14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

प्रवासमा नेपाली भाषा-साहित्यको अमरत्व

विचार पंचम अधिकारी September 14, 2015, 1:27 am

समुन्द्रपारको नेपाली साहित्यको इतिहास धेरै पुरानो छैन, तर उपलब्धीहरू अत्यन्त उत्साहप्रद छन् । व्यस्त जीवन, कमजोर बजार, पाठकको कमी, यथेस्ट साहित्यिक अन्तरकृयाको अभाव हुँदाहुँदै पनि डायस्पोराका नेपाली भाषाका सर्जकहरूको योगदान प्रशंसनीय छ ।

बनारस पढ्न जाने नेपाली विद्यार्थीहरूले, हिन्दी र सँस्कृत साहित्यबाट प्रभावित भएर, नेपाली साहित्यिक प्रकाशन आरम्भ गरेका ऐतिहासिक तथ्य हो । त्यसपछि, दार्जिलिङ्गको उच्च शिक्षित वर्गले साहित्यिक सृजना थालेपछि नेपाली साहित्यको केन्द्र त्यतै स‍र्‍यो । राणा शासनको अन्त र नेपालमा साहित्यिक सचेतता बढेपछि अन्ततः राजधानी काठमाडौं नेपाली साहित्य-संसारको केन्द्र बन्यो । तर अहिले नेपाली भाषा-साहित्यले इण्डो-नेपाल भौगोलिक सीमा नाघेर संसारका सबै महादेशहरूमा बोलिने र लेखिने भएको छ । समुद्रपारीका नेपाली डायस्पोराहरूको विकासले काठमाडौंको साहित्यक केन्द्रियता विकेन्द्रित हुन थालेको छ ।

भूमण्डलीकरण र आप्रवासले संसारभरि नेपालीहरूको बाक्लो-पातालो उपस्थिति छ । त्यसले गर्दा नेपाली भाषा-साहित्य पनि विश्वभरि फैलिएको छ । म्यान्मार, खाडी, हङ्कङ्, दक्षिणपूर्वी एशिया, अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता हरेक देश-क्षेत्रमा नेपाली भाषीको संख्या लाख-लाखको हाराहारीमा छ । लाखको हाराहारी संख्याले बोल्ने भाषालाई 'अल्पसंख्यकको भाषा-सँस्कृति' का रुपमा स्वाभाविक रुपमा मान्यता र प्रोत्साहन हुन्छ । तसर्थ, नेपाली भाषा अब विश्वभरि छरिएको भाषाको रुपमा विकसीत हुँदैछ र प्रोत्साहित हुँदैछ ।

नेपाली भाषी संसारको जुन कुनामा रहे पनि, जुन राष्ट्रियता धारण गरे पनि तिनको अभिव्यक्ति माध्यमका नाताले नेपाली भाषा र साहित्यको विकासक्रमसँग जोडिएका छन् । त्यसैले डायास्पोरामा रहेर सृजित कृतिहरु नेपाली साहित्यका गहना हुन् । हो, डायास्पोरा साहित्य भर्खरै आकार लिएको अवस्थामा छ तर यो क्रम तीब्र रूपमा विकसीत छ । संसारको जुन कुनाबाट प्रकाशन/प्रसारण हुने भए पनि ब्लग, वेबसाइट, अनलाइन रेडियो, भिडियो क्लिप्स र अन्य प्रकाशनहरू नेपाली साहित्यको विकास र विस्तारमा सहयोगी रहन्छन् । यस सन्दर्भमा उत्तर अमेरिका, युरोप, खाडी, दक्षिण-पूर्वी एशिया, पूर्वी एशिया, प्यासिफिक क्षेत्रको साहित्यिक योगदान उत्साहजनक छ । यी क्षेत्रमा नेपालीहरूको सँख्या वृद्धि तिब्र गतिमा छ । त्यस्तै अफ्रिका र दक्षिण अमेरिकामा समेत नेपालीहरको पेशागत सफलताका समाचारहरू आएका छन् ।

डायस्पोरामा नेपाली साहित्यको श्रीवृद्धिका लागि थुप्रै संस्थाहरू खुलेका छन् । एकप्रकारले सँस्था गठनमा होडबाजी नै चलेको छ । खासगरि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको योगदान प्रशंसनीय र विवेचनीय छ । डायस्पोरा साहित्यको प्रबर्द्धनका लागि थुप्रै साहित्यक पुरस्कारहरूको घोषणा समेत भएका छन् ।

साराशंमा भन्दा, प्रवासका नेपालीहरूको एकताको सूत्र नेपाली भाषा-साहित्य भएको छ, उनीहरूको विविधतामा एक पहिचानको अनुबन्धनका रूपमा ।

डायास्पोरा साहित्यको अर्को चाखलाग्दो पक्ष के हो भने यसले नेपाली भाषा-साहित्यलाई नवीन ढङ्गले धनी बनाएको छ । यी डायस्पोरिक साहित्यकारहरूले आफ्नो शिक्षा, सँस्कार र सीप नेपाल मै पाएका भए पनि तिनीहरूको ‘विदेश कर्म’ ले नयाँ कुराहरू सिकेका छन् । डायस्पोराका लेखकहरू नयाँ वातावरणमा पुनर्निर्मित (remade) र विनिर्मित (remanufactured) भएर आप्रवासी बनेका हुन्छन् । भिन्न परिवेशको सँस्कृति, भाषा, धर्म र जातिहरूसँगको संसर्ग र अन्तरकृयाले ती नयाँ किसीमबाट दीक्षित हुन्छन् । तिनले आफ्नै नेपाली सँस्कृति, पहिचान, समुदाय र भाषालाई नवीन ढंगले अवलोकन र समीक्षा गर्छन् । आफ्नो जातीय र भाषिक परिचयको पोषण, प्रतिरोध र पुनर्ब्याख्या गर्छन् । जसले गर्दा नेपाली भाषा अझ परिस्कृत र सुदृढ हुन्छ । जुन अवसर नेपालका लेखकहरूले समान्यतया पाएका हुँदैनन् ।

भाषा-साहित्यको विकासमा आर्थिक पक्ष एक महत्वपूर्ण सहयोगी तत्व हो । नेपालका बासिन्दाको तुलनामा प्रवासीहरू (खासगरि विकसीत देशमा बसोबास गरिरहेकाहरू) को आम्दानी राम्रै हुन्छ र क्रयशक्ति बढी छ । हामी डायस्पोरामा बस्नेहरूले नेपाली सृजनाहरू किनीदिने हो भने व्यवसायीकता बढ्न जान्छ र अन्ततोगत्वा स्तरियता पनि बढ्छ ।

डायस्पोराका नेपाली साहित्यकारहरूले नेपाली भाषा-साहित्यलाई मात्र होइन आफू रमाएको समुदायको भाषा-साहित्यमा पनि योगदान गर्न सक्छन् । नेपाली भाषा-साहित्यबाट दिने र उनीहरूबाट लिने गर्न सक्छन् । जसले गर्दा नेपाली भाषा-साहित्यलाई अन्य अन्तर्राष्ट्रिय भाषा-साहित्यसँग चिनाउने र अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्न सकिन्छ । यस सन्दर्भमा बेल्जियमको नेपाली डायस्पोराले स्थानीय भाषा-साहित्यसँग गरेको सहकार्य डायस्पोरिक नेपाली साहित्यको विकासक्रममा उल्लेखनीय रहेको छ । बेल्जियमको सिन्त त्रुइदेनमा २६ जनवरी २०११ मा सम्पन्न भएको "फ्रित नेपाल" र लुभेनमा २५ अप्रिल २०१४ को "मुभिङ इमोसन्स" कार्यक्रमका प्रमुख दर्शक/श्रोता (सयौँको सँख्यामा) स्थानीय नागरिकहरू रहेका थिए । प्रवासमा भए पनि नेपालीहरूद्वारा गरिने प्राःयजसो कार्यक्रमहरूमा नेपाली व्यवस्थापन र नेपाली नै श्रोता रहने गरेको पाइन्छ । जसले गर्दा विदेश भूमिमा सम्पन्न कार्यक्रम भए पनि सभा, संजाल र आदान-प्रदान स्वभाषीहरूबीचको मात्र हुन्छ । "फ्रित नेपाल" र "मुभिङ इमोसन्स" कार्यक्रम, त्यस अर्थमा, फरक प्रस्तुति र परिणाम दिने खालका रहे । यस्ता खालका कार्यक्रमहरू अन्य डायस्पोराहरूमा पनि गर्न सकियो भने नेपाली भाषा-साहित्यको गरिमा, पहिचान र स्तरवृद्धिमा ठूलो बल पुग्छ । यसका निम्ति हामी सबैले आ-आफ्ना डायस्पोराबाट योगदान गर्न सक्छौं । यसको ब्यापकीकरण र स्तरोन्नतिमा योगदान दिनु हामी डायस्पोराका स्रष्टा र साहित्य अनुरागीहरूको दायित्व हो ।

यी सब तथ्यहरूलाई हेर्दा नेपाली भाषा-साहित्यको विकास र विस्तार विश्वब्यापी रूपमा भएको छर्लङ्ग हुन्छ । तर पेचिलो प्रश्न छ- के डायस्पोरा साहित्य स्तरिय रूपमा विकसित छ ? कम्तिमा, डायस्पोरा साहित्य माउ देशको समकालिन मूलधार साहित्य जत्तिकै स्तरिय छ ?

नेपाली साहित्यमा डायस्पोरिक साहित्य एउटा बलियो हाँगोका रुपमा विकसित भैरहेको तथ्य त सर्वस्वीकार्य छ, तर यो हाँगाका थोरै मात्र पातहरू लहलहराउँदो हरिया छन् । धेरै जसो पातहरूलाई मलजलको आवस्यकता छ । सामान्य वर्णन/वृत्तान्त राम्ररी लेख्न नसक्नेहरूले शब्द थुपारेर गीत, गजल, कविता लेखेर के हुन्छ ? भन्ने गुनासाहरू पनि बारम्बार सुनिन्छन् । तसर्थ यो सँख्यात्मक वृद्धि गुणवत्तामा हुनु अहिलेको प्रमुख चुनौति बनेको छ । यस्ता साहित्यिक सम्मेलनहरूमा यसबारे विचार-विमर्श गर्न सकिन्छ ।

निश्चित रूपमा, सबै लेखन स्तरिय हुन्छ भन्ने होइन । अथवा कम ल्याकत भएकाले लेख्न हुँदैन भन्ने पनि होइन । लेखन असल-कमसल दुबै हुनसक्छ । असल मात्र देखिनुपर्छ भन्ने पनि होइन । वजनदार लेखकको मात्र होइन सामान्य सर्जकको पनि सराहना गर्नुपर्छ । करोड दान दिने मात्र दानी, हजारमा दिने दानी होइन भन्न मिल्दैन । स्वाभाविक रूपमा, नलेख्नेको बीचमा लेख्नेको चर्चा हुन्छ । लेख्नेहरूको हुल भएपछि स्तरिय लेख्नेको नाम हुन्छ । प्रतिस्पर्धा बढेपछि नै स्तर उकासिने हो । लेखन राम्रो-नराम्रो मान्ने कुरा वैयक्तिक पनि हो । कुरा यत्ति हो, धेरै लेखिनुपर्छ । लेखनमा प्रतिस्पर्धा र व्यवसायीकता होस्, गुणस्तर त्यहीँबाट ठाडो उकालो लाग्छ ।

सन्दर्भ सामाग्रीहरू :

Adhikari, IP : Nepali Literature Blooming In Diaspora. Published in nepalnews.com on July 16, 2008.

Bhatia, Sunil : American Karma : Race, Culture And Identity in Indian Diaspora by New York University Press 2007.

Sharma, Jayant : Nepali Literature Sans Centre. Published in The Rising Nepal on August 13, 2010.

अधिकारी, पंचम : डायस्पोरा साहित्य कि डलर साहित्य ? – माइसन्सार डट कममा नोभेम्बर १, २०१४ मा प्रकाशित

(बेल्जियमको लुभेनमा १६ र १७ अगस्ट २०१५ मा सम्पन्न अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा प्रस्तुत कार्यपत्र )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।