14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाली भाषाको लेखनमा एकरूपताका लागि गरिएका प्रयासहरू

विचार होम सुवेदी August 31, 2015, 1:28 am

भाषिक लेखन र उच्चारणका बारेमा गरिने प्रयत्नहरू भनेका विशुद्ध व्याकरणनिष्ठ विषयहरू हुन् । जुनसुकै भाषाका वक्ताका किन नहुन् वास्तवमा ती वक्तामा आफ्नो भाषाका बारेमा सचेतता वा लेखनमा सजगता आएपछि मात्र यस किसिमका प्रयत्नहरू शुरु हुन्छन् । नेपाली भाषामा भाषिक एकरूपता र लेखनमा एकनिष्ठाको खाँचोको अनुभव गर्न लागेको हाल सय वर्षे इतिहास भइसकेको छ । (स्मरणीय के छ भने यस विषयमा कुनै विद्वान्ले वा पत्रपत्रिकाले उल्लेखसम्म पनि गरेनन्) व्याकरण भनेको जुनसुकै भाषाभित्र स्वतः रहने आफ्नै नियम वा विधान हो । यो जुनसुकै भाषाभित्र आफूमै निहित हुने विषय हो । यसले भाषालाई आफ्नो सीमामा बाँधेर राखेको हुन्छ । व्याकरणविद्हरूले सम्बन्धित भाषाको त्यही भाषिक विधान वा सिष्टमको खोजी गरेर उद्घाटन मात्र गर्दछन् र एक मानक रूपको तयारी पार्दछन् । भाषाभित्रका तिनै अनेक विशिष्ट वा नियमहरूको खोजी गरेर भाषाभित्रका तिनै नियमको घेरामा रहेर भाषिक एकरूपताको प्रयत्न हुन थाल्छ ।

नेपाली भाषामा पनि यस प्रकारको कार्य हुन थालेको सय वर्ष नाघिसकेको छ । भाषिक शुद्धीका लागि पहिलोपटक प्रयास गर्नु पर्दा त्यस भाषामा रहेको व्याकरणको जोहो नै गर्नुपर्छ । नेपाली भाषाको व्याकरणको खोजमेल गर्ने वा लेख्ने प्रारम्भिक प्रयासहरू विदेशी विद्वान्हरूबाट भएको छन् । कोलकत्तास्थित फोर्ट विलियम कलेजका प्राध्यापक जे.ए. एटन नै यस भाषाको व्याकरण लेख्ने पहिला विद्वान् हुन् । उनको ‘ए ग्रामर अफ नेपाली ल्याङ्ग्वेज’ ुब् न्चबmmबच या ल्भउबष् िीबलनगबनभु नामक पुस्तक १८७७ सालमा छापिएको थियो । यो पुस्तक अंग्रेजीमै लेखिएको थियो । यसमा उदाहरणहरू मात्र देवनागरी लिपिमा दिइएका थिए । यसपछि पनि यस भाषाको व्याकरण लेख्ने प्रयासहरू विदेशी विद्वान्हरूबाटै भएका छन् । ुत्जभ न्चबmmबच या ज्ष्लमष् ीबलनगबनभु द ग्रामर अफ हिन्दी ल्याङ्ग्वेज’ नामक कृतिभित्र विद्वान् केलगले १९३७ मा, ‘ऋयmउभचबतष्खभ न्चबmmबच या क्ष्लमष्बल mयचमझ ब्चथबल ीबलनगबनभकु ‘कम्पेरेटिभ ग्रामर अफ इन्डियन मोडर्न आर्यन ल्याङ्ग्वेजेज’ नामक कृतिमा जोन विप्सले १९४० मा नेपाली भाषाको व्याकरण सम्बन्धी धेरथोर चर्चा गरेका छन् । एटनका तुलनामा यिनीहरूको प्रयास केही फितला जस्ता देखिन्छन् । एटनपछिको यस सम्बन्धको महत्वपूर्ण कार्य टर्नबुलद्वारा भएको छ । यस बाहेक पनि उनको ुल्भउबष् िन्चबmmबच बलम भ्लनष्किज ल्भउबष् िबलम ल्भउबष् िभ्लनष्किज ख्यअबदगबिचथु ‘नेपाली ग्रामर एन्ड इङ्लिस नेपाली एन्ड नेपाली इङ्लिस भोकावुलरी’ नामक कृति दार्जिलिङबाट १९४४ मा प्रकाशित भएको छ ।

माथिका छोटा विवरणबाट हामी के कुरा देख्छौं भने नेपाली भाषाको आरम्भिक व्याकरण लेखनको प्रयास विदेशी विद्वान्हरूबाट भएको छ । यसको अर्थ स्वदेशी विद्वान्हरूले यस विषयमा कामै गरेनन् भन्ने होइन तापनि यस विषयमा स्वदेशीहरूको ध्यान निकै पछि मात्रै गएको देखिन्छ ।

नेपाली भाषाको व्याकरणको लेखनको आरम्भ वा उद्घाटन गर्ने पहिला स्वदेशी विद्वान् वीरेन्द्रकेशरी अर्याल हुन् । १९६० का आसपासमै उनले लेखेको कथित ‘बेसरी’ नामक व्याकरणको प्रकाशन २०३७ सालमा मात्र भएको छ । पहिलो, नेपालीले लेखेको, नेपालबाट प्रकाशित भएको व्याकरण भने जयपृथ्वी– बहादुरको ‘प्राकृत व्याकरण’ हो । यो १९६९ सालमा प्रकाशित भएको थियो । नेपालको आधिकारिक व्याकरणका रूपमा हालसम्म पनि मान्यता पाएको र भाषाका विशिष्टता समेटेर लेखिएको ‘गोरखा व्याकरणबोध चन्द्रिका’ पनि यसै सालमा प्रकाशित भएको थियो । साथै १९७० सालमा विश्वमणि दीक्षिताचार्यको ‘गोरखा व्याकरणबोध’ र १९७६ सालमा प्रकाशित पण्डितराज सोमनाथ सिग्देलको ‘मध्यचन्द्रिका’ पनि छापिएको देखिन्छ । यसरी स्वदेशी विद्वान्मा भाषिक सजगता आएपछिका १५ वर्ष बित्ता–नबित्तै आधादर्जन जति व्याकरणका कृतिहरू धमाधम लेखिएका छन् अनि कतिपय तत्कालीन प्रयासहरू त यति उच्च छन् जसका अघि आजसम्म पनि हामी नतमस्तक हुनु पर्ने स्थिति छ ।

यी त नेपाली भाषाको व्याकरण लेखनकबारेका स्वदेश वा विदेशबाट भएका आरम्भिक प्रयास मात्र हुन् । यिनको मूल लक्ष्य भाषिक एकरूपता, लेखनमा एकरूपता, वर्णविन्यासमा नियमितता, भाषिक ज्ञानको अभिवृद्धि आदि विषयहरूमा विशेष प्रयास गर्नु थियो । वर्णविन्यासकै बारेमा मात्र विशेष ध्यान दिएका प्रयासहरू यी होइनन् । यी प्रयासहरू भाषाको सम्पूर्ण पक्षमा सचेतता ल्याउने प्रयासहरू हुन् । वर्णविन्यासका बारेमा कुनै साधारण वा विशेष किसिमको ठोस प्रयास १९६० को दशकभन्दा अघि सचेत रूपमा भएको थिएन । मोतीराम भट्टका कृतिहरूमा समेत वर्णविन्यासमा एकरूपताको निर्बाह गरेको पाइँदैन । उनले नेपाली भाषामा लेखेको गद्यको एक नमूना पनि उद्धृत गर्न लायक छ ।

”..... कालेज्मा, भर्ना भयेको पनि आज १ मैन्हा २ दिन्भयो अब १२ दिन्का दिन अगस्टको तबल् दिनु छ खानपीनमा अर्थ र प्रतापमान्का कोठीमा वसुञ्ज्याल त गुजारा चल्योथ्यो डेरा सरी ञहाँ अघि देखि गयेको ६ मैन्हा पुगे पछि तेरो रुपिञाँ द्यूँला भनी भनेको छु पढने पुस्तकहरूमा पनि आधा त जम्मा गरें तर आधा पुस्तकहरू अरु किन्न सक्याको छैन लत्ता कपडा र भांडा कुंडा पनि सब् बाल्गिरीमा चलायाको छु........“

मोतीरामको पत्र, मधुपर्क, भाद्र, २०२९ पृ. २२

अर्काे उदाहरणः

”कवि भानुभक्तको कविता अझसम्म छापिन बाँकी थियो सो यै बधूशिक्षा हो । तस् अर्थ यस् पुस्तक्मा चाह बढाउनुहोस् । म त समर्पण पनि गर्दिन किनभने भानुभक्तले आफैं समर्पण गरीकन गयाका छन् । यस्को विशेष वयानहरूको कथा हेर्नु छ भने ‘कवि भानुभक्तको जीवन चरित्र’ हेर्नुहोस । भानुभक्तका तमाम कवीता छपाउं भन्ने जो प्रतिज्ञा मेरो थियो सो आज पूरा भयो .

तपाञीको मित्र, मोतीराम भट्ट”

बधूशिक्षाको भूमिका

माथिका उदाहरणहरूले भाषिक लेखनमा एकरूपताका लागि कुनै भरपर्दाे वा आधिकारिक मान्यता तयार नभए पनि कुनै–न–कुनै रूपमा लेख्ने गरिन्थ्यो भन्ने सिद्ध गर्छन् । भानुभक्तका पालामा वर्णविन्यासको सन्दर्भमा विशेष किसिमको सचेतता नआउनु स्वाभाविकै हो तर मोतीरामको बेला भनेको सचेत युगको आरम्भ भइसकेको बेला थियो । उनी त अंग्रेजी, हिन्दी, फारसीका समेत राम्रो ज्ञाता थिए । नेपाली भाषामा व्याकरणको प्रयोजनका बारेमा उनको ध्यान किन पुगेन बडो छक्कपर्दाे विषय छ । भाषालाई सबैका शरण पर्ने भएकोले सबैले प्रेमपूर्वक पालन् गरून् भन्ने जस्तो भाषिकप्रेमको गहन भावनात्मक उद्गारले भरिएका रचना गर्ने कवि मोतीरामबाट नेपाली भाषामा व्याकरणको प्रयोजन र वर्णविन्यासको महत्वको खोजखबर भएको पाइँदैन । पत्रपत्रिका छपाउने र पुस्तकसमेत प्रकाशन गर्ने काम गरेकाले मोतीरामले किताब छाप्नुपूर्व शुद्धाशुद्धीको लागि प्रयत्न गरेनन् वा प्रूफ हेरेनन् होला भन्न सकिन्न । तर कुन आधारबाट ती शब्दहरूलाई शुध्याए यो कुरा विचारणीय छ । जे होस् यो प्रसङ्ग पनि एक महत्वपूर्ण नै छ ।

नेपाली भाषामा वर्णविन्यास वा लेखनको अन्योल १९६० सालको दशकभरि सङ्ग्रालिएर आएको अनुभव हुन्छ । यस अघिदेखि नै ‘गोर्खापत्र’ नियमित रूपमा निस्कन थालेको थियो । यसकारण वर्णविन्यासमा एकरूपताका लागि पक्कै पनि सजगको स्थिति उत्पन्न गराएको हुनुपर्छ । मूल रूपमा यसै कारणले नेपाली लेखनमा एकरूपताको खाँचो महसुस हुन थालेको थियो भन्ने कुरामा अब हामीले ढुक्क हुँदा हुन्छ । यो बाहेक अरु पनि पत्रपत्रिकाहरू निस्कन थालेका थिए । कविलेखकका रचनाहरू प्रकाशित हुन थालेका थिए । तर अझै पनि भाषाको हिज्जे प्रणालीमा भरपर्दाे एकरूपता थिएन । वर्णविन्यासमा सोचै थिएन भन्न भने सकिन्न । संस्कृतका शब्दहरूको लेखनमा द्विविधा नभए पनि नेपाली भाषाका शब्दलाई कुन रीतले लेख्ने भन्ने विषयमा कुनै भरपर्दाे आधार नपाएकोले तत्कालीन रचनाहरू कसरी छाप्ने भन्ने सन्देह थिएन होला भन्न सकिन्न । यस्तै अन्योलका कारणले घेरेको बेलाका तत्कालका कविलेखहरूका रचनामा भाषिक लेखनमा एकरूपताका अभिलक्षण पाइन्नन् । यसो हुुनु पनि स्वाभाविकै थियो । यसको प्रमाण तलका कविताको वर्णविन्यासले देखाउँछ ः—

उन्डाइस् सय साल् छपन्न बुझनू सम्बत् जउन् विक्रमी

तेस्काल्मा सव यो तयार् हुन गयो लेखी निरन्तर् गरी

नाम् यस्को पनि विर्चरित्र रहिगो श्रीका कृपाले गरी

लम्बोद्दर् खुसी भै प्रकाश् गरिदिउन् सज्जन् हरूमा पनि ।

गिरीशबल्लभ जोसी, वीरचरित्रको अन्तमा छापिएको पुष्पिका, १९५९

कवितामा अजन्त हुनुपर्ने शब्दहरूलाई हलन्त गरिएको र हलन्त शब्दहरूलाई अजन्त गरिएको यो राम्रो उदाहरण हो । माध्यमिक कालमा मात्र होइन आधुनिक कालमा पनि यस किसिमको हिज्जेप्रणाली विशेष गरी कवितालेखनका सन्दर्भमा निकै जना कविहरूले अख्तियार गरेका उदाहरण फेला पर्दछन् भने माध्यमिक कालमा ता यसो हुनु स्वाभाविकै थियो । यस्तै उल्टापाल्टी गर्ने र हिज्जेमा बिजोग देखाउने प्रवृत्तिका कारणले राममणि आचार्य दीक्षितको आगमन भएको हो । वर्णविन्यासका यस्ता अनेकौं अन्योललाई लिएर १९६० को दशकमा हलन्त बहिष्कारवादी आन्दोलन जन्मेको थियो । (हेरौं यस आन्दोलनको यही वर्ष शतवार्षिकी पर्छ ः कसैले यसबारे चर्चासम्म गर्छन् कि ?)

नेपाली भाषाको लेखनमा अस्थिरता र अन्योलको स्थिति भएको तत्कालको वातावरणमा हलन्त बहिष्कारवादी आन्दोलन पनि आफैंमा नेपाली भाषाको प्रकृति, उच्चारणविधि र भाषिक मर्म अनुकूलको थियो भनी किटान गर्न भने सकिन्न । यो वैज्ञानिक पक्षमा भन्दा पनि परम्पराको आग्रहमा र भावनाताक विषयमा सम्बद्ध थियो । भाषाको लेखनमा हलन्तलाई बहिष्कार गर्न सम्भव हुने विषय होइन र। उच्चारणको प्रकृतिलाई नियाल्ने हो भने हलन्तलाई बहिष्कार गर्न खोज्नु उचित पनि होइन । विशेष गरी वर्णमात्रिक छन्दमा लेखिने कविताको प्रयोजनमा प्रयोग हुने भाषामा भानुभक्तीय पद्धतिको हालीमुहाली देखेर राममणि आचार्यलाई भाषिक मोह उठेको थियो र हलन्तबहिष्कार आन्दोलनको योजना गरेका थिए । कविताको सन्दर्भमा गति यति र छन्दका लागि गणको आवश्यकता पूर्तिका लागि खुट्टा नकाटिने शब्दलाई खुट्टा काटेर अनि खुट्टा काटिने शब्दलाई नकाटी प्रयोग गर्ने स्थिति आउँछ । यो कार्य मध्यकालीन कविहरूमा पर्याप्त मात्रामा थियो । लेखनको यो परिपाटीले भाषामा एकनिष्ठ लेखनलाई आघात पार्दछ । हलन्त बहिष्कारवादी आन्दोलनले तत्कालको यही प्रकारको लेखनलाई कटाक्ष गरेको छ । अनि यस्ता अराजक लेखनमा स्थिरताको प्रयास गरेको छ ।

श्री पं. मातृप्रसाद शर्मा अधिकारी छद्मनाम राखेर भाषिक सेवा गर्ने तथा हलन्त बहिष्कावादका सूत्रधारका रूपमा सुपरिचित ‘माधवी’ पत्रिकाका सम्पादक राममणि आचार्य दीक्षितको लेखननमूना यस्तो थियोः—

हामरी नेपाली भाषामा न कोइ वेश व्याकरण न कोइ वेश कोस छ, न कोइ विशेष उपयोगी विषयको पुस्तकहरू नै छापिएका छन । ती सब अभावको पनि यथासम्भव पूर्ति गरने विचार गरदछु । इ पत्रिकामा राजकीय आलोचना सम्बन्धमा केइ विचार रहेन छइन । न कुनै राजकीय विचारको आलोचना रहने छ ।

श्री पं. मातृप्रसाद शर्मा अधिकारी माधवी, पहिलो अङ्क १९६५

पं मातृप्रसाद शर्मा अधिकारी अर्थात् राममणि आचार्र्य दीक्षितले ‘माधवी’ बाट यो प्रयास गर्न थाल्नुपूर्वको र उनले प्रयोग गरेका भाषाका रूपमा हलन्तलाई बहिष्कार गर्नुबाहेक अरु किसिमका नितान्त भिन्न भन्न सकिने ठूलो पृथकताहरू देखिँदैनन् । ‘माधवी’को प्रकाशन हुनुभन्दा ६—७ वर्ष अघिको भाषाको नमूना पनि उदाहरणीय छ ।

“आज हाम्री मातृ (गोर्खा) भाषा जगत्मा आधार नपाई रुँदि छंदी घर२ शरण माग्दै फिर्दछिन् तापनि श्रीमान्हरूबाट यीन्को येक पुछानी तक नगरी लाई लाई नै सर्व गुण आंगरी तरुण अभिमानी तुल्य आनन्द दायिनी जाने सेवन गर्न जाग्नु भयोको देखी त्राहि ! त्राहि ! त्राहि ! भगवन् भन्दी आफ्ना दुई हात आकाशतिर उठाई तपोवनका वायुमा लीन हुन आंटेकी छंदी कौरवका सभामा द्रुपदराजको उस परब्रम्ह परमात्माको स्मरण गरी विलाप् गरे झैं गरी ई पनि प्रभुको स्मरण गरी विलाप् गर्ने छंदी प्रभुका चरणमा शरण परेकी छिन्, प्रभु जो दया !”

उपन्यास तरङ्गिणी, दोस्रो संख्या, श्रावण, १९५९ ।

यस उदाहरणले श्री पं.मातृप्रसाद अधिकारी अर्थात् राममणि आचार्य दीक्षितले प्रस्ताव गरेको भन्दा पहिलेको नेपाली लेखन र उनको प्रस्ताव अनुसारकको हलन्त वहिष्कार आन्दोलनका आधारमा चलाएको लेखनको नमूनालाई तुलना गर्ने हो भने त्यति ठूलो अन्तर देखिँदैन तापनि नेपाली भाषाको लेखनमा सजगता आएको भने यसबाटै हो । यसअघि यस सम्बन्धमा कुनै ठोस प्रयास भएका छैनन् भन्ने विवरण माथि पनि खोलिएकै छ । अतः नेपाली भाषाको लेखनमा एकरूपता दिने प्रयास गर्न थालेको यही १९६० को दशक नै हो भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । यसबाट नेपाली भाषाको लेखन र वर्णविन्यासको बारेमा सचेतता आएको सय वर्ष पूरा भइसकेको कुरा देखियो ।

भाषाको इतिहासमा एक सय वर्ष भनेको कुनै ठूलो अवधि होइन । तर लेखनलाई स्थायित्व र एकरूपता दिज प्रयत्न गर्न लागिएको सन्दर्भको एक सय वर्ष भनेको चानचुन होइन । सुब्बा वीरेन्द्रकेशरी अर्यालले १९६० कै दशकदेखि यस क्रमको औपचारिक उठान गरेका थिए । भाषाको मायामोह त मोतीराम भट्टकै मण्डलीबाट बढ्न थालेको हो । जयपृथ्वीबहादुरसिंह, मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, गिरीशबल्लभ जोशी, पद्मनाथ सापकोटा आदि पनि नेपाली भाषाका भक्त नभएका होइनन् तर उनीहरूले नेपाली भाषालाई (तत्कालः गोर्खाभाषा, पर्वते कुरा आदि) व्याकरणनिष्ठ गरी लेखनमा एकबद्ध स्वरूपबारे खास महत्व दिएनन् । यस आधारमा वीरेन्द्रकेशरी नै नेपाली भाषालाई लेखनमा एकनिष्ठ बनाउनु पर्छ भन्ने पहिला द्रष्टाका रूपमा देखिन्छन् ।

पत्रपत्रिका निस्कने प्रयत्न हुन थाल्नु, किताबहरू छापिन थाल्नु र पठनपाठनको क्रम बढ्न थाल्ने क्रमको औपचारिक आरम्भ पनि यसै दशदेखि भएको हो । यसो हुँदा यस अवधिमा भाषिक एकरूपताको खाँचो पर्न थालेको देखिन्छ । लेखनको भद्रगोलले तत्कालका नेपाली भाषाका विद्वान्हरूलाई घच्घच्याएको हुनुपर्छ । परिणामस्वरूप लेखनलाई व्यवस्थित पार्ने प्रयत्न हुन लागेका हुनुपर्छ, यिनै अभियानका साथ सुब्बा वीरेन्द्रकेशरी र राममणिको आदीको जन्म भएको हुनुपर्छ ।

विद्वच्छिरोमणि पं. हेमराजा गुरुबाट तयार भएको सम्वत् १९६९ सालको ‘गोरखा व्याकरणबोध चन्द्रिका’ नामक व्याकरणको पुस्तक नै नेपाली भाषाको पहिलो आधिकारिक व्याकरण हो । यो व्याकरण नेपाली भाषाको पहिलो वर्णनात्मक विशेषता भएको व्याकरण हो । यसले नेपाली भाषाको लेखन प्रणालीलाई व्यवस्थित गर्न निकै प्रयत्न गरेको छ । यसको प्रकाशनका साथै गो.भा.प्र.स.बाट लेखनलाई व्यवस्थित पार्ने प्रयत्न शुरु भएका छन् । राममणिको हलन्तलाई बहिष्कारै गर्ने नियमको अव्यावहारिक पक्षलाई गो.भा.प्र.स.ले अनुभव गरेर मध्यम मार्गलाई अवलम्बन गर्न आग्रह गरेको छ । गद्यतर्फको लेखनमा यही आग्रहको गतिलो उदाहरणका रूपमा चक्रपाणि चालिसेका प्रयत्न हुन लागेका छन्, अनि पद्यतर्फ लेखनाथ, धरणीधर कोइराला, महानन्द सापकोटा आदिले योगदान दिन थालेका छन् । यसपछिको नेपाली भाषाको लेखनमा निकै नै व्यवस्थितता आइसकेको छ । यो कृति नेपाली भाषाको प्रथम वर्णनात्मक व्याकरणको नमूना पनि हो ।

‘गोरखा व्याकरणबोध चन्द्रिका’ नामक प्रस्तुत पुस्तक पर्याप्त मात्रामा वर्णनात्मक व्याकरणका नियम र सिद्धान्तका आधारमा तयार गरिएको थियो । यो पुस्तक नेपाली भाषाको प्रकृति, यसका स्वभाव र यसका अभिलक्षणहरूको पहिचान गरी ती कुराहरूलाई व्यवस्थितता दिई विश्वस्त रूपमा तयार पारिएको देखिन्छ । यसको विश्लेषण र आग्रह यस्तो थियोः–

ऽ वर्णबाट पद, पदबाट वाक्य बनी त्यसबाट अर्थबोध हुने हुनाले वाक्यैबाट भाषा बन्दछ, हाम्रो भाषा नेपाली भाषा हो ।

ऽ सो भाषा शुद्ध गरी कसरी बोल्नू, कसरी लेख्नू, कुन शुद्ध, कुन अशुद्ध हो; यो कुरो व्याकरण जान्नाले ठीकठीक जानिने हुन्छ ।

ऽ यस व्याकरणमा तीन किसिमका विभाग छन्, (१) वर्ण विचार, (२) पदविचार, (३) वाक्य विचार ।

तेरिजः– वर्णबाट पद, पदबाट वाक्य, वाक्यबाट भाषा बन्दछ, शुद्ध गरी कसरी बोलनू, कसरी लेखनू सो सम्झाउने शास्त्रलाई ‘व्याकरण’ भन्दछन् .

गुरुराज हेमराज पण्डित विरचित ‘गोरखा व्याकराण बोध चन्दिका’ पृ.२, १९६९

माथिका यिनै कथनहरूबाट मात्र पनि यो कृतिको व्याकरणात्मक महत्व बोध हुन्छ । यसले वर्णविन्यासको बारेमा सचेत हिसाबले कुरा खोलेको छ । संक्षेपमा ‘चन्द्रिका’ भनेर चिनिने यो कृतिको विशेष महत्व रहेको छ । यो आकारमा निकै नै ठूलो भएकोले यसैका समग्र नियमहरूलाई संक्षिप्त रूपमा तयार गरेर यसैको सानो आकार भन्न सकिने किसिमको ‘मध्यचन्द्रिका’ नामक कृति सोमनाथ सिग्देलले १९७६ सालमा प्रकाशन गरेका छन् । यो रचना ‘चन्द्रिका’ लाई नै सानो आकारको रूपमा रूपान्तरित गरिएको हो भन्नेबारे निजकै कथन साक्षी हुन सक्छ ः—

श्रीमान्.......... गुरुराज पण्डितज्यू हेमराज......बाट सर्वप्रथम ठूलो विचारपूर्ण चन्द्रिका व्याकरण बनी ६९ सालमा प्रकाशित भयो । सो व्याकरण विस्तृत हुँदा विद्यार्थीहरूको निमित्त संक्षिप्त व्याकरणको आवश्यकता भएको हुनाले सोही चन्द्रिकाको आधारमा यो छोटकरी व्याकरणलाई...मातृभाषाका प्रेमीहरूको सेवामा उपस्थित गराएको हुँ ।

सोमनाथ सिग्देल

भूमिका, मध्यचन्द्रिका, १९७६

वास्तवमा ‘मध्यचद्रिका’ ‘चन्द्रिका’ कै संक्षिप्त रूपमा प्रकाशित कृति हो भन्ने विषय विवादास्पद भए पनि यसमा प्रस्तुत विषयहरूले उक्त कुरालाई साक्षी दिन्छन् । संक्षिप्त रूपमा प्रकाशन गर्नु पर्दा सोमनाथले पर्याप्त रूपमा यसमा आफ्ना अनुभव र नेपाली भाषाका प्रकृतिलाई निकै नै नजिकबाट नियालेका छन् । यसै कारण यो व्याकरण ‘चन्द्रिका’को संक्षिप्त रूप होइन भनेर तर्क पेश गर्न पनि सकिन्छ । तर पण्डितराज सोमनाथले नै उक्त कुरामा सहमति दिएपछि विवाद गरिरहने विषय यो होइन । पण्डितराज सोमनाथको संस्कृत भाषामा बढी झुकाव थियो । यसैकारणले संस्कृत भाषाको परम्परागत व्याकरणबाट पनि ‘मध्यचन्द्रिका’ निकै नै प्रभावित भएको देखिन्छ ।

यसका साथै नेपाली वर्णविन्यासको एकरूपताको दिशामा स्थिरता आउन थालेको देखिन्छ । लेखनमा केही तलमाथि र केही आफ्ना मौलिक मान्यताहरू लिएर देखापर्न थाल्ने क्रम सूर्यविक्रम ज्ञवालीबाट यसै अवधिका हाराहारीमा शुरु भएको छ । सोमनाथको ‘मध्यचन्द्रिका’ प्रकाशनकै ताका प्रकाशित र वर्णविन्यासका आफ्ना केही मौलिक र बेग्लै नियम बोकेका सूर्यविक्रम ज्ञवाली यसै अवधिमा देखिएका छन् । उनका रचनाहरूलाई हेर्दा ‘चन्द्रिका’ को प्रभाव र मान्यताले व्यवहार र प्रयोगमा पनि स्थान पाउन थालेको देखिन्छ ः—

कवि भनेका पनि मानिस नै हुन् । अरु साधारण मानिसका झैं उसमा पनि हृदय, मन इन्द्रियादि सबै थोक येकै हुन्छन् । यद्यपि उसका दिव्यचक्षुले साधारण मानिसका चर्मचक्षुले नदेखेको कुरो देख्छ औ भविष्यका अन्धकारभित्र प्रवेश गरी उसको परको समाचार पनी लिएर आउँछ ।

सूर्यविक्रम ज्ञवाली ‘नैवेद्य ः समालोचना’

यस लेखनमा र अहिलेका लेखनमा तात्विक अन्तर देखिन्न । सूर्यविक्रम ज्ञवाली दार्जिलिङ्गको प्रवासमा यो लेखेका थिए । त्यहाँ अहिलेसम्म पनि औ संयोजकको प्रयोग हुने चलन छ । त्यो र ह्रस्व निपात ‘पनि’ लाई दीर्घका रूपमा लेख्नुबाहेक अरु धेरै थरीका नवीनता उनका नियममा छैनन् । ‘चन्द्रिका’ वा ‘मध्यचन्द्रिका’ मा निर्देशित गरेका भन्दा केही मात्र फरक कुराहरू वर्णविन्यासका सन्दर्भमा सूर्यविक्रमका थिए । तिनले वर्णविन्यासका सन्दर्भमा त्यति ठूलो औडाहा वा समस्या पारेका थिएनन् । लेखनको स्थिरताको प्रयास भइरहेको बेला थियो । त्यसै हुनाले यो समयमा उनका आग्रह उति अप्ठेरा थिएनन् ।

यसपछि स्वदेश वा विदेशबाट प्रकाशित हुने पत्रपत्रिका, पुस्तक, बुकलेट वा प्रचारका सामग्रीहरूमा लेखिने भाषाको वर्णविन्यासमा यही ‘चन्द्रिका’ कै मान्यताले स्थान पाउन थालेको छ । यसका पछि यसको लेखनमा नेपाली भाषाको वर्णनात्मकताको बारेमा पर्याप्त ख्याल गर्नु, अनि ‘गोरखा भाषा प्रकाशिनी समिति’ बाट परोक्ष उर्दी हुनु र राजकीय स्तरबाट समेत प्रत्यक्ष परोक्ष रूपमा निर्देशन आउन लागेको विषय अध्ययनीय छ । संक्षेपमा यसले निर्देशन गरेको वर्णविन्यास वा नेपाली भाषाको व्याकरणका मान्यताहरूलाई व्यवहारमा लागू गर्नका लागि ‘गोर्खा भाषा प्रकाशिनी समिति’ (पछि ‘नेपाली भाषा प्रकाशिनी समिति’) ले संस्थागतबाटै रूपमा माथि भनेझैं प्रत्यक्ष वा परोक्ष हिसाबबाट वर्णंविन्यासका सन्दर्भमा र त्यसको एकरूपताका सन्दर्भमा विशेष प्रयत्न गर्न थालेको कारणले गर्दा नेपाली भाषाको लेखनले एकरूपता र समानताको मान्यता पाउन थालेको देखिन्छ ।

यसपछि पनि यस विषयमा थप प्रयासहरू नभएका होइनन् । विद्यार्थीहरूका लागि तल्ला कक्षाबाटै वर्णविन्यासको सही प्रयोग गर्न सजिलो होस् भन्ने हेतुले वा वर्णविन्यासको एकरूपतामा अझ स्थिरता आओस् भन्ने कुराको सोच राखेर ने.भा.प्र.स.बाट ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ नामक (तत्काल ‘दुईपैसे व्याकरण’ समेत भनिएको) व्याकरण तयार गरेर १९९१ मा बजारमा ल्याएको देखिन्छ । अनि ‘‘सम्वत् १९९२ सालदेखिको परीक्षामा यही नियमबमोजिम शुद्धाशुद्धि जाँचिनेछ ।’’ भनेर यसका डाइरेक्टर मृगेन्द्रशमेशरले यसैको अघिपट्टि सूचना समेत जारी गरेका छन् । ‘चन्द्रिका’ व्याकरणकै पदविचारका सारका रूपमा लेखिएको भनिएको यो सानो पुस्तिकालाई तयारी गर्ने विद्वान्हरूको नाम यसमा समावेश नगरे पनि बालकृष्ण सम र पुष्करशमशेरबाट तयार गरिएको होे भन्ने सुइँकोसम्म पाइन्छ । तत्काल र पछिसम्म पनि यो पुस्तिका नेपाली लेखनका लागि एक आधिकारिक र आदर्शका रूपमा रहेको थियो । मदन पुरस्कार पुस्तकालयका प्रकाशनहरूमा यसैलाई आधार मानेर वर्णविन्यासको रेखाङ्कन गर्ने परिपाटीको अनुभवकर्ता त यही लेखक पनि हो । यसलाई पाठ्यपुस्तकका रूपमा साझा प्रकाशनले केही वर्षपहिलेसम्म पनि छापिरहेको थियो । सम्भवतः अझ पनि छापिरहेको होला ।

तत्काल ‘दुई पैसे व्याकरण’ भनेर चिनिने यस पुस्तिकामा नेपाली भाषालाई शुद्ध लेख्ने विषयमा पर्याप्त व्यावहारिक तथा भाषावैज्ञानिक दृष्टि राखिएको देखिन्छ ।

यसको भूमिकामा यस्तो लेखिएको थियो ः

“हेमराज पण्डितज्यू सी.आई. ई. विरचित व्याकरण चन्द्रिकाबाट केवल पदविचार प्रकरणको सार मात्र खिची उहाँबाट सजिलोको निम्ति राय बक्सेबमोजिम एक–दुई शब्दको परिवर्तन गरी सबै रचनात्मक समालोचना तथा सहयोगको निमित्तको सूचनालाई सकेसम्म ध्यान र स्थान दिई यो पुस्तिका तयार गरिएको हो ।”

+ + +

अड्डा अदालतका कारिन्दाले पनि यसबाट लाभ उठाई शुद्ध नेपाली लेख्न सक्ने छन् । यति छोटो नियमले तमाम नेपाली शब्दसागरमा बाँध बाँध्न सक्तैन, न व्याकरणका नै अनेकानेक वाक्यविचारका भाँडामा बिर्काे लगाउन सक्छ । विशेष बोधको निमित्त त ठूलो नेपाली व्याकरण चन्द्रिका र नेपाली कोष पल्टाउनै पर्दछ ।

—बालकृष्ण शमशेर

‘नेपाली कसरी शुद्ध लेख्ने ?’ नामक सानो पुस्तिकाबाट उद्धृत गरिएका माथिका कथनमा प्रयुक्त वर्णविन्यास र तत्सम्बन्धी धारणालाई नियाल्दा वर्तमान अवस्थाको लेखनप्रणालीको जग नै यही पुस्तिका रहेछ भन्ने अनुमान गर्नमा कुनै द्विविधा हुँदैन । यसपछिको नेपालीलेखन वा वर्णविन्यास यसकै निर्देशनको अनुयायी भएको छ । आज लगभग ७५ वर्षसम्म बितिसक्ता पनि अधिकांश मात्रामा यसैमा तोकिएका नियमहरूलाई अनुसरण गरिंदैछ । १९९१ सालमै सोमनाथ सिग्देलको ‘लघुचन्द्रिका’ पनि छापिएको छ । ‘चन्द्रिका’ को सारका रूपमा ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ निकाले झैं यो पनि उनैको ‘मध्यचन्द्रिका’ को सारांशका रूपमा उनैले लेखेका हुन् । यसरी १९९० को दशकदेखि नेपाली भाषाको व्याकरण र वर्णविन्यासको क्षेत्रमा पर्याप्त काम हुन थालेको छ ।

‘नेपाली रचना दर्पंण’ लिएर गोपाल पाण्डे ‘असीम’ १९९४ सालमा आएका छन् । उनैले १९९७ सालमा ‘ह्रस्वदीर्घको सवाइ’ लेखी वर्णविन्यास सम्बन्धी नियमलाई कण्ठ गर्न सजिलो होस् भनेर सवाइमा वा कवितात्मक शैलीमा रचना गर्ने काम गरेका छन् । तर ती नियम उनका आफ्ना मौलिक र नौला होइनन्, ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ वा ‘चन्द्रिका’ र ‘मध्यचन्द्रिका’ कै नियमलाई सवाइको लयमा बद्ध मात्र गरिएको हो । त्यसो भए पनि यसको आफ्नो एक बेग्लै महत्व रहेको छ ।

जात जाति थर पेशा दीर्घ लेख्ने गर्नू । आदि

नेपाली भाषाको लेखनमा अनेक रूपतालाई एकरूपता दिने सन्दर्भमा यसपछि अनेकौं विद्वान्हरूले अनेक थरिका प्रयत्न गर्न लागेका छन् । चिन्ह परिचय’ (२०००) का लेखक हृदयचन्द्रसिंह प्रधान, ‘रचना–केशर’ (२०००) का लेखक गोपाल पाण्डे असीम, ‘नेपाली सजिलो व्याकरण’ (२००१) का लेखक पुष्करशमशेर, ‘रचना सहायक’ (२००३) का लेखक ज्ञानप्रसाद शर्मा, ‘नेपाली व्याकरण’ (२००५) का रचनाकार पारसमणि प्रधान, ‘शब्दशुद्धी विज्ञान’ (२०१०) का लेखक हृदयचन्द्रसिंह प्रधान, ‘शुद्ध नेपाली’ (२०१०) का तयार गर्ने वेदनाथ रेग्मी, ‘नेपाली रचना भारती’ (२०११) का लेखक पारसमणि प्रधान, ‘प्राथमिक नेपाली व्याकरण’ (२०१२) का रचनाकार नरेन्द्रमणि र अमरमणि प्रधान, ‘प्रवेशिका नेपाली व्याकरण र रचना’ (२०१२) का लेखक पारसमणि र टीकाराम, ‘नेपाली व्याकरण भारती’ (२०१३) तयार गर्ने पारसमणि प्रधान र नरेन्द्रमणि प्रधान जस्ता अनेक थारि विद्वान्हरूको आगमन भएको छ ।

यो घडीसँगै नेपाली भाषा प्रयोगमा र दुई धारहरू देखिन थालेका छन् । एकातिर संस्कृत र भाषाको अधिक प्रयोग गरेर नेपाली भाषाको स्वरूपमाथि आघात पार्ने काम बढेर गएको छ भने अर्कातिर अंग्रेजी भाषको प्रयोग गरेर भाषामा छासमिस गरेर भाषालाई छिर्केमिर्के पार्ने कुराको विकास भएको छ । यसो हुनु भनेको कुनै पनि भाषाको मौलिक रूपमा आघात पार्नु हो । त्यसैले नेपाली भाषाको मौलिक रूपको आगन्तुक नवपण्डित र स्थापित पुराना पण्डितहरूका तथाकथित प्रयोगले लोप होला भन्ने भयबाट तारानाथ शर्मा, बालकृष्ण पोखरेल, कोषराज रेग्मी, चूडामणि रेग्मी, बल्लभमणि दाहाल जस्ता तत्कालीन भाषाप्रेमी केही युवाहरू चिन्तित हुन पुगेका छन् । वास्तवमा नेपाली भाषाका आफ्ना मौलिक स्वभावहरू र विशिष्टताहरू भएर पनि संंंस्कृत भाषा वा अंग्रेजी भाषाका निकटतातर्फ झुकाउने प्रवृत्ति बढेको देखेर ती युवाहरू जम्जमाएका छन् । यही जमजमाहटकोे परिणामबाट उब्जेको आन्दोलन थियो ‘झर्राेवादी आन्दोलन’ (२०१३) । यस आन्दोलनको प्रचारप्रसारको रूपमा ‘नौलो पाइलो’ (२०१३) प्रकाशन गरेर यस मान्यतालाई उनीहरूले सार्थकता दिन थालेका छन् । वस्तुतः झर्राेवादी आन्दोलनको अभिप्राय विशेष गरी नेपाली भाषाको वर्णविन्यासका पक्षको थिएन । झर्राेवादी आन्दोलन त खास गरी नेपाली भाषाको शब्दप्रयोगमा यस भाषाका आफ्ना मौलिक वा झर्रा शब्दहरू छँदाछँदै अन्य भाषाबाट अनावश्यक रूपमा शब्द ओसारेर भाषाको आकृति ध्वाँसे नहोस् भन्ने आग्रहमा केन्द्रित थियो । तथापि यस आन्दोलनले वर्णविन्यासको फेटमा कुनै दायित्व नै लिएको थिएन भन्ने आशय भने होइन ।

महानन्द सापकोटा पनि ‘जनजिब्रो’ लिएर यसै अवधिमा आएका छन् ।

यो समयसम्म नेपाली वर्णविन्यासको फाँटमा साना वा ठूला खास धारहरू देखिएका छैनन् तापनि भाषिक लेखनको एकरूपताका लागि विशेष प्रयत्न हुन भने थालेका छन् ।

चन्द्रदेव ओझाको ‘नेपाली शब्द–शुद्धी–सूत्र’, हर्षनाथ शर्माको ‘नेपाली शब्द–शुद्धि’ निजकै ‘नेपाली व्याकरणबोध’ (२०१६) जस्ता कृतिहरू पनि देखिएका छन् । नेपाली भाषामा आफ्नो रूप स्थिर रहेको र भाषा व्याकरणमा मतभेत नभएको तत्कालसम्मको स्थिति देखेर हर्षनाथ शर्माले पछिल्लो पुस्तकको भूमिकामा हर्ष र गौरवको विषय मानेका छन् ।

यसपछि हर्षनाथ शर्माले हर्ष मान्ने विषयमा हर्ष हराएको देखिन थाल्छ । नानाथरिका मतमतान्तरहरू देखिन थाल्छन्् । नेपाली लेखनको एकरूपताका लागि देशका विविन्न स्थानबाट आवाज उठ्न थालेका छन् । यस पछिको अवधिमा वर्णको विन्यास उच्चारण मुताबिक हुनु पर्ने मान्यताको विकास पनि हुन थालेको छ । अनि लेखनका क्षेत्रमा यसो लेख्ने र उसो लेख्ने भन्ने नानाथरिका मतमतान्तरहरू पनि देखिन थालेका छन् । यसका अनेक भाषिका भएकोले उच्चारणअनुसार नै लेख्ने हो भने नेपालीको लेखन पनि स्थानैपिच्छेको अलग हुने स्थिति हुन सक्ने बुझेर भाषाविद्हरूले भाषाको लेखनमा एकरूपताको प्रयास गर्न लागेका छन् । त्रिभुवन विश्वविद्यालयबाट पनि यो काममा मद्दत हुन थालेको छ । राजकीय प्रज्ञाप्रतिष्ठानबाट पनि नेपाली भाषाको मानक व्याकरणको खाँचो बोध भएकाले व्याकरण तर्जुमा गर्ने समिति गठन गरी काम हुन लागेको छ । संस्थागत रूपमा काम हुन थाले पनि केही व्याकरणकारहरू यस फाँटमा आफ्ना मान्यता स्थापित गर्न कटिबद्ध भएका देखिन थाल्छन् । अनि कतिपय विद्वान्हरू भने पुरानै शैलीलाई यथावत् राखेर कार्य गर्न पनि व्यस्त छन् । शेषराज रेग्मीको ‘नेपाली रचना प्रकाश’ (२०१८), माणिकबहादुर चित्रकारको ‘नेपाली व्याकरण’ (२०२१), नीलमकुमारी शाहीको ‘नेपाली शिशु व्याकरण’ (२०२१), कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना मिठो नेपाली’ (२०२३), हर्षनाथ शर्माको ‘अनिवार्य नेपाली रचना’ (२०२३), मोहनराज शर्माको ‘नेपाली व्याकरण परिचय’ (२०२४) जस्ता व्याकरणका पुस्तकहरू भटाभटी प्रकाशित हुँदै गरेका छन् । आफ्ना स्कूलका विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीको प्रयोजनका लागि भए पनि गोदावरी स्कूलका फादर लाकले ‘नेपाली शब्दशुद्धि’ (२०२५) सालमा प्रकाशित गराएका छन् । यता गोपाल पाण्डेको सवाइमा वर्णविन्यासका नियम बनाउने भिन्नै परिपाटी जस्तै यसै दशकमा ऋषभदेव शास्त्रीले व्याकरणको दन्त्यकथा लेखेर भुराभुरीलाई दन्त्यकथा पढेझैं गरी व्याकरण पढ्न सकिने बान्कीको विकास गरेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अनिवार्य भएपछि यो भाषाको वर्णविन्यासका बारेमा विश्वविद्यालयको नेपाली विषय समिति निकै नै सजग भएको देखिन्छ । त्यसैले प्रवीणता प्रमाणपत्र, स्नातक तथा स्नातकोत्तर तहको पठनपाठनमा नेपाली भाषा र व्याकरणको विशेष अध्ययन हुन थालेकाले भाषावैज्ञानिक आधारमा वर्णविन्यासको समीक्षा हुन थालेको छ ।

२०२७ मा प्रकाशित विष्णुगोपाल र शिवगोपाल रिसालको ‘नेपाली भाषा र व्याकरण’, २०३१ मा प्रकाशित मोहनराज शर्माको ‘शब्द रचना र वर्णविन्यास’ २०३२ मा प्रकाशित नरेन्द्र चापागाईंको ‘भाषतत्व’ अनि २०३३ मा प्रकाशित हेमाङ्गराज अधिकारीको ‘व्याकरण निर्देशिका’ र विभिन्न संस्करणका रूपमा प्रकाशित हुँदै आएको कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना र मिठो नेपाली’ आदि पुस्तकहरूबाट भएका प्रयास यस सन्दर्भका स्तुत्य छन् । वर्णविन्यासको सन्दर्भमा विचार गर्दा यी सबैको आधारभूत रूप भने उही ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ कै परिधिबाट प्रभावित वा परिपोषित रहेको देखिन्छ ।

हालसम्म पनि नेपाली वर्णविन्यास सम्बन्धी व्यवस्था र व्याकरण व्यवस्थाको मूल धार यिनै रचनाहरूको सामीप्यता र यिनकै निर्देशनलाई कुनै न कुनै रूपमा पालना गरिने चलन छ । बेला–बेलामा परिमार्जन गरेका र विश्वस्त भएका नियमबाहेक वर्तमान लेखनको निर्देशन यिनै कृतिको सेरोफेरोमा निहित छ । जस्तो उच्चारण हुने हो त्यही मुताबिकको लेखनले मान्यता पाउनु पर्ने हो भन्ने एक र परम्परागत लेखन विधिलाई चटक्कै हटाएर नयाँ शैलीको लेखनविधि अपनाउनु हुन्न भन्ने अर्काे तर्क नेपाली लेखनका पछि छन् । नेपाली भाषामा वर्णविन्यासका समस्याहरू देखिनुका पछिका मूल कारणहरू यिनै दुई छन् ः

दुबै पक्षका आफ्आफ्नै तर्कहरू छन् । यिनै तर्कहरूका आडमा अरु केही नयाँ वर्णविन्याससम्बन्धी विचारहरू जन्मिएर नेपाली भाषालेखनको वर्णविन्यासमा गिजोलो पारेको देखिन्छ ।

वर्णविन्यास सम्बन्धी गिजोलो

विशेष गरी तारानाथ शर्मा र बालकृष्ण पोखरेलले वर्णविन्यासका बारेमा विभिन्न पत्रपत्रिकाहरूका माध्यममा अनेक लेखहरू लेखी पटकपटक आफ्ना अभिमत जाहेर गरेको पाइन्छ । नेपाली भाषामा वर्णविन्याको गिजोलो हुने स्थान भनेको ह्रस्व–दीर्घ, हलन्त–अजन्त, सषश, व ब.व, क्षे—छे–क्ष–क्ष्ये–क्ष्य, ये—ए, ग्यँ–ज्ञ, ञ–यँ, ऋ–रि–री, चन्दबिन्दु–अनुस्वार, र वर्णका अनेकौ प्रकार जस्र्तै , र्, ¥, « आदि र अन्य केही ठाउँमा नै हो । यिनको प्रयोगबाट अर्थभेदकता भइदिएको भए कुनै समस्या नै हुने थिएन । इ–ई, उ–ऊ, ये–ए, क्षे–छे, शषस आदिका एकै नासका उच्चारण हुन्छन् । शिशु, सिसु, षिषु, शिसु, षिशु, लाई जसरी लेखे पनि उच्चारणमा र अर्थमा कुनै फरक छैन । नत यिनलाई शीशू, सीसू, षीषू, शीसू आदि गरी दीर्घ लेख्ता नै फक हुन्छ । माथि देखाइएका अरु वर्णंको पनि स्थिति यही नै हो । अतः अर्थमा फरक नदेखाउने तर व्यवहारमा भने लेखिरहनु परेका कारणले यिनले गाँजेमाजे बनाउने काम गरेका हुन् । यही कारणले व्याकरणविद् वा वर्णविन्यासका मोहमा परेकाहरूले यो परिपाटीलाई छोड्ने काम गर्न सकेका छैनन् । ह्रस्वदीर्घका कुरामा पनि आफ्ना फरक मत दिँदै तारानाथ शर्मा र बालकृष्ण पोखरेलले ङ, छ, ट, ठ, ड, ढ ह, द, र आदिमा मात्र हलन्त र अरुतिर निम्न व्यञ्जनलाई आधा अर्थात् क्, ख्, ग्, घ्, च्, ज्, झ्, त्, थ्, न्, प्, फ्, ब्, भ्, म्, ø, व्र्, , ¥, «, ल्, श्, स्, ष्, क्ष्, œ आदिका रूपमा लेख्नु पर्ने आग्रह गरेका छन् ।

सबै भाषामा जस्तै नेपाली भाषाका उच्चारण व्यवस्था पनि आफ्नै प्रकारको हुनु स्वाभाविक हो । यसमा कुनै दुविधा छैन । यस भाषामा लगभग ४० प्रतिशत भन्दा बढी तत्सम शब्दहरू छन् । त्यस्ता तत्सम शब्दहरूको लेखनका बारेमा ठूलाठूला विवाद नभए पनि नेपाली भाषाका मौलिक र अन्य भाषाबाट यस भाषामा आएका आगन्तुक शब्दहरूकोे वर्णविन्यासमा भने व्याकरणविद्का विचारमा सहमति रहेको छैन । यो गिजोलोको आरम्भ एक प्रकार महानन्द सापकोटा, सूर्यविक्रम ज्ञवाली आदिबाट भएको हो तापनि उनीहरूले भाषाको स्वभाव र उच्चारण नै गर्न नसकिने पाराको गिजोलो भने दिएका थिएनन् । शुरुमा हलन्तलाई बहिष्कारै गरे पनि राममणि आदीले पछि आएर आफ्ना गोरुको बारैटक्का भनेका थिएनन् । स्थितिअनुसार उनले पनि लेखनको तत्कालीन सर्वमान्यतालाई लिएकै थिए । तर आजको युगमा आएर केही यस्ता मान्छेहरू देखिएका छन् जसले आफ्ना मनमर्जीको लेखन व्यवस्थाको परिकल्पना गरेर लेखाइलाई गिजोलिरहेका छन् । अब नेपाली लेखनलाई माइक्रोसफ्टको हिज्जे प्रमाणीकरणका युगमा लगिएपछि यस्ता गिजोलाहरू आफैं हराएर जालान् भन्ने अनुमान गर्न सकिन्छ ।

‘रूपरेखा’ पत्रिका नेपालको पहिलो धेरै अङ्क निकाल्ने मासिक पत्रिका थियो । यसका सम्पादकमध्येका बालमुकुन्ददेव पाण्डे नेपाली भाषाको लेखन व्यवस्थालाई परम्पराबाट फरक पार्ने योजनामा थिए । उनले ‘रूपरेखा’ मासिक पत्रिकाका अन्तिम पृष्ठमा बलमकनद भन्ने छद्म नामबाट ‘चारैतिरबाट’ भन्ने स्तम्भमा आफ्ना वर्णविन्याससम्बन्धी मान्यता राखेका थिए । उनका मान्यता अनुसारको लेखन यस्तो थियो ः—

त्रिभुवन विस्वविद्यालय अन्तर्गत सिछ्यण संस्थान (क्याम्पस) हरुका नेपालि सिछ्यकहरुको एक गोष्ठि हालै यहाँ भएको थियो । अरु कुराका साथै नेपालि भासाको सुद्धितर्फ पनि त्यसमा छलफल भएको थियो । के भन्न पर्दा लाज लाग्छ भने धेरै जसो गुरुहरु नै नेपालि सुद्ध लेख्न सक्तैनन् । ‘क्याम्पस’ तहका सिछ्यकहरूको त त्यो अवस्था छ भने पाठसालाका गुरुहरुको कुरै गर्न परेन । एक दुई जना अपवाद हुन सक्लान् । त्यस्ताले पढाउने विद्यार्थिको अवस्था कस्तो होला । गोस्ठि, भासण, प्रवचन र सम्मेलनले यो समस्या सुल्झाउला जस्तो पनि देखिन्न । जगै बलियो पार्न सके मात्र घर बलियो हुनसक्छ । त्यस कारण जसरि अंग्रेजीलाई सुरुदेखि नै सुद्ध लेख्न सिकाइन्छ त्यहि निति नेपालिका लागि पनि लागु गरिनुपर्छ ।

बलमकनद, चारैतिरबाट

रूपरेखा, १९४, २०३४

८ ८ ८

भासाको रूप सर्वत्र एकनास हुनुपर्छ । तर अहिले नेपालि एक ठाउँमा पनि अनेक किसिमले लेखिन्छ । साहित्यिक भासा, बोलचालको भासा, अड्डा अदालतमा चलेको भासा, सम्भ्रान्त परिवार र साधारण जनतामा चलेका भासा सवै वेग्लावेग्लै छन् । यस्तो विभेद किन ? गरिबले भात खानु पर्ने, ठुलावडाले चाहिं भुजा ज्युनार गर्नु पर्ने किन ? एउटा हाँसो उठ्दो कुरा पनि सुन्नोस् । सम्भ्रान्त परिवारमा ‘सुकला’ सव्द प्रचलित छ । ‘सुकला’ वाट वनेको सुकुलमा सुत्नेहरूले चाहिं त्यो सव्दको प्रयोग गर्दैनन् । यसरि भासामा त धनि र गरिवका विच यत्रो विभिन्नता छ भने अरु कुरामा समानता कसरि आउला ? देसले पञ्चायत व्यवस्था अपनाएको छ । सोसणरहित समाजको परिकल्पना गरेको छ । सवभन्दा पहिले जगत्मा भइरहेको उपर्युुक्त सोसणको अन्त्य हुनपर्छ । नेपालि नेपालिका माझ पहिले भासागत एकता स्थापना हुनुपर्छ । एकनासे भासा वोलुन् अनि हाम्रा उद्देस्य र लछ्य हासिल हुनेछन् ।

बलमकनद, ‘चारैतिरबाट’ रूपरेखा, १९६, २०३४

बालमुकुन्ददेव पाण्डेका भाषिक र वर्णविन्यास विषयका मान्यताहरू माथिका दुई उद्धरणबाट स्पष्ट हुन्छन् । यो पनि भाषाको र वर्णविन्यासको प्रयोगका लागि एक नयाँ परिपाटी हो । यसै सिद्धान्तलाई ‘वेदना’ नामक पत्रिकाले प्रयोगमा ल्याएको कुरा पनि स्मरणीय छ । तर विडम्बना चाहिं के छ भने आफैं सम्पादक भएको रूपरेखा पत्रिकामा समेत बालमुकुन्ददेव पाण्डेले आफूले प्रस्ताव गरेको लेखनलाई समावेश गर्न सकेका छैनन् । अरुका लागि मात्र प्रस्ताव राख्नु र आफू भने लागू नै नगर्नु भनेको अन्धाले अर्काका लागि टुकी बालिदिनु जस्तो मात्र हो ।

अरु–अरुका लेखन र वर्णविन्यासका प्रस्ताव भन्दा बलमकनदको प्रस्ताव निकै उपयुक्त छ । उनका वर्णविन्यासमा नचिरेको व मात्र लेख्नु, एउटा स मात्र लेख्नु, क्ष का सट्टामा छ्य र सबैतिर ह्रस्व मात्र लेख्नु पर्ने प्रस्ताव छ । यो प्रस्ताव अन्य प्रस्तावहरूका तुलनामा नेपाली भाषाको उच्चारणव्यवस्थाको नजिक रहेको देखिन्छ । तर गल्ती गरेर वा जानिजानी हो ञ वर्णको लेखनलाई भने यथाथत् राखेका छन् । अरु उदाहरणमा भए झैं मान्ने हो भने ञ वर्णलाई पनि हटाउनु पर्दथ्यो किनभने नेपाली भाषामा ञ वर्णको पनि उच्चारण उसको मूल धर्मबाट हटिसकेको छ ।

राजकीय प्रज्ञाप्रतिष्ठानको आयोजनामा रोहिणीप्रसाद भट्टराईद्वारा तयार गरिएका ‘वृहत् नेपाली व्याकरण’ नामक कृतिमा प्रस्ताव गरिएको वर्णविन्यासका सम्बन्धमा राखिएको प्रस्ताव यसपछिको अर्काे महत्वपूर्ण प्रस्ताव हो । यसले भने नेपाली लेखन वा हिज्जेको तत्कालको प्रचलित रूपलाई उत्रो ठूलो हाँक दिएको छैन । यसमा चिरेको ब का सट्टामा तल थोप्लो दिएको .व र नचिरेको व गरी दुई थरीका व वर्णहरू लेख्ने मूल प्रस्ताव थियो । त्यसबाहेक तत्कालीन प्रचलित लेखनप्रणालीलाई हल्लाउने काम उनबाट उति धेरै भएको देखिन्न । यो व्याकरणबाट वर्णविन्यासका बारेमा ठूलो आग्रह वा पूर्वाग्रह राखिएको छैन ।

यसै समयतिर सशक्त रूपमा देखा परेको अर्काे प्रस्तावकको नाम शिवराज आचार्य हो । उनले ‘जिम्दो नेपाली भासा’ नामक पुस्तकमा लेखन र त्यसका बारेका पर्याप्त नयाँ धारणाहरू राखेका छन् । उनको लेखनपद्धति नितान्त नौलो र फरक छ । नेपाली वर्णविन्यासका बारेमा उनको निकै नै फरक विचार छ । उनले नयाँ परिपाटीको लेखनपद्धति हुनु पर्ने मत अघि सारेका छन् । प्रचलित लेखनपद्धतिमा अभ्यस्त तथा नयाँ लेखक र पाठकहरूका लागि उनको लेखन व्यवस्था पढ्न र त्यसलाई राम्ररी बुझ्न अहिलेको लेखनव्यवस्थामा अनुवाद गर्नु पर्ने स्थिति रहेको छ । पहिले उनको लेखनलाई जस्ताको तस्तै नियालौं ः—

नेपाल् राजकिये प्रग्याँ प्रतिस्ठाँन् भासा व्याकर्ण समितिले बँनाँऽको प्रस्नावलि र तेस्को उत्तर दिँन अनुरोद् गर्न लेख्खिया चिठि उइ्लेइ् पाइ्या हो । तेल्ले आँफ्ना विचार्हर्लाई अविव्यक्ति दिँन प्रेरणा पँनि दिएकै हो । किन्तु आाफ्ना केइ् विचार्लाइ् माँत्र अविव्यक्ति दिएर उत्तर् लेख्नु युक्तिसङ्गत् नँहुँनीँ हुँदा र सवैलाइ् लिखित् अविव्यक्ति दिँनुँ आँफ्नु समय साइत्को पँउँच्भँन्दा बाइ्रको कुरो भाऽकाले उक्त प्रसङ्गमाँ केहइ् लेख्न सकियाऽ छैन ।

‘जिम्दो नेपाली’ पृष्ठ. ६६

शिवराज आचार्यपछि नेपाली भाषालाई हिज्जेप्रणालीमा ठूलो किचोलो उठेको देखिन छाडेको छ । उठाउनेहरू पनि पाखा लाग्न थालेका छन् । विशेष गरी सशष, इई, येए, उऊ क्षेछे, ग्यँज्ञ, चन्द्रबिन्दु, अनुस्वारका र द्यध्य आदिको लेखनमा मात्र समस्याहरू देखिरहेका छन् । समयको क्रममा यो गाँजेमाजे पनि हट्दै जाने आशा गर्न सकिन्छ । शिवराजपछि त नेपाली भाषामा अब हिज्जेका किचोला सकिएहोला भनेर आशा गरिएको थियो । तर केही वर्षपहिले देखि पूर्वबाट चूडामणि रेग्मीले पनि सङ्लिन थालेको नेपाली हिज्जेप्रणालीलाई फेरि धमिल्याउने काम थालेको देखिन्छ । उनले प्रस्ताव गरेको लेखनको नमूना यस्तो छ—निकै यसै गरी चूडामणि रेग्मी पनि नेपाली भाषाको हिज्जेप्रणालीलाई अझै पनि खुँड्याउन प्रयास गरिरहेका देखिन्छन् । विचार आफ्नो हो । विचार नै राख्न पाइन्न भन्ने कहीं छैन । तर विचार राख्ता आफैं पछि परिने र समाजलाई नै पछितिर धकेलिन बाध्य हुने विचार राख्नाले त्यस्ता धारणा वा आदर्शबाट न आफूलाई लाभ हुन्छ न अर्काेका लागि नै । को वर्तमानमा पनि कोशिश गरिरहेका छन् । सम्मको प्रयास पनि निकै सान्दर्भिक ।

उनको यो लेखनविधिका बारेमा कुनै पूर्वाग्रह नराखीकन भन्नुपर्दा वर्तमान र तत्कालीन नेपाली भाषाको लेखनव्यवस्थाबाट निकै टाढा रहेको छ भन्नमा कुनै अप्ठेरो मान्नुपर्दैन । आजका पाठकलाई त यस हिज्जे प्रणालीमा लेखिएको सामग्री जस्ताको तस्तै अध्ययन गर्न निकै कठिन पनि पर्दछ । यसैले यसको आजका लेखनव्यवस्थामा अनुवाद गर्नुपर्ने स्थिति छ ।

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान भाषा व्याकरण समितिले बनाएको प्रश्नावली र त्यसकोे उत्तर दिन अनुरोध गर्न लेखिएको चिठी उहिल्यै पाइएको हो । त्यसले आफ्ना विचारहरूलाई अभिव्यक्ति दिन प्रेरणा पनि दिएकै हो । किन्तु आाफ्ना केही विचारलाई मात्र अभिव्यक्ति दिएर उत्तर लेख्नु युक्तिसङ्गत नहुने हुँदा र सवैलाई लिखित अभिव्यक्ति दिनु आफ्नु समय साइतको पँहुचभन्दा बाहिरको कुरो भएकाले उक्त प्रसङ्गमा केही लेख्न सकिएको छैन ।

यसपछि पनि यस सन्दर्भमा कतैकतैबाट केही विद्वान्हरू हिज्जेप्रणालीमा आफ्ना मान्यताहरू स्थापित गर्न लागिरहेका पनि देखिन्छन् । पूर्वबाट चूडामणि रेग्मीले यसबारेको हालसम्मको पछिल्लो प्रयास गरिरहेका छन् । २०५० कै दशकदेखि आफ्नो कृति (नेपाली भाषा र व्याकरणका केही विषय ः केही छलफल २०५२) मा आफ्नो नवीन हिज्जेप्रणालीको अवधारणा पेस गरेका छन् । त्यसपछिका दिनमा पनि उनले यसबारे निकै खप्की (भानुभक्त पोखरेल ः चूडामणिको उट्पट्याङको चुट्पट्याङ— प्रतिभा पत्रिका, दमक झापा) खाए पनि उनले यस पक्षमा यथासम्भव प्रयत्न गर्दै आएका त छन् तर उनी पनि भेलमा बगेका देखिन थालेका छन् । वास्तवमाव अब लेखनमा केही मात्रामा मान्यताहरु स्थापित भइसकेका छन् । स्थापित मान्यताहरूलाई उल्टाउन सहज नहुने हुँदा (उदाहरणीय ः २०३१ सालतिर जनक शिक्षा सामग्री केन्द्रका विद्यालयस्तरका पाठ्यपुस्तकबाट ञ वर्ण हटाउँदाको अनुभव) उनको लेखन प्रक्रियाको प्रस्ताव पनि उनैसँग मात्र सीमित रहेको अनुभव हुन्छ । उनको लेखनको स्वरूप यस्तो छ—

प्रस्तावित वर्णविन्यासको प्रयोग नञा वर्णविन्यास शीर्षक लेखमा मात्र छ । भूमिका, नेपाली भाषा र व्याकरणका केही विषय ः केही छलफल, २०५२

गअ‍ेको माघ १६ गतेका दिन नञा वनेको चन्द्रगढी गा.वि.स. भवनमा जुहीले साहित्यकार सम्मानको आयोजना गर्यो । जनमतले वनेपामा वार्षिक कार्यक्रम गर्न नसकी काठमाडौमा गर्नुपर्ने स्थिति रहेको यो समयमा जुहीले कार्यक्रम गर्दाका समयको कठिनता अनुभव गर्न सकिन्छ ।

जुही को भनाइ, पूणाङ्क, ४८ जुही त्रैमासिक, चन्द्रगढी ।

चूडामणि रेग्मीले आफ्नो प्रस्तावित वर्णविन्यासलाई यसै कृतिको ‘गालीको परम्परामा म र मेरो भनाइ’ नामक लेखमा १० वटा बूँदाहरूमा समेट्ने काम गरेका छन् । उनका ती दश बूँदाहरू यी हुन्—

प्रस्तावित नञा वर्णविन्यासका मुख्य बुँदा

१. स्वर वर्णमा ऋको साटो रि लेख्ने ।

२. इ, ई, उ, ऊ, ए, ऐ को साटो अि, अी, अु, अू, अ‍े, अ‍ै लेख्ने ।

३. झ लाई साझाको झ मात्र लेख्ने ।

४. आधा र् का प्रयोगमा जोड दिने तथा रु रू को साटो रु रू गर्ने ।

५. सम्युक्त व्यञ्जनमा सरलीकरण गर्ने ।

६. तद्भव र आगन्तुक शव्दमा थालनी र माझका अि, अु लाई ह्रस्व लेख्ने । अन्तका अी अू (केही अपवाद) राखी दीर्घ लेख्ने ।

७ यथासम्भव सवै शव्द अलग्ग लेख्ने (हिन्दी झैं) ।

८ ङ्, ञ्, ण्, न्, म् का साटो सिरविन्दुको प्रयोग नगर्ने ।

९ क्रिया र केही अववाद शव्दवाहेक शव्दका अन्तेमा खुट्टो नकाट्ने ।

१०. तत्सम शव्द यथावत् राख्ने वारे पुनर्विचार गर्ने ।

उनको यो आग्रह पनि आजको भाषाका मानक लेखनमा सहज स्वीकृत हुने खालको बुझिँदैन । जेसुकै विषयमा पनि आजको मान्छे जटिलताको खोजीमा नभई सहजताको खोजीमा छ । चूडामणि रेग्मीकै लेखनको प्रस्ताव पनि सहज छैन । उच्चारणप्रक्रियालाई आधार मानेर गरिएको (तर होइन) जस्तो कताकता लागे पनि यो प्रस्ताव व्यावहािरक र सहज भन्दा अव्यावहारिक र कठिन नै लाग्दछ । कुनै पनि भाषाको मानक रूप कतैबाट यसै उब्जिने होइन । जुनसुकै भाषाको मानक रूप भनेको कुनै स्थानविशेषका भाषिका वा उपभाषिकालाई राष्ट्रको आवश्यकताअनुसार कथन मानकीकरण गर्दै त्यसैको व्याकरण लेखेर मानकीकरण गरिएको मात्र हो । लेखन र कथनमा एकरूपताका लागि प्रयत्न गरेर नै भाषाको उच्च र सर्वस्वीकार्य रूप कायम गराइन्छ । आधिकारिक रूपमा स्तरीकरण गरिएको लेखन र कथनलाई राज्यले आफ्नो भाषिक प्रयोजनमा लागू गर्दछ । अब नेपाली भाषालाई पुनर्मानकीरण गर्ने बेला छैन । यसका लेखनमा आज जुन रूप तय भइसक्यो त्यसैलाई शिरोपर नगरी धर छैन । यसलाई पुनर्मानकीकरण गर्न थाल्यो भने हुँदै नभएका अरु धेरै बखेडाहरू जन्मन सक्छन् । गण्डकीप्रदेशीय भाषिकालाई मात्र किन मानक रूप दिने र डोटेली वा बैतडेलीलाई किन मानक नगराउने भन्ने खालका समस्याहरू उब्जन सक्छन् । भाषिक झगडा भनेको धार्मिक वा साम्प्रदायिक झगडा जस्तै खतरापूर्ण हुन्छ । साथै अन्य स्थानीय भाषिकाहरू र उपभाषिकाहरूलाई किन महत्व नदिने भन्ने झमेला समेत आउन सक्छन् । त्यसैले शिवराज आचार्य र चूडामणि रेग्मीहरूको लेखनप्रणालीको प्रस्तावहरू मूलप्रवाहबाट पछि पर्न सक्छन् । तापनि उनीहरूले गरेको लेखनको आग्रह एक प्रकार अनौठो नभई नेपाली भाषाको उच्चारण विधानलाई लेखनसँग र लेखनलाई उच्चारणको नजिक लाने प्रयासमा केन्द्रित रहेको कुरा भने नकार्न मिल्दैन । यो कुरा भने स्तुत्य नै हो भन्नमा पनि कन्जुस्याइँ गर्न मिल्दैन ।

आज लेखनमा जुन रूप कायम भएको छ, त्यो सर्वथा उचित हो भन्न भने सकिन्न तापनि आज यस भाषाको यो लेखन (यसै लेखमा जसरी यहाँ लेखिँदैछ त्यो किसिमको) ले स्थापित हुन सय वर्ष जतिको लामो अवधि पार गरिसकेको छ । लेखनमा परिवर्तन गर्ने हो भने वा हिज्जे प्रणालीलाई अझ व्यावहारिक बनाउँदै लाने होभने त्यसमा नजानिदो हिसाबबाट परिवर्तन गर्दै लानु राम्रो हुन्छ । एकैपटक थोपर्न खोज्दा नाना वितण्डाहरू देखिन्छन् । एकप्रकारले स्थापित भइसकेका मान्यताहरूलाई खज्मज्याउनु भन्दा तिनैलाई स्वीकार्दै जानु के लाजलाग्दो कुरा भयो र ?

कुञ्जिनी,१०÷७

नेपाली केन्द्रीय विभाग, त्रि.वि.

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।