19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हामी नेपाली

कविता अन्जान काइँला September 7, 2015, 5:49 am

एउटै चुल्होमा ग्याँस बाल्छौ

उस्का र मेरा नामका चामल एकै ठाँउमा मिसिएका हुन्छन

एउटै भाँडाले उघाएर एउटै भाँडामा पकाउछौ

तसर्थ

छानो एउटै छ र उज्यालो नाप्ने सुर्य पनि एउटै छ हाम्रो ।

हामी एउटै भारिको मल पचाएर

एउटै ड्यांगमा हुर्कीएका मुलाहरु हौ

अर्थात हामी एउटै कम्पनीका कारिन्दा हौ ।

कसोकसो कहिले कहि खुट्टा जुधिहाल्छन ओछ्यान एउटै भएपछि

कसो कसो कुम ठोक्किहाल्छन बस्ने सुकुल एउटै भएपछि

कसोकसो सिंग ठोक्की हाल्छन जुवा एउटै भएपछी ।

कहिले कहिँ साहुका दाहिने र देब्रे पाखुराहरुसँग पनि कुम ठोक्किन पुगिहाल्छ

ठोक्किदा मेरै साथिहरुले खुद घोषणा गर्छन

जिन्दगीकै सबैभन्दा अनकन्टार भिरमा बस्ने बछ्यूँको उपमा भिराएर

र केही क्षण पछि त्यही बछ्यूँसँग मेरो पखेटा ठोक्किन्छ

खै किन हो

जब मेरो पखेटा ठिकिन्छ नि

उहीँ बछ्यूँसँग साथिको तिते आन्द्रो जोडिन्छ

र अब भने पक्का लाग्छ

साथी जंगबहादुरले पालेको खाट्टि कुकुर हो

उस्ले जंगेको तलुवा पनि चाटिदिन्छ

र मेरो खुट्टा भेटे त्यो पनि टोकिदिन्छ ।

उस्ले बिर्सिन्छ अब

भरे ओढ्ने आकाश

ताप्नु पर्ने एउटै बत्तीबाट पोखिएको प्रकाश

बाल्नु पर्ने ग्याँस

छुट्याउन नमिल्ने चामल

र चामल पाक्ने भाँडो

या त पचाउने छ लाज र

खिसिक्क हाँस्ने छ त्यही बछ्यूँका बिरुद्धमा झिँगा भन्केको हाँसो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।