17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सर्वव्यापी "ऊ"

कथा परशु प्रधान August 31, 2015, 2:59 pm

यौटा सडक नाटकमा मैले पहिलोपटक उसलाई देखेको हुँ। ऊ २५/३० को युवा भए पनि भिखारीको भूमिका थाल थापेर दर्शकसँग रकमको भिक्षा माग्दै मेरो छेउमा आइपुग्यो। पाँच रुपैयाँको नोट राखिदिँदै रोल सफल छ भनी म मुस्कुराएको थिएँ।

तर, उसको अनुहारमा यति जाबो पाँच रुपैयाँ पनि पैसा हो भन्ने भाव मैले पढेको थिएँ। सडक नाटकको अन्त्य रमाइलो थियो, किनभने उसले आखिरीमा बन्दुक लिएर हिँडेको माओवादीमा आफूलाई रूपान्तर गरी नाटक समाप्त भएको थियो। उसलाई मेरो दिमागले नोट गरेको थियो— कालोकालो, पुड्को, नाक थेप्चो। तर, अनुहार भने हँसिलो र तेजिलो।

यौटा साथीको पुस्तक विमोचनको कार्यक्रममा उसलाई मैले देखेँ। अहिले ऊ चाइनिज स्टाइलमा घुँगरिएको कपालमा कुनै हिरोजस्तो थियो। ऊ कुनै गाउँबाट आएर राजधानीको नाट्य, संगीत र साहित्यिक वातावरणमा रमाइरहेको युवा हो। कुनै क्याम्पस ज्वाइन गरेको होला भन्ने लाग्यो। वास्तवमा उसको सम्बन्धमा मैले चाख लिनुपर्ने कुनै कारण थिएन। किनभने सभा–समारोह र गोष्ठीहरूमा यस्ता अनेकौं अग्रज र अनुज पुस्ताका मान्छेसँग चाहेर–नचाहेर भेट भइहाल्छ र मलाई हाँसो उठ्छ।

कसैले नमस्कार गरेर भन्छ– मलाई चिन्नुभयो?

म ध्यान दिएर हेर्छु— लगभग ६० नाघेको बूढा मान्छेलाई। म नचिनेकोले टाउको हल्लाउँछु। बल्ल ऊ बोल्छ, 'तपाईं–हामी कुनै दिन प्राविमा मास्टर थियौं।' म छक्क पर्छु— आजभन्दा ३०–४० वर्षअगाडि कुनै अमूक स्कुलमा सँगै काम गरेको भनेर म कसरी सम्झूँ!

त्यही बेला ऊ त्यहाँ आइपुग्छ। त्यहाँ निःशुल्क बाँडिएको पाँच/छ थान पुस्तक हातमा लिएर, अनि वरिपरिका परिचित–अपरिचित व्यक्तिका माझ गफ दिइरहेको हुन्छ— यस्तो उत्कृष्ट पुस्तक छ। आफूले मात्र पढेर हुन्छ र! साथीभाइलाई पनि बाँडिदिनुपर्योत— आजको लेखनको नमुना भन्छ ऊ। अनि ऊ खाजाको प्याकेट राखिएको ठाउँमा पुग्छ र आठ/दस प्याकेट धमाधम लाहुरे झोलामा राखिरहेको देख्छु। फेरि कुराको त्यही शैली, 'यस्तो स्वादिलो प्याकेट रहेछ। मीठो, मसिनो चिज त बाँडीचुँडी खानुपर्छ।'

सबै जना ट्वाल्ल परेर उसलाई हेरिरहन्छन्। म फेरि मार्क गर्छु उसलाई। म किन उसलाई वाच गर्छु, थाहा छैन। तर लाग्छ— यो हाम्रो मानवीय स्वभाव हो, अझ नेपालीको।

एक बिहान मर्निङवाकमा थिएँ। पाटनको कुम्भेश्वर मन्दिरको दर्शन गरेर फर्कंदै थिएँ। बाटोमा यौटा जुलुसले हाम्रो बाटो छेक्यो। जुलुस बृहत् थियो— झन्डैझन्डा र डन्डैडन्डा। वामपन्थीहरूको जुलुसमा सबैभन्दा अगाडि झन्डा बोकेर ठूलो स्वरले नारा भट्याइरहने त्यही युवा थियो— मैले मार्क गरिहालेँ। त्यस उग्र जुलुसको नेतृत्व उसैबाट भइरहेको तथ्य मैले बुझेँ।

यसपछि म अब झन् उसबारे थाहा पाउन लालायित भएँ। को हो? कहाँको हो? के काम गर्छ? कहाँ बस्छ आदिइत्यादि। अर्थात् मैले आफ्नै छोरी उसलाई दिन लागेजस्तो। उसको इतिवृत्ति मलाई किन चाहिएको हो? न मेरो नातादार, न साथीको छोरा, न इष्टमित्र! म आफ्नै आदतदेखि दिक्क छु।

फेरि अर्को आश्चर्य वा संयोग भनौं। म एक जना साथीको छोरीको बिहेभोज खान गएको थिएँ। त्यहाँ धेरै परिचित–अपरिचित इष्टमित्र थिए। सबै सुटेडबुटेड। विविध अत्तर र क्रिमले रंगिएका। मानौं कुनै अर्कै ग्रहबाट आएका। सबै धनीमानी। धेरैजसो श्रीमतीसहित। कसैका छोराछोरी पनि। हिन्दी र अंग्रेजी गीतको फ्युजन। अहिलेका विभिन्न डान्स, गीतको चर्को धुन। मानौं बिहेमात्र होइन त्यो, सबै थोक हो। अर्थात् कार्यक्रम, बिहेभोज र समाजमा आफूलाई प्रदर्शन गर्ने अपूर्व संगम। अनि त्यहीँ देख्छु मेरो 'ऊ'लाई। बिल्कुल हिरोको रूपमा। सुटेडबुटेड र टाईमा। पपगीतमा मस्तसँग नाचिरहेको। अझ उपस्थित युवतीलाई तान्दै नचाइरहेको। बाफ रे! कस्तो आधुनिक डान्स गर्न सक्ने, कस्तो स्फूर्ति! त्यस वातावरणमा स्न्याक्स र ड्रिंक्स फ्रि थियो। जसले जति पनि खान सक्ने— कुनै नियन्त्रण थिएन। रक्सी र बियर सबै कुरा महँगो खालका विदेशी। उसले झन्डै एक बोतल रक्सी केही बेरमै सिध्याएको र स्न्याक्स पनि राम्रै लिएको मैले देखेको थिएँ।

त्यसपछि औपचारिक–अनौपचारिक कार्यक्रमको प्रारम्भ भयो। आफ्ना इष्टमित्रसँग धेरैपछि भेटघाट हुने यस्तै सभा–समारोह हो। मैले पनि त्यस अवसरलाई गुम्न दिइन। ऊ स्वयं सबैलाई आफ्नो परिचय दिई कार्ड पनि बाँडिरहेको देखँे। मलाई पनि कार्ड दियो उसले। जहाँ लेखिएको थियो— अग्रगामी थापा 'क्रान्तिकारी' काठमाडौंकै ठेगाना, इमेल र मोबाइल नम्बर दिइएको कार्ड धेरै आकर्षक र आधुनिक डिजाइनको थियो। मैले सामान्य परिचय दिएँ, 'म रिटायर्ड बूढो।' उसले मसँग ठट्टा गर्यो , 'तर टायर्ड त होइन नि!' म थोरै मुस्काएँ। ऊ अगाडि बढ्दै कार्ड भिडाइरहेको दृश्य सबैले हेरिरहेका थिए। अनि यो यस्तैउस्तै हो भनेर चित्त बुझाइरहेको देखेँ।

अब डिनरको बेला भयो। रातको झन्डै दस बजिसकेको। सबै छिटो घर जाने हतारमा थिए। अहिलेको संक्रमणको भूतले सबैलाई भयभीत बनाउनु स्वाभाविकै हो। तर, सबैले मार्क गरिरहेको त्यही युवा फेरि बारमा गएर एक–दुई पेग लिइरहेको मैले देखेँ। अनि डिनरमा पनि सँगगँगै जस्तै भयौं। उसको प्लेट भारी थियो, खानाको थुप्रो मेरा लागि आश्चर्यको विषय थियो। त्यत्ति ठूलो थालीजत्रो प्लेटमा खाने चिजबिजको हिमाल नै अग्लिएको थियो। अनि उसले त्यहाँका सहयोगीहरूलाई अर्डर गरिरहेको पनि मेरो कानमा पर्योच, 'मासुमाछाको राम्रो पिसलाई राम्रोसँग प्याक गरिराख्नु है मेरा लागि। मलाई घर–परिवारका निम्ति लानुछ।' विचरा केटाहरू वाल्ल परेर हेरिरहे र मेरा आयोजक साथीलाई सोध्न गए। विचरा मेरो साथी के भनोस्, 'हुन्छ, प्याक गरेर देऊ, तर गोप्यताका साथ फेरि अरूले पनि माग्लान्! अनि ऊ कुनै गाडीमा गएजस्तो लाग्यो।

यसरी नै दिन बित्दै गए। त्यस युवाको क्रियाकलाप सम्झेर मलाई निद्रा आउन पनि कहिलेकाहीँ गाह्रो पर्थ्यो। त्यो युवाको गतिविधि देखेर कहिले भगवान् कृष्णलाई सम्झन्थँे त कहिले शिवलाई। फेरि वर्तमानका नेता, दादा र गुन्डाहरूको संयुक्त परिचयले पनि मलाई झस्काइरह्यो।

ऊसँगका घटना लाम लागेर आए— शरीरमा रोगहरू आएझैं। यौटा युवा कवि गोष्ठीमा आजका युवाका संगत, विसंगत स्वर सुन्न म पनि पुगेँ। धेरै युवा कवि–कवयित्रीले (अचेल लैंगिक समानता आएकाले म क्षमा चाहन्छु) आजका विसंगति, बेथिति, परिवर्तन, रूपान्तरण र मानवीय जीवनका विविध पक्षका कविता सुनाए। मलाई सबै कविता राम्रै लागे। हुन त म काव्य–पारखी होइन, एक जना पाठक र स्रोतामात्र हुँ— मूल्यांकन गर्न सक्ने क्षमता नै छैन। त्यही युवाले एउटा अत्यन्त क्रान्तिकारी कविता सुनाएर काव्यात्मक वातावरण नै जुरुक्क उचाल्यो। केही हरफ मलाई कन्ठ नै भयो।

फेरि भूकम्प ल्याउनुछ

फेरि क्रान्ति गर्नुछ

फेरि सामन्तीहरूको लास

एकै चिहान पार्नुछ।

उसको निजी विचार र भावना हो यो। मलाई केही भन्नुछैन।

तर, अर्को एक घटनाले म तर्सिएँ। घरमा विहानको पारिलो घाम तापेर बसिरहेको थिएँ। एक जमात घरभित्र पस्यो। त्यही युवाको नेतृत्व देखेँ। उसले भनिहाल्यो, 'ए यहाँको घर त यही रहेछ नि! लौ चिनेजानेकै मान्छे पर्नुभयो। हामी घरैपिच्छे सहयोग माग्दै हिँडेको। यहाँको नाममा कति राखिदिऊँ।'

मैले विनम्रतापूर्वक भनेँ, 'बाबु हो! आउनुभयो, खुसी लाग्यो। म आफंै पेन्सनमा बाँचेको मान्छे! खै म के सहयोग गर्न सकूँला र! फेरि म आफंै रोगी छु। विभिन्न औषधि खाइरहनुपर्छ।'

उसले रसिदमा रु एक लाख लेखेर मलाई दिँदै भन्यो, 'यत्रो घर छ काठमाडौंको ठाउँमा, त्यही पनि सेन्टरमा। यो एक लाख यहाँको लागि केही होइन।'

मैले हात जोडेँ, 'एक लाख होइन, एक हजार लेखिदिनोस्। मैले सक्ने त्यत्ति हो।'

'रु ५० हजार भयो। लौ आधा भयो,' उसले यत्ति भनेर साथीहरूको अनुहार हेर्यो ।

मैले जत्ति हात जोडेर अनुनय गरे पनि ती सुन्ने पक्षमा थिएनन्। रकमको मोलतोल भइरह्यो— खसीबोकाको झैं। मैले आफूलाई एक जना निरीह, असहाय, अशक्त र बेसहारा नेपाली नागरिकको थोत्रो पगरी गुँथेको व्यक्ति सम्झेँ। परिवारसँग रु पाँच हजार मागेर, माफी माग्दै क्षमायाचनासहित बल्लतल्ल बिदा गरेँ। सानु जागिरबाट रिटायर्ड म, सानु पेन्सनको रकम। आधा महिनाजसो भोकभोकै परिएलाको त्रासले मन भारी भयो। के कसरी बस्नु, कसका लागि बस्नु यो राष्ट्रमा। फेरि जानु कहाँ! केले जानु! विश्व नै बृहत् जञ्जाल रहेछ। लामो बाँच्नु नै पाप रहेछ जस्तो अनुभूति भइरह्यो। केही दिनसम्म मन यसै खिन्न भइरह्यो।

फेरि अर्को यौटा घटनाले मलाई स्तब्ध बनायो। दिउँसो तरकारी किन्न बूढाबूढी बाहिर निस्केका थियौं। एउटा सामान्य जुलुसले बाटो छेक्यो। हामी सडकछेउ उभियौं। झन्डाहरू थुप्रै देखिए डन्डाविनाका। उनीहरू राष्ट्रिय नारा लगाइरहेका थिए, 'यो राष्ट्र हाम्रो हो, यसलाई जोगाऔं–जोगाऔं। प्रजातन्त्र सबैको हो– यसलाई मर्न नदिऔं।' आदि इत्यादि!

म आश्चर्यमा परेँ। यसको नेतृत्व पनि तिनै क्रान्तिकारी युवाले लिइरहेका थिए। उनी झन्डा बोकेर सबैभन्दा ठूलो स्वर निकाली उफ्रिरहेका थिए, 'राष्ट्र र राष्ट्रियता महान् हो।'

म अर्थात् हामी अवाक् भयौं। जुलुस अगाडि बढेपछि बूढीले बिस्तारै भनी, 'अस्ति हामीसँग पाँच हजार जबर्जस्ती लाने त्यही केटो होइन?'

मसँग जवाफ थिएन। मैले 'हो' पनि भन्न सकिनँ, 'होइन' पनि भन्न सकिनँ। हामी अगाडि बढ्यौं, आ–आफ्नै सोच लिएर।

राति टेलिभिजन हेर्दै थिएँ। उनै युवाको विशेष अन्तरवार्ता आइरहेको थियो। उनी आकर्षक शैलीमा भावभंगिमाका साथ बोलिरहेका थिए, 'हामीले राष्ट्रको विकास र उन्नतिका लागि काम गर्नुपर्छ। राष्ट्रको उत्थान नै सर्वोपरी मन्त्र हुनु आवश्यक छ। दान–चन्दा जबर्जस्ती लिनु–दिनु ठूलो अपराध हो। यसमा कडा कानुन बनाएर लागू गर्नुपर्छ। अनि सबै मानिस कुनै सैद्धान्तिक, वैचारिक दृष्टिले बाँधिएको हुन्छ। दुई जिब्रे वा दुई धारे हुनु अपराधीकरण हो, यसमा सबैको ध्यान जानुपर्छ।'

अन्तरवार्ता लामो थियो। मैले टिभी बन्द गरेँ र सुत्ने उपक्रममा लागेँ। तर, निद्रा मबाट निकै टाढा भागिरहेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।