(शोक काव्य)
ऊ गर्भमा आएथ्यो
सपना देखेँ
एउटा हात्तीले
फुलको माला हुत्याएथ्यो मतिर
पछि ऊ जन्म्यो
म जीवनको तरुणवयमा थिएँ
जीवन भनेको रहर मात्रै थियो
किसान परिवारकी बुहारी
कठोर श्रम मात्र मेरो दैनिकी थियो ।
ऊ जन्म्यो
मोटो, गोरो, च्याप्टो
अझ भनौं – खप्परे
कुनै झर्रो किराँत शिशु झैं
आफ्नो हक प्राप्त गर्न
खुब झगडा गथ्र्यो
डेढ वर्षसम्म मेरो दुधले नै अघाउँथ्यो ।
हामी दुईको रहरको बिम्ब
काखको भकुल्लो, जीवनको जीजीविषा
संस्कारकै हिसाबले भन्दा
हाम्रो छोरा ।
सन्तान हुर्काउन आमालाई
कति कठिन छ
तर सुखद कष्ट
रहर, मात्र रहरको कष्ट
एउटा अघोषित सपना
भविष्यको न्यानो घाम
हाम्रो सपना हुक्र्यो, फुल्यो
छातिभित्र फुलेको सुनाखरी झैं
झपक्क हुँदै गयो ।
ऊ बढ्दै गयो
हाम्रा हातहरूलाई
पालो दिँदै गयो
आत्मविश्वास लहराउँदै गयो
हाम्रो खुसीको थुँगा फव्रिmँदै थियो ।
ऊ हुक्र्यो
उसको बिहा गरि दियौं
रहर हाम्रो पुरा गर्यौं
मेहनती थियो
सबैलाई आफ्नो बनाउँथ्यो
अनुहारमा जून झुल्काउँथ्यो
भए पुगेसम्म हात खुला राख्थ्यो
सबैका आँखाभरि बाँचिरहेथ्यो ।
अहो ! मेरो त्यो गर्भको फुल
फव्रmेथ्यो मेरो मनमा सुगन्ध छर्दै
कसरी चुँडायो अहो ऽ!
मेरो कलेजोका टुव्रmालाई
उसको शरीर पो कहाँ हो र ?
मेरो पो मुटुलाई किचिपिचि पार्यो
कति चिथोरिइरहन्छ यो छाती
कसरी थुम्थुम्याउँ यो मनलाई
थाकेनन् आँखा आँसु बगाएर
पटक्कै सुकेनन् पीडाका दहहरू ।
कसलाई गुहारौं, कसलाई सुनाऔं
मभित्रको आमाको रोदनलाई
उकहाँ म कसरी पुर्याऔं ?
ऊ पो कहाँ मारियो त !
मेरो कोख पो मारियो त !
मेरो सिर्जना पो मारियो त !
बाछो मारिएकी आमा म
कति रोऔं, कति बगाऔं
असारे झरी झैं यी आँसु
लुटिएको काखलाई कति भिजाऔं
पोलिरहने यो छातीलाई
कहाँ लगेर बिसाऔं !
ऊ गयो – मेरो
सन्सार सुनसान भयो
मुटु चुँडिएको घाउ मात्र
मसँग बाँकी रह्यो
आमाको आफ्नो भन्ने
जीवन नै के हुन्छ र !
मात्रै सन्तानको निमित्त
एउटा सहिदको बिम्ब
माउ माकुरो ।
तर सन्तानका निम्ति त
ऊ काँचुली समेतमा बाँचिरहन्छे
आफ्नो मुटु झिकेर लिइजाने छोरो लड्दा
दुःखित हुन्छे र सोध्छे
बाबु ! कतै दुख्यो कि ?
सन्तान आफ्नो स्वार्थमा पीडा दिन्छ
आमा हाँसेर सहन्छे ।
भन्छे –
कठै ! यो आफ्नो सिर्जना
आफ्नो मनको फुल
प्रकृतिले दिएको वरदान
आफ्नै शरीरका रसले
भिजाएर उमारेको विरुवा
आफ्नै श्रमका लगानीले
आफ्नै मनको गमलामा
हुर्काएर र फव्रmाएको फुल !
सन्तान त
यही छातिभित्रै सधैं
मेरै धुक्धुकीसितै
सास फेरिरहन्छ
खुसीमा यहीँ भित्रै फव्रिmरहन्छ
दुखमा यही छातिभित्रै
दुखिरहन्छ
पीडा दिन्छ तापनि
आफ्नै जस्तो लाग्छ
तर जब ऊ रुन्छ
भित्र कतै छाती दुखे जस्तो लाग्छ
आफैं मर्न सकिन्छ – तर
उसको मृत्यु
सह्य हुदैन ।
××× ×××
साउन १६ गते २०७१
अगस्तको १ गते
मेरो छातीमा बज्र पड्किएको दिन
मेरो कलेजामा तेजाब खनिएको दिन
मेरो सिर्जना लुटिएको दिन
उसलाई मार्यो –
तर मलाई दुख्यो
सुन्दा नै शरीर थरर्रै काम्यो
सन्सार फन्फनी घुम्यो
आफैंभित्र मृत्युको रन्को पस्यो
शायद ऊ बाँच्न खोज्दै थियो
अगाडि आइरहेको
मृत्युको भयावह रूपलाई
हात उठाएर कराउँदै
रोक्न खोज्दै थियो ।
उसलाई थाहा थियो
उसले मलाई वचन दिएथ्यो
आमा ... !
म भात खान आइपुग्छु
आलु र करेला भुटिदिई राख्नू
उसको रुचि त
मेरो रहर हुन्थ्यो
आखिर मेरै छातीको रस
पिएर हुर्केको त थियो
उसको खाने रहर
मेरो ख्वाउने मन
मैले उसको रुचि पकाएकी थिएँ
उसलाई पर्खेकी थिएँ ।
तर ऊ आइपुगेन शरीरसितै
आउँदा आउँदै ऊ ढल्यो
मसम्म आइपुग्नै सकेन
उसको मृत्युमा म
ढाल बनेर उभिनै पाइन
म मरेर भए पनि
मेरो स्नेहको फुललाई
जोगाउनै पाइनँ ।
ऊ त एकै पल्टमा मर्यो सायद
तर हजार पल्ट मर्दै बाँच्तै
छट्पटाइरहेकी छु म
उसको मृत्युलाई पल पल छातीमा
बोकेर हिँडिरहेकी छु म
उसको मृत्युलाई
उसको अभावलाई
छातीभरि बोकेर बाँचिरहिछु म
यो मेरो पल पलको मृत्यु सहज
कि
उसको एकै पल्टको मृत्यु सहज ?
मृत्यु कुन सहज हो
कसरी बुझौं म ... !
ऊ त सायद एउटै मृत्यु मर्यो
म हजार मृत्यु भोग्दैछु
मनको कतै कुनामा
छातीका रेसा–रेसामा आज पनि
जीवितै रहेको छ ऊ ।
म कसरी विश्वास गरौं
मन मान्दैन
लाग्छ कति बेला
पछिल्तिरबाट आएर भन्ला –
आमा ... ! भोक लाग्यो ...!
घर अघिल्तिर –
बाटोको घुम्तीबाट
सधैं ऊ आउने बाटोबाट
साँझ,
कैयौं मोटर साइकलहरू आउँछन्
तिनैमध्येमा ऊ पनि हुन्थ्यो आउनेमा ।
हेरिरहन्छु साँझपख
घरको बरण्डाबाट
सधैं झैं ऊ पनि त आउँदै होला
आँखामा झझल्को आइरहन्छ
मोटरसाइकल बिसाउला
हातमा हेल्मेटसित माथि आउला !
म पर्खिरहेको कुर्सीछेउ
उभिएर भन्ला –
सारै थाकियो – आज त !
आँखाभरि आइरहन्छ
मनभरि छाइरहन्छ
कानमा उसको स्वर
गुन्जिई रहन्छ ।
अनि तर्सिन्छु – आफैंसित
गाँठो पर्छ मुटुभित्र
मुर्छा पर्छु झैं लाग्छ
कस्तो पीडा हो यो
हो जस्तो पनि, होइन जस्तो पनि
कस्तो व्यथा हो यो ?
कस्तो सजायँ हो यो
आमाको मनलाई !
साँझमा उसको फोटोअघि
बत्ती र धूप सल्काउँछु
ऊ फोटोमा हाँसिरहेछ
भर्भराउँदो अनुहार छ
अनि लाग्छ यस्तो मान्छे
कसरी मर्न सक्छ ?
फेरि भन्छ मन –
यो किन मलाई बोलाउँदैन त ?
कि आमा !.... भनेर
झ्याम्मिन आउँदैन त
किन यति निष्ठुरी भयो ??
फेरि होसमा फर्किन्छु
भुतुक्क हुन्छु
ढल्न खोज्छु मुर्छा परेर ।
मन हाहाकार गरेर दौडन्छ
कि कहाँ होला त्यो
के गर्दै होला त्यो
भोकै होला त्यो
तिर्खै होला त्यो
किन माग्दैन मसित खान ?
किन भन्दैन उसको दुःख
मसित आएर ???
एकै छिन ओर्लेर आए हुने ताराको देशबाट
भोकतिर्खा लिएर आए हुने ताराको देशबाट
उसको शिर सुम्सुम्याउनलाई यी हात
सगरमाथा झैं उठिरहेछन्– हर रात
उसको जीवनका सहारा थिए यी हात
आज पनि तड्पिरहेछन्
उसैलाई खोजेर यी हात
उसकै निम्ति उठेथे यी हात
उसको जीवनमा ल्याउन प्रभात ।
मेरो निम्ति यो सन्सार कति ठुलो भो
कहाँ पुग्यो होला म भेट्तिन अहो ऽ!
लौन ए ! कोइ छ विधाता भने
मेरो छोरा फिर्ता दिन सक्छस् भने
नत्र शर्म गर् ! आफूलाई नियन्ता नठान् !
मार्नै मात्रै सक्ने रै’छस्
आफूलाई अब छुद्र ठान् !
लुट्न सक्ने, खोस्न सक्ने
तर दिन नसक्ने – कस्तो तेरो मन ?
कसले दियो यो
आमा हुने वरदान
आमा किन बनायौ मलाई
किन दियौ यो आमाको छाती
किन दिएर हरेको मेरो सिर्जना ?
दिएर किन खोस्यौ मेरो ज्यूँदो सपना
कसले देला अब मलाई जबाब
कसले निभाइदेला मेरो कलेजाको राप
यो धर्ती, यो आकास
कोसित होला यसको जवाफ !?
कसैको फव्रmेको फुल नटिप ए मान्छेहरू हो
उसको सौन्दर्य र सुगन्धको बोध गर मान्छेहरू हो !
मान्छेको सृजनाको मूल्य बुझ मान्छेहरूको !
जीवनका सुगन्धको अर्थ बुझ मान्छेहरू हो !
यो एउटी आमाको प्रलाप हो
यो एउटा साउने झरीको विलाप हो
मान्छेको जीवन उपदेश हैन उपहार हो
आमाको सुन्दर सिर्जना हो, सन्सार हो ।
साँझ पर्यो ऊ आएन
बिहान भयो ऊ आएन
ऊ कहाँ गयो किन आएन ?
मनले खोजिरहन्छ ऊ किन आएन ?
कसरी बुझौं म ऊ किन आएन
कसरी बिर्सौं म ऊ किन आएन ?
सपना भरि म उसैलाई खोज्छु
थपक्क निदाउँछु म उसैलाई खोज्छु
खान बस्छु – उसैलाई खोज्छु
टोलाएर बस्छु – उसैलाई खोज्छु ।
खोज्दा खोज्दा मन चर्किन्छ
शरीर लाटिन्छ
कलेजाको दुबै पाना बाटिन्छ
सन्नाटा पर्छ रातमा
आकासतिर हेर्छु मध्य रातमा
ऊ कतै होला ताराको भीडमा
रुँदै होला कि शीतका चिसा आँसु
कि यी फुलका पत्रमा जमेका
उसकै आँसु हुन् कि ?
रुँदै छ कि ऊ पनि आमा खोजेर
न्यास्रियो होला कि सायद मलाई खोजेर ।
उसका सङ्गती र उसका साथीहरू
हिडेको देख्छु,
खोज्छु सँगै उसलाई देख्तिन
उनीहरूका अनुहारमा हेर्छु
उसलाई देख्तिन उनीहरूकै अनुहारमा
उनीहरूकै स्वरमा
उसलाई म किन सुन्दिन
उसलाई म किन देख्तिन
ऊ सबैलाई हँसाउँथ्यो
उसका सङ्गतमा सबै रमाउँथे ।
ऊ थियो –
उसका साथीहरूका मुहारमा पनि
म उसैलाई देख्थेँ
उनीहरूका स्वरमा
म उसैलाई देख्थेँ
आज यो के भयो ?
न उनीहरू आउँछन्
न उनीहरूसित ऊ आउँछ
न उनीहरूमा म उसलाई देख्छु
न उनीहरूमा म उसलाई सुन्छु
के उसितै मेरा सम्वेदना सबै मरे ??
के उसितै मेरा चेतना सबै मरे ??
कैले कैले यस्तो लाग्छ
मेरो छोरासँगै मेरा सबै सपना मरे
मेरा सबै इन्द्रियहरू मरे
मेरो चेतना लाटियो
मेरो सम्वेदनानै बिरानो भयो
म कसरी छुट्याउँ ?
म कसरी खुट्याउँ ?
ऊ मात्र मर्यो कि म समेत मरेँ ??
बिहानै घाम झुल्किन्छ
मनमा न्यानो पस्तैन
जून झुल्किन्छ – उज्यालो पस्तैन
लाग्छ मनभरि हिउँ जमेको छ
सम्वेदनामै तुषारो जमेको छ
कसले देख्ने र मन रोइरहेको
छातीभरि आँसु उम्लिरहेको
आँसु सुके हुन्थ्यो तर छाती नै सुक्छ
जेसुकै सम्झे पनि मन दुख्छ !!
आगोभन्दा पोल्ने कुरा
सन्तानकै शोक रहेछ
हिउँभन्दा ठिहिर्याउने कुरा
सन्तानकै शोक रहेछ ।
आमाको रोदन साउने झरी हो
आमाको पीडा खडेरीको मौसम हो
आमाको दुखीमन शिशिरको बगैंचा हो
आमाको माया फुलभित्रको रस हो
आमाका आँसु न्याउलीको सम्वाद हो
आमाका आँसु चकोरीको उद्गार हो ।
ऊ सुतेको काख चिसो छ
ऊ निदाएको काख आज मृतशैया झैं छ
उसले पिएको छाती आज धूवाँ ओकल्छ
ऊ रमाउने अँगालो आज विरानो छ
कहाँ होला ऊ के गर्दै होला ?
हिड्दै होला कि खाँदै होला
रुँदै होला कि हाँस्तै होला !?
कोसित भन्दो हो– मलाई भोक लाग्यो
कसलाई भन्दो हो – मलाई तिर्खा लाग्यो
कस्तो बन्धन छ कि ऊ उम्किनै सक्तैन
आफ्नो दुख भन्न मसम्म आउनै सक्तैन
कि उसले मलाई बिस्र्यो होला
कि मभन्दा ऊ धेरै टाढा होला
कस्तो छ दुनियाँ जहाँ ऊ पुग्यो होला ?
के त्यहाँ पनि आमाजस्तो कोही होलान् ?
मेरो त ऊ सिर्जना पो थियो
मेरो त ऊ रहर पो थियो
मेरो त ऊ गमलाको फुल पो थियो
मेरो त ऊ मायाको मूल पो थियो
कुनै मोटर साइकल सवार
मोटो र गोरो मुहारको देख्यो कि
मुटु ढक्क फुल्छ, उही देख्छु !
झझल्को हो वा भ्रम
आएछ फर्केर झैं लाग्छ ।
भाउन्न हुन्छ – पृथ्वी नै घुम्छ
समालिन खोज्छु – काम छुट्न खोज्छ
उही नै किन होइन त यो
उही नै भए पनि के हुन्थ्यो ?
के यो विश्वको सिरिष्टि नै उल्टिन्थ्यो
कस्तो निर्मोही झैं ऊ गयो
अहो ! मेरो यो अपहत्तेलाई
नबुझे जस्तो गर्यो
उस्तै त थियो त्यो भुट्भुटे यात्री
उही झैं भएर किन बोलेन ?!
नियति पनि कति निष्ठुर र’छ
आमाको घाउ कति जब्बर !
थाक्नै मन नगर्ने
बल्झी बल्झीकन चर्किरहने
छायाले छुँदा पनि भत्भती पोल्ने
हावाले छुँदा पनि रसाई रहने
सधैं यो भ्रमको शिकार कति हुनु ?
यथार्थले नै कहिले किन नहुनु ?!
के हुन्थ्यो यो पृथ्वीमा
एक पल्ट ऊ आए !
मेरा आँसु निखारिन्जेल उसलाई
मेरा आँसुले लछ्याप्रै भिजुन्जेल उसलाई
सुम्सुम्याउन पाए !
मेरो घाउमा उसलाई छुवाउन पाए !
अँगालो देखिन्जेल उसलाई
छातीमा टाँस्न पाए !
बरबरी आँसु झार्दै उसलाई
छाम्दै हाँस्न पाए !
बरु मृत्यु मलाई प्रिय हुन्थ्यो
पुनः उसलाई हेर्न पाए ।
उसका जीवनका पीडाहरू
मसित अझै काँचै छन्
उसले भोगेका र मैले बेहोरेका घाउहरू
उसका खुसीका सैयौं पलहरू
अझसम्म आलै छन्
उसका आँखामा झुल्किने
फुल फुले झैंका दृश्यहरू
अझ पनि कलेजाभित्र
मग्मगाई रहेका छन् ।
ऊ गयो,
सबै थोक छोडेर गयो
स्मृति अनि पीडाहरू
रहर नि उमङ्गहरू
तिर्सना अनि उसका जाँगरहरू
मेरा आँखामा फुल्ने उल्लासहरू
सबै लिएर गयो ।
आँसु मात्र दिएर गयो
एउटा अथाह कालो भेल जस्तो
दुःख बिसाएर गयो
आमाको कोखलाई
उजाड पारेर गयो
आमाको काखलाई
रित्तो पारेर गयो ।
हिजोको उसकी आमाको खुसी
मुस्कान र उज्यालो
आसा र भरोसा
भविष्यको सहारा
मेरो आत्मबल
सबै लिएर गयो
आँसु मात्र दिएर गयो
गई गयो
हाम्रो खुसीजति
सबै समेटेर लग्यो ।
आमाको रोदन
भर रात नदी झैं सुसाउँदै
आँसुका भेलसित मनलाई बगाउँदै
कहिले अतीत, कहिले हिजो
कहिले वर्तमानसित लठारिँदै
जीवनका विसङ्गति च्यापेर डाको छाड्दै
सन्तानको विछोडलाई
जून र तारासित
घामको उदय र अस्तसित
धरतीको सीमा र घेरासित
एउटै प्रश्न सोध्दै
रुँदै र हाँस्तै – कि
खै मेरो छोरा ...?
कहाँ लुकाइ दियौ
बादलुको देशमा ?
ताराहरूको भेषमा ?
रातको अँगालोमा
म किन भेट्तिन उसलाई ?
म किन देख्तिन उसलाई ?
कि आँसुले आँखा छोपिए
पीडाको बाफले मनै छोपियो
चेतना अपाङ्ग भयो
म किन भेटाउँदिन उसलाई ?!
यो धरतीको शून्यता कति ठुलो !
यो विछोडको बिख कति तीतो
कति व्रmूर छ यो नियति
कति सम्वेदनाहीन छ यो वर्तमान !
आमाहरूलाई कि ?
स्नेहको न्यानो काख नै
नदिएको भए हुने
आमाहरूलाई कि
हुरुक्कै हुने मन
नदिएको भए हुने
सन्तानको स्वरमा
सन्तानको लयमा
आमा ! भनेको स्वर
ब्रह्माण्डकै सर्वप्रिय बोली
नबनाइ दिएको भए हुने
आमा भनेको स्वरमा
विश्वकै मिठो सङ्गीत
नहालिदिएको भए हुने ।
दिएर खोस्नु कति अप्रिय हुन्छ !
मान्छेहरू भन्ने गर्छन्–
“राम्रो मान्छेको त
भगवानलाई पनि खाँचो पर्छ
उसले पनि राम्रो मान्छे नै
छिटै लैजान्छ
खोजेरै लैजान्छ !”
तर म भन्छु – ‘एइ भगवान !!
सायद तैंले
घाइते आमाको पीडा
बुझेकै छैनस्
सन्तान मरेकी – वा
सन्तान मारिएकी आमा र
घाइते सिंहीनीमा के नै फरक होला र !
तैंले पनि लुकेर
मेरो छोरो लुटिस् क्यार
तथाकथित नियति बनेर
मेरो छोराको प्राण हरिस् क्यार
यदि त्यसै हो भने
म तेरो मृत्युकी भोकी छु !’
म नै तेरो काल बन्न चाहन्छु
कि आउँदा दिनहरूमा
अरु आमाका राम्रा सन्तानहरूको
हाम्रै पृथ्वीमा धेर खाँचो छ
हाम्रा सुन्दर सिर्जनाको
हाम्रै सन्सारमा खाँचो छ
हाम्र्रै घरसन्सारमा खाँचो छ
म त तेरा राम्रा सिर्जनाहरू लुटेर
तँलाई रुवाउन चाहन्न !
तर ए ! दुष्ट ईश्वर !
तँ हामी निरीह आमाहरूलाई
अब उप्रान्त रुवाउन नपाएस् !
हाम्रा फुलबारी लुट्न
राक्षस बनेर नआएस् !
हाम्रो सुन्दर सन्सारको
आरिसे तँ ...
हाम्रा स्नेहका फुलबारीको
दुष्ट डाइलो तँ
तँ देख्न नसक्ने हामी हाँसेको
तँ खप्न नसक्ने हामी नाचेको !
अब अझ धेर हाम्रा फुलहरू लुट्न
अब अझ धेर हाम्रा फुलहरू खोस्न
अब अझ धेर हाम्रा फुलहरू चोर्न
अब अझ धेर –
हाम्रा काखका फुलहरूलाई डकैती गर्न
चटक्कै छाडे.राम्रा काममा लाग् !
हाम्रा आँसु र हाम्रा सपनाहरू
लुटेर नभाग् !
नत्र अब हाम्रा आँसुहरू
तेरा निम्ति तेजाब बन्लान्
तेरा निम्ति एसिड बन्लान् !!
आमाको काख रित्याउन पल्केका
एइ लुटेरा !
बुझिराख् अब तेरो सन्सारमा
हामी आँसुको एसिड बर्षाउँछौं
तेरा पनि जीवनमा रोदनको डढेलो सल्काउँछौं
अब त हाम्रा सन्तान लुट्नको साटो
आफ्नै सुरक्षामा लाग् !
लुटेराको तेरो अस्तित्व लिएर
हाम्रो सन्सारबाट भाग् !
पृथ्वीका सारा मूर्खजतिलाई
ठगेर ईश्वर भईखाको तँ
प्रकृतिले गरेको राम्रो कामको
आफू जस लिने तँ
सबैलाई भ्रमको कालो बर्कोले छोपेर
ईश भै खाको तँ
इस् तँ ईश्वर होस् !!
बरु तँलाई सप्रिन मन लागे
अब राम्रा काममा लाग्
आमाका व्रmोधका आगोमा पर्नुभन्दा
आफ्नो जीवन जोगाउनतिर लाग् !
उसलाई जन्माएर हुर्काउँदा
मलाई किन पटक्कै लागेन
उसको पनि मर्ने ज्यान हो
ऊ पनि मर्न सक्छ
तर पनि त ऊ मेरो छोरो हो
ऊ हाम्रो निम्ति नै बाँच्छ
हाम्रो सहारा बन्छ
हाम्रो आँखाको तारा बन्छ
ऊ हाम्रो लागि
जीवन र मृत्युकै सहारा बन्छ
सबै अवस्थामा उसले
आफ्नो दायित्वको निर्वाह गर्छ ।
हाम्रो जीवनपछि पनि
हामीलाई सम्झिन निम्ति
ऊ बाँचिरहन्छ
हाम्रो उत्तराधिकारीका रूपमा
आफ्ना सन्तानको पालन पोषण गर्छ
एउटा परम्पराको निर्वाह गर्छ
एउटा वंशको प्रतिनिधि बन्छ
हाम्रो नासोहरूलाई समाली राख्छ
हाम्रो मृत्युशैयामा समेत
श्रद्धाका केही थोपा
आँसुले तर्पन दिन्छ ।
हाम्रो चिता शयनमा
कर्मको आगो चढाउला
हामीलाई यस धर्तीबाट
सधैंका निम्ति विदा गर्ला ।
खोई त ...
आज कहाँ गयो ?
यो हाम्रो धरालो ?
हाम्रो काखको पालो
त्यो हाम्रो अँगालोको न्यानो
हाम्रो सानो सन्सारको रानु
अब कसलाई बोलाउँ म
“ए ... गणेश !” भनेर
कसलाई अराउँली म
“लौ यो काम गर !” भनेर
कसलाई हकारौं अब म
काम मन नपर्दा
‘यो के गर्या ?’ भनेर
कसलाई फकाउँ म
‘यति त खा !” भनेर
कसका रुचिमा सन्तोक मानौं
कसको अनुहार हेरेर
यो मनलाई उज्यालो पारौं !
अहो ...!
के सन्तान फुल हो ?
कि उसलाई सम्झँदै र देख्तैमा
एउटा उज्यालो मनमा फव्रmाउँ
कि सन्तान शूल हो ?
कि वियोग पछि मुटुमा
पीडाले घोचि रहन्छ
आँसुले सधैं पोलिरहन्छ ।
अब पनि सबै चाड पर्व आउलान्
खानपीनको सामग्री जुटाएर
सबैले खुसी मनाउलान्
खाने र ख्वाउने बेलामा
सन्तानको खुसी खोज्लान् !
मनलाई प्रफुल्ल पार्लान् !
मेघ गर्जन र ठुलो हावापानीमा
अझ पनि ऊ डराउँथ्यो
दौडेर हामीसँग आउँथ्यो
‘डर लाग्छ !’ भन्थ्यो
हामी गिज्याउँथ्यौं
र भन्थ्यौं–
‘यत्रो लाठे मान्छे पनि
डराउँछ – भनेर
ऊ हाँस्थ्यो– खिस्स !
यो ब्रह्माण्डको लय–प्रलय
हावा पानी आँधीबेरी
बिजुलीको गर्जन
उसरी नै सर्वत्र होला
फेरि पनि–
ऊ कहाँ होला ?
ऊ कति डराउला ?
आत्तिएर कसको काखमा पस्ला ?
कोसित कस्तो डर लाग्यो भन्ला ?
अब त जति जति
विजुली चड्केला
हावापानी ओइरेला
मेरै मुटुभित्रै
सबै चट्याङहरू पर्लान्
मुटु र कलेजा धुजाधुजा होला
तर ऊ कहाँ होला
कहाँ पुग्यो होला
डरायो होला
आत्तियो होला
मलाई खोज्यो होला
‘आमा ! ... मलाई डर लाग्यो’ भन्दै
कसको काखमा पस्ला ?
अबको आँधीबेरी
अबको गड्याङ् गुडुङ्
अबका सबै चट्याङहरू
कहाँ पर्लान् ?
उसमाथि पर्ला ?
कि मेरै मुटुभित्र पर्ला ?
परे परोस् सबै
मेरै छातीमा परोस्
मेरै मुटु बरु
छिया छिया परोस् !
उसमाथि नपरोस् !
ऊ जहाँ पुगेको होस्
उसमाथि फुल नै वर्षोस् !
उसमाथि उज्यालो वर्षोस् !
उसमाथि स्नेहका थोपा वर्षोस्
पुग्न सके –
मेरा दुई थोपा भए पनि
आँसु वर्षोस्
ऊ जहाँ होस्
उसमाथि खुसी मात्र वर्षोस् !
मुस्कान मात्रै वर्षोस् !
सन्तान कोखको फुल हो कि
सन्तान कोखको मुस्कान हो
सन्तान आँगनको घाम हो कि
मनका आकासको जून हो
सन्तान मनको खुसी हो कि
सन्तान जीवनपथको उज्यालो हो
सन्तान फुलको बगैंचा हो कि
सन्तान जीवनको उपहार हो !?
खोस्यो मेरो काखबाट
कि त्यो दुष्ट चालकले
खोस्यो मेरो हातबाट
कि दुष्ट नियतिले
मेरो जीवनको उपहार
मेरो वैंशको पहिलो प्रहर
दाम्पत्यजीवनको पहिलो उपहार
कसले लुट्यो उसको प्राण ?!
तर मलाई पो मार्यो हजार बार
मेरो शरीरको रस, मेरो रहर
म आमा भएको प्रथम प्रहर
उसलाई हेरी हेरी म निदाएँ
उसलाई हेरी हेरी म बिउँझिएँ
आफूलाई चुसाएँ, उसलाई हुर्काएँ
आफूलाई सुकाएँ उसलाई बढाएँ
एउटा खुसी फुलाएँ
एउटा सन्तोष हुर्काएँ ।
मनमा विश्वासको धन कमाएथेँ
उसको मुहारमा
उज्यालो भविष्य देखेर रमाएथेँ
उसको भविष्यलाई
उसका आँखाभित्र बिसाएँथेँ
राम्रो रूपको जन्माएकी थिएँ
त्यसै गद्गद् थिएँ कि –
उज्यालो सन्तान जन्माएकी थिएँ ।
म हात जोड्दिन नियतिसित
मुठी उजाउँछु उसको कुकर्मसित
मेरो मनको धन हरण गर्ने
हो त्यो डाकु लुटेरा भने
आँसुका तेजाब छरिदिन्छु उसको सन्सारमा
मेरै जस्तो –
रुवावासी भर्दिन्छु उसको पनि जीवनमा
भए डराओस् त्यो पनि यस्तो पाप गर्न
अर्काको धन लुट्न आफ्नो हक ठान्ने
लुटेराको नाश होस् !
अर्काको काख रित्याउनेको स्वाहा होस् !
आमाको सरापसित काल पनि डराओस् !
कति भइसक्यो
उसलाई नदेखेको
झझल्काहरू र आँखाका तिर्खाहरू
तड्पिएको
मन त अझ पनि बौरिइरहन्छ
उसलाई हेर्ने भोकले
मुटु र कलेजो पनि
त्यसै त्यसै चाउरिई सक्यो
उसलाई गुमाएको शोकले ।
ऐले पनि झस्किन्छु
फेरि पनि झुक्किन्छु
ऊ यतै कतै होला
ऊ त्यहीँ होला
ऊ कहाँ होला
कतिखेर बोलाउला
मलाई झुक्याउला !
अनि मलाई हँसाउला
आँखाभरि आँसु पार्दै
म उसको टाउको मुसारौंली
आँसु झार्दै भनुँली
कहाँ थिईस् तँ यतिन्जेल !?!?
थोरै कुरा
यो मात्र उसकी आमाको बिलौना हो, रोदन हो, मुटुको पीडा हो । उसैत उसका बैनीहरू रुँदा हुन्, उसकी पत्नी झन् रुँदी हुन् । उसका दुई छोरी छन्, ती झन् कति रुँदा हुन् । मैले थाहा पाएसम्म उसकी सानी चैं छोरी बाबु सम्झेर बेला बेलै खुब भक्कानिन्छे ।
तर यो मात्र उसकी आमाले रुँदै बिलौना गरेका शब्दहरू, आँसुहरू, रोदनहरू मैले टिपी दिएको हुँ । यद्यपि मसमेत उनको बिलौनासित सधैं सहभागी छु । गर्भैदेखि उसको संरक्षण र खुसीयालीमा दुबै सहभागी छौं । पालन पोषण सँगै गर्यौं, संस्कार दियौं, पाल्यौं, खेलायौं, उसको खुसीमा खुसी भयौं । उसको कष्ट, पिर व्याधीमा, भोक तिर्खामा सहयोगी बन्यौं, अभाव र रहर पुरा गर्ने सक्तो प्रयत्न गर्यौं । उसलाई खुसी पार्नु हाम्रै खुसीको प्राप्ति थियो किनभने ऊ पहिलो रहरको सन्तान थियो ।
फुङा थियो, उदार थियो, दुख देखाउनेलाई भएको सबै दिन खोज्थ्यो । दुखी गरिब, याचक आएर माग्यो भने गोजीमा हात हाल्दा जति भेटिन्छ सबै दिन्थ्यो ।
सानैमा पनि बाटो हिड्ने भरियाहरूलाई “हाम्रो घरमा मोइ छ ! मोइ खाने ? म आमासित मोइ मागेर ल्याइदिन्छु ल ! बस मोइ खान ! ...” भन्दै अनि त्यहीँबाट “आमा ! मोइ ल्याउनू त ! दाइहरू मोइ खान्छन् अरे !” भनेर कराउँथ्यो अनि आमाको गाली खान्थ्यो, झपारी माग्थ्यो ।
सबैलाई बोलाउँथ्यो । सबैलाई मान्छे अनुसार बोल्ने र कसैलाई जिस्काउने गथ्र्यो । सबैलाई हसाउँथ्यो ।
उ मरेपछि पो त म चकित भएँ । उसले त धेरै नै मान्छे कमाई सकेको रहेछ ।
अब त ऊ गयो । हामीसँग त मात्र पीडा छ, उसको अभाव छ । छ भने उसको फोटो मात्र छ, जसलाई हेरेर, हामी झस्किन्छौं, तड्पिन्छौं । एउटा गहिरो पीडाबाट व्यथित हुन्छौं । फोटो हेरेर आमाको रुने काम कहिले सकिँदो हो ? सायद आयुभर ...!
ऊ गैसकेपछि हामीले उसलाई के नै पो गर्न सक्छौं र मात्र अभावमा तड्पिनु बाहेक !
त्यसैले प्रस्तुत छ यो उसकी आमाका आँसुको बटुलो । रुन त छँदैछ जीवनभरि भए पनि, तर यहाँ उनका आँसुका एक अँजुली थोपा छोरालाई श्रद्धान्जलि ।
– बाबु ः बिजय खरेल