19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शनि लागेछ

कविता डा. जयन्त कृष्ण शर्मा September 7, 2015, 6:41 am

ढकालनी आमैलाई उता शनि लागेछ

जोखाना हेरेर कसैले किटेर भनेछ, शनि नै हो

कान्छी राईनीलाई पनि शनि लागेछ

धामी- धनन्तरी एकोहोरो

शनि पूजा, खाँडो

जयजयकार

जयजयकार यता

महाकाशयान केसिनी*

शनि पुगिसकेको छ

शनिका औंठीहरूको प्रदक्षिण गर्दै

कोट्याउँदै, सुम्सुम्याऊँदै औंठीहरू

धुलो, बरफ़ र ढुंगा बटुली सकेको छ।

आमैलाई कसो-कसो वार्ता गई सकेको छ

शनिमा हिउँ छ, चिसो छ

शनिमा प्रेम छ, सुन्दरता छ।

आफ्नै औंठीमा लुकीखेल्दै रमाइरहेको शनि,

न त कसैलाई लाग्दै हिड़ने उसको रहर छ

न त कुनै वाध्यता !

कान्छी राईनीले शनिबार चढाएको

कालो बोको खान शनि असमर्थ छ

आमैले दान गरेको तीन हातको कालो कपडाको

शनिलाई न कुनै खबर छ, न त केही रहर !

सुन्दर औंठीहरू आफ्ना सुन र मोतीका नभए पनि

यीनैमा आफु सन्तुष्ट छ, निर्भीक छ शनि।

शनिको पनि पीडा छ।

पीडा आफ्नो आफ्नै छातीमा लुकाउन खोज्छ।

भयङ्कर हुण्डरी, बिजुली-चट्याङ्गले विध्व्स्त, त्रस्त शनि,

हिलीयम, हाइड्रोजेन, चिसो एमोनिया र मिथेन

छातीमा समेटेर कक्रिन्छ शनि ;

थरर्र काम्छ शनि।

र पनि, शनि आफैंमा व्यस्त छ

टाइटन, रेया**

सबैलाई साथ लिँदै

अविराम घुम्दो छ

घुम्दो छ आफ्नै कक्षपथ मा

सूर्यलाई नै प्रदक्षिण गर्दै

इथेन र मिथेनले भरिएका पोखरी

सागर

झरी

वर्षा

आफैंमा समेटेर

शनिकै प्रदक्षिण गर्दाछन टाइटनहरू पनि निरन्तर

निरन्तर, एउटै सुर्य मन्तिर

कुनै आमैको पनाती, कुनै राइनीकी छोरी

विज्ञानागारमा जुम गर्दै गर्दै पुग्छन् शनिकै छेवैमा

शनिको प्रेममा पर्छन् उनीहरू,

न दिन, न रात शनिकै चर्चा गर्छन्

पक्कै हो, शनि लागेछ उनीहरूलाई !

सम्भावना देख्दा रहेछन विज्ञानागारमा

हजारौँ बर्ष पछि-

टाइटन मा पनि मानव बस्न सक्ने !!

मानव अब शनितिर

पाइतो सार्दै शनितिर

जयजयकार यता उता सबैतिर।।

नोट:

१. * महाकाशयान केसिनी - महाकाशयान केसिनी (Cassini Huygens) शनि ग्रह र यसका उपग्रहहरूको अध्ययन गर्न पठाएको अहिलेसम्मको सबैभन्दा ठुलो अभियान। सन् २००४ मा केसिनी शनि भाटुं पुगेर अध्ययन गर्न लागेको हो … २०१६ देखि यसको अर्को अध्याय को थालनी हुनेछ।

२. ** टाइटन, रेया -शनि ग्रहका धेरै उपग्रहहरू मध्ये सबैभन्दा ठुला दुइटा। यीनमा टाइटन उपग्रहको आकार बुध ग्रह भन्दा ठुलो छ भने पृथ्वीसंग पनि धेरै कुरामा मिल्दो-जुल्दो देखिन्छ।

गुवाहाटी

(हाल: टेक्सास विश्वविद्यालय, अमेरिका)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।