एउटै चुल्होमा ग्याँस बाल्छौ
उस्का र मेरा नामका चामल एकै ठाँउमा मिसिएका हुन्छन
एउटै भाँडाले उघाएर एउटै भाँडामा पकाउछौ
तसर्थ
छानो एउटै छ र उज्यालो नाप्ने सुर्य पनि एउटै छ हाम्रो ।
हामी एउटै भारिको मल पचाएर
एउटै ड्यांगमा हुर्कीएका मुलाहरु हौ
अर्थात हामी एउटै कम्पनीका कारिन्दा हौ ।
कसोकसो कहिले कहि खुट्टा जुधिहाल्छन ओछ्यान एउटै भएपछि
कसो कसो कुम ठोक्किहाल्छन बस्ने सुकुल एउटै भएपछि
कसोकसो सिंग ठोक्की हाल्छन जुवा एउटै भएपछी ।
कहिले कहिँ साहुका दाहिने र देब्रे पाखुराहरुसँग पनि कुम ठोक्किन पुगिहाल्छ
ठोक्किदा मेरै साथिहरुले खुद घोषणा गर्छन
जिन्दगीकै सबैभन्दा अनकन्टार भिरमा बस्ने बछ्यूँको उपमा भिराएर
र केही क्षण पछि त्यही बछ्यूँसँग मेरो पखेटा ठोक्किन्छ
खै किन हो
जब मेरो पखेटा ठिकिन्छ नि
उहीँ बछ्यूँसँग साथिको तिते आन्द्रो जोडिन्छ
र अब भने पक्का लाग्छ
साथी जंगबहादुरले पालेको खाट्टि कुकुर हो
उस्ले जंगेको तलुवा पनि चाटिदिन्छ
र मेरो खुट्टा भेटे त्यो पनि टोकिदिन्छ ।
उस्ले बिर्सिन्छ अब
भरे ओढ्ने आकाश
ताप्नु पर्ने एउटै बत्तीबाट पोखिएको प्रकाश
बाल्नु पर्ने ग्याँस
छुट्याउन नमिल्ने चामल
र चामल पाक्ने भाँडो
या त पचाउने छ लाज र
खिसिक्क हाँस्ने छ त्यही बछ्यूँका बिरुद्धमा झिँगा भन्केको हाँसो ।