निर्निमेष तप्किने थोपाहरुमा
ममताका सार्वजनिन् सात्विकीकरण
सारगर्वित सार्विकताका चेहराहरुमा
गामबेसीका मफलर र चेतोद्वेगका ढाकरहरुमा
अनन्तदेखि अनन्तसम्मका
सभ्यताले सिर्जेका
मानवोत्तर समयका सोपानहरुबाट
आफ्नै पसिनाका चारकिल्लाभित्र
पसिनै पसिनाका रहरहरुमाथि
समयले एउटा ड्रिम हाउस निर्माण गर्छ
मनका तिलिचो तालहरुभरि भरि
उनीहरु सिर्जिदै हुन्छन् आफ्नै रुप र स्वरुपमा
उनीहरुकै लास्भेगास् र डेज्निल्याण्डहरु
त्यति नि खेर पल्टने बाको एकहोरो खोकाइले
सयपत्री फुल्न सक्दैन
खोला, खोल्सा र कुलाहरु
हाँस्न सक्दैनन् मुक्त हाँसोहरु
म पनि अलि पर
आस्थाका कुइनेटामा टुसुक्क बसेर
युगको हाँसोसँग हाँस्ने प्रणमा थिएँ
समवेगको गतिमा हेलिने नक्षेत्र
योगमा यत्नशील थिएँ
दिशाबोधको बाह्र बोरको बन्दुके बरियातहरुसँग
अहिँसायुक्त हिँसामा जिन्दगीका बाह्रखरी सिक्दै गरेका नवयुगहरुसँग
मौन सँवाद चलाउनु थियो
बन्द गरिएका रोमकुप डग्मगाउने
युद्धपोत र अस्मिताका शान्तिवाटिकामा
किन अनसन बसिरहेछन् स्वयँ जन्मन नसकेका
गुरिल्ला शुक्रकीटहरु र अर्ध बैशे अबलात्कृत रुपसी मनहरु
खोरिया फाँड्न मनले मागेको थियो जङ्गल
मैले हार्दिकता खन्याएकै हो
उल्कापातको हल्ला चलेको बेला
बैगुनका बोटमा
खुर्सानीहरुले हाँसी हाँसी फाँसी चढेकै हुन्
चुनौतीका पहाडहरुमा
सहमति र सहगामिताको प्रयोग भएकै हो
फेरि पनि सुनगाभाका फेदमा सुन फल्नै पर्ने तर्कसँग
हर्ष र विस्मात मैले, तिमीले र हामीले किन नि गर्नु र?
बकैनाका बोटमा स्याउ फलेपनि
स्वादको सुन्दरतामा परिभाषा फरक हुनुले —
म बाँचेको भानमा अभिमान मर्छ
हामी बाँचेको भानमा स्वाभिमान बाँच्छ
म मात्र, मात्रै म बाँचेको अपमान मर्छ
हामीसँग सँगै सहधर्मिता बाँचेको मान बाँच्छ निरन्तर, निःश्ब्द र निर्मिमेष
कलमसँग शक्ति हुन्छ भन्दा
तरबारहरु भुकेका थिए
आवाज नभएका आधा आकाशसँग आवाज हुनु पर्छ भन्दा
अस्तित्वमाथि धावा बोलिएको थियो
समय ब्युतिँदा मान्छेहरु जाग्नु पर्छ भन्दा
निर्दोष मनहरुमा भयको पहिरो चलाइएको थियो
भाव, भाषा र भाकामा अति भएपछि
बोसे आन्द्राभित्र मखमली फुलाएर
शान्ति यात्राका लागि बारुदी सुरुङ्गभित्र
थाकका थाक बुद्ध मूर्तिहरु उम्रिरहेका बेला
अधिकाँश मान्छेहरुको आँखाबाट
बादल घेरामुनिको सेतो गुम्बाले नून बारेको अनुमान छ
हो,
त्यही समय विम्वको उठानबाट
मंगली दिदीहरुको जवानी उत्सवमा
एकेक गरेर शीतका थोपाहरु
बगिरहेछन्, तलतिर
माथि माथि जम्ने अर्थमा
अनि
लाला र बालाका त्राहिमाम समयसँग
धर्तीका कण कण बोलिरहेछन्
मंगल धुन खोज्दै हिँड मंगली दिदी
स्वविवेकका क्षेप्यास्त्रहरु लिएर
युग बोकेर अक्षरहरुमा
बढि राख अघि लालाबाला मलालाहरु
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग