोही यताउता गरिरहेका थिए समय कटाउन । तर त्यति धेरै मान्छेका बीचमा एउटा केटो देखें, सेतो टिसर्टमा आइ लभ जोमसोम लेखेको थियो, नीलो जिन्स पाइण्ट र सेता एडिडास स्पोर्टस सुज, कपालमा कालो चश्मा लगाएको । पढ्दै थियो त्यो केटो । कुनै पुस्तक । त्यस्तो भीडमा पनि एकोहोरो भएर एउटा भर्खरको अल्लारे जस्तो देखिने केटो आफ्नै दुनियाँमा हराएर पढिरहेको देख्दा असाध्यै रमाइलो पनि लाग्यो । आखिर बाहिर पानी परेकै थियो । झ्यालबाट बाहिरको पानी हेरिरहेको बहानामा त्यो केटोलाई हेरिरहें । नजिकै गएर के पढिरहेको रैछ भनेर हेर्न मन लागेको थियो तर उसको दायाँबायाँ कतै पनि सिट खाली थिएन । अलिअलि निराश पनि भएँ । सबैभन्दा निराश त त्यो बेला भएँ जब त्यो केटाको फ्लाइट कहाँको होला भनेर मनमा जति बिचार गरेपनि कुनै जवाफ नमिल्दा । निकै लामो बेरपछि त्यो केटाको दाहिनेतिरको सिट खाली भयो, त्यहाँ बसेकी एउटी युवती उठेर कतै गएपछि । अनि म त्यो सिटमा गएर बसें र त्यो केटाले पढ्दै गरेको किताब हेरें । डा. निर्मल ज्ञवालीको कथासंग्रह फ्रिडम टु डाइ पढ्दै रहेछ, करिब आधा घण्टासम्म म त्यहीं बसें , त्यो केटाले फर्काएको पानापच्छिे मैंले पनि कथा पढदै गएँ । तर अहँ त्यो केटाका न आँखा अक्षरबाट पाट्टिएर यताउता गरे न त उसको मन । मेरो शरीरको अलिअलि अत्तरको बास्ना त पक्कै पनि त्यो केटाको नाँकको बाटो हुँदै भित्रै छिरे होला, तर टसमस केही नभई पढिरह्यो । पछि म सिटबाट उठेर यहीं आएँ र मलाई सबैभन्दा मन पर्ने मौसम यो झरी दर्केको हेरिरहें । आज बल्ल थाहा भयो त्यो केटो तपाईं हो भनेर ।”
ओहो एसएलसी परीक्षामा नेपाली विषयमा विवेचनात्मक प्रश्नको जवाफ लेखेजस्तो सप्रसंग जवाफ पो दिई त मेरो छोटो प्रश्नको लागि ।
“सरी मैंले ख्याल गरेनछु हिजो तपाईलाइ ।।”
“तर ख्याल नगरेर राम्रै गर्नुभयो ।”
“किन ?”
“तपाईंले ख्याल गर्नुभएको भए तपाईंको त्यसरी पढ्ने आदत र बानीबारे मैंले थाहा पाउने थिइन नि त ।”
“किन र ? तपाईंलाइ देखेर ख्याल गरेको भए पनि त पढ्न सकिहाल्थें नि । हैन र ?”
“पत्याइन तपाईंको यो कुरा ।”
“किन र ?”
“किनकी मैंले हिजो पनि आज लगाएकै टिसर्ट लगाएकी थिएँ । ”
खङ्ग्रंगै भएँ । मेरो मनोविज्ञान पढेर पो बसेकी रैछे त यो मोरी ।
हाँसें । एउटा लाजको हाँसो ।
“सरी । मत्स्यगन्धाको डुँगामा परासरको मन जस्तो भयो आज । द फस्ट फिलिङ्ग अफ द लाइफ ।” मेरो मुखबाट मात्र होइन, मनभित्रैबाट निस्केको कुरा थियो यो ।
“पक्का हो र ? तर मत्स्यगन्धाको अगाडी हैन त्यो सेन्टेन्सको अगाडी त्यसो हुनुभएको हो । एम आइ राइट मिस्टर.....?” प्रश्न सोधी र रोकिइ । किनकी उसलाई मेरो नाम नै थाहा थिएन त मिस्टरको पछाडी अरु के थपोस् बिचरी?
“बाइ द वे, आइ म देवेन्द्र । फ्रम गुल्मी ।”
दाहिने हात अगाडी लम्क्याउँदै भनि– “आइ एम मेनका , फ्रम लमजुङ्ग । बट अल से मि ए्याज मिनाक्षी ।”
“या..आइ थिङक मिनाक्षी एण्ड मत्स्यगन्धा ह्याभ निअर अबाउट द सेम मिनिङ । एम आइ राइट मिस मेनका ?”
“या यु आर । ” यत्ति भनी ।
“अँ के भन्दै थिएँ रे...अँ अँ साँच्चि मलाई पूरै विश्वाश छ तपाईं त्यही सेन्टेन्सको मिनिङ खोज्दै हुनुहुन्छ है अहिलेसम्म पनि ?” उफ् यो केटीले त मलाइ त्यो सेन्टेन्समा माकुराको जालमा माहुरी अल्झिए जस्तै गरी अल्झाउँदै पो गरी त ।
म केही बोल्न सकिन । मात्र स्विकारोक्तिको मुन्टो हल्लाएँ ।
बुझें , सायद उसलाई अलिअलि घमण्ड पनि छ होला उसको त्यो कोकोनट आइल्याण्डको ।
अनि यो पनि थाहा भयो यो केटी काग÷कोइली÷मान्छे सबैका फूल चोरेर पिएचडी गरिसकेकी छे ।
“अनि आज किन त नि मेरै अगाडी मेनका जसरी झुल्एिकी ?”
“विश्वामित्रको ध्यान भङ्ग गर्न ।” भनि र हाँसी मुसुक्क ।
“कुन इन्द्रले पठाएको नि मेनकालाई ?” के कम म पनि । कुरा अब ल्याक्टो चक्लेटको खोल जस्तो गरी तन्काउन मन लागिहाल्यो ।
“देव इन्द्र ले ।” भनि र यो पटक भने खितितित्तै गरी हाँसी ।
झरी अलि कम हुँदै गयो । बस्न मन त थियो नि सँगै तर मुखले प्वाक्क पनि के भनिहाल्नु । अन्योलमा परिरहें ।
“अब त भोक पनि लाग्न थाल्यो । पानी पनि निकै कम भैसक्यो । जाउँ ल । आखिर भोली फेरी यहीं भेट भैहाल्छ क्यारे ।” भनी उसले ।
तर मलाई भोलीको बिहान आउन एक वर्ष लाग्छ कि जस्तो भैसकेको थियो ।
भनें– “नजिकै रैछौं । दिउँसो भटौं न त है ?”
“अँँँ.... ओके । बट तपाई कुन होटलमा बस्नुभाकोे छ ?”
“मार्फा थकालीमा । कोठा नं. १०८ ।”
“ओके स्योर । लेट्स मिट एट फाइभ पिएम ल । लेट्स गो” भनि ।
निस्कियौं दुवैजना ।
झरी घटेर सिमसिम पानीमा पुगिसकेको थियो ।
कोठामा आइपुगें र चुरोट तान्दैं गाएँ, पुरानो गीत– सिमसिम पानी रैछ्यौ बैमानी ।
............................................................
२०७२ भदौ १ गते दिउँसो तपाईंले के के गर्नुभयो ? भनेर लोकसेवाको अन्तर्वार्तामा सोध्यो भने मेरो रेडिमेड जवाफ बन्यो त्यो दिन – कति बेला ५ बज्ला र मिस मेनकासँग भेट होला भनेर पर्खाइमै बित्यो भन्नलाई ।
झण्डै ५ महिनापछि ५ बज्यो त्यो दिन । दिनभरी झरी दर्केकै थियो । तात्तातो चिया र सूर्यसँगै बितेको दिन ५ बज्न १० मिनेट बाँकी रहँदा ढोकामा बजेको ढकढक आवाजसँगै बदलियो । झ्यालबाट हेरें– मिस मेनका । अब प¥यो लफडा । ढोका नखोलुँ भने उनी आफैं म बसेको कोठामा आएकी छिन्, ढोका खोलुँ भने कोठाभरी सूर्यको धूवाँ मडारिएको छ । तत्काल जुक्ति लगाएँ र भनें– “मिस म ड्रेस चेन्ज गरेर निस्कन्छु, बाल्कोनीमा बस्दै गर्नृु ल ।”
स्विकार गरिन् मेरो अनुरोध ।
कलेजी रङ्गको सर्ट र नीलो जिन्स पाइण्ट लगाएर बाहिर निस्किएँ र तत्काल ढोकाको चावी लगाइहालें । अनि भनें– “जाऔं लेकसाइडतिर घुम्न । भोक पनि लागेको छ, ब्यञ्जनमा पसेर केही खाउँला पनि ।” थाहा थिएन मलाई उनलाई ब्यञ्जन थाहा थियो या थिएन भन्ने । तर केही सोधिनन् । सायद बुझिहोलिन् ।
पानी पर्न रोकिएको थिएन ।
तल झरेर ट्याक्सीमा लाग्यौं लेकसाइडतिर ।
अहँ बोलचाल भएन ट्याक्सीभरी । बाहिर झरी र भित्र उदय सोताङ्ग बजिरहे । मनभित्र भने अरु नै केही बज्दै थियो ।
ट्याक्सी ब्यञ्जनको ढोकामै रोकियो । ट्याक्सी बील उनले तिरीन् । र पस्यौं–ब्यञ्जनको माथिल्लो तल्लामा ।
फेवातालतिर फर्केको टेबलमा आम्नेसाम्ने भएर बस्यौं । हेराहेर भयो–आँखाले आखालाई र मनले मनलाई । अरु देख्नेले प्रेमी–प्रेमिकाको रुपमा देखे होलान् तर हामी त्यसरी थिएनौं–हामी केबल नयाँ परिचित तर नजिक हुन लागेका साथी मात्रै थियौं ।
वेटर आयो । खानेकुरा अडर गर्न उनलाई अनुरोध गरें । एकै अनुरोधमा स्विकारिन् । शंका लागेको थियो मनमा, कतै पानीपुरी र चटपटे त अर्डर गर्ने हैन भनेर । तर त्यसो भएन । बनाना लस्सी र चिकेन मम भनी । थ्याङ्क यू भन्दै वेटंर आफ्नो बाटो लाग्यो ।
“मिस, आज हाम्रो पहिलो भेटमै हामी किन र कसरी यति साह्रो बाक्लो सम्बन्धमा छौं ? मह जस्तो बाक्लो सम्बन्धमा ?” अलिअलि कुटनिती मिसाएर सोधें उनलाई । मलाई आन्द्राभुँडी जम्मै जान मन लागेको थियो त म के गरम् ?
“मह जस्तो बाक्लो मात्रै होइन , म चाहन्छु हाम्रो यो सम्बन्ध त्यत्तिकै स्वादिलो पनि होस् ”। उसले पनि आफ्नै मनको कुरा बताइ ।
“अरु कसैले मह चखाइसकेको त छैन नी ?” नानीदेखिको जिस्कने बानी किन छुट्थ्यो र ? फ्याट्ट निस्किहाल्यो मुखबाट ।
बोलिन । लामोसमयसम्म केही पनि बोलिन । मात्र हेरिरही मलाई । आँखा झिमिक्क पनि नगरी हेरिरही । अनुहारको उज्यालो कुनै भित्री बादलले छेक्न खोजेजस्तै भयो ।
हामीभन्दा ठ्याक्कै पारीको टेबलमा बसेका एक जोडी भालेपोथी कुइरे टेबलमुनि खुट्टा र टेंबलमाथी ओंठ जोड्दै थिए बेलाबेला । रमाइलो पनि लाग्दै थियो उनीहरुको त्यो चर्तिकला देखेर । संसारमा ६४ कला हुन्छन् भनेर पढेको म , अचेल ६५ कला हुन्छन् भन्ने बुझ्न लागेको छु । आफ्नै सिद्धान्त– मानिसको चर्तिकला समेत जोडेर ।
लामो मौनतापछिको बोली कति सुन्दर हुन्छ ! बोली –नौनीजस्तो नरम पाराले बोली । फूलको पत्ताजस्तो निर्दोषपाराले बोली । सुनें । सुनिरहें । आँखा भने बाहिरको आकासजस्तै हुन लाग्यो ।
“तपाईंको पढ्ने बानी देखेर नै तपाईं पक्कै केही विशेष हुनुहुन्छ भन्ने मैंले हिजो नै अनुमान लगाएकी थिएँ र तपाईंसँग नजिकिएँ । मैंले आजसम्म कसैलाई नभनेको कुरा अहिले तपाईंको एक प्रश्न सहन नसकेर बताउन मन लाग्यो । के जादू छ हँ तपाईंको यो प्रश्न गर्ने बानीमा ? तपाईं सबैसँग यस्तै गरी कुरा गर्नसक्नुहुन्छ या कुनै सुन्दर युवतीसँग मात्र या मनले नजिक ठानिसकेको मान्छेसँग मात्र नि ? ”
ऊ बोल्दै थिई । बीचमै कुरा काटेर मैंले भनें– “मलाई लोग्नेमान्छेहरु भरोसाका लाग्दैनन् । त्यही भएर म कुनै पनि लोग्नेमान्छेसँग मन खोल्न सक्दिन । सानै उमेरदेखी मेरो धारणा के बन्यो भने महिलाहरु विश्वाश गर्न लायक हुन्छन्, उसैमाथि भावुक महिला । कुनै युवती÷महिला विश्वाश गर्न लायक छ÷छैन भन्ने उ सँगको पहिलो हेराइमै थाहा पाउँछु । र केमेष्ट्री मिल्नेसँग म यस्तै गरी कुरा गर्छु, एक झटारोले हाँगो रित्याउने गरी । यो मेरो अहं पनि हो । र तपाईंसँग मेरो केमेष्ट्री मिलेको प्रमाण पनि ।”
मुन्टो हल्लाइ र आफ्नो कुरालाई जोडी , “......अँ ! कसैले मह खुवाउने निकै प्रयास गरेको थियो । तर खाइन । मलाई उसको हातको मह नीमको रसभन्दा पनि तीतो हुन्छ जस्तो लागेको थियो । उसका हरेक प्रयास मैंले विफल पार्दै गएँ । हजुर आफैं भन्नुस् न , कसैले बलजफ्ती खुवाउन लगाएको कुरा पनि मीठो लाग्ला त ?”
त्यत्ति भनी र केही बोलिन । केही बोल्छे की भनेर कुरिरहें । अहँ बोलिन । बरु आँखा भुईंतिर झुकाई ।
ठ्याक्कै त्यही बेला आइपुग्यो एक–एक गिलास बनाना लस्सी र एक–एक प्लेट चिकेन मःम । वेटरले निकै नियालेर हे¥यो मेनकाको अनुहार ।
अझै बोल्यो भने घाउ झनै चह¥याउँछ जस्तो लाग्यो होला, “भोक लागिसक्यो खाजा खाउँ ल पहिले” भनी र मःमको पहिलो डल्लो क्वाप्प मुखमा हालिहाली । लोभी मनले उसको मुखबाटै अलिकति मःम झिकेर खान खोज्दै थियो तर मष्तिष्कले रोक्यो ।
लाग्यो– यो मनको र मष्तिष्कको खेलमा किन सधैं मष्तिष्कले जित्न खोज्छ हँ ? साला मष्तिष्क !
“अनि के भयो नि ?” लामो सन्नाटालाई चिर्दै सोधें फेरी ।
“आइ वेल टेल यु लेटर ल । प्लिज गेट मि फिल रिल्याक्स नाउ ।” उसले अनुरोधकै भाषामा भनी ।
“ओके । ”भनें र लस्सी र मःमतिर लागें ।
सकिए केराको पातमाथी राखिएका मःमका डल्ला र सिसाको गिलासमा ल्याएको लस्सी पनि । तर अहँ सकिएन , आकासबाट पानी झर्ने काम ।
“तपाईंको स्पेशल फ्रेन्ड छ कोही ?” मेरा आँखामा आँखा जुधाउँदै सोधि ।
“भर्खर भेटिएको छ ।” उसको छातीमा हेरेर भनें । अहिले भने सेतो टिसर्ट थिएन उसको जीउमा । माथी कलेजी रङ्गको कुर्ता र तल कालो जिन्स पाइण्ट थियो ।
“मतलब ?” सोधी उसले ।
“त्यो स्पेशल मान्छेले मेरो अगाडी बसेर मलाई दाईंगर्दाको मेइको गोरुजस्तो फनफनी घुमाइरहेको छ ।” जेरीजस्तै भयो होला जवाफ ।
“ह्वाट ?” आँखा अलि ठूला पार्दै भनी , “अहिले यो बेला तपाईंको अगाडी म छु तर मैंले तपाईंलाई त्यसरी घुमाएकी त छैन नी ।”
“उसो भए म आफैंले आफैंलाई घुमाएँ त ? ” घुम्न चाहिं पक्कै घुमेको छु भन्ने देखाउन पनि भन्नै प¥यो यति त ।
“छैन । घुम्नुभएको छैन । तपाईं सिधा हुनुहुन्छ । पूरा एकदम स्ट्रृेट ।” आफ्ना दुवै हातलाई समानान्तर रेखाजस्तो बनाउँदै भनी ।
“१८० डिग्रीमा ?” बिहानको उसको डिग्री सापट लिएर उसैलाई प्रश्न तेस्र्याएँ ।
“हो त ।” भनी उसले । फेरी भनी, “मतलब तपाईंको गर्लफ्रेन्ड छ कि छैन भनेर जान्न खोजेकी मैंले ।”
“ए ए । कुरा त्यसो पो । म सोझोलाई कसले पत्याउनु नि ?फेरी अचेलका युवतीलाई घः चाहिन्छ रे, मसँग त्यो छैन ।” उल्टै प्रतिप्रश्न गरें ।
”खुबै सोझो नि..... “भनी र ओंठ फर्काइ । नपत्याएको गरेर ।
ऊ एकैछिन केही बोलिन । म पनि बोलिन ।
भनि– ”तर मलाई त चौथो एम भए हुन्छ । ती अगाडीका तीन एमको खासै अर्थ छैन, बिन्दास शब्द प्रयोग नगर्नेलाई ।“
”किन तिमी बिन्दास शब्द प्रयोग गर्दिनौ र ? अहिले बोलिहाल्यौ त त्यो शब्द ?“ ओहो तीमी भनेर नै पो सम्बोधन गरेछु त उसले सुन्ने नै गरी ।
“मुखले बोल्नु र ब्यवहारले बोल्नु फरक छ नि मिस्टर देब प्लस इन्द्र” भनी र मोनालिसा मुस्कान मुस्काइ ।
“साँचि त्यो चौथो एम भनेको के हो नि मिस मेनका उर्फ माइ स्पेशल फ्रेन्ड ?” मेरो जान्ने चाहना बग्यो उनको बगरतिर ।
“म्याचुरिटी”
“उफऽऽऽऽ यो पनि म सँग छैन त”
“छ । यु ह्याभ इट । आइ रियली नो अबाउट इट ।”
म केही बोलिन । थ्याङ्क यू भनुँ आफ्नो प्रशंशा गरेकोमा कृतज्ञ भएजस्तो होला, इन्कार गरुँ त्यो अवस्था पनि रहेन ।
बाहिरको झरी त्यतिबेलासम्म सिससिम पानीमा झरीसकेको थियो भने मनको झरी अब झनै दर्कन लागेको थियो ।
उसैले बील मगाइ र तिरी पनि । ट्याक्स , भ्याट, सर्भिस चार्ज के के हो के के सँग जम्माजम्मी रु ७६७।४५ ।
ओर्लियौं तल ।
ट्याक्सीमा जाने की पैदलै भनेर सोधी । पैदले जाने मेरो इच्छा बुझेपछि त्यसै गरी फर्किंयौं । तर बाटोभरी एक शब्द नबोली ।
राष्ट्रबैंक चोकमा आइपुगेपछि ऊ आफैं बोली पहिले ।
“हाम्रो माथीको त सेम सेम मिलेछ है ?”
“हँ... के भनेको ? के मिल्यो र ? मैंले त बुझिन है” भनें । बुझ्न त के नबुझ्नु नी । अघि ब्यञ्जनमै प्वाक्क भनुँ की जस्तो लागेको थियो, तर हतार होला नभनेको मात्रै पो ।
“कलेजी रङ्ग के । तपाईंको सर्ट र मेरो कुर्ता” भनी र मसक्क मस्की ।
“तलको त मिलेन है ? सो स्याड । तलको मिले कति राम्रो हुन्थ्यो होला है...”भनें । आखिर किन छोड्नु जेरीजस्तो घुमाउरो कुरा गर्न ?
बुझिसकिछ मोरीले ।
“पहिले माथीकै मिल्नपर्छ । माथिको नमिलि तलको मिलाउन खोज्न हुँदैन । यु पास्टर्ड ब्वाय....” भनी र नजिकै थिई, काँधमा मीठो पिटाइ सहितको हात बिसाई ।
जिस्किएँ फेरी, “माथिको कुन मिल्नपर्छ हँ ? सेकेन्ड मस्ट एक्सपेन्सिभ वन ?”
“यु मङकीऽऽऽ” भनी र हाँसि मात्र ।
अब केही बोल्न भएन । नबोली हिंडें ।
आइपुग्यौं मुस्ताङ्ग चोक ।
बल्ल मागी मेरो मोबाइल नम्बर । मनमनै दुइ चार बित्ता मात्रै होइन दुइ चार मिटर नै उफ्रिए हुँला उसले त्यसरी मेरो नम्बर माग्दा ।
नम्बर सेभ गरें उसको पनि ।
अनि छुट्टियौं । अर्को दिन बिहान सँगै एयरपोर्ट जाउँला भन्दै ।
हिंड्दै गर्दा भनें– “भोली त्यो सेतो टिसर्ट लगाएर नआउनु नी.....”
थाहा भएन उसले सुनि या सुनिन ।
तर मलाई थाहा थियो–भोली एयरपोर्ट जानुभन्दा पहिले नै हाम्रो लामो कुरा हुनेछ । झरीजस्तै लामो र रमाइलो कुरा ।
कोठामा आइसकेपछि सूर्य सल्काएँ र टिभी खोलें । गीत बज्दै रैछ– शिव परियारको स्वरमा रहेको गीत, हेरे जस्ती छ्यौ की तिमी देखे जस्ती छ्यौ....भन सानु मनमा केही लुकाएजस्ती छ्यौ......