19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झापा

कविता हरि प्रसाद न्यौपाने September 7, 2015, 6:11 am

हाँस्छन् सूर्य मुसुक्क पूर्व नभमा सिन्दूर रातो छरी

बस्छन् चन्द्र मुहार उज्वल गरी त्यो श्वेत आभा छरी ।

यो राम्रो नव रूप हेर्छ पहिले झापा बसी पूर्वमा

पूर्वी द्वार भनेर चिन्छ सबले जिल्ला छ मैदानमा ।।

काला कानूनका विरुद्ध पहिलो विद्रोह जन्म्यो यहीं

गर्दै क्रान्ति लडे युवा अघि बढे उद्वेग फैल्यो यहीं ।

झापाको शिरमा इलाम नगरी छाता बनी उत्तर

शोभा दिन्छ सुरम्य फिक्कल सँगै श्री अन्तुले सुन्दर ।।

पूर्वी भाग छ भारतीय बिचमा मेची नदी बग्दछिन्

किल्ला दक्षिणको बिहार यसको सीमाहरू स्तम्भ छन् ।

मावा पर्दछ पश्चिमै तिर नदी जिल्ला छ यो मोरङ

यो भोगोलिक ठाउँ हो छ रसिलो झापा सधैं सुन्दर ।।

बग्छिन् दक्षिण शुद्ध आशिष दिंदै कन्काइ(माई) नदी

जिल्ला भित्र छ देवतीर्थ रसिलो बस्छन् यहाँ शम्भु जी ।

हानी वाण दिएर पूर्ण जलका धारासँगै अर्जुन

सेवा गौकन गर्दथे छ उनको सत्कीर्ति नै सुन्दर ।।

मारेथे अघि भीमले बल गरी यो क्षेत्रमै कीचक,

प्रख्यातै छ यहाँ पवित्र जल छन् क्यै मिल्छ खोजे अझ ।

होचो ठाउँ छ देशको तलतलै हो केचना दक्षिण

तीर्थस्थान छ कोटिहोम नजिकै माई नदी पश्चिम ।।

अर्को तीर्थ छ देव धाम सबले भन्छन् सतासी यहीं

कालीस्थान प्रसिद्ध तीर्थ छ बुझौं पर्दैन जानैं कहीं ।

ठूला छन् सहरै यहीं वरपरै राम्रो छ बस्ने स्थल

अड्डा छन् सब एक ठाउँ नजिकै पर्दैन जानै पर ।।

बिर्तामोड शनिश्चरे अनि धुलाबारी र मेची न.पा.

बस्छन् चन्द्रगढी सँगै दमकमा मान्छे अनेकौं यता ।

पैले चन्द्रगढी थियो अब हट्यो जिल्ला मुकामै यता

दोश्रो नाम जुरेर भद्रपुर भो फेरेर नौला लता ।।

जिल्ला भित्र प्रसिद्धि प्राप्त नगरी धेरै भए तापनि

थोरै नामहरू लिपी हुनगयो यो छन्द भाका भरी ।

हाँस्तैछिन् धरती खुला प्रकृतिमा फल्दैछ अन्नादिक

बग्दैछन् जल नित्य बायु रसिलो चल्दैछ ढाक्तै पथ ।।

यस्तै सुन्दर रूप भित्र दुलही बन्दैछ झापा सधैं

हेरौं सुन्दर रूप मुग्ध मनले आएर यो पूर्व मैं ।

गर्छाैं स्वागत मित्र भाव मनले सद्भाव सद्भावमै

बाँडौं प्रेम मिलेर आपस सधैं बन्धुत्वको भावमै ।।

भद्रपुर–१४(चन्द्रगढी)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।